उमेश छेत्रीले जिते डुवर्स आइडलको खिताब - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, January 24, 2021

उमेश छेत्रीले जिते डुवर्स आइडलको खिताब

गफसफ.com, २४ जनवरी २०२१, बाग्राकोट। 

बन्दापानी चियाबगान निवासी उमेश छेत्रीले 'डुवर्स आइडल'-को खिताब जितेका छन्। मेटलीको बंग्ला स्कूल खेल मैदानमा शनिवार साँझ डुवर्स टीभीद्वारा प्रस्तुत डुवर्सको पहिलो सर्ववृहत् रियालिटी शो-को ग्राण्ड फिनालेमा युवा गायक उमेश छेत्री विजयी बनेका हुन्। पुरस्कारस्वरूप उनलाई नगद राशि 50,000 रुपियाँ र एउटा सुन्दर ट्रफी प्रदान गरिएको छ। यसका साथै नेपालको चर्चित रियालिटी शो- 'भोयस अफ् नेपाल'-को ब्लाइन्ड अडिसन राउण्डमा उनले सोझै गाउने अवसर पाएका छन्। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भोयस अफ् नेपालका कार्यकारी निर्माता तथा चर्चित एंकर सुशील नेपालले प्रसिद्ध रियालिटी शो-मा छेत्रीलाई सोझै इन्ट्री दिने घोषणा गरे। 



पहिलो उप-विजेता बने चालसा मंगलबारी निवासी सन्दीप अभिमन्यू सशांकर अनि दोस्रो उपविजेता बने चिलाउने निवासी यश लामा। दोस्रो र तेस्रो स्थान हासिल गरेवापत दुवैलाई क्रमैले 30 हजार रुपियाँ र 20 हजार रुपियाँको नगद राशि प्रदान गरियो। विजेतालाई डुवर्स टीभीका सीएमडी सञ्जय कुजुरले नगद राशि अनि सुशील नेपालले ट्रफी हस्तान्तरण गरे भने पहिलो र दोस्रो उपविजेतालाई क्रमैले सीसीएनको पक्षमा सूरज प्रधान र एम.कम केबल नेटवर्क, मालको पक्षमा किरण प्रधानले नगद राशि हस्तान्तरण गरे। कड़ा टक्करबीच विजेताहरू घोषित भएका थिए। ग्रान्ड फिनालेमा उपस्थित अतिथि कलाकार र प्रसिद्ध गायक तथा गीतकारहरूले दिएका अङ्क र नियमित जजहरूका अङ्कलाई संयुक्त रूपले जोड़ेर डुवर्स आइडलका विजेता तथा उपविजेताहरू घोषित गरिएको थियो। खिताबका अन्य तीन दाबेदारहरू प्रगति छेत्री (लुकसान), नेहाल कामी (वीरपाड़ा) र आर्यन सेवा (थालझोड़ा)-ले जज, अतिथि कलाकार र दर्शकहरूका मन जिते पनि उपाधि भने हासिल गर्न सकेनन्।


पूर्व डुवर्सको सुदूर गाउँ सुनकोश (कुमारग्राम)-बाट 22 नोभेम्बरदेखि शुरु भएको डुवर्स आइडलको ग्राण्ड फिनाले 23 जनवरीको दिन मेटलीमा सम्पन्न भएको थियो, जसमा मुख्य अतिथिका रूपमा नेपालको चर्चित रियालिटी शो भोयस अफ् नेपालका एक्जीक्युटिभ प्रोड्युसर तथा चर्चित एंकर सुशील नेपाल उपस्थित थिए भने तराई डुवर्स सिलगढ़ी गोर्खा विकास प्राधिकरणका चेयरमेन मोहन शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। यसैगरी, डुवर्स टीभीका सीएमडी सञ्जय कुजुर, डुवर्सका सुपरिचित गायक तथा गीतकार डीबी घिसिङ र डुवर्स टीभीका संस्थापकमध्ये एक स्व. मनोज तामाङकी धर्मपत्नी रेश्मा तामाङ अनि समाजसेवी पासाङ लामाको विशेष उपस्थिति रहेको थियो। 

ग्राण्ड फिनालेमा उमेश छेत्री विजेता भएको लगत्तै सुशील नेपालले उनलाई भोयस अफ् नेपालको ब्लाइन्ड अडिसन राउण्डमा सोझै इन्ट्री दिने घोषणा गरे। यससँगै डुवर्सका प्रसिद्ध गायक बिक्की परियारलाई पनि ब्लाइन्ड अडिसनमा इन्ट्री दिने उनले थप घोषणा गरे। चिलाउने निवासी परियारले यसअघि नै सिक्किमको चर्चित रियालिटी शो 'स्वर सरगम'-को विजेता बनेर आफ्नो गायकीको परिचय दिइसकेका छन् भने केही हिट गीतहरू गाइसकेका छन्। यी दुई प्रतिभाशाली गायकले भोयस अफ् नेपालमा डुवर्सलाई प्रतिनिधित्व गर्नेछन्। यस समाचारले डुवर्सका संगीतप्रेमीहरूमा व्यापक उत्साह छाएको छ। सुशील नेपालले भव्य फिनालेमा भने, "भोयस अफ् नेपालको अडिसनमा हजारौंका सङ्ख्याबाट अहिले 110 जना ब्लाइन्ड अडिसनमा छनौट भएका छन्, त्यसमध्ये डुवर्सका दुई प्रतिभाशाली गायक उमेश छेत्री र बिक्की परियार पनि हुन्। दुई दिनपछि म उनीहरूलाई नेपाल लिएर जाँदैछु।" उनको यो घोषणासँगै कार्यक्रम हेर्न आएका डुवर्सवासी रोमाञ्चित बनेका थिए। 

