विचार _______________________________________________
ईगम
खालिङ
एकछिन सोच्नुहोस् त, यस संसारमा असत्यलाई नै सत्य मानियो भने के हुन्छ होला ! उत्तर एकदमै सजिलो छ—“असत्य नै सत्य हुनेछ।” तर हामीलाई थाहा छ कि जब सत्य प्रकाशित हुन्छ तब असत्यको नाश हुन्छ। भ्रम आफै-आफ हराएर जान्छ। सत्य त तीनै कालमा सत्य हुन्छ। असत्य त मात्र हाम्रा अज्ञानता र दुर्बलताको उपज हो। सत्यलाई मन पराएर मात्र हुँदैन त्यसलाई चिन्न र खुट्याउन सक्नुपर्छ। त्यसैले कुनै पनि सत्यज्ञान शारीरिक अनि मानसिक परिश्रमबिना सम्भव हुँदैन। कारण सत्य भन्नाले ‘मानवसत्य’ अथवा ‘मानवको निम्ति सत्य’ बुझ्नुपर्छ। पशु-पक्षी अनि वनष्पतिको निम्ति ‘मानवसत्य’ के हो त्यो भन्न सकिँदैन।
यसै
सन्दर्भमा सत्रौँ शताब्दीको एकजना महान दार्शनिक रेने डेकार्टले सत्यज्ञान कसरी
प्राप्त गर्न सकिन्छ भन्ने विषयमा संदिग्धविधिका (अथवा सन्देहविधिका) सिद्धान्तहरू
दिएका छन्। उनका मतअनुसार कुनै पनि कुरालाई सहजै मान्नु अथवा स्वीकार्नु हुँदैन।
कसैले तपाईँलाई तपाईँको कान कागले लग्यो भन्यो भने कागको पछिपछि कुदिहाल्नु हुँदैन।
कुद्नअघि कान छामे सही हुनेछ। छाम्नु भनेको एकप्रकारको सन्देह गर्नु हो। सन्देह नै
सत्यसम्म पुग्ने सिँढीको प्रथम खुड्किलो हो। पहिले हामी सन्देह गरेर कान छाम्छौँ
त्यसपछि प्रश्न गर्छौँ—“खै मेरो कान यहीँ छ त ?” त्यसपछि अन्य
कुराहरूद्वारा कान कागले लान सक्दैन भन्ने कुराहरूका तर्क र पुष्टि गर्दछौँ।
आजको
जस्तो सूचना र भर्चुअल वास्तविकताको युगमा झन् कुन चाहिँ सत्य हो अनि कुन चाहिँ
असत्य हो खुट्याउन हामीलाई गाह्रो पर्छ। ‘फेसबूक’ ट्विटर, युट्यूब’ इन्टरनेट
साइट, मिडिया र भर्चुअल वास्तविकताहरू हाम्रा जीवनशैलीको
अभिन्नांश बन्न पुगेका छन्। सम्पादित अनि नक्कली सामाग्रीहरूको प्रभुत्व
जत्तातत्तै देखिन्छ। तर यस्तो स्थितिमा एकजना सचेत र ज्ञानी मानिसले कुनै पनि कुरा
बिना सोची-विचारी स्वीकार्दैन। उसले जहिले पनि आफूलाई सचेत र सतर्क राख्दछ। सत्य र
असत्य खुट्याउने अन्तर्क्षमतालाई बनाई राख्दछ। यसैको सम्बन्धमा म डेकार्टको
संदिग्धविधिका सिद्धान्तहरूलाई यहाँ सङ्क्षिप्तमा राख्न गइरहेको छु।
डेकार्टलाई
उनका केही मौलिक विचार अनि दार्शनिक विधिहरूको कारणले आधुनिक दर्शनको जनक मानिन्छ
साथै उनलाई बुद्धिवाद दर्शनको (ज्ञान मिमांसा विषयसम्बन्ध) प्रवर्तक मानिन्छ किनकि
उनीभन्दा अघि धर्मग्रन्थहरूमा लेखिएका कुराहरूलाई सहजै सत्य मानिन्थ्यो, कसैले
