‘सिर्जना र सम्वार्ता’ कार्यक्रममा ‘‘महाकाल सिसिफस’ अनि ‘आधा अर्थ’ कृतिबारे चर्चा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, December 20, 2020

‘सिर्जना र सम्वार्ता’ कार्यक्रममा ‘‘महाकाल सिसिफस’ अनि ‘आधा अर्थ’ कृतिबारे चर्चा

गफसफ.com, 20  दिसम्बर 2020सिलगडी ।

नेपाली साहित्य संस्थान,  सिलगडीको आयोजनामा  आज सिर्जना र सम्वार्ता कार्यक्रम सम्प्पन भयो।  सिलगडीको सालबारी स्थित क्याफे द ट्विन्स मा आयोजित कार्यक्रममा तीनजना सर्जकहरू रहेका थिए। सिर्जना र सम्वार्ता  कार्यक्रम संस्थानका नियमित कार्यक्रमहरूमध्ये एउटा हो जसमा भारतीय नेपाली साहित्यका सर्जक र तिनका कृतिहरूबारे  विचार विमर्श गरिन्छ।


आजका कार्यक्रममा तीनजना सर्जकहरू उपस्थित थिए जो संस्थानसितै आबद्ध सर्जकहरू पनि हुन् - कवि अनुवादक बिर्ख खड्का डुवर्सेली, कवि रेमिका थापा अनि कवि वासुदेव थापा। बिर्ख खड्का डुवर्सेली नेपाली भाषी हिन्दी लेखक तथा अनुवादकका रूपमा परिचित छन् जो भर्खरै उनका नेपाली साहित्य विमर्श नामक पुस्तकका लागि भारत सरकारको मानव संसाधन विकास मन्त्रालयद्वारा पुरस्कृत भएका छन्।

कार्यक्रमको पहिलो सत्रमा यिनलाई संस्थानद्वारा अङ्गवस्त्र तथा ढाका टोपी पहिर्‍याएर समवर्द्धना जनाइएको थियो। कार्यक्रमको दोस्रो सत्रमा कवि रेमिका थापा अनि कवि वासुदेव पुलामीका भर्खरै प्रकाशित कविता सङ्ग्रहहरू क्रमशः महाकाल सिसिफस अनि आधा अर्थसम्बन्धी चर्चा परिचर्चा गरिएको थियो।

कवि रेमिका थापाको महाकाल सिसिफसबारे पाठकीय दृष्टिकोण प्रस्तुत गर्दै संस्थानका सदस्य तथा उदीयमान समालोचक डा देवचन्द्र सुब्बाले महाकाल सिसिफसमा सङ्ग्रहित कविताहरूलाई मूल रूपमा मिथकीय प्रयोग अनि पारिस्थितिकीय (ecological) दृष्टिले अध्ययन गर्न सकिने जनाए। यससँगै कविताले के भन्छ?’ भन्दा कविता कसरी भनिन्छ?’ भन्ने कुराप्रति अध्येताहरू सचेत रहनुपर्ने कुरामाथि उनले जोड दिए।

यसपछि संस्थानका उपाध्यक्ष तथा कवि ज्ञानेन्द्र सुब्बाले कवि वासुदेवका कविताबारे आफ्नो पाठकीय टिप्पणी प्रस्तुत गरे। आफ्नो टिप्पणीमा उनले कवि वासुदेव निरन्तर काव्य साधना गर्ने तथा जीवन चिन्तनसम्बन्धी मिहिन भावहरूलाई टिपेर नौला बिम्बयुक्त कविता लेख्ने शिल्पी हुन् भन्ने कुरो गरे।

कार्यक्रममा कविद्वय रेमिका थापा अनि वासुदेव थापाले पनि आफ्ना साथै एकाअर्काका कविताबारे विचार पोख्दै केही कविताहरू वाचन समेत गरे। कार्यक्रमको पर्यवेक्षकीय वक्तव्यमा भारतीय नेपाली साहित्यका चिरपरिचित समालोचक तथा भाषाचिन्तक डा घनश्याम नेपालले कवि रेमिका अनि कवि वासुदेव समकालीन भारतीय नेपाली कविताका क्षेत्रमा दुईजना उत्कृष्ट कविहरू हुन् भन्ने आशय व्यक्त गरे।

उनले रेमिका थापाको महाकाल सिसिफसलाई भारतीय नेपालीहरूले हाम्रो कविता भनेर निर्धक्क देखाउन सक्ने कविता सङ्ग्रह हो भन्ने जनाउँदै यस सङ्ग्रहका प्रत्येक कवितामा नेपालीपन पाइन्छ अथवा यी कविताहरूमा नेपाली संस्कृति, नेपाली माटो अथवा नेपाली स्वर मुखरित भएका छन् भन्ने कुरो गरे। द्विचरता तथा द्वन्द्वात्मकतालाई महाकाल सिसिफसको वैशिष्ट्य मान्दै यस कवितामा मिथकहरूको वस्तुगत समीकरण रहेको उल्लेख गरे। अर्कातिर कवि वासुदेवको आधा अर्थमा सङ्ग्रहित कविताहरू छोटा छरिता तथा नौला भावभङ्गीका रहेको जनाउँदै यी दुईजना कविका कविता भिन्न तर आआफ्नै प्रकारले उत्कृष्ट छन् भन्ने कुरो गरे।    

उक्त कार्यक्रममा शब्द समूह सालबारी-का सदस्यहरू साथै नेपाली विभाग उत्तर बङ्ग विश्वविद्यालयका प्राध्यपकहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन संस्थानका सदस्य भूपेन तामाङले गरेका थिए भने संस्थानका सचिव डपछिरिङ लेप्चाद्वारा धन्यवाद ज्ञापन गरेपछि कार्यक्रम समापन भएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad