विचार / लेख
________________________________________ डी.के. वाइबा, कालेबुङ ।
जीटीए-ले दार्जीलिङ पहाडमा पहिलोपल्ट कुनै राम्रो काम गर्न लागिरहेको छ भने त्यो हो प्राथमिक टेट परीक्षा। तर, त्यो हुन लागेको टेट परीक्षा केवल देखावाटी टेट मात्रै हो वा साँच्चै पारदर्शी र सम्पूर्ण माप्दण्ड अनुसार हुनेछ भन्ने प्रश्नको जवाब भने भविष्यकै गर्भमा लुकेको छ। अहिलेलाई जीटीएले कमसे कम टेट आयोजन गर्दैछ, अरू के हुने हो हेर्दै जाऊँ।
अहिलेसम्म दार्जीलिङ पहाडमा सत्तामा
बसेका राजनैतिक दलका टाउकेहरूले नै शैक्षिक क्षेत्रमा सोझै हस्तक्षेप गरेर शिक्षा
जस्तो क्षेत्रमा आफन्तहरू र पार्टीका क्याडरहरूलाई नियुक्ति दिने कार्य गरेकै हो।
यसको अनेकौँ उदाहरणहरू खोज्दै गए प्रत्येक स्कुलहरूमा पाउँछौँ। भन्नै हो भने यसरी
नेताहरूको आशीर्वादमा शिक्षण पेशामा रोजगार पाएका कतिपय शिक्षकहरूले सरकारी
मापदण्ड अनुसार वेतन समेत पाइरहे पनि आजसम्म उनीहरूको सर्भिस बुक समेत नबनिएको
अकाट्य सत्य छ। नियुक्ति पत्र पाएर पनि सर्भिस बुक नबनिएका शिक्षकहरूको ‘सर्भिस’-को वैधानिकता के
रहला त्यो उनीहरू नै जान्दछन्।
अब कुरा गरौँ जीटीए अधीनस्थ रहेको जिल्ला
शिक्षा बोर्डद्वारा हुन लागिरहेको प्राथमिक टेट परीक्षाको सन्दर्भमा।
शिक्षक नियुक्ति पाउनका निम्ति अहिले टेट
परीक्षा पास गर्नै पर्ने अनिवार्य नियम छ। भारत सरकारले सन् 2011 देखि शिक्षण
क्षेत्रमा गुणस्तर वृद्धि गर्नका निम्ति टेट परीक्षा लागु गरेको हो। राइट टू
एजुकेसन कानुनको अनुच्छेद 23
–को उप-अनुच्छेद (1) अन्तर्गत नेशनल काउन्सिल फर टिचर एजुकेसन (एनसीटीई), 23 अगस्त 2010
अनि 29 जुलाई 2011 अनुसार जारी भारत सरकारको राजपत्र – मा शिक्षण
पेशामा नियुक्ति पाउन योग्यका प्रार्थीहरूमा के कस्ता शैक्षिक योग्यता रहनुपर्छ
भन्ने मापदण्ड तयार गरिएको छ। जसलाई प्रत्येक शैक्षिक संस्थानहरूले शिक्षक
नियुक्ति प्रक्रियामा लागु गर्नै पर्ने अनिवार्यता छ। यदि त्यो कानुनलाई अवहेलना
गरेर नियुक्ति गरिए कानुनी रूपले अभेद्य घोषित हुनेछ।
जीटीए अधीनस्थ रहेको जिल्ला शिक्षा
बोर्डले आगामी 14 फरवरी 2021 का दिन प्रथम प्राथमिक टेट परीक्षा आयोजना गर्नेछ।
देशमा टेट परीक्षा लागु भइरहेको समय यता गोर्खाल्याण्ड शब्द झुन्डिएको टेरोटेरियल
एडमिनिस्ट्रेसन बनिएको हो। अर्थात् जीटीए गठन भएको एक दशक पछि यहाँ पहिलोपल्ट
प्राथमिक टेट परीक्षा हुन लागिरहेको हो।
जीटीए सम्झौता पत्रमा अनेकौँ कुराहरू
लेखिएको छ। जीटीएलाई आफ्नो क्षमता प्रयोग गरेर रोजगार दिने प्रावधानहरू पनि
उल्लेखित छ। त्यसै जीटीएको कानुनमा हिल एस.एस.सी (स्कुल सर्भिस कमिसन) र कलेज
सर्भिस कमिसन जस्ता कुराहरू पनि उल्लेखित छ। जीटीएको प्रथम कार्यकालमा चुनावी
प्रक्रिया मार्फत चुनिएर बनिएको बोर्ड होस् अनि सरकारले नियुक्ति गरेको बोर्ड होस्
दुवैले यो कार्यलाई जीटीए गठनको एक दशक बितेर जाँदा समेत लागु गर्न सकेको छैन।
यसबारे जीटीएको चौकीमा बसेका नेतालाई सोध्यौँ भने –“बङ्गाल सरकारको हस्तक्षेप” भन्छन् तर जीटीए कानुनले दिएको क्षमतालाई आफुहरूले लागु
गर्नै नसकेको सत्यतालाई स्विकार्दैनन्। किन स्विकार्दैनन् भने ‘स्वीकार’ गर्नुमा हाम्रा
नेताहरू पराजय ठान्छन्। जुन पराजय कसरी स्विकार्ने त !
