अलविदा परियार सर ! - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, June 2, 2020

अलविदा परियार सर !

विचार _____________________________________________________निमा 'निची' शेर्पा 

पछिल्ला लामा समयदेखि सिर्जनात्मक अवसाददेखि ग्रस्त थिए परियार सर (स्वर्गीय दिलीप कुमार परियार) । त्यसबाट उम्कने प्रयत्नमा थिए । सिर्जनात्मक अवसादको तात्पर्य यहाँ सिर्जनात्मक लेखनप्रतिको अनास्था वा मोहभङ्ग नभएर सिर्जनात्मक कार्यको नाममा चल्ने गुटबाजी, अस्वस्थ प्रतिस्पर्धा, अनावश्यक प्रचार-प्रसार, सस्तो लोकप्रियताको होडबाजी तथा आम मानिसमा साहित्यलाई लिएर बड्दो असंवेदनशीलतालाई बुझ्नुपछ ।

विशेष गरेर पछिल्ला एक दसक उनी साहित्यिक कार्यक्रम, सभा अनि संस्थानिक गतिविधिदेखि निकै टाडिएका थिए । भेट्दा भन्थे – मैले वास्ता गर्न छाडेको यस्ता कार्यक्रम-मिटिङहरू, राजनीति मात्र चल्छ । साहित्यका ब्राह्य गतिविधिदेखि एकप्रकारले निष्क्रिय भए तापनि उनी साहित्यका अथक साधक थिए । अध्ययनशील प्रवृत्तिका परियार सर जहिले पनि कितापको संसारमा रमाइरहेका भेटिन्थे । विशेष गरेर बङ्गला वाङमयमा उनको ठूलो चाख र दखल थियो । बेलाबखत भेट्न जाँदा बङ्गला साहित्यका माइकल मधुसुधन दत्त, धुमिल, सुकान्त भट्टचार्यका कविताहरूको आफूले गरेका नेपाली अनुवादहरू देखाउँथे । धुमिलका अनुवादित कविताहरूको सङ्ग्रह सढकदेखि संसदसम्म त प्रकाशनको निम्ति तयार थियो । तर के कारणले हो छपाउने काम गरेनन् । विभिन्न पत्र-पत्रिका, विशेष गरेर सिक्किमबाट निस्कने प्रक्रिया पत्रिकामा प्रकाशित आफ्ना समालोचनात्मक लेखहरूको पाण्डुलिपी पनि उनीसँग तयार थियो तर त्यो पनि छपाएनन् ।

 सन् १९९९ मा पर्यालोचन छापिएर घर आइपुग्यो । तर सरको अनुहारमा खुसी देखिएन । चिन्ताको बाक्लो रेखाले उहाँको अनुहार पोतिएको थियो । कुरा बुझ्दा पुस्तकभित्र प्रशस्त प्राविधिक त्रुटि र हिज्जेगत भूलहरू  फेला पारेछन् । त्यस समय मङ्पूमा बिचकमान-रम्बी विभागका ललित कुमार राईले इन्क प्रिन्टिङ प्रेस चलाउँथे । प्रेसकै हेलचेक्राइ हो भन्ने उहाँको विचार थियो । उहाँले पुस्तक बजारमा छरेनन् । त्यसको साटो वर्ष दिन जति समय लगाएर आफ्नै हातले पुस्तकका सबै प्रतिहरू संशोधन गर्ने काम गरे । हिज्जेगत शुद्धा-शुद्धिप्रति उनी निकै सचेत थिए । कामकुरो पर्फेक्ट हुनुपर्छ भन्ने उनको सिद्धान्त नै थियो । पुस्तक छर्दा पनि उनी निकै सचेत भएर छर्थे । जोकोहीमा होइन, जसले पढ्छ उसैकहाँ मात्र पुस्तक पुग्नपर्छ भन्ने उनको विचार थियो । बग्दै बग्दै किनारसम्म (सन् २०११) कविता सङ्ग्रहको सन्दर्भमा पनि यस्तै प्रक्रिया दोहोरियो । किताप २०० प्रति मात्र छापे अनि छर्नमा निकै ढिलासुस्ती गर्दै आपूलाई लागेको खास-खास पाठकसम्म मात्र पुऱ्याउने काम गरे । न ता विमोचन राखे न ता प्रचार प्रसार नै गरे ।

पर्यालोचन चानचुने पुस्तक थिएन । चौधवटा मोटा र गहकिला समालोचनात्मक लेखहरूको सँगालो थियो । जी.छिरिङ, गोपालसिहँ नेपाली, डिल्लीराम तिमसिना, हरिप्रसाद गोर्खा राई, तुलशी कश्यप, अर्जुन गुरूङ, रविन गुरूङ, कृष्ण गिरी, अगमसिहं गिरी, बनफूल, माइकल मधुसुधन दत्त, गनुसिंह गुरूङ प्रभृति साहित्यकारहरूका कृतिगत मूल्याङकन गरिएका गहन लेखहरूको सँगालो थियो यो । तर पुस्तकले अपेक्षानुरूप चर्चा पाएन न ता साहित्येतिहासकारहरूको दष्टि नै यसमा पर्न सक्यो । कृष्ण गिरीसितको संयुक्त लेखनमा तयार पारिएको दार्जिलिङका केही नेपाली साहित्यिक प्रतिभाहरू (1977) नामक अन्तर्वार्ता सँगालोको एतिहासिक महत्त्व सर्वविदित तथ्य हो । दार्जिलिङ भेगबाट निस्किएको सम्भवत: यो नै पहिलो अन्तर्वार्ता सँगालो हो ।  

साहित्यकार आफूले जे लेख्छ, त्यसको उम्दा उदाहरण आफै हुनुपर्छ भन्ने उनको विचार थियो । साहित्यमा समाज सुधारको आँसु चुहाएर व्यवहारमा नेता र राजनीतिक दलको चाकडी गर्ने तथाकथित साहित्यकारहरूको विलासी मनोवृत्तिका कट्टर विरोधी थिए । स्पष्टवादी, छक्कापञ्जा नगर्ने, जालझेल नजान्ने, छुच्चा अनि प्रतिभाको कदर गर्न जान्ने स्वभावका व्यक्ति थिए उनी । यसको साथ-साथै असल लोग्ने, आदर्श पिता र कर्मलाई नै धर्म भन्ने निष्ठावान अधिकारी थिए उनी ।

शरीरमा नरहनुभए पनि उहाँका गुणकृति रहिरहनेछन् ।

“ जातस्य ही ध्रुवो मृत्यु, ध्रुवम् जन्म मृतस्य च,
  तस्माद् अपरिहार्येर्थे, न त्वम् शोचितुमर्हसि….. ”   ( गीता 2-27 )

1 comment:

  1. हार्दिक संवेदना अनि श्रद्धांजली। वहाँको पुस्तक दिल्ली मा साहित्य अकाडेमी को पुस्तकालय मा पढ्ने सौभाग्य पाएका हु। "दार्जिलिङका केही साहित्यिक प्रतिभाहरु"

    ReplyDelete

Post Bottom Ad