मातृभाषा प्रयोगबारे अपिल अनि दुख मनाउ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, June 21, 2020

मातृभाषा प्रयोगबारे अपिल अनि दुख मनाउ

विचार ________________________________________ हीरा छेत्री

चरित्र प्रकाशनको पक्षबाट म केही कुरा राख्न चाहन्छु। हुनत यो आधिकारिक, मान्यताप्राप्त, संरक्षणप्राप्त प्रकाशन गृह होइन। यसलाई त जिल्ला स्तर त के महकुमा तहको सरकारी पुस्तकमेला वा अन्य कुनै भेलामा पनि याद गर्दैन कसैले। तरै पनि आफ्नो कर्तव्य पालन गर्ने क्रममा यसले सकी-नसकी भाषाको सेवा गर्ने काम आफ्नो बुतामा गरिरहेको छ। यसको पक्षबाट एक अपिल:

नेपाली भाषाले मान्यता पाएपछि हामीले व्यावहारिक प्रयोगका निक्कै ठुलाठुला कुरा गऱ्यौँ। भाषा दिवसमा रमायौँ। कतिवटा संस्था र राजनीतिक सङ्गठनले त यसलाई आफ्नो एकदिने कार्यक्रमकै रूपमा लिन्छन् आज पनि। कतिले रोटी पनि सेक्छन् सो कुरा नगरौँ।

सिक्किम राज्यको ऐतिहासिक भूमिका कस्तो छ भाषा मान्यताको सङ्घर्षमा सो कसैले बताइरहनु पर्दैन। भर्खरै आएको सानु घटनाले अरूलाई त कस्तो लाग्यो थाहा छैन सायद कोरोना सङ्क्रमणको कारण कसैलाई फुर्सत् पनि नहोला तर हामीलाई धेरै आघात पुऱ्यायो।

नेपालीभाषी सांसदले नेपालीभाषी मुख्यमन्त्रीलाई नेपालीभाषी गाउँलेहरूको समस्याबारे लेखेको चिट्ठी अङ्ग्रेजीमा हुनुजस्तो दुर्भाग्य के होला हाम्रो जाति र समाजमा? अनि त्यो पत्रको जवाब अङ्ग्रेजीमै फर्केर आउनु झन् कति ठुलो विडम्बना भन्ने? त्यो त भयो-भयो मुख्यमन्त्रीलाई त्यो गाउँको समस्या सुल्झाउने दिशामा गरेको कामको धन्यबाद प्रदान गर्दै अङ्ग्रेजीमै पठाइएको जीटीए-को पत्र देखेर हामीले किन ढोङ रच्नु भन्ने भान भयो। आस गरौँ गाउँलेहरूले आवेदन अङ्ग्रेजीमा लेखेका थिएनन् भन्ने नत्र रातभरि करायो भनेजस्तो होला।

मलाई गत वर्ष सिक्किमको कुनै एक ठाउँमा भानु जयन्तीमा बोल्ने मौका दिइएको थियो। त्यहाँ मैले उपस्थित प्रतिनिधिहरूसमक्ष गाउँलेहरूले अङ्ग्रेजीमा लेखिएको बिन्तीपत्र चढ़ाएको देखेर आपत्तीसहित निवेदन गरेको थिएँ नयाँ सरकारबाट मातृभाषाको जगेरा हेतु यसको व्यावहारिक प्रयोगमा ध्यान गइदिए राम्रो हो भनेर। त्यो अरण्य रोदन मात्र हुनेछ भन्ने पनि मलाई थाहा थियो तर आफ्नो मनमा लागेको कुरा त्यै पनि मातृभाषामाथिको हेचेक्र्याइँमाथि त आच्छिउँ आओस् कि बच्छिउँ आओस् बोल्नैपर्छ भन्ने लाग्छ र त्यति कुरा राखेँ। त्यस्तो कुरा एक कानले सुनेर अर्को कानले उड़ाउँछौँ हामी। कसलाई चेत छ, कसलाई मतलप छ, कसलाई फुर्सत् छ?

