सिलगड़ीमा हाम्रो छहारी -को स्थापनाले सबैमा हर्षको लहर ; पाउने भए बास अब आपदबिपदमा पर्नेहरूले - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 20, 2020

सिलगड़ीमा हाम्रो छहारी -को स्थापनाले सबैमा हर्षको लहर ; पाउने भए बास अब आपदबिपदमा पर्नेहरूले

 गफसफ.com, 20 नोभेम्बर 2020, सिलगड़ी।

सिलगड़ीमा हाम्रो छहारीको आवस सञ्चालन हुने भएको छ। आगामी वर्षको माघे सङ्क्रान्तिदेखि हाम्रो छहारीको उक्त आवस सञ्चाल हुने निश्चित भएको छ। विशेषगरेर दार्जीलिङ पहाड़, डुअर्स, सिक्किम, उत्तरपूर्व अनि छिमेकी मुलुक नेपाल, भुटान, बर्माबाट आउने गोर्खा समुदायका मानिसहरूले सिलगड़ी बस्ने समस्या भोग्दै आइरहेका छन्। यस्तो अवस्थामा उनीहरूकै सुविधालाई ध्यानमा राख्दै हाम्रो छहारीले आवस केन्द सिलगड़ीमा सञ्चालन गर्ने भएको हो। उक्त आवस खप्रेलस्थित सैनिकपुरीमा सुरू हुने अब निश्चित भएको छ।


यसै प्रसङ्गमा हाम्रो छहारी, सिलगड़ीको पहिलो सभा हिजो खप्रेलस्थित सोही प्रस्तावित आश्रममा सम्पन्न भयो। मुम्बईस्थित हाम्रो छहारीका संस्थापक सदस्य कदमतलानिवासी निर्मल पुनको अध्यक्षतामा सम्पन्न सभामा स्थानीयलगायत सिलगड़ी, कालेबुङ, लेबुङ अनि काठमान्डौँका समाजसचेत व्यक्तिहरूको उपस्थिति रहेको थियो। स्थानीय सामाजिक कार्यकर्ता तथा हाम्रो छहारी -का संरक्षक सागर छेत्री अनि सदस्य कुमार छेत्रीको सक्रियतामा आयोजित सभाको सञ्चालन आजीवन सदस्य लक्ष्मण शर्माले गरेका थिए भने सभामा विशेष अतिथिका रूपमा कञ्चनजङ्घा उद्धार केन्द्रकी संस्थापक पानीघट्टानिवासी रङगु सौरिया, मालदाका अतिरिक्त उपजिल्लापाल तथा हाम्रो छहारी का आजीवन सदस्य राजु सेर्पा तथा हाम्रो छहारी -को नेपालकी मूल संयोजक श्रीमती सुषमा सुब्बा गिरी उपस्थित थिए।

सभालाई सम्बोधन गर्ने क्रममा सागर छेत्रीले आफु गत मार्च महिनामा मुम्बई पुगेको बेला त्यहाँ रोगोपचार गर्नका लागि जाने हाम्रा मानिसहरूको लागि सुरू गरिएको हाम्रो छहारी -को भ्रमण गर्ने औसर पाएको अनि त्यहाँका कार्यकर्ताहरूको सक्रियता र सुव्यवस्थाबाट प्रेरित भएर सिलगड़ीमा पनि यस्तै कार्य गर्ने इच्छा जागेको बताए। यसैले उनले सोही महिना गुजरातको सुरत सहरमा सम्पन्न बसिबियाँलो -को प्रकरणमा आफ्नो सो सपना पुरा गर्नलाई सहयोग गर्ने घोषणा गरेबापत् आज आएर सो साकार हुन गइरहेकोमा खुसी व्यक्त गरे। तिनले हाम्रो छहारी को यस प्रस्तावित आश्रयले सबैलाई सहयोग पुग्ने आशा व्यक्त गरे। तिनले आफ्नो ठाउँमा आफ्नै आधिपत्य रहनुपर्ने विषयमा बल दिँदै जातिप्रति आफ्नो सदैव सदिच्छा रहेको जनाए।

