जन कल्याण सङ्घको 25 औँ स्थापना दिवस: समाजसेवी दुर्गाप्रसाद छेत्री तेस्रो जनकल्याण विशिष्ट सम्मानले सम्मानित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, January 24, 2021

जन कल्याण सङ्घको 25 औँ स्थापना दिवस: समाजसेवी दुर्गाप्रसाद छेत्री तेस्रो जनकल्याण विशिष्ट सम्मानले सम्मानित

गफसफ.com, कालेबुङ, 24 जनवरी २०२१

कालेबुङ लोवर बोङबस्तीस्थित जन कल्याण ट्रस्टद्वारा प्रत्येक वर्ष  प्रदान गरिने जन कल्याण विशिष्ट सम्मानले यस वर्ष समाजसेवी दुर्गा प्रसाद छेत्री सम्मानित बने। आज जन कल्याण ट्रस्ट अधीनस्थ कालेबुङ जन कल्याण सङ्घको 25 औँ स्थापना दिवसको अवसर पारेर उपस्थित मुख्य अतिथिको बाहुलीबाट छेत्रीलाई तेस्रो जन कल्याण विशिष्ट सम्मान प्रदान गरिएको हो। 



सम्मान प्रापक दुर्गाप्रसाद छेत्रीले विभिन्न सामाजिक संस्था, धार्मिक संस्था आदिमा रहेर समाजमा पुर्याउँदै आएको सहयोग, योगदानको कदर गर्दै यस वर्ष ट्रस्टले उनलाई यस सम्मानले विभुषित गरेको हो। उनलाई उपस्थित अतिथिहरूका बाहुलीबाट खदा, नेपाली टोपी, दोसल्ला पहिराइ, मुख्य अतिथिको बाहुलीबाट सम्मान पत्र प्रदान गरी सम्मान जनाइयो। कार्यक्रमबिच जन कल्याण ट्रस्टका सदस्य डा. भुपेन्द्र शर्मालाई पनि शैक्षिक क्षेत्रमा उनले प्रस्तुत गरेको उदाहरणको कदर गर्दै संवर्द्धना जनाइयो।ट्रस्टका अग्रज गोविन्द खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पेदोङ डिग्री कलेजका प्राध्यापक नवीन पौड्याल मुख्य अतिथिका रूपमा उपस्थित थिए। उनीसित ब्राइट लाइफ एकाडेमीका प्रधानशिक्षक टी. बी. बस्नेत, समाजसेवी योगराज पौड्याल, सुसन्स कराते डु एकाडेमीका संस्थापक सुसन थापा, ब्याङ्क प्रबन्धक तथा समाजसेवी जीतमणि प्रधान आदि विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।


शैक्षिक, सामाजिक, सांस्कृतिक, खेलकुद आदि क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै बोङबस्तीलगायत कालेबुङमा नै उदाहरण बन्ने व्यक्ति विशेषलाई ट्रस्टले प्रत्येक वर्ष जन कल्याण विशिष्ट सम्मानले सम्मानित गर्दै आएको छ भने सोही क्रममा लोवर बोङबस्ती टारी गाउँ निवासी दुर्गाप्रसाद छेत्रीले सामाजिक क्षेत्रमा पुर्‍याएको उदाहरणीय सेवाको कदर गर्दै यस वर्ष जन कल्याण विशिष्ट सम्मानको निम्ति ट्रस्टको चयन समितिले उनलाई चयन गरेको जन कल्याण सङ्घका मूलसचिव तथा चयन समिति सदस्य रोशन दाहालले बताए। 


यसरी नै शैक्षिक, सामाजिक, खेलकुद, सांस्कृतिक आदि क्षेत्रमा आफ्नो मेहनतको फलस्वरूप कालेबुङ जिल्लास्तरभन्दा माथि पुगेर उदाहरण बनेका सदस्यलाई जन कल्याण ट्रस्टले प्रत्येक वर्ष संवर्द्धना जनाउने क्रममा वर्ष 2019 -मा श्री सत्य साई युनिभर्सिटी अफ टेक्नोलोजी एन्ड मेडिकल साइन्सेस मध्यप्रदेशबाट गणित जस्तो जटिल विषयमा विद्यावारिधि हासिल गरि गाउँ अनि ट्रस्टको नाम गौरवान्वित तुल्याउँदै शैक्षिक क्षेत्रमा आउँदो पिँढी अघि उल्लेखनीय उदाहरण प्रस्तुत गरेवापत ट्रस्टका सदस्य डा. भुपेन्द्र शर्मालाई आजको कार्यक्रमबिच संवर्द्धना जनाइएको सचिव दाहालले बताए।


सङ्घका सह-सचिव सुनिल काफ्लेद्वारा सञ्चालित कार्यक्रमलाई मुख्य अतिथि, विशिष्ट अतिथिहरू आदिले सम्बोधन गरेका थिए। कार्यक्रमबिच सङ्घका कलाकारहरूद्वारा गीत, नृत्य आदि प्रस्तुत गरिएको थियो भने यसैबिच विभिन्न खेलकुद प्रतियोगिता पनि सम्पन्न गरियो। कार्यक्रममा ट्रस्ट अध्यक्ष प्रकाश भण्डारी, सङ्घ अध्यक्ष गणेश सापकोटा, कोषाध्यक्ष सोमनाथ दाहाल लगायत सङ्घका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad