विचार _________________________________________ भिमा राई 'तोलाछा'
भर्खरै 'पोथी बास्नु लोदर हो' भन्ने उक्तिबारे चर्चा चुलियो। हुन त राष्ट्रमा मनुवादलाई शिरोपर गरेर हिँड्ने सत्ता स्थापित भएपछि यी कुराहरू सामान्य हुँदा रहेछन्।
मानव विकासक्रममा सभ्यताको मिर्रमिरे उज्यालो महिलाहरूले
आविष्कार गरेका हुन्। जब खेतीपातीको शुरुआत भयो, बिस्तारै सम्पत्तिको पनि उदय भयो। सम्पत्तिको उदयसँग सँगै
महिलाहरू पुरुषको स्वामित्वको चुंगुलमा फँसीदै गयो। आदिम युगमा महिलाहरू पुरुष
भन्दा कम शक्तिशाली थिए भन्ने इतिहास छैन। पशु जगतमा आजसम्म बाघ-बघेनी दुवै
समान्तर बलशाली छन्। भाले अथवा पुरुष त सन्तान उत्पादनका निम्ति मात्र उपयोग हुने
गर्थ्यो। आजपर्यन्त पशु संसारमा त्यही नियम छ।
आजको आधुनिक पूँजीवादी व्यवस्थामा महिलाहरू यत्ति विघ्न
निर्बल,
लाचार, अबला, बनाइएको छ कि महिलाहरूले आफ्नो प्राकृतिक शक्तिलाई
पूर्णरूपले बिर्सिसके अनि क्रमश 'बार्बी डल' सरह
वस्तुकृत बनेर 'सोकेस' भित्र सजिन पुगेका छन्।
दोहोरो शोषणमा महिलाहरू:
सम्पत्तिको उदयपछि महिला पराधीन हुँदै गए। पुरुषहरूको
भोग-विलास र निजी सम्पत्ति भएर आफ्नो अस्तित्व हराउँदै गए। समाजमा महिलाहरू
विभिन्न सत्ताबाट शोषित छन्। राजनैतिक सत्ता, जातीय सत्ता, धार्मिक सत्ता र पुरुष सत्ता। निम्न वर्गको गरीब पुरुषले
पनि आफ्नो स्वास्नीलाई कँजाएर राखेको पाइन्छ। त्यसरी नै एउटा दलित पुरुषले आफ्नो
स्वास्नीलाई आफ्नो हैकममा राख्न चाहन्छ। श्रमजीवी महिलाहरूको स्थिति त झन् दयनीय
हो। एकतर्फ मालिकबाट अर्कोतर्फ घर अनि समाजमा पुरुष हैकमबाट दोहोरो शोषणको शिकार
बन्छन्।
यसरी वर्गीय शोषणको कहालीलाग्दो जालोभित्र महिलाहरू
पुरुषप्रधान सत्ताको उत्पीड़नको थप भारी पनि युगौँदेखि बोकी रहेछन्।
पुरुषप्रधान चेतना, परम्परा र महिलाहरू
औरत जातलाई हेपेर बनाईएको उखान तुक्काहरूको ठेली नै निर्माण
गर्न सकिन्छ। यस्ता भनाइहरू हामीले सानैदेखि सुन्दै आएका हौँ। हाम्रै बोज्यू, आमा, दिदी,
छ्यामा, काकीहरूले पनि मज्जले यस्ता उखान सुनाएर छोरी, बुहारी, नातीनीहरूलाई शिक्षा दिएको सुनिन्छ। पुरुषप्रधान सोच
महिलाहरूमा समेत संक्रमित भएको पाइन्छ। पितृसत्तात्मक विचार आजसम्म जीवित त्यही
संक्रमणको कारण पनि हो।
तर महिलाहरूले सचेत रूपमा ति सबै पुरुषप्रधान चेतना ग्रहण
गरेका भने होइनन्। समाजमा पुरुषहरूद्वारा निर्मित विस्वास, परम्परा, धर्म, नियम आदि विभिन्न माध्यमद्वारा पुरुष ठुलो हो, पुरुष देवता हो, पुरुषभन्दा महिला जहिले सानो हो भन्ने जन-विश्वासहरू समाजमा
स्थापित गरिएका हुन्। कुनै देशमा जस्तै समाज, गाउँ अनि घरभित्र पनि पुरुष मात्र स्वामी हुने अथवा मूल
खाँबो मानिने विश्वासलाई समाजको सबैभित्र धेरै युगदेखि जरा गाडीदिएको हो।
अशिक्षित, उत्पीड़ित मध्ययुगीन समाजमा परम्परा, सामाजिक नीति नियममाथि प्रश्न उठाउने चेतना नै कोसित हुने र? तर अब समय बदलियो। अहिले प्रश्न उठ्न थालेको पनि छ तर
प्रश्न मात्र काफी भने होइन।
आयातित राजनीतिको भेलमा बगेर धताई हिँड्ने तथाकथित
नेताहरूले 'पोथी
बास्नु हुँदैन' भन्ने
उक्तिलाई समर्थन गर्दा कति पनि चकित हुने विषय लागेन। यस उपरान्त उनिबाट के आशा
गर्न सकिन्छ र? उनले
आफ्नो पुरुष चेतना र दम्भको प्रदर्शनसम्म गरे। हाम्रो देशमा त कति कति
बलात्कारीहरूलाई स-सम्मान भोट दिएर सत्ता थमाएका छौँ त्यसको पनि हिसाब किताब नै
छैन।
शक्तिको सही आँकलन:
गुफामा एक्लै बसेर बाल बच्चा हुर्काउने हाम्रा आदिम आमाहरू
प्राकृतिकरूपले कहिले कमजोर थिएन। प्रकृतिले लिङ्गको आधारमा असमानता प्रदर्शित
गरेन। अझ हेर्नु हो भने पुरुष जात भन्दा स्त्री जाति धेरै सबल छन् गर्भधारण, प्रसव जस्ता अनुभवहरू केवल स्त्री वर्गले मात्र अनुभूत गर्न
सक्छ। पीड़ा र रोग प्रतिरोध क्षमता, महिलालाई प्राप्त प्राकृतिक ममत्व शक्ति पुरुषहरूका निम्ति
कल्पना मात्र हुनसक्छ। धेरै जैविक गुणहरू यस्ता छन् जसले महिलालाई पुरुष समान र
धेरै कुरामा पुरुषभन्दा श्रेष्ठ पनि देखाइसकेको छ।
महिलाहरूलाई कमजोर लिङ्ग मान्ने धारणा जबर्जस्ती
पितृसत्ताले थोपिदिएको हो। यो सोच र परम्पराको फलामे साङ्गलो वर्षौँदेखि
अस्तित्ववान् छ। जबसम्म महिलाहरूले स्वयंलाई सठीकरूपमा चिन्न सक्दैनन् तबसम्म
महिला मुक्तिका आवाजहरू कता गएर फुस्स हुन्छन् थाहा हुँदैन।
महिलाहरू न त काली माँ थियो, न त दुर्गा माँ नै। यी सबै कल्पित भावनात्मक कुरा हुन्। तर
आफ्नो अस्तित्वको लडाई एक्लै लढ्दै आएको लडाकू मानव भने अवश्य थियो।
पूँजीवादी व्यवस्थाले महिलाहरूलाई बजार र वस्तुको रूपमा
प्रयोग गर्दै आईरहेको समयमा महिलाहरूको सशक्त संगठन र संग्राम बिना आधी आकाशको
स्वाधीनता केवल अपूर्ण चित्र जस्तो भएर रहने छ।
महिला आन्दोलनहरू:
आठ मार्चमा श्रमजीवी महिला दिवस मनाउने गरिन्छ। विसौँ
शताब्दीको शुरूआती वर्षहरूदेखि शुरू भएको महिला मुक्तिको आन्दोलनसम्म अहिले आएर
बाजारीकरण गरिसकिएको छ। महिला दिवसको नाममा पुरुषप्रधान उपभोक्तावादी महिला
चेतनालाई बिस्तार गर्ने कार्य भएकोछ।
त्यसपछि चरण-चरणमा उठेका महिला मुक्ति विमर्शले विश्व महिला
आन्दोलनका निम्ति वैचारिक रूपले धेरै समृद्ध बाटो दिएको भएतापनि महिला मुक्तिको
दिशामा यथेष्ठ कार्य भएको छैन।
सामाजिक सञ्जाल एवं इन्टर्नेटका माध्यमद्वारा पनि महिला
मुक्ति विमर्शहरू बेला बखत चर्चाको केन्द्रमा रहने गरेको देखिन्छ। 'मि टू!' जस्ता पुरुष विकारग्रस्त व्यवहारलाई नागोंझार बनाउने
