विष्णु शर्मा अधिकारी 10औं बद्रीनारायण प्रधान स्मृति पुरस्कारले सम्मानित - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, January 17, 2021

विष्णु शर्मा अधिकारी 10औं बद्रीनारायण प्रधान स्मृति पुरस्कारले सम्मानित

गफसफ.com, 17 जनवरी 2021, बाग्राकोट।

डुवर्सका वरिष्ठ आख्यानकार तथा वैयकारण विष्णु शर्मा अधिकारीलाई 10औं बद्रीनारायण प्रधान स्मृति पुरस्कार अर्पण गरिएको छ। बद्रीनारायण प्रधानको गाउँ बाग्राकोटस्थित भीमसेन भवनमा 94औं बद्रीनारायण प्रधान जयन्ती तथा पुरस्कार अलङ्करण समारोहमा अधिकारीलाई पुरस्कृत गरिएको हो। पुरस्कारस्वरूप नगद राशि 15001 रुपियाँ, अंगवस्त्र र स्मृति चिन्ह अर्पण गरियो।


यस समारोहको अध्यक्षता वरिष्ठ समालोचक प्राडा घनश्याम नेपालले गरेका थिए भने मुख्य अतिथिका रूपमा कालेबुङ महाविद्यालयका प्राचार्य तथा विशिष्ट बुद्धिजीवी डा. राजेन्द्रप्रसाद ढकाल उपस्थित थिए। अतिथिगण रूपमा मूर्धन्य साहित्यकार नरबहादुर दाहाल, वरिष्ठ कथाकार गुप्त प्रधान, वरिष्ठ कवि भविलाल लामिछाने अनि बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका अध्यक्ष सुखमन मोक्तान मञ्चासीन थिए।

अलङ्कृत भएपछि विष्णु शर्मा अधिकारीले बद्रीनारायण प्रधानसँगै बाग्राकोट उच्च माध्यमिक विद्यालयमा अध्यापन गरेका अनुभवहरू सुनाए। बद्रीसरले आफूलाई मौका दिएर स्कूलमा लगाएको जिकिर गर्दै बद्रीसरकै छत्रछाँयामा साहित्य लेखनमा अग्रसर भएको शर्माले अवगत गराए। यसप्रकारको प्रोत्साहन र प्रेमले अझ धेरै रचना सिर्जना गर्ने आफूलाई प्रेरणा मिलेको उनको भनाइ थियो।


मुख्य अतिथिका आसनबाट बोल्दै डा. राजेन्द्रप्रसाद ढकालले बद्रीनारायण प्रधानको 'मौली' 'च्याखुङ डायरी' जस्ता ऐतिहासिकता बोकेका कृतिहरू पढ़्दाको आफ्नो अनुभव सुनाउँदै एक राजनीतिशास्त्रका अध्येताका रूपमा आफूले ती कृतिहरूलाई कसरी हेरेका छन् भन्ने कुरालाई सामाजिक परिदृश्यहरूसँग जोड़े। बद्रीनारायण प्रधानका अनूदित कृतिहरूले रसियन साहित्यका मूल कृतिहरू पढ़्न प्रेरित गरेको उल्लेख गर्दै उनले भने, "बद्रीनारायण प्रधानका कृतिहरूमा भारतीय नेपालीहरूको ऐतिहासिकता झल्केको छ। हाम्रो दुःख, भोगाइ र अधिकारको कुरा गर्दा साहित्यमा पनि राजनीति स्वतः आउँछ। हाम्रो संस्कृति, जाति, सामाजिकताका जति पनि पक्षहरू छन्, तिनलाई नेपाल, भूटान, सिक्किम, दार्जीलिङ, डुवर्स, कालेबुङ, खरसाङ आदि ठाउँका भन्दै टुक्रा-टुक्रा पारेर हेर्नु हुँदैन। हामीले नयाँ ढङ्गले यसका विशेषताहरूलाई केलाउन सक्नुपर्छ।" ऐतिहासिकता बोकेका साहित्यिक कृतिहरूको नयाँ ढङ्गले अध्ययन आवश्यक भएको उनको धारणा थियो।

डा. घनश्याम नेपालले मान्छे अर्थोत्पादन गर्ने जाति भएको कारणले नै उसको विशेषता छुट्याएको बताउँदै भने, "वस्तुको आफ्नो कुनै अर्थ हुँदैन। मान्छेले त्यसलाई अर्थ दिन्छ। अर्थोत्पादन गरेर हामी आफूलाई अरूभन्दा भिन्न बनाउँछौं। अर्थलाई एकचोटि मात्र अर्थ्याएर पुग्दैन। बद्रीसरका सबै कुरालाई यसरी अर्थ दिनु हाम्रो सामाजिकता र सामूहिकताको परिचय हो।" अर्थोत्पत्तिको यो धारा नै सामाजिक विकासको मूल धारा भएको उनको ठहर थियो। डुवर्सले अहिले सचेत, जाग्रत र सक्रिय भएर काम गरिरहेको भन्दै उनले त्यसप्रति हर्ष प्रकट गरे। "बद्रीसर र विष्णु सरहरूले रोपेको फसल अहिले लहलह भएको छ। यो फसल फैलिएर डुवर्सबाहिर पनि चारैतिर मौलाएर जाओस्", डा. नेपालले शुभकामना दिए।

वरिष्ठ साहित्यकार नरबहादुर दाहालले बद्रीसरका रोचक प्रसङ्गहरू उल्लेख गर्दै उनी राजनीतिक पूर्वाग्रहले कहिल्यै ग्रसित नभएको बताए। आफू बद्रीसरको विद्यार्थी छँदाको संस्मरण पनि उनले सुनाए। कार्यक्रममा वरिष्ठ समालोचक प्राडा मोहन पी. दाहालले बद्रीनारायण प्रधानका विभिन्न रोचक घटनाक्रमहरूमाथि प्रकाश पारे भने निबन्धकार अजय खड्काले विष्णु शर्मा अधिकारीको परिचय प्रस्तुत गरे। परिवारको तर्फबाट बद्रीनारायण प्रधानका ज्येष्ठ सुपुत्र बलीन्द्रनारायण प्रधानले पितासँगका आफ्ना अनुभव र प्रसङ्गहरू साझा गरे। यसअघि, बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका अध्यक्ष सुखमन मोक्तानले स्वागत वक्तव्य राखे। कार्यक्रममा कवि ज्ञानेन्द्र खतिवड़ा र गजलगो सरिता समदर्शीले कविता वाचन गरेका थिए। चर्चित गायक पुष्पन प्रधानले चिया कमानसँग सम्बन्धित एउटा गीत प्रस्तुत गरे। सम्पूर्ण कार्यक्रमलाई प्रतिष्ठानका मूलसचिव रूपेश शर्माले सञ्चालन गरेका थिए।

कार्यक्रममा सिक्किम, दार्जीलिङ, कालेबुङ, मङ्पू, लाटपञ्चार, खरसाङ, सिलगढ़ी, डुवर्स, गोरूबथान, अम्बियोकलगायतका क्षेत्रबाट विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा विशिष्ट साहित्यकार, बुद्धिजीवी, समाजसेवी एवं भाषासेवीहरूको बाक्लो उपस्थिति रहेको थियो।

No comments:

Post a Comment

Post Bottom Ad