कथाकार शिवकुमार राईको साहित्यिक परिचय - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, May 29, 2020

कथाकार शिवकुमार राईको साहित्यिक परिचय

(नोट- विभिन्न विद्यालयहरूमा अध्ययनरत विद्यार्थीवर्गलाई सहयोग होस् भन्ने उद्देश्यले गफसफ.com - ले नेपाली साहित्यका साहित्यकारहरूका साहित्यिक परिचय यहाँ प्रकाशित गर्ने जमर्को गरेको हो। - सम्पादक)

      ______________________________________________________________

    नेपाली साहित्यमा लोकप्रिय कथाकारका रूपमा परिचित शिवकुमार राईको जन्म २६ अप्रेल १९१९मा पूर्व सिक्किमको रिनाक भन्ने ठाँउमा भएको थियो । उनको बाबाको नाम धोजबीर राई र आमाको नाम नरमाया राई हो । उनले केही समयसम्म तिब्बतको ग्यात्से भन्ने ठाउँमा बुनियादी शिक्षा प्राप्त गरेका थिए।  शिवकुमार राईको जन्म सिक्किममा भए तापनि उनको कर्मथलो भने दार्जीलिङ जिल्लाको खर्साङ भएको थियो।


उनका पिता तिब्बतमा डाक विभागका कर्मचारी भएकाले उनले तिब्बतको ग्यात्सेमा प्राथमिक शिक्षा ग्रहण गरी पछिबाट खरसाङको स्कट्स मिशन स्कूलमा भर्ना भएर शिक्षा हासिल गरे। त्यसपछि उनले सातौं श्रेणीदेखि दशौं श्रेणीसम्म दार्जीलिङको सरकारी उच्च विद्यालयमा अध्यान गरी सन् १९३७ मा म्याट्रिक परीक्षा उतीर्ण गरे। उनले दार्जीलिङको सन्त जोसेफ कलेजलाट आइ. ए. र कलकत्ताको सन्त जोभियर्स कलेजबाट सन् १९४१ मा बी.ए. गरेका हुन्।

शिवकुमार राईको साहित्यिक जीवन सन् १९३७-१९३८ देखि नै आरम्भ भएका हुन् । विद्यार्थी जीवनदेखि नै कलम चलाउने शिवकुमार राईको पहिलो कथा ‘प्रकृति पुत्री’  विक्रम सम्वत २०२१ सालमा ‘शारदा’ पत्रिकामा प्रकाशित भएको थियो। तिनताक उनका कथाहरु ‘युगवाणी’, ‘साहित्य स्रोत’, ‘भारती’ आदि पत्र-पत्रिकाहरुतिर प्रकाशित हुन्थे।

शिवकुमार राई राजनितिमा पनि चासो राख्दथे। डम्बरसिंह गुरूङको नेतृत्वमा स्थापना भएको गोर्खालीग पार्टीमा लागेर उनी सन् १९५२ सालको विधानसभा निर्वाचनमा चुनिएर पश्चिम बङ्गाल सरकारको श्रम उपमन्त्री पनि भएका थिए। पछि उनी सन् १९६२ मा उनी आकाशवाणी खरसाङको कार्यक्रम निष्पादक भए । उनले तरुण, गोर्खा, हिमालचुली (दैनिक समाचार पत्र) आदि पत्र -पत्रिकाको सम्पादन पनि गरेका थिए। उनको मृत्यु २२ जुलाई१९९५ मा खरसाङमा भयो।

‘खोजी’ नामक पत्रिकामा प्रकाशित ‘विरहीको वसन्त’ उनको पहिलो कविता हो। शारदा, उदय, गोर्खा, युगवाणी, साहित्यस्रोत, भारती, दियालो आदि पत्रिकाहरूमा उनका कथा, कविता, नाटक तथा निबन्धहरू प्रकाशित भएका पाइन्छन्। शिवकुमार राईले साहित्यका विविध विधाहरूमा कलम चलाए पनि उनी विशेष गरेर नेपाली साहित्यमा कथाकारको रूपमा नै धेर परिचित छन्। कथाकारका रूपमा परिचित रहेका शिवकुमार राईलाई ‘डागबंगला’ उपन्यासले सफल उपन्यासकारका रूपमा पनि परिचित गराएको छ।

उनका प्रकाशित कृतिहरू हुन्-

१. डाँफेचरी (खण्डकाव्य- १९५४)

२. फ्रण्टियर(कथा संग्रह - १९५६)

३. यात्री ( कथा संग्रह- १९५६)

४. डाकबंगला (उपन्यास- १९५७))

५. खहरे ( कथा संग्रह-१९७६)

६. बडा डिनर ( कथा संग्रह-१९७८)

७. शिवकुमार राईका साथ कथा (कथा संग्रह- सन् १९९४)

पुरस्कार तथा सम्मानः-

१. खहरे कथा संग्रहको निम्ति सन् १९७८मा दिल्लीको साहित्य अकादमीद्वारा साहित्य अकादमी पुरस्कार।

