पहाडका विद्यार्थी अनि 'दार्जिलिङ हिल्स् युनिभर्सिटी' - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, October 30, 2023

पहाडका विद्यार्थी अनि 'दार्जिलिङ हिल्स् युनिभर्सिटी'

पहाडका विद्यार्थी अनि 'दार्जिलिङ हिल्स् युनिभर्सिटी'

_______________________________ सुमेन्द्र तामाङ


 

भर्खर नै दार्जिलिङको एक मात्र विश्वविद्यालय DHU को एक जना विद्यार्थीसँग फोनमा बात भयो। DHU को  पोस्ट ग्र्याजुएट कोर्समा भर्ना हुने पहिलो ब्याचका विद्यार्थीहरूमध्ये ऊ पनि एक हो। DHU का विद्यार्थीहरू आफ्नू भविष्य लिएर चिन्तित छन् । घरमै बसेर, अनलाइन क्लास अनि अनलाइन परीक्षा दिएर नै मास्टर्स सकिसके यी विद्यार्थीहरूले। लगभग १६७ विद्यार्थी अहिले 'भीरको चिन्डो उँधो न उँभोझैँ भएका छन्। यो संख्या पनि २५० देखि घटेर १६७ पुगेको हो अथवा व्यापक ड्रप आउट रेटले ग्रस्त रहेको कुरा हामी बुझ्न सक्छौँ। त्यस माथि परीक्षा दिने संख्या पनि अझै घटेर १५० पुगेको हो।

 

 विगत धेरै महिनादेखि मैले DHU को अवस्था र व्यवस्थामाथि विशेष ध्यानपूर्वक नजर राखिरहेको थिएँ।  DHU क्याम्पसको स्थापनाको निम्ति जोगी घाट छेउको ठाउँ चयन गरिएको थियो। म धेरै अगाडि जोगी घाटतर्फ जाँदा त्यो प्रोपर्टी रामदेव बाबाको हो भनेर एउटा साइन बोर्ड उभ्याएको देखेको थिएँ। अचानक २०१६ को सेप्टेम्बर महिनामा अनित थापा अनि सुबीरेश भट्टाचार्यको उपस्थितिमा  त्यहाँ ममता ब्यानर्जीले DHU को शिलान्यास गरिन्। अहिले त्यो ममता ब्यानर्जीले उद्घाटन गरेको  टाइल्स त्यहीँ रहेको छ। बस् त्यो शिलान्यास वरिपरि झार जङ्गल उम्रिसकेको छ अनि पहाडका विद्यार्थीहरूको भविष्यलाई निल्दै गएको यथार्थ जस्तो देखिन्छ। भ्रष्टाचारको यो जङ्गललाई नगोडेर पहिला देखि नै बनिबनावट मङपु ITI लाई सेतो अनि नीलो रङ्ग लगाएर DHU क्याम्पसको देखावटी रूप दिइएको छ। हात्तीको देखाउने दाँत अर्कै खाने दाँत अर्कै भने झै! यसको उद्घाटन भएको भिडियोहरू लोकल न्युज च्यानलहरूमा धूमधाम देखाइयो पनि। यसमा यहाँको गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनले धेरै श्रेय लिँदै विद्यार्थीको भविष्य सुनिश्चित पारेको कुरालाई ढोल पिटे झै पिटे पनि। तर, आज DHU भित्र भित्रै खोक्रो भएर गयो, अथवा भनौँ यसलाई क्षत्रिय राज्य सरकारको हेलचेक्र्याइँ अनि केन्द्र सरकारको उदासीनताको नैतिक भ्रष्टाचारले खोक्रो बनाएको छ।

 

विश्वविद्यालयको व्यवस्थापन:

