साहित्य / संस्मरण
______________________________ सञ्जय विष्ट
[ बेला बेला सम्झन मन पर्ने केही घटना-प्रसङ्गहरू छन्।
बिर्सिएला भनेर संस्मरणजस्तो यो एउटा लेखेँ। - सञ्जय विष्ट ]
मैले जीवनमा दुईचोटि भर्ती लाग्ने कोसिस गरिहेरेँ। पहिलोचोटि कटकपाहाडमा, नेभीमा अनि दोस्रोचोटि पुलिसमा डालीमा।
“को को भर्ती लाग्नु आ’को छ, याँ लाइनमा लाग्,” नेपालको होला, कामले नै त होला नि, बनेको हवल्दारले निर्देश दियो। उसको उर्दीले बनिएको लामो
पङ्क्तिमा उभिएको थिएँ म।
“स्कुल फाइनलको सटिफिकेट नहुनेहरू निस्की,” उसैले अर्को उर्दी सुनायो।
“मेरो एचएसको छ,” भनेर “सर”
पनि थपेँ मैले।
“निस्की,” कस्तो डरलाग्यो स्वरमा गाली गऱ्यो मलाई उसले।
मलाई हाँस पनि उठ्यो, रिस पनि उठ्यो। माध्यमिक नगरी उच्च माध्यमिक हुँदैन भन्ने
उसैलाई पनि पक्कै थाहा थियो। तर दुई मिनटमा उसले मेरो पल्टन जाने इच्छाको घाँटी
निमोठ्यो। म पङ्क्तिबाट बाहिरिएँ। स्नातक पहिलो वर्षमा पढ्दैगर्दा जन्मिएको मेरो
पल्टन जाने इच्छाको लास बोकेर म कटकपाहाडको ओह्रारो झरेँ।
त्यसपछि मैले पल्टन जाने इच्छा कहिल्यै गरिनँ।
आजसम्मको जीवनको आधाभन्दा धेर अवधि डाली भनिने ब्लुमफिल्डमा
बिताएको मलाई स्नातक भएपछि पुलिसमा जाने इच्छा भयो। इम्प्लोइमेन्ट एक्सचेन्जबाट कल
लेटर झिकाएँ। मेरो ओजन, उचाइ र छाती नापेर, प्रमाणपत्र हेरी स्नातक मलाई ‘तँ आइज,’ भनेका थिए पुलिस अधिकारीहरूले। अन्तिम समयमा मलाई त्यता
नजाऊँ,
पढ्नलाई कतै जाऊँ, पुलिसमा नजाऊँ नजाऊँ लाग्यो। मैले मनको कुरो मानेँ।
त्यस बेला पुलिसमा जानबाट, पुलिस हुनबाट मलाई कुन मनोविज्ञानले रोक्यो? ‘त्यसले होला’, ‘त्यसले होला’, ‘त्यसले होला’ – कारणहरू मनमा आउँछन्। आउनेहरूमध्ये लेखिराखूँ लागेको एउटा
यस्तो छ –
एउटा कारणले सम्झिने २२ अगस्टलाई म १९८८ देखि दुईवटा कारणले
सम्झन्छु। यसो भनूँ – म एउटा कारणले अर्कोलाई सम्झन्छु। अर्को कारणले अर्कोलाई। यसै दिन म यस धरतीमा
मानव चोला लिएर आएको ठ्याक्क २० वर्षपछि हाम्रो जातीय आन्दोलनलाई नेतृत्व दिने
थकित आन्दोलनकारीहरूलाई ‘बिसाउने
चौतारी’
चाहियो। तिनीहरू सरकारसित सम्झौतामा आए र डिजिएचसीको
सम्झौता पत्रमा हस्ताक्षर गरे। केही त होला भन्ने विश्वासमा आई, नआउनेहरूलाई दण्ड नीतिको भय देखाई (सुरुमा विद्यार्थी
नेतृत्व डिजिएचसीमा सम्झौता गर्न सहमत थिएनन्, यो कुरो हामीलाई हाम्रो नेतृत्वले बताएको हो।) यस सम्झौतामा
हस्ताक्षर गरिनुभन्दा केही अघिको कुरो हो। त्यसैले मलाई घटना भएको (रामलाल सरले
भन्नुभएको घटना घट्दैन अरे) १८ जुन १९८८ मा नै हुनुपर्छ भन्ने लाग्छ।