कञ्चनजङ्घा उद्धार केन्द्रकी संस्थापक रङ्गु सौरियाले पनि सभालाई सम्बोधन गर्दै आफुले हाम्रो छहारी -बारे धेरै दिनअघिदेखि सुनेर, बुझेर आए तापनि कतिपय उद्धार कार्यमा व्यस्त रहेको कारण यससित जोड़िनमा विलम्ब भएको बताउँदै अबउसो यस अभियानसित मिलेर कार्य गर्ने प्रतिश्रुति दिइन्। तिनले समाज उत्थानका लागि रोगीहरूको उपचारलगायत मानव तस्करीका सिकार बनेका हाम्रा चेलीबेटीहरूका लागि यो हाम्रो छहारी -को आश्रमले ठुलो भूमिका निर्वाह गर्ने बताइन्।

मालदाका उप जिल्लापाल तथा हाम्रो छहारीका आजीवन सदस्य राजु सेर्पाले हाम्रो छहारी जस्तो अभियानसित जोड़िन पाउनु आफ्नो अहोभाग्य ठान्दै यसका कार्यकर्ताहरूसित एकआपसमा भेटघाट गर्न नजुरे तापनि आफ्ना साथीहरूको संसर्गले गर्दा हालमा यस अभियानसित संलग्न भएर कार्य गर्न पाएकोमा हर्ष प्रकट गरे। तिनले आफ्नो जातिमा पनि ठुलो मुटु भएका सहयोगीहरू रहेको यसै हाम्रो छहारी अभियानको कामले देखाएको बताए अनि सिलगड़ीको छहारीसित अब सदैव गाँसिर काम गर्ने प्रतिश्रुति दिए।

नेपालमा हाम्रो छहारी -की मूल संयोजकको रूपमा दीर्घ दिनदेखि कार्य गरेर आइरहेकी सुषमा सुब्बा गिरीले आफुले गत जनवरी महिनामा मुम्बईको भ्रमण गर्दा त्यहाँको हाम्रो छहारी -का आश्रमहरूको दर्शन गर्न पाएको अनि त्यहाँ निष्पादन भइरहेका कार्यहरूले आफ्नो मन पग्लेको बताइन्। त्यहाँको कार्यप्रणाली देखेर आफुलाई पनि यस संस्थासित जोड़िएर काम गर्ने हुटहुटी लागेको तिनले जनाइन्।

स्थानीय सामाजिक कार्यकर्ता तथा हाम्रो छहारी -का सदस्य कुमार छेत्रीले छहारीले हामीलाई के दिन्छ भन्दा पनि आफुले यसलाई के दिनसक्ठुभन्ने मुटु भएका व्यक्तिहरू देख्दा आफ्नो मन रमाएको बताए। यस अभियानसित जोड़िएपछि आफ्नो समाजका उदार अनि इमानदार मानिसहरू भेटिरहेको बताउँदै उनीहरूसितको संसर्गले आफुलाई सामाजिक कार्यमा अझ गतिवान् बन्ने प्रेरणा दिइरहेको जनाए।