फर्केर आऊँ जीटीए प्राथमिक टेट परीक्षामा
नै ।
जीटीएले आयोजना गर्न लागेको टेट परीक्षा
अनेकौँ प्रश्नहरूको भुँवरीमा छ। पहिलो त जीटीए प्राथमिक टेट परीक्षाको अधिसूचनामा
नै पारदर्शिता छैन।
क-कसले त्यस टेट परीक्षाको निम्ति आवेदन
भर्न सक्ने हुन् भन्ने कुरा नै जारी गरिएको सूचनामा स्पष्ट छैन। पहिलो कुरा त कुनै
पनि संस्थानले कुनै पनि पदको निम्ति योग्य प्रार्थीहरूको आवेदन माग्छ भने योग्य
बन्नका निम्ति के कस्ता मापदण्ड राखिएको छ भन्ने स्पष्ट पार्न पर्छ। जुन स्पष्ट
जीटीए प्राथमिक टेटको सन्दर्भमा छैन। उदाहरणको निम्ति – प्रार्थीको उमेर, शैक्षिक योग्यता, सम्बन्धित
परीक्षामा निम्नतम प्राप्त अङ्क त्यसपछि प्रशिक्षित हुनै पर्ने अनिवार्यता छ छैन
भन्ने जीटीए प्राथमिक टेट परीक्षाको अधिसूचनामा स्पष्ट लेखिएको छैन। जसले गर्दा
जीटीए टेट परीक्षा सन्दर्भमा प्रश्न उठाउने ठाउँको बाटो पहिलो खुड्किलो टेक्दा नै
खोलिएको छ।
हुन त जीटीए प्राथमिक टेट सन्दर्भमा जारी
सूचनाको दोस्रो बुँदामा - The
Applicant shall possess the Minimum Educational and Professional Qualification
as prescribed by the National Council For Teacher Education Vide Notification
Dated: 23rd
August 2010. भनेर लेखिएको छ। तर, त्यसबारे बुझ्नका निम्ति आवेदकले सर्वप्रथम 23rd August 2010 मा जारी
अध्यादेश हेर्न पर्ने हुन्छ जुन सबै प्रार्थीहरूका निम्ति सम्भव हुने कुरो आएन।
दोस्रो कुरा – पश्चिम बङ्गाल
सरकारले भर्खरै 2014 मा प्राथमिक टेट परीक्षा उत्तीर्ण गर्नेहरूका निम्ति पुनः
शिक्षक नियुक्तिको निम्ति कार्य अघि बढायो। पश्चिम बङ्गाल सरकारले 2014 को टेट
परीक्षाको निम्ति सर्वप्रथम 2012 मा नै आवेदन भर्ने कार्य गरेर परीक्षा समेत
आयोजना गरेको थियो। जुन परीक्षा रद्द भएपछि पुनः 2014 मा सम्पन्न भएको हो। त्यसपछि
सन् 2016 मा टेट उत्तीर्ण भएका प्रार्थीहरूको आवश्यक कागत-पत्र जाँच गर्ने कार्य
सम्पन्न भएको थियो। अहिले आएर पुनः 2014 मा टेट परीक्षा उत्तीर्ण भएकाहरूकै निम्ति
राज्य सरकारले नियुक्ति प्रक्रिया अघि बढाउने कार्य आरम्भ गरिसकेको छ। जसको निम्ति
पश्चिम बङ्गाल सरकारले पनि National
Council For Teacher Education Vide Notification Dated: 23rd August 2010. मा जारी
अध्यादेशलाई नै पालन गरेको छ।
यहाँ उल्लेखनीय कुरा के छ भने पश्चिम
बङ्गाल सरकारले प्राथमिक शिक्षक नियुक्ति गर्नका निम्ति आयोजना गरेको टेट परीक्षा
र जीटीएले आयोजना गर्न लागिरहेको टेट परीक्षाको निम्ति National Council For Teacher Education
