डा देवचन्द्र सुब्बाद्वारा लिखित ‘सुवास दीपक : निस्सङ्ग यात्रु’ पुस्तकको लोकार्पण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, June 5, 2023

डा देवचन्द्र सुब्बाद्वारा लिखित ‘सुवास दीपक : निस्सङ्ग यात्रु’ पुस्तकको लोकार्पण

 दिनाङ्क ४ जुन २०२३ का दिन सिक्किम विश्वविद्यालयको कावेरी प्रेक्षागृहमा डा देवचन्द्र सुब्बाद्वारा लिखित ‘सुवास दीपक : निस्सङ्ग यात्रु’ पुस्तकको लोकार्पण भयो। यस पुस्तकमा सुवास दीपक सिक्किम आएपछि उनले सिक्किममा बिताएका जीवन र उनको जीवन कर्मबारे लेखिएको पुस्तक हो। यसलाई जीवन नै भनेर लेखिएको छ। श्री आर एन बरालद्वारा प्रकाशित यस पुस्तकमा सुवास दीपकको जीवन यात्रा, पत्रकारिताको जीवन, अनुवादकको जीवन, उपन्यासकार एवम् कवि कथाकार व्यक्तित्वको वर्णन गरिएको छ। 



सिक्किम विश्वविद्यालय नेपाली विभागका विभाग प्रमुख प्रोफेसर कविता लामाको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा पद्मश्री सानु लामा, लोक साहित्यविद् के एन शर्मा, सामालोचक पेम्पा तामाङ, सिक्किम अकादमीका अध्यक्ष एस आर खजुम, सचिव पि एल शर्मा, सिक्किम साहित्य परिषद्का अध्यक्ष हरि ढुङ्गेल, सचिव निलम न्यौपाने, आख्यानकार प्रवीण राई जुमेली, कथाकार उषा शर्मा, विरष्ठ पत्रकार अनिता निरौला, कथाकार युवा बराल साथै बराल परिवार एवम् सुवास दीपकका परिवारका सम्पूर्ण सदस्यहरू उपस्थित थिए। यसका साथै कार्यक्रममा नेपाली विभागकी प्रोफेसर पुष्प शर्मा, डा अरुणा राई, डा समर सिन्हा, हिन्दी विभागका डा प्रदीप त्रिपाठी र नेपाली अनि हिन्दी विभागका सम्पूर्ण विद्यार्थी एवम् शोधार्थीहरू उपस्थित थिए। 



डा सुब्बाद्वारा लिखित यस पुस्तकका बारेमा प्रोफेसर कविता लामाले आफ्नो पाठकीय विचार राख्दै नेपाली साहित्यमा जीवन लेखनको आवश्यकता एवम् महत्त्वबारे प्रकाश पारेकी थिइन्। सुवास दीपकको जीवन कति सङ्घर्षमय थिएछ र उनले भारतीय नेपाली साहित्यलाई अन्य भाषिक समाजमा पुऱ्याउन के कस्ता योगदान दिएका रहेछन् भन्ने कुरा हामी यस पुस्तकबाट जान्न पाउँछौँ अनि उनको पत्रकार जीवन पनि कति दुखमय र सङ्घर्षरत थिएछ भन्ने हामी यस पुस्तकबाट थाहा पाउँछौँ भन्ने कुरा उल्लेख गरिन्। भारतीय नेपाली साहित्य मौन साधक बनेर आफ्नो नित्य साहित्यिक कर्म गरिरहने यस्ता व्यक्तित्वहरूको जीवनबारे लेखिनु अत्यन्तै आवश्यक छ भन्ने कुराबारे प्रोफेसर लामाले जोड दिइन्। कार्यक्रममा लोक साहित्यविद् के एन शर्माले पनि सुवास दीपकसँगको सम्झना साझा गर्दै सुवास दीपक पत्रकार साहित्यकार त हुन् नै तर उनी थुप्रै भाषाका ज्ञात पनि हुन् भन्ने जानकारी दिए। यसै प्रसङ्गमा पद्मश्री सानु लामाले सुवास दीपकका बारेमा लेखिनै पर्ने थियो, लेखियो र यसको प्रकाशक श्री आर एन बरालज्यू हामीसँग काम गरेका हौँ र उहाँको अध्ययन र साहित्यप्रति रुचिको म सम्मान गर्छु भन्दै यस पुस्तकका लेखक र प्रकाशक दुवैलाई आफ्नो साधुवाद जनाए। 

कार्यक्रममा प्रकाशकको पक्षमा बोल्दै आर एन शर्माले साहित्यमा लेखिनु पर्ने थुप्रै कुरा छन् तर गम्भीर भएर लेखिनु पर्छ अनि निरन्तर साहित्यिक काम गर्नेहरूको मूल्याङ्कन हुनु पर्छ भन्ने कुरामा जोड दिए। सुवास दीपकको लेख म सन् १९८० तिरको पत्रिकामा पढ्थे र उनले गरेका काममा म सधैँ इमानदारी पाउँछु भन्ने विचार उनले राखे। 

कार्यक्रममा सिक्किम विश्वविद्यालयका दोस्रो सत्रका विद्यार्थीहरू सावित्री मगर, अर्चना लिम्बू, विन्द्या राई अनि रेबिका लिम्बूले मारुनी नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रममा औपचारिक स्वागत् सम्बोधन डा अरूणा राईले राखेकी थिइन्। कार्यक्रमको सम्पूर्ण सञ्चना लेखक स्वयम्‌ले गरेका थिए भने कार्यक्रममा विभिन्न मिडिया हाउसका पत्रकारहरू उपस्थिति थिए।

No comments:

Post a Comment

Post Bottom Ad