सुरु भएदेखि नै ६ वटा डिपार्टमेन्ट बाट सुरु गरिएको DHU तर यसको कुनै पारदर्शी  व्यवस्थापन भने भएन।  इङ्लिस, नेपाली, म्याथम्याटिक्स, पोलिटिकल साइन्स, हिस्ट्री अनि मास कम्युनिकेसन डिपार्टमेन्टहरूको एक जना कोअर्डिनेटर राखिएको थियो अनि प्रत्येक डिपार्टमेन्टमा अनलाइन क्लास गराउने शिक्षकहरू NBU कै विभिन्न कलेजमा पहिलेदेखि नै काम गरी रहेका थिए। मतलब, एक जना टिचरले DHU लगायत आफ्नू कलेजमा काम गर्नु परिरहेको अवस्था थियो। टिचरहरूले पनि नियमित रूपमा स्यालरी पाएका छैनन्। युनिभर्सिटी साथै प्रत्येक डिपार्टमेन्टको स्टाफ नियुक्तिको प्रणालीमा पनि कुनै पारदर्शिता थिएन। एक जना कोर्डिनेटर त दार्जिलिङको  विधान सभा  चुनावमा पनि उठेका ठुलो बुद्धिजीवी अनि नेताको छोरा पनि रहेको कुरा सुन्नमा आएको छ। भाइ भतिजवाद अथवा नेपोटिजमको चरम सीमामा पुगेर आज DHU पूर्ण रूपमा ठप्प भएको छ।धेरै जना शिक्षकहरूले NET परीक्षा नै पास नगरी DHU मा अनलाइन क्लास गराई रहेका थिए भने क्लासको कुनै निर्दिष्ट समय अनि अवधि पनि थिएन। अनलाइन शिक्षकहरूले इच्छा अनुसार चलाई रहेका थिए हाम्रो दार्जिलिङको पहिलो विश्वविद्यालय। कत्रो विडम्बना!उत्तर बङ्गाल विश्वविद्यालय अहिले भ्रष्टाचार अनि कु व्यवस्थाको एउटा मुख्य केन्द्र भएको हुनाले घरी घरी विभिन्न VC नियुक्ति भई रहेका छन्। पहिले सुबीरेश भट्टाचार्य NBU का VC थिए अनि साथ साथै DHU को पनि VC रहेका थिए। त्यस पछि एसएससी स्क्याम लिएर वहाँलाई गिरफ्तार गरियो, त्यस पछि सुबीरेश भट्टाचार्यलाई बद्ली गरेर ओम प्रकाश मिश्र NBU को VC हुन पुगे। त्यस पछि अझै धेरै आए तर पारदर्शी व्यवस्था भने कहिले आएन। DHU को VC को रूपमा तीन महिनाको निम्ति प्रेम पोद्दारलाई कुर्सीमा राखिएको थियो भने जुन २३,२०३३ पश्चात् DHU को कोही भिसी पनि रहेको थिएन। उहाँले पनि कुनै स्यालरी पाएनन् अनि कुनै पनि प्रकारको व्यवस्थापन बारे पनि राज्य सरकारले कुनै गम्भीरता देखाएनन्। अभिभावक बिनाको शिक्षा केन्द्र! २०२१ मा पूर्ण रूपमा स्थापना भएको एउटा विश्वविद्यालय अहिलेसम्म यसरी नै  अनलाइन चलिरहेको थियो भने आज त्यही टालटुले व्यवस्था पनि ठप्प भएको छ। DHU ले नियमित रूपमा भर्नाको प्रणालीको बन्द गरेको छ। कोरोनालाई कारण बनाएर अनलाइन क्लास नै शिक्षा व्यवस्थाको भविष्य भनी स्थापित  गर्दै, बिना कुनै निर्धारित प्रणाली अनि विद्यार्थीहरूलाई घिटघिटोमा राखेर नै चली रहेको थियो DHU को व्यवस्थापन अनि आज यो अन्तिम घिटघिटोमा परेको छ। पहाडको शिक्षा व्यवस्थामा फेरबदल ल्याउँछु भन्नेहरूले के यसरी नै शिक्षा व्यवस्थालाई खैरो खनेर नै पहाडको विकास गर्ने हो ? यदि हो भने, यो भन्दा घातक अनि भयानक कुरा अरू केही हुने छैन। पहाड लगायत डूवर्सका विद्यार्थीहरूको भविष्य बारे सोच्ने अनि यसको निम्ति पहल गर्ने पहाडमा कोही पनि छैन? DHU को यो अवस्थाले आज गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन  प्रश्नको घेरामा परेको छ अनि जी टि ए को व्यवस्थापन भित्रको हेलचेक्र्याइँ पनि यसले आज उदाङ्गो पारेको छ।

