बङ्गालमा प्रजातन्त्र खत्रामा रहेको राज्यपालको आरोप; भने – ‘पुलिस प्रशासनले राजनैतिक कार्यकर्ताले जस्तै कार्य गर्दैछ, यो प्रजातन्त्रमा खत्रा हो’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, November 25, 2020

बङ्गालमा प्रजातन्त्र खत्रामा रहेको राज्यपालको आरोप; भने – ‘पुलिस प्रशासनले राजनैतिक कार्यकर्ताले जस्तै कार्य गर्दैछ, यो प्रजातन्त्रमा खत्रा हो’

गफसफ.com, 25 नोभेम्बर 2020,कालेबुङ ।

पहाड भ्रमणमा रहेका राज्यपाल जगदी धनखडले पुलिस प्रशासनको कार्यप्रणालीप्रति जोडदार प्रश्न उठाएका छन्। दुई दिवसीय कालेबुङ भ्रमणमा आइपुगेका राज्यपाल धनखडले आज पत्रकारहरूलाई सम्बोधन गर्दै पुलिस प्रशासनले राजनैतिक कार्यकर्ताले जस्तै कार्य गरेको आरोप लगाए। उनले आफु कालेबुङको भ्रमणमा आइपुग्दा कुनै पनि सरकारी उच्च अधिकारी आफु समक्ष नआएको भन्दै राज्यकी मुख्यमन्त्री आउँदा भने ती सरकारी अधिकारीहरूले उनीहरूकै तालमा नाचीरहेको हुने गरेको बताए।


राज्यमा प्रजातन्त्र खत्रामा छ। राज्य सरकार पुलिस प्रशासनको दममा चलिरहेको छ। आज पुलिस प्रशासनले जुन कार्य गरिरहेको छ यो प्रजातन्त्रमा अत्यन्तै खत्रा हो। पुलिस प्रशासनले राजनैतिक कार्यकर्ताले भन्दा धेर राजनैतिक कार्य गर्दैछ। यस्तो कार्य गर्ने पुलिस प्रशासनले भविष्यमा ठूलो किमत चुकाउन पर्नेछ
राज्यपाल धनखडले भने। उनले कालेबुङमा आफ्नो भ्रमण अवधी जिल्ला प्रशासनले कुनै राम्रो व्यवस्था समेत नगरेको आरोप लगाए। यसक्रममा जिल्ला प्रशासनका अधिकारीको अनुपस्थितिमा उनले असन्तोष व्यक्त गरे।

उनले आफ्नो सम्बोधनमा मुख्यमन्त्रीलाई पत्रचार गरेर विभिन्न विषयहरूमा जानकारी माग्दा समेत कुनै जानकारी नदिएको आरोप लगाए। यसक्रममा राज्यको गृह विभागद्वारा समेत कुनै सकारात्मक उत्तर नपाएको उनले बताए। राज्य सरकारप्रति आक्रोशित देखिएका राज्यपाल धनखडले आफु भारतीय संवैधानिक रक्षाको निम्ति अग्रसर रहेको भन्दै कुनै पनि असंवैधानिक कार्य स्वीकार नहुने उनले बताए।

सरकारी तन्त्रको पुरा राजनीतिकरण भइसक्यो अनि राजनीतिकरण पुरै अपराधीकरण भइसक्योराज्यपाल धनखडले राज्यको प्रशासनिक व्यवस्थाबारे प्रश्न उठाउँदै अझ भने - पुलिस प्रशासन पूर्णरूपले राजनैतिक पार्टीको कठपुतली बनिसक्यो। राज्यपालको निम्ति यो चिन्ताको विषय हो। यसक्रममा आज पनि राज्यको प्रशासन अनि पुलिस प्रशासन प्रति म अनुरोध गर्छु कि तपाईँहरू कानुनको बाटोबाट नभट्किनुहो। सिद्धान्तलाई तिलाञ्जली नदिनुहोस्। यसो गर्नाले यसको दुरगामी दुष्परिणाम निश्चित हुनेछ।यसक्रममा उनले पुलिसको कार्वाही कानुनको हिसाबले हुनपर्ने तर यहाँ राजनीतिको हिसाबले प्रयोग भइरहेको आरोप लगाए।

उनले अहिलेसम्म जीटीएको अडिट नभएको सन्दर्भमा पनि प्रश्न उठाउँदै जीटीएको अडिट निश्चित हुनेछभने। अडिट किन हुन्छ? सरकारी धनको उपयोग ठिकसँगले भयो भएन जान्नको निम्ति नै अडिट हुनेगर्छ। तर यहाँ त जीटीएको अडिट नै भएको छैन। यो चिन्ताको विषय हो अनि यसको अडिट निश्चित हुनेछ साथै यहाँ सरकारी धनको दुरूप्रयोग भएको छ भने निश्चित रूपले कार्वाही हुनेछराज्यपाल धनखडले भने।

उनले आफु पहाडको भ्रमणमा रहेको समय धेरैले आफुलाई भेटघाट गरेर मानिसहरूले विविध समस्याहरू बताएको जानकारी गराए। मलाई यहाँका मानिसहरूले पुलिस प्रशासनको दमनकारी कार्यप्रणाली रहेको अवगत गराएको भन्दै पुलिस प्रशासनको यस्तो कार्यहरूप्रति आफु अवगत रहेको जानकारी दिए। उनले भारतीय संविधानमा प्रत्येक समस्याहरूको समाधान रहेको भन्दै पहाडका समस्याको पनि निश्चित समाधान रहेको बताए। उनले धारा 370, तीन तलाक, राम मन्दिर जस्ता मुद्दाहरूको समाधान हुन सम्भव भएको उदाहरण दिँदै पहाडको समस्याको पनि समाधान निश्चित रहेको उनले बताए। यसक्रममा उनले कतिपय समस्याहरू राज्य सरकारले गर्नपर्ने, कुनै समस्याको समाधान केन्द्र सरकारले गर्न सक्ने तर, प्रत्येक समस्याको समाधान संविधान अनुरूप हुने बताए।


No comments:

Post a Comment

Post Bottom Ad