हाम्रो छात्ती कति ठुलो फुलियो जब हाम्रा सांसदहरूले नेपालीभाषामा शपथ ग्रहण गरे पोहोर यतिखेर? अब भने हाम्रो दीन फर्किने रहेछ भन्ने लाग्यो। हामीलाई पुराना जातिप्रेमी सांसद माइला बाजेको स्मरण भयो।

धेरै कुरा खेल्छन् नि मनमा तर भन्यो भने नराम्रो हुन्छ भनी मौनसाधना गर्नेहरूलाई भन्न केही छैन। त्यही सांसद, त्यही सरकार र त्यही प्रशासनको दयामायामा भानुजयन्ती र भाषादिवस पालन गर्ने सम्मेलन, परिषद्, समिति, पुस्तकालय, अकादमी आदिबाट यसमाथि कुनै प्रतिक्रियाको आस गर्नु ढुङ्गो टुसाएजस्तै हुनेछ। भाषान्दोलनमा यो गरेको र त्यो गरेको भनेर घरभित्ताभरि सम्मान पत्र झुन्ड्याउनेहरू पनि मौकामा चौका पड्काउनेहरू मात्रै हुन्। नेपाली भाषामा यति पढ़ेको र त्यति लेखेको, यो पुरस्कार हत्याएको र यति अनुदान थापेको भन्नेहरू पनि चुइँ गर्दैनन्। मेरो इसारा सबैजनालाई होइन। यो कुराबाट स्पष्ट हुनुहोला सबै औँला बराबर हुन्नन् अनि एउटा बिराउने साख पिराउने हुनसक्छ यहाँ। कतिजना मातृभाषा प्रेमीहरू, कट्टर भाषाप्रेमीहरू, सचेतहरूलाई मैले सङ्केत गरेको होइन। उनीहरू पनि यो कुराबाट भलिभाँती अवगत अवस्यै छन् अनि आफ्नै स्तरमा मेसेन्जर र वाट्सअपतिर यसबारे चर्चा र चिन्ता गरेर आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्।

सिक्किमबाट नेपाली भाषा संरक्षणको दिशामा धेरै काम हुनेछ यदि इच्छाशक्ति भए किनभने देशमा एकमात्र नेपालीभाषी राज्य हो यो अनि यहाँ यो भाषाका लागि मरिमेट्ने सचेतहरू धेरै छन्। सरकारी ओहोदामै छन्, शिक्षण संस्थामा छन्, पत्रकारितामै छन्, सेवानिवृत्तहरू नै छन्। आईपीआर-ले प्रकाश गर्ने दैनिक सरकारी फोटो र भिडियो हेर्दा नै थाहा हुन्छ मन्त्रीहरूका वरिपरि साहित्यिकहरू कति हुन्छन्?

उनीहरूको मनमा के कहिल्यै पनि यस्तो भावना आउँदैन आफ्नो राज्यमा संविधानले मान्यता दिएको नेपालीको प्रचलन होस् भन्ने? अनि त्यो विषयमा सरकार चलाउनेहरूलाई उचित सल्लाह र परामर्श दिन सकिन्न? यसमा के अड़चन छ?

महाराष्ट्र राज्यमा बिजुलीको लाइन जड़ान गर्ने आवेदन दिँदाको संस्मरण 'मराठीहरूको भाषामोह' मैले दुइ सालअगि लेखेको। त्यसमा पनि यस्तै विषयको उठान छ।

यहाँ कसैको नाम उल्लेख नगरी, कसैप्रति पूर्वाग्रही नभई केवल म एक नेपाली (वा गोर्खा भन्नुहोस्) भाषामाथि यसरी आफ्नैहरूको दृष्टिकोणमा परिवर्तन ल्याउने अनुरोध गर्दछु अनि गर्भ बस्दादेखि नै सिकेर आएको मातृभाषा जो यो महाजातिलाई जोड्ने बलियो साझाबोली पनि हो, त्यसमाथि आफैहरूले कुनै पनि बहानामा यति ठुलो घोर अपराध नगरौँ भन्ने दुइ कर जोड़ेर प्रार्थना गर्न चाहन्छु। म ती तमाम भाषासचेतहरूलाई पनि यसरी बाटो बिराउनेहरूलाई होसियार गराउनलाई अगि आउने अनुरोध गर्दछु जो भाषाप्रति साँचो रूपले चिन्तित हुनुहुन्छ। नेपाली भाषाको नाममा आज धेरै घरको चुलो सल्किरहेको छ। धेरैले आफ्नो मान मर्यादा यो भाषाको कारणले कमाउनु भएको छ। यो भाषाको पेसागत बेपार गर्छौँ हामी। आऊँ हामी तल्लो स्तर, मझ्यौलो स्तर अनि माथिल्लो स्तर सबैतिर आजदेखि नै आफुले सक्ने काममा स्वभाषा प्रयोग गरौँ।  

कसैमाथि यो अपिलले केही अमित्थे अनुभव गरायो भने कृपया मातृभाषा संरक्षणकोलागि मलाई माफ दिनुहुनेछ भन्ने आस गर्दै, सुरक्षित रहौँ, स्वस्थ रहौँ ।

जय मतृभाषा।

No comments:

Post a Comment

Post Bottom Ad