 

एक कुरामा भन्दा, हिल युनिभर्सिटी ठप्प हुनुको कारण निर्माणको व्यवस्थापनमा ढिलापन हो।  रियल अटोनिमी खासैमा नपाएको DHU को बाल्यकालमा नै भ्रूण हत्या भएको छ। कुनै प्रकारको स्थायी व्यवस्था बिना यी युनिभर्सिटी चल्न सक्दैन।

 

विद्यार्थी जमात अनि दार्जिलिङ हिल्स् युनिभर्सिटी:

 

DHU मा पढ्ने विद्यार्थीहरू पहाडबाट मात्र नभएर डुवर्स अनि अरू ठाउँबाट पनि रहेका छन्। कुनै क्याम्पस छैन, लाइब्रेरी छैन,  क्लास राम्ररी चलेको थिएन, सिलेबस् भने जम्मै रहल अनि अपूर्ण थियो। यस्तो अवस्थामा पनि विद्यार्थीहरू आफै पढिरहेका थिए। उल्टो तर्फ यी सब समस्याको समाधान गर्दै सठीक पहल नगरेर यस्तो समयमा भने DHU ले अरू-अरू कलेजमा गएर ससाना सेमिनारहरू आयोजना गरी रहेको हामीले  देख्न पायौँ। खोक्रो संरचना भएको एउटा महाविद्यालयले आफ्नू विद्यार्थीहरूलाई एउटा क्याम्पस दिन सकेको छैन, लाइब्रेरी अनि क्लास रुममा पढाउन सकेको छैन अनि अरू कलेजको गएर 'महाविद्यालय बनाउन लाग्दाका समस्याहरू' शीर्षक माथि गफ छाडिरहेको अवस्था हामीले यही आँखाले देख्न अनि कानले सुन्न पायौँ। विद्यार्थीहरूले त्यही कार्यक्रममा गएर 'क्याम्पस कहिलेदेखि पूर्ण रूपमा सञ्चालन हुनेछ ?' भनेर प्रश्न गर्दा अहिले वेबसाइटमाथि काम भएको कुरा अनि नसुर्ताउने आश्वासन अनि अनिश्चित प्रतिउत्तर पाउँदा  धेरै विद्यार्थीहरू असन्तुष्ट भएर बाहिर निस्केका थिए। यो त क्यान्सरको बिमारी बारे कुरा गर्दा, मुखमा जबरजस्ती प्यारेसेटोमोल कोचारी दिएको अवस्था थियो। यस्तो अनिश्चित अवस्था देखेर धेरै विद्यार्थीहरू पढाइ नै छोड्ने अनि काम गर्न लाग्ने निर्णय पनि लिँदै गए। अनि त्यसको फलस्वरूप आज २५० भन्दा अधिक विद्यार्थी भएको DHU मा केवल १६७ विद्यार्थी मात्र रहेको छ। अझै परीक्षा दिने त केवल १५०! उसो नै त ड्रप आउट को सङ्ख्या धेर भएको हाम्रो भेग अझै व्यवस्थाको फ्यातुलोपनाले गर्दा थप विद्यार्थीहरू उच्च शिक्षाको अधिकारबाट वञ्चित हुनु भनेको एकदमै सोचनीय कुरा हो। पूर्व भिसी प्रेम पोद्दारले यही समयमा  DHU का विद्यार्थीहरूले NBU को लाइब्रेरी गएर पढाइ गर्न सक्ने कुरा गरे। त्यस पछि विद्यार्थीहरू NBU लाइब्रेरी गएर पढ्न खोज्दा,तिनीहरूलाई प्रवेश गर्न दिइएन अनि उनीहरू फर्किनु पर्‍यो। यी विद्यार्थीहरूलाई  फुटबल खेल्दा पासा-पास गरेको जस्तै गरियो। कमान-बस्तीका धेरै विद्यार्थीहरू यसको चपेटामा परेका छन् अनि आफ्नू भविष्य अनि DHU ले दिने सर्टिफिकेटबारे पनि सन्देहमा थिए भने आज त्यो सन्देह साँचो हुन पुगेको छ।उच्च स्तरको पढाई बारे त कुरा नै न गरौँ। यदि यस्तै नै स्थिति रह्यो भने DHU केवल सजिलोसँग सर्टिफिकेट किन्न सक्ने संस्थान भएर जानेछ अनि गुणात्मक शिक्षा आर्जन गर्ने एउटा युनिभर्सिटीको सपना केवल गाउँ खाने कथा झै खुइलिएर जाने छ। त्यस्तै भइरहेको पनि छ। अहिले सुन्नमा आउँदै छ कि दार्जीलिङ हिल युनिभर्सिटीको १६७ जना विद्यार्थी मध्ये १५० जनाले मास्टर्सको परीक्षा दिएका थिए भने यस परीक्षाको रिजल्ट पनि प्रोभिसिनल रूपमा मात्र पाएका छन्। यसले गर्दा यी समस्त विद्यार्थी अनि आउँदो विद्यार्थी जमातको भविष्य नै अँध्यारो तर्फ गई रहेको छ। न त यिनीहरू कुनै अरू परीक्षा नै बस्न सकी रहेका छन् न त अरू केही गर्न नै सकिरहेका छन्। बरु निराश भएर, धेरै उज्ज्वल विद्यार्थीहरू आज रोजगार तर्फ लाग्नु पर्ने बाध्यतामा परेका छन्।