दिक्कलाग्दो पानी परेको परेकै गरेर रहेको बिहान थियो।
कञ्चनजङ्घा देखिने उघ्रेको बिहान थियो। म निलो ब्लेजरको कोट लगाएर बजार पुगेको
थिएँ साथीहरूसित। सिआरपिएफद्वारा स्थानीय केही विद्यालयका केही छात्रहरू पक्रा
परेको खबर सुनियो। एघार पढ्दा नै ठुलाहरूको संसर्गले मलाई सानो विद्यार्थी नेता
बनाएको थियो। पक्रा परेका छात्रहरूलाई कसरी छुटाउने भन्ने विषयमा सल्लाह गर्न
सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई बोलाई पुरानो सुपर मार्केटको माथिल्लो
तलामा स्थित पार्वत्य कर्मचारी सङ्गठन (भीम थापा गुट)-को कार्यालयमा सभा
गर्दैथ्यौँ। विडम्बना कस्तो भने पक्रा परेकाहरूलाई छुटाउने प्रयासका हामी त्यहीँ
पक्रा पऱ्यौँ।
छब्बिसजना थियौँ हामी पक्रा पर्नेहरू। बन्दुकधारी
सिआरपिएफका अनुहारमा क्रूरता पोतेका जवानहरूले नाक नाकमा डन्ठा तेर्स्याएर लाइन
लगाई एक तला झारेर इडेन धामको सिँडी चढाई इडेन अस्पताल (सहिद दुर्गा मल्ल
अस्पताल)-अघिल्तिरको सडक पुऱ्याए हामीलाई। अनुहारमा मात्रै होइन, क्रूरता त चरित्रमै पनि हुँदो रहेछ तिनीहरूको – भाग्ने कोसिसमा ठुलो धुप्पीको फेदमै एकजना नेताले धुमधान
कुटाइ खाइहाले। अब हामीसित लुरुलुरु सिआरपिएफको भ्यानमा चढ्नुबाहेक अर्को विकल्प
थिएन। हामी भानु भवन पुराइयौँ। साझँमा डी. पी. पात्र आए त्यहाँ। ‘विद्यार्थी हुन्, नकुट्नू,’ भनिराखे र गए। तिनी जिल्लाधीश थिए त्यस समय। केही बेरपछि
हिरोजस्तो हान्डा आए। ‘मन्दिर
आएपछि प्रसाद दिनू,’ भन्ने आशयको कुरो गरे र गए। तिनी पुलिस अधीक्षक थिए दार्जिलिङका त्यस समय।
हान्डा गएपछि सबै प्रधानाध्यापक र विद्यालयका छात्रहरू
छाडिए,
एन. बी. राई, महासचिव, केन्द्रीय समिति, गोराविमो; हरीश पाखरिङ, उपाध्यक्ष, जिल्ला समिति, गोराविमो, अशोक छेत्री, सहसचिव, विद्यार्थी सङ्गठन, दार्जिलिङ सरकारी महाविद्यालय र मलाई छाडेर। छाड्दैन
हामीलाई भन्ने हामीलाई थाहा थियो। त्यसै भयो।
म किन पुलिस भइनँ भन्ने मात्रै लेख्न चाहेको हुँ मैले यहाँ।
त्यसैले भानु भवन अर्थात् यातना-गृहमा रूपान्तरित रङ्गमञ्चभित्र मैले देखेको र भोगेको
सन्दर्भलाई अहिले छाडौँ। कुनै समय लेखूँला त्यो पनि। १८ जुनको त्यस रात, अर्को दिन र त्यो अर्को दिनको रात त्यहाँ राखेर तेस्रो दिन
बिहान दार्जिलिङ नउठी हामीलाई सुकुना पुऱ्याइयो। हामी भन्नाले हामी पाँच अनि भानु
भवनदेखि हामीसितै गएका, शरीरमा हिँडेको पनि मजाले थाहा पाउने असङ्ख्य जुम्रा।
सम्भवतः तिनीहरूको चिया पिउने समय भएको थियो र नै तिनीहरूले
सुकुना बजारमा हामी चढेको पुलिसको ठुलो भ्यान र पछिपछि आइरहेको जिप रोके। “भोक लाग्यो?” भनेर सोधे एकजना डालीको पुलिसले। (अहिले सम्झँदा रञ्जनको