डुवर्सका ओझेल परेका प्रतिभाहरूलाई अन्तरराष्ट्रिय मञ्च प्रदान गर्ने डुवर्स आइडलका आयोजकहरूका सपना पनि यो घोषणाले पूरा गरेको छ। आयोजकका आँखामा खुशीको चमक देखिन्थ्यो। यति सानो ठाउँबाट यति भव्य रियालिटी शो- आयोजन र सफलताको निम्ति उनले डुवर्स आइडलका आयोजक र डुवर्सवासीलाई बधाई दिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा उपस्थित मोहन शर्माले यसप्रकारको शानदार रियालिटी शो डुवर्समा पनि आयोजन गर्न सकिँदो रहेछ भन्ने देखेर आफू दंग परेको बताए। यस्तै गायन शो पूर्व डुवर्समा पनि गरिदिए आफूले सबै सहयोग पुऱ्याउने उनले घोषणा गरे। डुवर्स टीभीका सीएमडी सञ्जय कुजुरले डुवर्स आइडल आयोजनको अनुभव, सामूहिक प्रयास र यसको सफलतालाई संक्षेपमा रेखांकित गर्दै डुवर्स टीभी र आइडलसँग जोड़िएका सबैप्रति आभार प्रकट गरे। डुवर्सका प्रतिभाहरूलाई ओझेलमा पर्न दिन हुँदैन भनेर अहोरात्र चिन्ता गर्ने प्रसिद्ध सुफी गायक तथा डुवर्स आइडलका तीन जजमध्ये एक पुष्पन प्रधानले डुवर्स आइडलको उद्देश्य र यसको महत्त्वमाथि छोटोमा प्रकाश पारेका थिए। यसअघि, डुवर्स आइडलका तीनजना जज तथा प्रसिद्ध गायकहरू इन्द्रजीत मिजार, अजय थापा र पुष्पन प्रधानले पनि प्रस्तुति दिए। डुवर्स आइडलका केही सहभागीहरूको गीत र चर्चित हाँस्य कलाकार अनिल राईको प्रस्तुति पनि कार्यक्रममा समावेश थियो। 

फाइनलिस्टहरूले गाएपछि अतिथि कलाकारहरूबाट सफल थापा (सिलगढ़ी), महेश सेवा (खरसाङ), मनोज याकु (सिक्किम), पवन राई (सिक्किम), स्नेहाश्री शापा (सिलगढ़ी) र सुमन निरौला (सिलगढ़ी)-ले प्रतियोगीहरूका गायकीमाथि आ-आफ्ना टिप्पणी र सुझाउहरू दिएका थिए। यसै शो-मा दार्जीलिङका प्रसिद्ध सङ्गीतकार जीवन प्रकाश राईले आफ्नो रिदम रिकर्डिङबाट छः जना फाइनलिस्टहरूका एक-एकवटा गीत रेकर्ड गरिदिने घोषणा गरे। डुवर्स आइडललाई सफल बनाउन योगदान दिएवापत आइडलका प्रमुख सल्लाहकार राजेन प्रधान र टेक्निकल हेड सौगातो बरूवालाई डुवर्स टीभीका सीएमडी सञ्जय कुजुरले सम्मान जनाए। यस अवसरमा डुवर्स टीभी स्थापनामा महत्त्वपूर्ण योगदान दिने डुवर्स टीभी मीडिया कम्युनिकेशन परिवारका सबै सदस्यगणलाई मञ्चमा स्वागत गरिएको थियो। प्रतियोगिता शुरु हुनअघि डीबी घिसिङका बाहुलीबाट विजेता ट्रफीको अनावरण गरियो।  

यस भव्य रियालिटी शो-मा दार्जीलिङ, सिक्किम, खरसाङ, सिलगढ़ी, नेपाल र डुवर्सका प्रसिद्ध गायक, गीतकार, सङ्गीतकार, समाजसेवी तथा कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो। पहिलो चरणको कार्यक्रममा आयोजक समितिका रूपेश शर्माले स्वागत भाषण राखेका थिए भने उनी र आयोजक समितिका मुख्य संयोजक रविन खवासले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरेका थिए। ग्राण्ड फिनालेको प्रमुख कार्यक्रम चर्चित एंकर अजय खड्का र रेणु रिजालले सञ्चालन गरे। डुवर्स आइडलको यो रियालिटी शो सम्पन्न गराउन डुवर्सका गायक, कलाकार, बुद्धिजीवी, पत्रकार, लेखक, साहित्यकार, समाजसेवी, शिक्षक, खेलाड़ीहरूसहित डुवर्सका विभिन्न संघ-संस्था र व्यक्तिहरूले महत्त्वपूर्ण योगदान दिएको जनाउँदै आयोजक समितिले सबैप्रति आभार प्रकट गरेको छ। 

No comments:

Post a Comment

Post Bottom Ad