दार्जीलिङ निर्वाचन क्षेत्रबाट सुरज गुरुङले निर्दलीय प्रार्थीको रूपमा चुनाव लड्ने गरे घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, March 10, 2021

दार्जीलिङ निर्वाचन क्षेत्रबाट सुरज गुरुङले निर्दलीय प्रार्थीको रूपमा चुनाव लड्ने गरे घोषणा

 गफसफ.com, 10  मार्च 2021, दार्जीलिङ

दार्जीलिङ निर्वाचन क्षेत्रबाट निर्दलीय प्रार्थीको रूपमा सुरज गुरुङ (धड्कन) ले चुनाव लड्ने घोषणा गरेका छन्। कुनै पनि राजनैतिक पार्टीको कार्यकर्ता नभए पनि गोजमुमो विमल गुरुङ खेमाप्रति उनको झुकाव देखिने गुरुङले एक प्रेस बिज्ञप्ती जारी गरेर निर्दलीय प्रार्थीका रूपमा चुनाव लड्ने घोषणा गरेका छन्।


“म, सुरज धड्कन, यसपल्टको विधान सभा चुनाउमा दार्जिलिङ निर्वाचन क्षेत्रबाट निर्दलीय प्रतिद्वन्द्वीका रूपमा आफ्नो उम्मेद्वारिता घोषणा गर्दछु। मैले यो निर्णय पहाडका सम्पूर्ण स्वाभिमानी शिक्षित जमात र वर्षैभरि पसिना बगाएर पनि सुखको अनुभूति कहिल्यै गर्न नसकेका चियाश्रमिकहरूको पक्षमा लिएको हुँ। यसमा मेरो राजनैतिक महत्त्वाकांक्षा र स्वार्थ केही पनि छैन” सुरज गुरुङले भने।

यसक्रममा उनले आफु एकजना नेता नरहेको बताउँदै नेता हुनका लागि कसरत गरेको पनि होइन भनेका छन्। “जब आफ्नो जाति र समाजको भविष्य सम्झन्छु, शिक्षित युवाहरूको पलायनवृत्ति सम्झन्छु र चियाश्रमिकहरूको चर्को परिश्रम सम्झन्छु तब मन कुडिएर आउँछ। हामी युगौंदेखि नै बुर्जुवा एवम् रूढ राजनैतिक संस्कारभित्र पल प्रतिपल मर्दै बाँचिरहेको अवस्थामा छौं। यहाँका नेतृत्वहरूले भाषणमा मात्र ठूलाठूला कुरा हाँक्ने गरेका छन् तर आजसम्म यहाँको शिक्षा प्रणाली, युवाहरूको भविष्य र चियाश्रमिकहरूको समस्यालाई गम्भीरतापूर्वक लिने काम गरेका छैनन्। घरीघरी हाम्रो भावनामाथि कुठाराघात गरिएको छ” उनले भनेका छन्।

“हामीलाई केवल भोट मेसिन, झण्डा बोक्ने बाहक र जिन्दावाद-मुर्दावाद भन्ने शक्तिका रूपमा मात्र प्रयोग गरिएको छ। यसैले मेरो उम्मेद्वारिता पहाडको यही रुढ राजनैतिक संस्कारप्रति चुनौति साथै शिक्षित जमातको समस्या र चियाश्रमिकहरूको जीवनशैलीमा परिवर्तनका निम्ति क्रान्तिको आह्वान हो’ सुरज गुरुङ धड्कनले आफ्नो उम्मेद्वारिताबारे बोल्दै अझ भनेका छन् – “म चाहन्छु धेरैभन्दा धेरै सङ्ख्यामा शिक्षित युवाहरू यस क्रान्तिको हिस्सा बनोस्। धेरैभन्दा धेरै शिक्षित युवाहरू नामाङ्कनका लागि अघि आवोस्।”

उनले अहिलेसम्म जनताले राजनीतिमा नियत ठिक नभएका नेताहरूलाई चुनावमा जिताउँदै आएको पनि बताएका छन्। जसको कारण अहिलेसम्म व्यवस्ता जस्ताको त्यस्तै रहेको उनले बताएका छन्। “हुन त राजनीतिको कुरा आउँदा धेरैजसो अनुभवलाई मापदण्डका रूपमा हेर्ने गरिन्छ तर मेरो विचारमा अनुभवभन्दा ठूलो नियत हो। यदि नियत नै ठिक छैन भने अनुभवको के काम ? हामीले धेरै लामो समयदेखि अनुभवमात्र भएका तर नियत ठिक नभएकाहरूलाई जिताउँदै आयौं र हाम्रो अवस्था जस्ताको त्यस्तै छ। म जाति र माटोको नाममा ठूलाठूला कुरा गर्दिनँ। जाति र माटोको माया मनभित्र छँदैछ” धड्कनले भने।

उनले अहिलेको पहाडको बेरोजगार समस्या, चियाबारीको समस्यालाई आफुले प्रमुखतासँह कार्य गर्ने पनि बताएका छन्। “यहाँको शिक्षा व्यवस्था र चियाबारी सबैभन्दा जल्दोबल्दो समस्या हो। एकातिर भ्रष्टाचार, भाइभतिजावाद र चहितावादको कुसंस्कारभित्र यहाँको शिक्षा प्रणाली मरणासन्न अवस्थामा पुगिसकेको छ भने अर्कातिर मालिकहरूको शोषक प्रवृत्ति र सरकारको उदासीन नीतिभित्र चियाश्रमिकहरूको जीवन नर्कतुल्य बनिसकेको छ। यी दुवै विषयमा यहाँ नेताहरूले के कति काम गरे ? यसको हिसाबकिताब गर्ने समय आइसकेको छ। अबको राजनीतिदेखि शिक्षित र सचेत युवाहरू टाढिनु हुँदैन। हामीले हाम्रो उपस्थिति बोध गराउन सकेनौं भने बाँच्नु र मर्नुबिच कुनै पार्थक्य नै रहने छैन’ उनले भने।

“हाम्रा समस्याहरू धेरै छन् जसलाई भिख मागेको जस्तो फ्यातुलो पाराले होइन तर शक्तिशाली आवाजका रूपमा राख्नु आवश्यक छ। यसैले आज महाशिवरात्री पूजाको छेक पारेर पहाडका सम्पूर्ण शिक्षित युवाहरूले पनि परिवर्तनका निम्ति तेस्रो आँखा खोल्न सक्नुपर्छ भन्ने आह्वानसहित मैले मेरो उम्मेद्वारिता घोषणा गरेको हुँ। म मेरो नामाङ्कन-पत्र आगामी २५ मार्चको दिन भर्नेछु जसले पहाडका शिक्षित र सचेत युवाहरूका निम्ति एउटा अवकास निर्माण गर्नेछ मेरो विश्वास छ” – सुरज धड्कनले भनेका छन्।

1 comment:

Post Bottom Ad