पहाडको तीनवटै आसनमा योग्य प्रार्थी खडा गर्नेछौँ, विमल गुटसँग हाम्रो चुनावी मञ्च साझा हुँदैन – विनय तामङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, March 9, 2021

पहाडको तीनवटै आसनमा योग्य प्रार्थी खडा गर्नेछौँ, विमल गुटसँग हाम्रो चुनावी मञ्च साझा हुँदैन – विनय तामङ

गफसफ.com, 09  मार्च 2021, कालेबुङ ।

गोर्खा जनमुक्ति मोर्चा (विनय गुट) का अध्यक्ष विनय तामङले आज कालेबुङ जिल्ला समितिका प्रतिनिधीवर्गलाई लिएर चुनावी रणनीतिबारे चर्चा गरेका छन्। चुनावको समयमा सङ्गठनलाई सक्रिय राख्न उनले पार्टी कर्मीहरूसँग चर्चा गरेका हुन्। केन्द्रिय समितिका सह सचिव सञ्चवीर सौबाको अध्यक्षतामा सम्पन्न भएको सभामा कालेबुङ जिल्लाका 13 वटा समष्टिका कमिटिका प्रतिनिधीवर्ग उपस्थित रहेका थिए।


सभालाई मुख्यरुपले सम्बोधन गर्दै मोर्चा अध्यक्ष बिनय तामाङले चुनावको निम्ति पार्टी कर्मीहरूलाई सक्रिय भएर काम गर्नुपर्ने आह्वान गरे। यसक्रममा अघिल्लो लोकसभा चुनावको रिपोर्टलाई अध्यन गरेर रणनीति बनाउने उनले प्रत्येक पार्टी कार्यकर्ताहरुलाई निर्देश दिएका छन्। सोहीक्रममा उनले पार्टीका कार्यकर्ताहरूलाई यसचोटी पार्टीले पहाडको तीनवटा विधानसभा आसनमा प्रार्थीहरु आफ्नै चुनाव चिह्नमा खडा हुने बताउँदै आफ्ना प्रार्थीलाई विजयी बनाउन सबैले कार्यगर्नुपर्ने आह्वान गरे।  

चुनावको समयमा मौन मतदाताहरूको भूमिका महत्वपूर्ण हुने गरेको बताउँदै यसपल्ट आफ्नो पार्टीले गरेका कार्यहरूलाई हेरेर मौन मतदाताहरूको समर्थन आफ्ना प्रार्थीहरूले पाउने पनि उनले बताएका छन्। वितेको तीन वर्षमा गोजमुमो (विनय गुट) ले जनहितमा धेरै कार्यहरू गरेको दाबी गर्दै जनताले ती कार्यहरू हेरेर नै समर्थन गर्ने पनि बताएका छन्।

सभामा विनय तामङले गोजमुमो (विनय गुट) को चारवटा मुद्दाहरू क्रमैले अल इन्डिया गोर्खा एसेम्बली, भारत-नेपाल सन्धि १९५० को संशोधन, भारत-भुटान सन्धि १९४९ को संशोधन र दार्जिलिङ पहाडलाई नर्थ इस्ट काउन्सिलमा अन्तरभुक्ती  रहेको कारण अहिले जनताबाट धेरै मात्रमा समर्थन पाइरहेको पनि उनले बताएका छन्।

“यो विधानसभा चुनाव पहाडको निम्ति अत्यन्तै महत्त्वपूर्ण रहेको छ। यसकारण हामीले गोर्खा एकता देखाएर काम गर्नसके चारवटा मुद्दाको छिनाफाना हुन सक्छ। यसकार्ण पार्टीका कार्यकर्ताहरूले इमान्दार बनेर कार्य गर्नुपर्नेछ” विनय तामङले भने।

यता, साङ्गठनिक सभापछि पत्रकारहरूसँग कुराकानी गर्दै विनय तामङले पहाडको तीनवटा आसनबाट पार्टीले आफ्नै प्रार्थी खडा गर्ने कुरा दोहोर्‍याएका छन्। “गोर्खा जनमुक्ति मोर्चा (विनय गुट) ले पहाडको तीनवटै आसनबाट प्रार्थी खडा गर्नेछ। हामीले अघिबाटै विमल गुटसँग मञ्च साझा नगर्ने स्पष्ट पारिसकेका छौँ भने चुनावमा प्रार्थी पनि हाम्रो आफ्नै हुनेछ”- विनय तामङले भने।

उनले दार्जीलिङ पहाडमा चुनावको निम्ति समय रहेको भन्दै पार्टीले प्रार्थी विषयमा चर्चा गरिरहेको अनि पहाडवासीको निम्ति योग्य प्रार्थीहरू नै खडा गर्ने पनि स्पष्ट पारेका छन्। “प्रार्थीको नाउँ अहिले नै स्पष्ट भएको छैन। हामी पहाडवासीको निम्ति योग्य प्रार्थी दिनेछौँ अनि चाँढै जनताले प्रार्थीको नाउँ थाह पाउनेछन्” विनय तामङले भने।

No comments:

Post a Comment

Post Bottom Ad