२. दियालो पुरस्कार

३. सिक्किमबाट अगमसिंह गिरी स्मृति पुरस्कार।

कथाकार शिवकुमार राईका कथामा पाइने विशेषताहरू-

शिवकुमार राई भारतीय नेपाली जनजीवनलाई आधार बनाएर कथा लेख्ने कथाकार हुन्। उनको कथामा विशेष गरेर दार्जीलिङ पहाडका मानिसहरूको रहनसहन, आचार व्यवहार, धर्म विश्वास, रीति थिति आदिको सजीव चित्रण पाइन्छ। उनी हिन्दीका प्रेमचन्द र नेपालीका गुरूप्रसाद मैनालीका हाराहारीमा आउने एकजना कुशल सामाजिक कथाकार हुन्। उनका कथाहरूमा प्रयः निम्न वर्गीय समाजका आर्थिक-सामाजिक समस्याहरूलाई केलाईएको पाइन्छ।

कथाकार राईका कथाहरूमा यथार्थवादी दृष्टिकोण रहेको पाइन्छ। साथसाथै उनी प्रगतिशील विचारधाराका कथाकार भएका हुनालो उनले आफ्नो जातीय समाजको सुधार र उत्थानमा नै स्वयंलाई समर्पण गरेका पाइन्छ। कथाकार राईका कथाहरूमा करूणरसको प्राधान्य रहेको हुन्छ। बारीका कान्लाहरूमा, खेतहरूमा कथा र पात्रहरू खोज्ने कथाकार राईका कथाका पात्रहरू उनकै समसामयिक समाजबाट टिपिएका पाइन्छन्।

मानवजीवनलाई भावुकताले प्रत्यक्ष वा परोक्ष रूपमा जहिले पनि पछ्याएकै हुन्छ। यस्ता भावुकताबाट कथाकार राईले आफ्ना कथामा निम्नवर्गीय नेपाली समाजको करूण चित्रण गरी पाठकलाई करूण रस पियाएका पाइन्छन्। उनका कथाहरू पढ्दा यस्तो लाग्छ कि साँच्चै उनले मानवजीवनको मर्मलाई केलाएर हेर्न सकेका छन्। मानवजीवनलाई भित्री रूपमा केलाएर हेर्नु हो भने सबैको जीवनमा कुनै न कुनै रूपमा दुःख, पीरमर्का, वेदना आदि निहित रहेको पाइन्छ। विश्वमा कुनै पनि यस्तो मान्छे छैन जो सम्पूर्ण रूपमा सुखी छ। यस तथ्यलाई कथाकार राईले आफ्ना कथाहरूमा चित्रण गरेका पाइन्छन्। उनी आफ्नो कथाकारितालाई जिउँदो राख्न सफल छन्। विश्वेश्वरप्रसाद कोइराला झै उनी पनि राजनीतिमा कर्मठ भए पनि उनका कथाहरूमा कतै राजनैति बखान पाइन्न। यो कथाकार राईको एउटा छुट्टै वैशिष्ट्य हो।

उनका कथागत वैशिष्ट्यहरूलाई प्रवृत्तिका आधारमा पाँचवटा विभागमा वर्गीकरण गर्न सकिन्छः-

(क) सामाजिक - माछाको मोल, मैले पनि जन्तु पालेको थिएँ, टीका, मानिस, प्रकृतिपुत्री, सय रुपियाँको नोट आदि ।

(ख) ऐतिहासिक- नूर-आलम, प्रेमका शहिद, फ्रण्टियर आदि।

(ग) मनोवैज्ञानिक- कस्तो मानिस।

(घ) व्यङ्ग्यात्मक- दिल्लीको सुर्मावाला, छाता, आदि।

(ङ) भावात्मक- बालुवाका कण, असफल कलाकार, शिल्पी आदि।

राईका कथाका पात्रहरू समाजका विविध चरित्र र स्वभावका व्यक्तिहरूबाट चुनिएका पाइन्छन्। उनका कथाहरूमा चोर, गम्भीर, फटाहा, ठग, महात्मा, सन्यासी, धनी, गरीब आदि सबै किसिमका पात्रहरू पर्न गएका पाइन्छन्। भनौ, उनको कथामा समाजको एउटा यथार्थ चित्रण गरिएको हुन्छ। उनको कथाले एउटा विशेष समाजको विविध पक्षहरूलाई समेटेको हुन्छ। उनका अधिकांश पात्रहरू सामाजिक, आर्थिक परिस्थितिका बोझले थिचिएका, पिरोलिएका शोषित जनता नै छन्। उनी आफ्ना कथाहरूमा यस्ता निमुखा जनताका अन्तरकुन्तरमा रहेका विरह र वेदनालाई सफल रूपमा केलाउन पुगेका छन्। 

    साहित्यकार शिवकुमार राईबारे विस्तृतमा जान्ने इच्छा भए यहाँ थिच्नुहोस्    

No comments:

Post a Comment

Post Bottom Ad