यस दिनको बैठकले आगामी वर्षको माघे सङ्क्रान्तिका दिनदेखि हाम्रो छहारी -को आश्रम औपचारिक रूपमा सुरू गरिने निर्णय लियो भने तकनिकी औपचारिकताहरू पूर्ण नहुन्जेलका लागि एउटा अस्थायी समितिको आयोजना पनि गरियो जसमा यस अभियानमा दत्तचित्तले समय अनि संसाधन प्रदान गर्नसक्ने कटिबद्ध सदस्यहरूको  चयन गरियो। सभाले चयन गरेको अस्थायी कार्यकारी समितिमा सभापति सागर छेत्री (खप्रेल), उपसभापति ममता लामा (शास्त्री नगर, सिलगड़ी), मूलसचिव कुमार छेत्री (खप्रेल), कोषाध्यक्ष गायत्री दाहाल (खप्रेल), सल्लाहकारवर्ग निर्मल पुन (कदमतला), राजु सेर्पा (मालदा) अनि कार्यकारी सदस्यहरू लक्ष्मण शर्मा (शास्त्री नगर, सिलगड़ी), सुषमा सुब्बा गिरी (काठमान्डौँ, नेपाल हाल सिलगड़ी), तारा प्रधान (खप्रेल), डा. दीपेन्द्र शर्मा (सालबारी), सुवास राई (फुलबारी), मणिकुमार शर्मा (सिलगड़ी), रङ्गु सौरिया (पानीघट्टा), अनित सोनार (पानीघट्टा), सोनाम छिरिङ लेप्चा (लेबुङ), सेफ सुमसान तामाङ (सिलगड़ी) अनि बिन्दु दाहाल (सिलगड़ी) रहेका छन् भने निकट भविष्यमा यस समितिमा सदस्यहरू अझ थपिने निर्णय लिइएको छ। प्रस्तावित आश्रमको खुदरा मरम्मती अनि रङ्गपचेराका कार्यहरू सम्पन्न गरेर आवश्यक सरसामग्रीहरू भित्र्याउनुमा केही समय लाग्ने हुनाले आगामी माघे सङ्क्रान्तिका दिनदेखि मात्र आम मानिसहरू यहाँ रहनसक्ने विषयमा सभामा चर्चा भयो। यसै सभामा आश्रमका लागि आवश्यक पर्ने सरसामानहरूको सूची पनि तयार गरियो अनि समाजोत्थानका लागि अग्रसर रहने शुभचिन्तकहरूलाई हाम्रो छहारी -का विभिन्न सामाजिक सञ्जालहरूमार्फत् अपिल गरेर ती सामग्रीहरू आफ्नो परिवारका दिवङ्गत प्रियजनहरूको नाउँमा दान गर्ने अपिल गरिने निर्णय लिइयो। यसै दिनदेखि नै सदस्यहरूले भाँड़ाबर्तन आदि दान गर्ने वचन दिएर आफ्नो कटिबद्धता पनि प्रकट गरे।

नवगठित कार्यकारी समितिको आगामी बैठक यथाशीघ्र आयोजना हुने जसमा नयाँ कटिबद्ध कार्यकारी सदस्यहरू समावेश गरिने, सिलगड़ीबाहेक नजिकका अन्य स्थानमा रहेका हाम्रो छहारी -का कतिपय सक्रिय व्यक्तिहरूलाई भ्रमणार्थी सदस्य अथवा भिजिटिङ मेम्बरको दायित्व दिइने, छहारी -मा रहने रोगीहरूका लागि निजी रोगी वाहन (एम्बुलेंस) -को प्रबन्धन मिलाइने, पञ्जीकरणका तकनिकी औपचारिकताहरू पूर्ण गरिने आदि विषयमा विस्तृत रूपमा छलफल गरिने जानकारी पाइएको छ।

उल्लेख्य, हाम्रो छहारी अभियानको अवधारणा मुम्बईमा रहेका केही जातिसचेत व्यक्तिहरूले सुरू गरेका हुन्। त्यहाँ गत वर्षदेखि मूलतः क्यांसर तथा अन्य रोगोपचारका लागि पहाड़ अनि अन्य स्थानहरूबाट पुग्ने हाम्रा मानिसहरूलाई रहने व्यवस्थाको रूपमा आश्रम सञ्चालन भएर आइरहेको छ। यद्यपि कोरोनाको चपेटमा परेर आर्थिक कठिनाइ भोग्नुपरिरहेको मुम्बईको हाम्रो छहारी -ले सिक्किम सरकार, जीटीए लगायत यस भेकका जनप्रतिनिधिहरूसित पत्राचार गरेर आर्थिक सहयोगको अपिल गरिरहेको जानकारी पाइएको छ। तथापि हालमा हाम्रो छहारी केवल सदस्यता शुल्कको भरमा चलिरहेको बताइन्छ।

सिलगड़ीको छहारीबारे आवश्यक जानकारीका लागि इच्छुक व्यक्तिहरूले यी नम्बरहरूमा सम्पर्क गर्न सक्ने  बताइएको छ 9851873018, 9851846460, 9436155195, 9933013482, 9434407428, 9531714164.

No comments:

Post a Comment

Post Bottom Ad