सम्झनाको तरेलीमा ठकुरी सर… - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, July 1, 2020

सम्झनाको तरेलीमा ठकुरी सर…

व्यक्तित्व _________________________________ सुधीर राई

शिर टोपीले सदैव सुसज्जित, नझुकेका कहिले। टोपीले सरको मान राखेको, सरले टोपीको गौरव। सरल स्वभाव। शान्त प्रकृति। अनुशासनबद्ध प्रवृत्ति। मृदुभाषी। सबैलाई समान व्यवहार गर्ने। सबैको प्रिय ठकुरी सर। जहिले, सायद जसले पनि सरलाई सम्झँदा यस्तै सम्झन्छन्।

शिक्षाको एउटा धरोहर वहाँ, अतिशयोक्ति होइन। सही अर्थमा बुद्धिजीवी।  सन् १९५५ देखी १९९० सम्मको कार्यकालमा सम्पूर्ण पश्चिम बङ्गाल राज्यमा नै कालेबुङ निम्न बुनियादी प्रशिक्षण संस्थानलाई प्रथम दर्जामा पुऱ्याउन सफल प्राचार्य उहाँ। शिक्षित समूहमा सरको परिचय।

क्षणिक ख्याति भन्दा चिरञ्जीवी कर्ममा विश्वस्त। अवकाश जीवनमा अनेक सङ्घ-संस्थाहरूसँग आबद्ध वहाँको सेवा कर्महरूमा पाउँछन् सरलाई सामाजिक अभियन्ताहरू।

श्रद्धान्जलीस्वरुप एउटा छोटो लेख लेख्ने अठोट लिएर ठकुरी गुरुमा (दिपारानी ठकुरी) लाई भेट्न जाँदै गर्दा सरको फरक परिचय खोज्नुपर्ला, विचार गरेँ। ठकुरी गुरुमाले चिन्नुभएको सरलाई पाठक वर्गमा प्रस्तुत गर्ने धृष्टता गरेँ।

गुरुमाले बताउनुभए अनुसार, पुलिस विभागमा कार्यरत बुवा गजाधर शर्माको स्थानान्तर भएको ठाउँ गोरुबथानमा सरको जन्म २ जुलाई १९३० मा। बुवा शर्मा सर कसरी ठकुरी, सोधेँ। भन्नुभयो- “तिनताक रितानुसार आमा ठकुरी भए छोरा-छोरीले ने ठकुरी लेख्न पर्ने।” आमा तुलशा ठकुरी र सर पनि ठकुरी।

दार्जिलिङकै विभिन्न शैक्षिक संस्थानबाट शिक्षार्जन गरी बानिपुर विश्वविद्यालयबाट बिएड गरेका। कलेज छँदा एनसिसिको वेस्ट क्याडेटले अलङ्कृत।

शिक्षार्जनको क्रम सकेर केही कालको निम्ति टर्नवुल अनि घुम उच्च विद्यालयमा शिक्षण कार्य गरेपछि पुलिस विभागमा लागेका रहेछन्। आफ्नो प्रकृति अनुकूल कार्यशैली नभएर असन्तुष्ट भइरहेकै समय आफ्ना गुरु धरणीधर शर्माको सुझावमा सरले कालेबुङमा तत्कालीन जनता कलेज अन्तर्गत बिटी कलेजमा प्राचार्य बनेर कालेबुङ आएका। सौभाग्यशाली कालेबुङ। कार्यकालको दुई महिना पुग्दै नपुग्दै जनता कलेज बाट बिटी कलेज अलग भएसँगै सर प्रधानाचार्य बन्न पुगे। प्राध्यापनमा सर अति  नै अनुशासनबद्ध। समयनिषठा। कोही प्रशिक्षणार्थी ढिलो भए क्लास बस्न पर्ने तर attendance अनुपस्थित हुने।

कुमार सुब्बा, दिलमाया खाती, कर्म योञ्जन अशोक राई जस्ता सङ्गीत साधक, असित राई, गोकुल सिन्हा जस्ता साहित्यिकहरू सरको विद्यार्थी। २००५ सालमा तत्कालीन बङ्गालका राज्य पाल गोपालकृष्ण गान्धीको बाहुलीबाट पनि सम्मानित।

धेरै समयसम्म आकाशवाणी खर्साङमा वार्ताकार। जोयफुल लर्निङमा सरको धेरै जोड। पछिल्लो समयमा आएर सरको केही बाल कविताहरूलाई वर्णमाला परिवारद्वारा श्रव्य-दृश्यको रूपमा प्रस्तुत पनि गरिएको छ।

गुरुमासँग गफ गर्ने क्रममा थाहा लागेको, सरले पुराना अङ्ग्रेजी चलचित्र सिनेमा हलमा कहिले बिराउनु भएन। त्यस्तै कालेबुङ मेला ग्राउन्डमा हुने फुटबल खेल पनि। घरमा बसेको समय अध्ययन गरिरहनु हुने। रामकृष्ण परमाहँसको विशेष प्रभाव सरको जीवनमा।

बानिपुर बसाईको प्रभावले होला बङ्गाली संस्कृतिप्रति सरको विशेष झुकाव, प्रेम। रमाउँथे रविन्द्र सङ्गीतमा।

आकाश भरा सूर्य तारा, विश्व भरा प्राण

ताहारी माझखाने आमी पेयछी मोर स्थान

विस्मयी ताई जागे आमार गान


तोमार होलो सुरु, आमार होलो सारा

तोमाय आमाय मिले, एमनी बहे धारा

 

सरले सुनिरहनु हुने दुइवटा रविन्द्र सङ्गीत। मृत्युमा यी दुई गीत बजाइदिनु, सरको अन्तिम इच्छा पुरा गर्न नपाएकोमा गुरुमा अफसोस गरिराख्नु भएको थियो।

 म सरलाई सम्झँदै घर फर्के।

No comments:

Post a Comment

Post Bottom Ad