Vide Notification Dated: 23rd August 2010.- लाई आधार माने पनि दुवैको फारम
लिने प्रक्रियामा भने विभिन्नता देखा पर्यो।
प्रथमतः पश्चिम बङ्गाल सरकारले प्राथमिक
टेट परीक्षाको निम्ति मागेको आवेदनमा National Council For Teacher Education Vide Notification
Dated: 23rd
August 2010 अनुसार आवेदकसँग निम्नतम शैक्षिक योगयता उच्चतर
माध्यमिक उत्तीर्ण अनि डीएलएड,
बीटी, बीएड आदि जस्ता
प्रशिक्षण प्राप्त हुनै पर्ने अनिवार्यता रहेको अनि यदि यस्ता प्रशिक्षित प्रमाण
पत्र नभए उक्त आवेदन पत्र भर्न समेत नपाउने थियो। जसको कारण निम्नतम शैक्षिक
योग्यता भए पनि प्रशिक्षित नभएका प्रार्थीहरूले आवेदन पत्र भर्न नै पाएनन्।
यता, जीटीए प्राथमिक टेट परीक्षाको निम्ति अधिसूचनामा National Council For Teacher
Education Vide Notification Dated: 23rd August 2010 –को मापदण्ड नै पालन गर्ने कुरा लेखिए पनि प्रशिक्षित नभएका
प्रार्थीहरूले समेत आवेदन पत्र भर्न पाएका छन्। जसको कारण जीटीए प्राथमिक टेट
परीक्षामा अर्को प्रश्न चिन्ह खडा भएको छ। यदि जीटीएले आयोजना गर्न लागेको टेट
परीक्षामा अप्रशिक्षित प्रार्थीहरूले परीक्षा बस्न पाउँछन् र उनीहरूले भविष्यमा
नियुक्ति समेत पाउँछन् भने त्यहाँ National Council For Teacher Education Vide Notification
Dated: 23rd
August 2010
–को मापदण्ड सरासर उल्लङ्घन हुनेछ अनि जीटीए प्रशासनले उनीहरूकै भाषामा दाबी
गरिरहेको - ‘सिस्टम’ अर्थात्
व्यवस्थाको सही व्यवस्थापनको खिल्ली उड्नेछ।
भत्केको व्यवस्थालाई सही प्रकारले
सञ्चालन गर्दै उचित व्यवस्थापन गर्न निक्कै गाह्रै कुरा हो। जीटीए प्रशासनले
प्राथमिक शिक्षक नियुक्ति गर्नका निम्ति आयोजना गर्न लागेको टेट परीक्षा बिग्रेको
व्यवस्थालाई सही व्यवस्थापन गर्ने प्रयास नै हो। जुन प्रयास स्वागत योग्य नै छ।
यति हुँदा हुँदै पनि जीटीएको वर्तमान
प्रशासनकै कार्यकालमा जीटीए क्षेत्रमा शिक्षण पेशामा दिनो दिन वृद्धि भइरहेको
स्वयंसेवी शिक्षक वर्गको लामे ताँत सूचीले भने उनीहरूले गरिरहेको उचित
व्यवस्थापनको दाबी फिका बनाएकै छ। आशा गरौँ झन्डा बोक्ने, पार्टीमा खट्ने, सञ्चालन समितिका
पदाधिकारी र हेडमास्टर-हेडमिस्ट्रेस अथवा शिक्षकहरूकै छोरा छोरीको नाउँ अब
स्वयंसेवी शिक्षक वर्गको सूचीमा दैनिक जोडिनेछैनन्। नत्र त यसभन्दा अघि ‘वान् टाइम
सेटलमेन्ट’ भन्दै नियुक्ति
पाएका स्वयंसेवी शिक्षकहरूको सूचीसँगै अन्य स्वयंसेवी शिक्षकहरूको नाउँ भएको लामो
सूची नहुनुपर्ने। पक्कै जीटीए प्रशासनले यसलाई पनि उनीहरूले भनेकै सिस्टम-मा
ल्याउँछन् कि?