बडा हुन् कि भन्ने लाग्छ तिनी। नाम राम हो कि भन्छु। होइन भने पनि तिनी हाम्रा
निम्ति रामै हुन्।) हामीले तीन दिनदेखि भोकै बस्नुपरेको कथा सुनाइहाल्यौँ तिनलाई।
छेवैको दोकानबाट तोसरोटी, अन्डा र चिया ल्याइए हाम्रा निम्ति। मैले रञ्जनको बडाको अनुहारमा ईश्वर देखेको
थिएँ त्यस प्रभातकालीन समयमा। तर खानु धुमधाम असुविधा। हरीशले दाहिने हातले खाँदा
मैले देब्रे हात पनि उचालेर उसैको मुखछेउ पुऱ्याइदिनुपर्ने। मैले दाहिने हातले
खाँदा अशोकले त्यसको देब्रे हात मेरो मुखछेउ ल्याइदिनुपर्ने। हतकडी त्यसरी नै
लगाइएकोले उता एन. बी. दाजुको अवस्था पनि त्यस्तै। उनी बाँधिएका थिए – अर्कै तथाकथित आन्दोलनकारीसित। विद्यार्थी पनि होइनन्, नेता पनि होइनन् तर हामीसित एकजना अर्का तथाकथित
आन्दोलनकारी पनि थिए – विजय सुब्बा। बेपारी। सुपर मार्केटमै, इडेन धाम जाने सिँडीको अघिल्तिरको खुल्ला जग्गामा भुइँमै
फिजाएर सिद्रा-सुकुटी बेच्थे। पक्रनु पनि विजय ओसीले नै पक्रेका। लिम्बू हैन, सिङले। एउटा थियो विजय सिङ भन्ने। त्यो पहिला बिजनबारीतिर
थिएछ। रिम्बिकतिरबाट बाख्रा ल्याउने विजय सुब्बाबाट घुस नपाउँदा रिसाएको थिएछ।
हामीलाई पक्रिनुभन्दा केही दिनअघि त्यसैले पक्रेको रहेछ सुब्बालाई।
टाइमिङ मिलाएर हामीले खाजा खाइसकेका थियौँ। हाम्रो अघिल्तिर
हामीपट्टि फर्किएर बसेका सिआरपिएफका एकजना बुढा जवानले बिँडी सल्काए। “पिलाइए मुझे भी,” भनेँ मैले। त्यसले एकछिन मलाई हेऱ्यो छक्क परेर जस्तो। तर
सोलीबाट निकालेर एउटा बिँडी दियो मलाई। म त्यति बेलै सिग्रेटको अम्मली भइसकेको
थिएँ। गोजीमा सधैँ पैसा हुने कुरै थिएन। धेरजसो बिँडी नै खान्थेँ। त्यस्ता
परिस्थितिहरूमा “यै
राम्रो सिग्रेटभन्दा। यसले सिग्रेटले जति बिगार्दैन फोक्सोलाई।” भन्ने गर्थ्यौँ हामी।
त्यसपछि हामीलाई मतिगढा थाना लगियो। मतिगढा थाना काठको थियो
त्यति बेला। अहिलेको सिमेन्टको बनिएको थिएन। हाजत (मैले कोशमा यो शब्द भेटिनँ। ‘हिरासत’ शब्द छ तर यसले ‘थुन्ने काम’ भन्ने अर्थ दिन्छ, मलाई चाहिएको चाहिँ त्यस कामको नाम होइन, त्यस ठाउँको नाम हो।) कति फोहोर भने, कति फोहोर भने, राज सरको भाषा चोर्नु हो भने ‘कत्ति हो कत्ति’। पिसाब गनाएर पसिनसक्नु। पटाइको काठको चेप चेपमा अनगन्ती
उडुस भएकोले बसिनसक्नु। सात-आठ घन्टा उभेरै बितायौँ हामीले। त्यस सात-आठ घन्टामा
दुई-तीनपल्ट काठको सानो दुलोबाट करायौँ – “चोर होइनौँ, डाकु होइनौँ। मान्छे मारेर आएका छैनौँ। लगिहाल अरूतिरै
यहाँबाट...।” तर
