विष्णु शर्मा अधिकारीलाई 10औं बद्रीनारायण प्रधान स्मृति पुरस्कार - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, December 15, 2020

विष्णु शर्मा अधिकारीलाई 10औं बद्रीनारायण प्रधान स्मृति पुरस्कार

गफसफ.com, 15 दिसम्बर 2020, कालेबुङ ।

डुवर्सका वरिष्ठ साहित्यकार विष्णु शर्मा अधिकारीलाई यस वर्षको बद्रीनारायण प्रधान स्मृति पुरस्कारद्वारा अलङ्कृत गरिनेछ। बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान, बाग्राकोटले शनिवार पुरस्कार चयन समितिको बैठक गरी यो निर्णय लिएको हो। चयन समितिका संयोजक डा. मोहन पी. दाहालले बैठकको अध्यक्षता गरेका थिए। नेपाली साहित्यमा पाँच दशकभन्दा लामो समयदेखि अनवरत सेवा पुर्याएवापत् अधिकारीलाई यो पुरस्कार अर्पण गर्न लागिएको हो। आगामी 17 जनवरी, 2021 का दिन बाग्राकोटमा पुरस्कार अलङ्करण समारोहको आयोजन गरिनेछ। पुरस्कारमा नगद राशि, अङ्ग-वस्त्र र प्रशस्ति-पत्र सम्मिलित रहेको छ।


3 मार्च, 1947 मा पश्चिम डुवर्सको आशाबारी चिया बगानमा माता नर्मदा शर्मा र पिता धर्मानन्द शर्माको कोखमा जन्म लिएका विष्णु शर्मा अधिकारीको साहित्यिक रुचि विद्यार्थीकालदेखिकै हो। उनले सातौं श्रेणीमा अध्ययन गर्दा नै पहिलो रचना साहित्य कुन हो?’ (निबन्ध) लेखेका थिए, जो वाराणसीबाट प्रकाशित हुने उदय’-मा 1960 मा प्रकाशित भएको थियो। त्यही वर्ष उनको कविता जन्मभूमिपनि उदय’-मा प्रकाशित भयो। एक आख्यानकारका रूपमा उनको अहिले जुन परिचय छ, त्यसको जग साठीको दशकमा किशोरकालबाटै बलियो बन्दै गएको पाइन्छ। 

Bishnu Adhikari
सत्तरको दशकको शुरुमै उनका कथाहरूको सङ्ख्या डेढ़ दर्जन पुगिसकेका थिए। उनको पहिलो कथा 1967 मा प्रकाशित भएको थियो। डुवर्समा उपन्यास विधा आइसल्याण्डको सर्पजस्तै भएको समय पहिलोपटक उनैले 1973 मा प्रकृति कन्याउपन्यास डुवर्सलाई दिए। उनी डुवर्सका पहिलो उपन्यासकार हुन्। त्यसको लगत्तै अर्को वर्ष विजयमाला’ (1974) उपन्यास प्रकाशित भयो। उनका अन्य प्रकाशित कृतिहरूमा सरल रचनावली’ (निबन्ध सङ्ग्रह, 1971) अमर ध्वनि तत्व’ (अनुवाद, 1972), ‘असिनाले झारेका फूलहरू’ (कथा सङ्ग्रह, 1996) र उपन्यास कर्मभूमि’ (2019) प्रमुख छन्। एक वैयाकरणका रूपमा पनि उनको ख्याति छ। उनले केही पाठ्यपुस्तक र व्याकरण पनि लेखेका छन्, जसमा छन्- व्याकरणका नियमहरू’ (1992), ‘साहित्य-सौरभ’ (भाग 1 देखि 8 सम्म, 1995), ‘व्याकरण-सौरभ’ (भाग 1 दखि 3 सम्म, 1998)। 1973 मा उनले डुवर्सबाट स्तरीय पत्रिका इन्द्रधनु’-को सम्पादन गरे, जो तीन अङ्कसम्म प्रकाशित भएको थियो। उनका डेढ़ दर्जन कथाहरूको सँगालो मानसपुत्रप्रकाशनको तयारीमा प्रेसमा रहेको छ। अधिकारीका कथाहरूमा ओ हेनरीका कथाहरूको गहिरो प्रभाव भेटिन्छ। डुवर्सबाट गद्याख्यानलाई समृद्ध बनाउने एकजना प्रतिबद्ध आख्यानकारका रूपमा उनको स्थापना छ। डुवर्सबाट अहिलेसम्म प्रकाशित सातमध्ये तीन उपन्यास अधिकारी एक्लैले लेखेका छन्।


पुरस्कारको निर्णय भएलगत्तै बाग्राकोटस्थित विष्णु शर्मा अधिकारीको निवास पुगेर जुरी एवं प्रतिष्ठानका सदस्यहरूले उनलाई यस निर्णयको जानकारी गराउँदै सम्मान जनाए। वार्धक्य र स्वास्थ्यस्थितिका कारण उनी बाहिर त्यति हिँड़डुल गर्दैनन्। तर नेपाली साहित्यलाई समृद्ध बनाउने काम गरिरहेकै छन्। गत वर्ष उनको उपन्यास 'कर्मभूमि' प्रकाशित भएको थियो भने 2021 को शुरुआती महिनाहरूमा नै कथा सङ्ग्रह प्रकाशमा आउने लगभग तय छ।

‘एक प्रतिबद्ध साहित्य साधकलाई सम्मानित गर्न पाउँदा बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठान गर्वबोध गर्दछ’ - बद्रीनारायण प्रधान स्मृति प्रतिष्ठानका मूल सचिव रूपेश शर्मा भने।


No comments:

Post a Comment

Post Bottom Ad