पनि त्यस्ता कुराहरुलाई नमान्न र खण्डन गर्न सक्दैन थियो तर डेकार्टको समयदेखि ती
कुराहरुलाई मात्र सत्य मानिन थालियो जसको स्वरुप अनिवार्य अनि सार्वभौम
(सर्वमान्य) हुन्छ। उनले सारा दार्शनिक दृष्टिकोणहरू मात्र विश्वासको आधारमा मान्न
नसकिने मत सर्वप्रथम राखे। प्रत्येक व्यक्तिले आ-आफ्नो विवेकको प्रयोगद्वारा सत्य
र असत्यमाझको पार्थक्य खुट्याउन सक्छ भन्ने धारणा डेकार्टदेखि नै सुरू भएको हो। यस
संदर्भमा डेकार्टले चार प्रकारका सिद्धान्तहरूको प्रयोग अनिवार्य मानेका छन्। ती
चार सिद्धान्तहरू यस प्रकार छन्—
[१]
कुनै पनि तथाकथित सत्यलाई सत्य मानी नहाल्ने जबसम्म त्यो पूर्णरूपले सत्य प्रमाणित
हुँदैन। यस सिद्धान्तले कुनै पनि पूर्वाग्रहित अथवा पूर्वस्थापित ज्ञानलाई सहजै
स्वीकार्दैन।
[२]
प्रत्येक विषयसम्बन्धित व्यक्तिले आफूसित यस्तो प्रकारको अन्तर्चिन्तनीय आचरण
निर्माण गर्नुपर्छ कि सरलभन्दा सरलबाट सुरु गरेर मात्र जटिल प्रकृतिको ज्ञानार्जन
हेतु अघि बढ्नुपर्छ।
[३]
कुनै पनि समस्याको समाधन गर्दा निष्कर्षसम्म पुग्नअघि सम्बन्धित समस्यालाई सा-साना
भागहरूमा विभाजन गरेर समाधन गर्नुपर्छ।
[४]
यस सिद्धान्तानुरूप प्रत्येक निष्कर्ष अथवा सारांश आफैमा पूर्ण हुनुपर्छ अनि
सम्बन्धित ज्ञान विषयको समीक्षा यति सर्वमान्य (साधरणतय) हुनुपर्छ कि त्यहाँ कुनै
संशोधन गर्ने आवश्यकता नपरोस्।
उपर्युक्त
चार सिद्धान्तहरूले बुद्धिवाद सिद्धान्तको प्रथम आधारहरूलाई स्थापित गरेका छन्।
संदिग्धविधिका आधारहरूअनुसार सर्वप्रथम सत्ता प्रमाण सन्देहकर्ताले नै दिने गर्दछ।
उपर्युक्त विधिका सिद्धान्तहरूबाट डेकार्टले ‘म सोच्छु त्यसैले म अवस्थित
छु’ जस्तो प्रस्ताव वाक्यले (वचनले) मात्र हाम्रा
विचारहरूलाई शुद्ध गणितका प्रस्तावहरू जस्ता अनिवार्य र सर्वमान्य बनाउन सकिन्छ
भन्ने विचारलाई महत्व दिएका छन्। उनले असंदिग्ध एवं सत्यज्ञान प्राप्त गर्नलाई
संदिग्धविधिको प्रयोग गरेका छन्।
डेकार्टको
संदिग्धविधिका सिद्धान्तहरूले विश्वैभरि नवचेतना ल्याउनमा ठूलो मदत गरेका छन्।
पश्चिमका देशहरूमा त झन् उनको दर्शनले नवजागरण ल्याउन साथै आधुनिक युग ल्याउनमा
महत्वपूर्ण भूमिका निभाएका छन्। मानिसहरूलाई आफ्ना व्यक्तिगत, सामाजिक,
आर्थिक, धार्मिक अनि राजनैतिक क्षेत्रको
कुनै पनि कुरालाई नसोची साथै विश्लेषण नगरी स्वीकार नगर्ने प्रेरणा प्रदान गरेका
छन्। यसर्थ डेकार्टले हामीलाई कसैले कागले तिम्रो कान लाग्यो भन्दैमा कागको पछिपछि
नकुद्ने सुझाव सत्रौँ शताब्दिदेखि नै दिइरहेका जस्तो लाग्छ।
No comments:
Post a Comment