कसैले पनि प्रतिक्रियामा एक शब्द निकालेन मुखबाट। साँझमा पुलिसको त्यही
इन्स्पेक्टर आयो थानामा – जो हामीलाई भानु भवनबाट मतिगढा थाना पुऱ्याउने पुलिसहरूको नाइकेजस्तो थियो।
त्यसलाई पनि हामीले त्यसै भन्यौँ। थप्यौँ, “… पोलिटिकल प्रिजनर हौँ हामी। बरु लगिहाल जेल।” डर भन्ने कुरो त पक्रा नपरिन्जेललाई रहेछ। पक्रा परेपछि
हराइहाल्दो रहेछ डरले मनबाट। पक्रा परिसकेपछि हामीमा जातीय अस्तित्वको युद्ध लड्ने
राजनैतिक बन्दी हौ भन्ने अभिमान जन्मेर बढिसकेको थियो। जेल लैजान एउटा निश्चित
वैधानिक प्रक्रिया पुरा गर्नुपर्छ भन्ने हामीलाई थाहै थिएन।
झमक्क साँझ परिसकेको थियो। वरिपरिका बिजुली बत्तीहरू
बलिसकेका थिए। हामी हाजतबाट निकालियौँ र एउटा जिपमा हालियौँ। कुन कारणले निकालेका
थिए तर हामीलाई लाग्यो – प्रशासनले हाम्रो कुरो सुन्यो। त्यति बेला सिलगढी राम्रोसित चिनिएकै थिएन। कता
कताबाट हामी अर्कै थाना पुऱ्यायौँ। मतिगढा थानाको तुलनामा सफा-सुग्घर । टोयलेट र
बाथरुमको पनि व्यवस्था भएको। पछिबाट थाहा पायौ – सिलगढी थाना थिएछ त्यो। त्यहाँ पुऱ्याइएको आधा घन्टा नबिती
हाम्रा निम्ति खाना आइपुग्यो – ठुलो ठुलो स्टिलको थालमा। दाल, भात अनि आलु, बैगुन, पोटल, भेन्डी सब मिसाएको तरकारी। कुनै हुटेलबाट ल्याएको हुनसक्छ।
नौ दिन नौ रात राखियौँ हामी सिलगढी थानामा जेल लैजानअघि।
माऱ्यो कि छ, छ भने
कता छ भन्ने जानकारी हाम्रो परिवार, शाखा-सम्बन्धी, मित्रहरू कस्सैलाई पनि थिएनछ – पक्रा परेको निक्कै दिन बितिसक्दा पनि। एकचोटि आइपुगेका थिएछन्
सोधीखोजी गर्न मेरा बाबु। “जिउँदै
छ तर यहाँ छैन,” भनिदिएछ
केही वर्षअघि बित्ने खुब नाम चलेको त्यति बेलाका सिलगढी थानाका प्रभारी मोचाईले।
सिलगढी थाना पुऱ्याइएको पाँच दिनपछि नै हुनुपर्छ – हामीलाई पहिलोपल्ट सिलगढीको कचहरीमा लगियो मोटो मोटो गाई
बाँध्ने दाम्लोले बाँधेर। भोलि सिलगढी कचहरीमा उभ्याउँछ भन्ने थाहा पाएर माथिबाट
आएका थिए केही। तर को को आएका थिए मलाई ठिकसित थाहा छैन। बोझ भइरहेको निलो
ब्लेजरको कोट फुकालेर मैले तिनीहरूलाई दिएँ। दोस्रोचोटि कचहरीमा उभ्याइएपछि हामी
पाँचैजनालाई एउटै मुद्दामा कारावास पठाइयो चौध दिनपछि अर्को डेट दिएर। हामी आफूलाई
‘पोलिटिकल प्रिजनर’ ठानेर मक्ख थियौँ, मुद्दा मतिगढा थानाअन्तर्गत कुनै गाउँमा डकैतीको हालिएको
रहेछ। यो प्रसङ्ग पनि खुब रोचक छ तर अहिले सिलगढी थाना नै फर्कौँ।
पाँचवटा काला कम्बल थिए ओछ्याइएका हाजतमा। कहिले जेल
लैजान्छ भनी पर्खी बस्ने हाम्रो काम भनेको सुत्नु, नुहाउनु (छक्क पर्नु – धेर गरममा जुम्रा बाँच्न सक्दैन रहेछ। दुई-तीनचोटि नुहाउँदा