फेरि जीटीए प्राथमिक टेटकै कुरा गरौँ।
जीटीए टेट गोजमुमो विनय गुटलाई गतिलै
चुनौति त पक्कै हो। पहिलो चुनौति अहिलेसम्म कार्यरत स्वयंसेवी प्राथमिक
शिक्षकहरूको व्यवस्थापन। दोस्रो चुनौति शिक्षित बेरोजगार पार्टी क्याडर। तेस्रो
चुनौति एन.सी.टी.ई-को मापदण्डमा अप्नाउनुपर्ने पारदर्शिता।
अहिले पनि जीटीए क्षेत्रभित्र रहेका
प्राथमिक पाठशालाहरूमा स्वयंसेवी शिक्षकहरूले कार्य गरिरहेकै छन्। यदि कार्यरत
स्वयंसेवी प्राथमिक शिक्षकहरू प्रशिक्षित छैन भने एन.सी.टी.ई-ले तयार पारेको
मापदण्ड अनुसार योग्य हुँदैनन्। चाहे जतिनै वर्ष सेवा किन नदिएको होस्।
दोस्रो चुनौति भनेको आफ्नै पार्टीमा
खट्ने क्याडरहरू। पार्टीमा खटी रहेका
क्याडरहरूले पनि रोजगारको आशा त गरैकै हुन्छन्। रोजगारको आशा गरेका क्याडरहरूले
प्राथमिक शिक्षक पदमा आवेदन त पक्कै गरेकै छन्। त्यसो भए सबै क्याडरहरूलाई
नियुक्ति दिनु सम्भव छन् त? जीटीएको सत्ता
सम्हालेका गोजमुमो विनय गुटलाई यो पार्टीभित्र उब्जिने गतिलो चुनौति हो। जुन
चुनौति चुनावमा देखा पर्न सक्नेछन्। यदि पार्टी भित्रका क्याडरहरू एन.सी.टी.ई-ले
तयार पारेको मापदण्डमा पर्दैनन् भने उनीहरूलाई नियुक्ति दिनका निम्ति जीटीएले जारी
गरेकै अधिसूचनाको बुँदा सङ्ख्या (2) अनुसार उल्लेखित - The Applicant shall possess the
Minimum Educational and Professional Qualification as prescribed by the
National Council For Teacher Education Vide Notification Dated: 23rd August 2010 – ले रोक्नेछ।
यस्तो अवस्थामा जीटीए प्राथमिक टेट सत्तासीन गोजमुमो विनय गुटलाई निक्कै
चुनौतीपूर्ण त पक्कै बन्नेछ।
अन्तमा सबैभन्दा चाखलाग्दो कुरा के छ भने
जीटीए प्राथमिक टेट परीक्षाको निम्ति प्रार्थीहरूबाट पैसा थापेर नियुक्ति गर्छु
भन्ने गिरोहहरू देखा पर्नु पनि जीटीए प्रशासनको निम्ति चुनौतीपूर्ण हो। ‘कमल थापा’-को भाइरल
अडियोले प्राथमिक शिक्षक नियुक्तिमा हुने भ्रष्टाचारको पोल परीक्षा हुन अगावै
खोलेको छ। यस्ता कमल थापाहरू जस्ता व्यक्ति कतिसम्म सक्रिय छन् भन्ने जीटीए
प्रशासनले खोज्न सक्ने हो कि होइन भन्ने थाह छैन तर, भाइरल अडियोमा भनिएका कमल थापा भने अहिलेसम्म पक्रा परेका
छैनन् नै। जसले व्यवस्थालाई बुडी औँली
देखाइरहेकै छ।
जीटीए प्रशासन अधीनस्थ जिल्ला स्कुल बोर्डले आयोजना गर्ने प्राथमिक टेट परीक्षाको अनलाइन आवेदन सकिएको छ। अब परिक्षार्थीहरूले परीक्षाको निम्ति एडमिट कार्ड डाउनलोड गर्न पाउनेछन्। त्यस अनलाइन एडमिट कार्ड डाउनलोड कार्यको थालनीसँगै जीटीए प्रशासनले आयोजना गर्न लागेको टेट परीक्षामा उनीहरूले नै जारी गरेको अधिसूचनाको बुँदा सङ्ख्या (2) मा उल्लेख्य नियमलाई कतिसम्म शिरोपर गरिएको छ भन्ने स्पष्ट हुनेछ। त्योसँगै जीटीए प्रशासनको पहिलो पारदर्शिता त्यहाँ देखिनेछ।
No comments:
Post a Comment