 

आज फेरि DHU को एक जना विद्यार्थीले मलाई मेसेज गरेर भन्यो, ' म त अरू एक्जामको निम्ति नियमित रूपमा तयारी गरी रहेको थिए, तर हाम्रो पहाडको पहिलो विश्वविद्यालयको यो अवस्थाले गर्दा अब भीडको चिन्डो उँधो न उँभो भए झैँ भई रहेको छु।' अहिले DHU को न कुनै भिसी नै छ न त रजिस्ट्रार नै। DHU ले नयाँ भर्ना पनि बन्द गरी सकेको छ। अर्थात् हाम्रो पहाडमा रहेको पहिलो युनिभर्सिटी आज ठप्प भएर गएको छ। यो भन्दा ठूलो विश्वासघात अरू के होला, लु आफै भन्नु होस्!

 

 नयाँ शिक्षा नीति अनि दार्जिलिङ हिल्स् युनिभर्सिटी :

 

२०१९ मा बीजेकी सरकारद्वारा केन्द्रीय स्तरमा नयाँ शिक्षा नीति पेस गरियो अनि यसलाई संसदमा पास पनि गराइयो। यो शिक्षा नीति अनुसार सरकारी स्कुल अनि कलेजहरूलाई बिस्तारै निजीकरण तर्फ लाने, सरकारी स्कलरसिप बिस्तारै बन्द गरेर विद्यार्थी लोन लिएर पढ्नु पर्ने, गुणात्मक शिक्षाको निम्ति धेर पैसा खर्च गरेर मात्र शिक्षा आर्जन गर्न सकिने, ३० जना भन्दा कम विद्यार्थी भएका स्कुलहरू बन्द गरेर त्यसको सट्टा प्राइभेट स्कुलको स्थापना गर्ने अनि DHU को परिप्रेक्षमा ठिक मिल्ने रिसोर्सिङ (Resourcing) लाई अझै व्यापक रूपमा बढाउने कुरा उल्लेख गरिएको छ। रिसोर्सिङ भन्नाले एउटा चालु संस्था ( कलेज, युनिभर्सिटी, स्कुल ) बाट त्यहाँ भएका समस्त टिचर अनि अरू समस्त सुविधा अथवा पूर्वाधारहरूलाई अर्को ठाउँमा पनि प्रयोग गर्न सकिन्छ भन्ने नीति हो। जस्तै NBU भित्र रहेका कलेजका टिचरहरूलाई DHU मा पनि पढाउनु परी रहेको थियो। NBU को लाइब्रेरी पनि DHU ले प्रयोग गर्न सक्ने अनि हालैमा सर्कुलर अनुसार जुन १२ देखि दुई हप्ताको निम्ति NBU भित्र अफलाइन क्लास सुरु गर्ने कुरा पनि थियो! रिसोर्सिङ भनेको ठिक यही हो। DHU जति पनि चलिरहेको छ त्यो यही रिसोर्सिङको नीतिमा निर्भर थियो। ITI मङपु को बिल्डिङलाई DHU को बिल्डिङको प्रयोगको निम्ति नीलो अनि सेतो रङ लगाएर धूम धाम साथ पुनर्गठन गर्नुको मुख्य कुरा पनि यही रहेको छ। रिसोर्सिङको नाममा भयङ्कर भ्रष्टाचार अनि विद्यार्थीहरूको भविष्यसँग खेलबाड गर्ने काम भइरहेको छ।