हामी जुम्राविहीन भएका थियौँ।) र मच्छर मार्नु मात्र थियो। दिनभरि त हामी पाँचजनाबाहेक एक-दुई अरू हुन्थे।
एउटा सानु केटो थियो – आठ-दस वर्षजतिको, असमतिरको हराएको दिल्लीमा पाइएको। एउटा थानाले अर्को थानालाई जिम्मा दिँदै घर
पुऱ्याइने प्रक्रियामा सिलगढी थाना आइपुगेको। तर राति निद्राबाट ब्युँझ्दा हाजत
टम्म भरिएको हुन्थ्यो – थर्टिफोर अनि खालपाडातिर पक्रा परेकाहरूले। अर्को दिन बिहान दस एघार बजीतिर तिनीहरू
कचहरी लगिन्थे। त्यसपछि फेरि हामी त्यै पाँच-सातजना रहन्थ्यौँ। अर्को राति
अफ्ठ्यारो मानिरहेका नयाँ अनुहारहरू आउँथे।
सुतेको बेला मच्छरको टोकाइबाट बाँच्न हामीले एउटा युक्ति
निकालेका थियौँ। मोचा खोल्दैन थियौँ, पतलुङको फेर मोचाभित्र हाल्थ्यौँ। गन्जी फुकालेर कमेज मात्र
लगाउँथ्यौँ। टाउकोबाट ख्वाप्प हालेर गन्जीले अनुहार ढाक्थ्यौँ। त्यसो गर्दा हाम्रो
समस्या अलिकति हल हुन्थ्यो तर दुई दुई घन्टाका निम्ति हाजतअघि ड्युटी बस्ने
पुलिसलाई त्यो असह्य हुन थालेछ। विशेष राति बाह्रदेखि दुई बजीसम्म ड्युटी पर्ने
मत्थु पुलिस, जसले
आधा रातमा उठाएर लाइन लगाई लेफ्ट-राइट खेलाउँथ्यो –ले मोचा र गन्जी फुकाल्न लगाउन थाल्यो। राति राति निद्राबाट
उठाएर लाइन लगाई लेफ्ट-राइट खेलाउँदा, मच्छरको टोकाइबाट बाँच्ने उपायमा लगाइएको मोचा र टाउकोको
गन्जी फुकाल्न लगाउँदा पनि मलाई त्यस पुलिससित उस्तो घृणा लागेको थिएन। त्यसलाई
मैले घृणा गर्नुपरेको कारण यस्तो छ।–
मैले भनिहालेँ – राति जतिसुकै भए पनि दिनमा हामी पाँच-सातजना हुन्थ्यौँ
हाजतमा। किन भनिरहनु पाँच-सात? तीन-चार दिनजति त हामी छजना नै थियौँ, हराएको पाइएको त्यो फुच्चेलाई लगाएर। तर एक दिन लगभग बाइस-तेइस
वर्षको साँढजस्तो युवक आइपुग्यो हाजतमा। पुलिसलाई गाली गर्दै पसेको त्यस साँढजस्तो
युवकले हाजतभित्र पस्नेबित्तिकै फलामको बारमा लात हिर्काउन थाल्यो, सँगसँगै पुलिसप्रतिको त्यसको गालीमा अपशब्द पनि बढ्दै गयो।
अचम्म! पुलिसबाट प्रतिक्रियाचाहिँ शून्य। हामी छक्क परिरहेका थियौँ। केही बेर
बिसाएर बङ्गाली हिन्दीमा त्यसले कालो कम्बलमा बसेका हामीलाई हेऱ्यो अनि भन्यो, “लडाइँ खेलौँ।” त्यसको अप्रत्याशित हाँकमा हामीले एकाअर्कालाई एकक्षण
हेराहेर गऱ्यौँ। पुलिसप्रतिको रिस अब हामीमाथि पोखाउने सुरमा थियो त्यो। समयले
हामीलाई पनि त्यस्तो कुरोमा अलिक दह्रै बनाएको थियो (प्रिय पाठकवर्ग, यो वाक्य पढ्दा एकपल्ट मेरो अनुहार पनि सम्झनुहोला है)। “खेलौँ,” भनेर उठ्यौँ हामी पाँचैजना। त्यो भन्ने ‘एक एकजना आइज।’ हामी भन्ने ‘सँगै खेल्छौँ।’ हाम्रो वाक्युद्ध भौतिक युद्धसम्म पुगेन। केही बेरपछि त्यो
