कोरोनाको महामारीमा सन्त अगस्तिन स्कुलले विद्यार्थीवर्गको वार्षिक शुल्कमा दियो छुट - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, July 4, 2020

कोरोनाको महामारीमा सन्त अगस्तिन स्कुलले विद्यार्थीवर्गको वार्षिक शुल्कमा दियो छुट

गफसफ.com, 4 जुलाई 2020, कालेबुङ ।

सन्त अगस्तिन स्कुलले वार्षिक शुल्कमा छुट दिने घोषणा गरेको छ। कोरोना भाइरसको कारण अभिभावकवर्गले भोग्न परिरहेका आर्थिक समस्यालाई मध्यनजर राखेर स्कुलले विद्यार्थीवर्गको वार्षिक शुल्क छुट दिने घोषणा गरेको हो। यसबारे सन्त अगस्तिन स्कुलका प्राचार्य फादर जेराड लेप्चाले जानकारी दिएका छन्।

‘कोभिड-19 अर्थात् कोरोना भाइरसको महामारीले धेरै अभिभाववर्गलाई आर्थिक समस्या सिर्जना भएको छ। यसलाई ध्यानमा राखेर हामीले हाम्रा स्कुलका सम्पूर्ण विद्यार्थीवर्गको वार्षिक शुल्क छुट दिने घोषणा गरेका छौँ’-प्राचार्य फादर जेराड लेप्चाले भने। यसक्रममा उनले वार्षिक शुल्कबाट केवल 2 हजार 5 सय रूपियाँ मात्र विद्यार्थीवर्गबाट स्कुल व्यवस्थापनका निम्ति लिने पनि स्पष्ट पारेका छन्।

प्राथमिक तहदेखि उच्चतर तहसम्म रहेको सन्त अगस्तिन स्कुलमा अहिलेघरी एलकेजी देखि दोस्रो श्रेणीसम्मका विद्यार्थीवर्गको 9 हजार 5 सय रूपियाँ वार्षिक शुल्क रहेको छ। सोहीक्रममा तेस्रो, चौथो अनि पाँचौ कक्षासम्म 10 हजार, छैटौँ देखि दशौँ कक्षासम्म 10 हजार 5 सय, एघारौँ अनि बाह्रौँ कक्षा (कला अनि वाणिज्य विभाग) का निम्ति 11 हजार 5 सय अनि एघारौँ अनि बाह्रौँ विज्ञान विभागका निम्ति 13 हजार 5 सय रूपियाँ वार्षिक शुल्क रहेको छ। उक्त वार्षिक शुल्कमा धेरै मात्रमा छुट दिँदै अब केवल 2 हजार 5 सय मात्र तिर्नुपर्ने प्राचार्य फादर जेराड लेप्चाले बताएका छन्। यसक्रममा उनले विद्यार्थीवर्गले ट्युसन फिस भने तिर्नुपर्ने जानकारी दिएका छन्। यसक्रममा अघिबाटै कतिपय विद्यार्थीवर्गले वार्षिक शुल्क तिरिसकेका छन् भने उनीहरूको उक्त शुल्कलाई ट्युसन फिसमा व्यवस्थापन गरिदिने अथवा पछिबाट फिर्ता गरिदिने पनि फादर जेराड लेप्चाले जानकारी दिएका छन्।

‘विद्यार्थीवर्गकै ट्युसन फिसबाट स्कुलका शिक्षकगणले वेतन पाइरहेका छन्। यसकारण हामी सबै अभिभावकवर्गलाई ट्युसन फिस भने बुझाइदिने अपिल पनि गर्दछौँ’ फादर जेराड लेप्चाले भने। यसक्रममा उनले हालमा सबै विद्यार्थीवर्गले ट्युसन फिस पूर्णरूपले नबुझाउँदा शिक्षकवर्गलाई पूर्णरूपले वेतन भुक्तान गर्न पनि नसकेको जानकारी गराउँदै यो आपादाको समयमा सम्पूर्ण अभिभावकवर्गबाट विद्यालयले सहयोगको अपेक्षा राखेको पनि बताएका छन्।

‘हामीले विद्यार्थीहरूलाई अनलाइन माध्यमबाट अध्ययनको व्यवस्था गरिरहेका छौँ। स्कुलको आफ्नै वेबसाइट मार्फत् सबै विषयहरूको शिक्षण सामाग्री दिएर विद्यार्थीहरूलाई यो महामारीमा पनि पढाउने प्रयास गरिरहेकै छौँ। आगामी दिनमा उनीहरूको अनलाइन परिक्षा लिने पनि प्रयास गरिरहेका छौँ। यस्तो अवस्थामा हामी अभिभावकगणबाट सहयोग उत्तिक्कै अपेक्षा गर्छौँ’ फादर जेराड लेप्चाले भने।

1 comment:

Post Bottom Ad