 

तर प्रश्न रह्यो, कहिले सम्म ?

 

 अब रह्यो, २ हप्ताको लागि अफलाइन क्लास बारे कुरा। जम्मै सालको सिलेबस सकिएको थिएन अनि त्यसको निम्ति अफलाइन क्लास जनवरी २०२३ देखि नै सुरु हुने कुरा थियो, तर त्यो अन्तमा गएर जुनमा सुरु भयो, त्यो पनि केवल २ हप्ताको निम्ति। मर्ने बेलामा दबाइ दिएर 'गरिस्?... भन्दा गरेँ...'  भनेको जस्तो भयो यो त, होइन र? आखिर दुई हप्तामा सिलगढीको गरममा आफ्नै पैसाले घर भाँडा गरेर DHU का विद्यार्थीहरूले सिलेबस कति कभर गर्न सके होला ? यसको आर्थिक बोझ कसरी निर्वाह गरे होला? यस प्रकारको गम्भीर प्रश्न गर्ने जिब्रोहरू आज धेरै कम छन्। यस प्रकारको संस्थागत हेलचेक्र्याइँ अनि चुपचाप समाजले पहाडको शिक्षा व्यवस्था कहिले सम्म चल्ने हो ? प्रश्न गम्भीर छ।

 

अहिले भने, पहाडको शिक्षा व्यवस्था धेरै नाजुक भएको छ। स्कुलमा शिक्षा नियुक्तिमा घोटाला, कति सय युवा युवतीहरूले स्वयंसेवक स्वरूप काम लगाएर राजनैतिक हतियार झै प्रयोग गरिने यस्तो व्यवस्थाले आखिर पहाडको शिक्षा व्यवस्थालाई कुन दिशा तर्फ लादै छ? हाम्रा समाजका सचेत जमातको जिब्रोमा कसले ताला लगाएको छ? आफ्नै जिब्रोमा ताला लाग्दा पनि मस्त भएर बस्ने युवा जमातले भोलिको भविष्य कसरी निर्धारण गर्ने होला? भनिन्छ भोलिको समाजलाई न्यायिक अनि समान बनाउने ठूलो शक्ति नै युवा विद्यार्थी हुन्। यहाँ आजको युवालाई प्यारालाईज पारेर भोलीको भविष्यलाई नाश गर्ने यस प्रकारको जनता विरोधी नीतिहरू विरुद्ध किन हामी मौन छौ?


 

आखिर, विद्यार्थी जमातले भोग्नु परिरहेको यस्तो दुर्दशा कस्तो खाले विकासको मोडल हो?

 

महोदय, यदि हजुरहरूको नीति यस्तै हो भने, यस मोडेलले समाजको धेर जस्तो जनसङ्ख्यालाई विनाश तर्फ लागेर जाने निश्चित छ।


No comments:

Post a Comment

Post Bottom Ad