थचक्क भुइँमा बस्यो।
पर्तिर कुनामा बसेको थियो दिल्लीमा पाइएको फुच्चे। त्यस
साँढले फुच्चेलाई त्यसको मैलो सेता गन्जी फुकाल्न लगायो र गन्जीलाई च्यातेर टुक्रा
टुक्रा पाऱ्यो। गन्जीका टुक्राहरूलाई जोडेर त्यसले लामो डोरी बनायो अनि डोरीको एक
छेउ आफ्नो एउटा चप्पलको फितामा बाँध्यो।
हाजतको बाहिरपट्टि पुलिसले पक्रेका नछुडाइएका साइकल, स्कुटर र बाइकहरू थोत्रिएका थिए। सिमेन्टको भुइँ र हाजतको
फलामको बारबिच दुई-अढाई इन्चजति खालि ठाउँ थियो। त्यस साँढले गन्जीको टुक्राको
डोरीको टुप्पा समाएर चप्पललाई सुल्काएर परका थोत्रा साइकलहरूतिर फ्याँक्न थाल्यो।
हामीले देख्यौँ – पर चेपमा एउटा माचिस लडेको थियो। अघि हाजतमा पस्नअघि तलासी लिनअघि फ्याँकेको
रहेछ त्यसले त्यो।
त्यसले निक्कै कोसिस गऱ्यो तर माचिस तान्न भने सफल भएन
त्यो। सायद त्यसले हार खाइसकेको थियो। त्यसै बेला हाजतको फलामको बारअघि देखा पऱ्यो
त्यही मत्थु पुलिस। त्यसले त्यस मत्थु पुलिसलाई बोलायो र नरम स्वरमा त्यस माचिसको
बट्टाभित्र रुपियाँ भएको र उसले झिकिदिए आधा रुपियाँ उसलाई दिने कुरो गऱ्यो।
सुनेर त्यो पुलिस थोत्रा साइकलहरूतिर फर्क्यो, घुँडा टेक्यो, घोप्टियो, हेऱ्यो, खोजेको जस्तो गऱ्यो र उठ्यो अनि भन्यो, “खै, कहाँ छ?”
हेऱ्यौँ हामीले पनि। अँह, छैन माचिसको बट्टा। त्यस पुलिसको कलाकारिता देखेर हामी छक्क
परिरहेका थियौँ।
“साला चोर,” हाजतभित्रको चोर दाह्रा किटेर, मुट्ठी कसेर करायो। नसुनेको जस्तो गरेर त्यो पुलिस अदृश्य
भयो।
यस घटनाको तीन वर्षजतिपछि एक दिन डालीको पुलिस-भर्तीमा मलाई
दार्जिलिङ, कालेबुङ
र खरसाङका तीन तीनजना डिएसपीले ‘तँ आइज’ भनेका
थिएँ। स्नातकै त पढेको थिएँ। त्यही पनि नेपालीमा सम्मान लिएर। काम पाउन सजिलो
थिएन। जुनै कामलाई पनि घुस पेल्नुपर्ने जमाना अघि नै सुरु भइसकेको थियो। तर पनि
मलाई पुलिस हुन मेरो मनले पटक्कै दिएन। हुनत भानु भवनदेखि सिलगढी लैजाँदा खायो
खाएन सोधेर सुकुना बजारमा तोसरोटी, अन्डा र चिया खुवाउने रञ्जनको बडा, सिलगढी थानामै हाजतभित्र लुकाएर चिउरा, गुँड र पेपर छिराइदिने लेबोङका रोबर्ट दाजु अनि जेलबाट ठुलो
साँझमा छुटेपछि आफ्नो क्वाटरमा लगी मासु-भात खुवाई आफैँसित सुताउने जोरबङ्गलो र
तीन माइलबिच गड्डीखानका जेलपुलिस कृष्ण
सुब्बाजस्ता संवेदनशील पुलिसहरू पनि भेटेँ मैले। तर रातभरि ‘चोरको पैसा चोर्ने पुलिस’-कै मात्र अनुहार आइरह्यो आँखामा।
मैले निर्णय लिएँ – म पुलिसमा जान्नँ। म मास्टरी पढ्न पृथ्वीदेखि बाहिर शिवजीको जटामा अवस्थित काशीतिर लागेँ।
No comments:
Post a Comment