आन्दोलनहरूले पनि सामाजिक सञ्जालमा चर्चा पायो तर यी सबै केही शिक्षित, सम्पन्न, साहसी महिलाहरूको आँट र प्रयासमा सीमित रह्यो। यस्ता
आन्दोलनहरूको आम महिला वर्ग र जीवनमा व्यवहारिक असर रहला भन्ने कुरोमा प्रश्नचिन्ह
उठेकै छ।
महिला मुक्ति संग्राम र आन्दोलनको इतिहास, महिला मुक्ति विमर्श, बहस र विचारधाराहरूको बिकासको धेरै लामो इतिहास बनिसकेको
भएतापनि अहिले पनि महिला हिंसा, उत्पीडन, पुरूषप्रधान समाज र मानसिकताको प्रभाव र पकड़ उस्तै छ।
जबसम्म महिला मुक्तिको आन्दोलनहरूले विभिन्न तह र तबकाका महिला (श्रमजीवी, गरीब, किसान, जनजातिदेखि शिक्षित र कुलीन श्रेणीसम्मका महिलावर्ग) सबैलाई
सम्बोधन गर्न सक्ने, सबैमा एकजुटता र सङ्घर्ष चेतना भर्नसक्ने आन्दोलन निर्माण गर्न सकिन्न, छुटपुट महिला संग्राम र आन्दोलनहरूले महिला वर्गको बृहत्तर
स्वाधीनता र मुक्तिलाई अघि हाँक्न सक्दैन। दलगत स्वार्थ र अरू धेरै सामाजिक
राजनैतिक अन्तर्विरोधहरूमाझ महिला वर्गको एकता पनि मजदूर र गरीबहरूसमान विभिन्न
ध्रुव र स्वार्थहरूमा विभाजित छन्। धेरै विकटता र चुनौतीहरू भएतापनि सही अर्थमा
महिला मुक्तिको चेतना बिस्तार गर्नु, महिलाहरूले आफ्नो मुक्ति र संग्रामलाई चिन्नू हरसम्भव कोशिश
गरिरहनु पर्नेछ। महिलाहरूको जीवनको यथार्थ लडाई त भान्सा घरबाट नै शुरू हुन्छ।
भातको भाँडा र कराहीबाट शुरू हुन्छ।
भारतीय नेपाली महिलाहरू:
भारत जस्तो विशाल जनसंख्या भएको देशमा नेपालीहरूको जातीय
मुक्तिको समस्या छ। त्यही जातिभित्रको महिला वर्गको स्थिति त झन् के कुरा गर्ने? भारतवर्षमा एक अल्पसंख्यक उत्पीडित जातिका रूपमा
अस्तित्ववान् भारतीय नेपालीहरू राजनैतिक, राजनैतिक चेतनाका हिसाबमा धेरै पछाडिएको लाग्छ, त्यो जातिको महिलावर्गको अवस्था झन् कहालीलाग्दो मान्न
सकिन्छ। राजनैतिक रूपले आन्दोलनमा प्रयोग हुने महिलाहरू छन् तर 'मत निर्माण प्रक्रियामा', राजनैतिक निर्णय गर्न सक्षम नेतृत्वका रूपमा महिलाहरूको
सहभागिता छैन बराबर छ। राजनैतिक मञ्चदेखि, चियाबारी अनि गाउँ-समाजसम्म महिलाहरूले आफ्नो, आवाज र मनोभाव व्यक्त गर्न सक्ने भइसकेको देखिन्न।
हाम्रा चियाबगानका कमाने आमा, दिदी, बहिनी दिदी बहिनीहरूका कथा, गाउँ-बस्तीतिर बारीमा बाँझो फुटाउने दिदी बहिनीहरूको हातहरू
समाउन नसक्नु। उनीहरूको असल जीवन र आवश्यकतासित परिचित बन्न नसक्नु भारतीय नेपाली
शिक्षित एवं बुद्धिजीवी महिलाहरूको कमजोरी हो।
भारत स्वाधीन हुन पूर्व अनि स्वाधीन भए यताको अलग अलग राजनैतिक पृष्टभूमिमा महिलाहरूको जीवन, अवस्था र आवश्यकतालाई चिन्हित गर्दै सोही अनुरूपको महिला मुक्ति विमर्श अनि आन्दोलनको बिकासले महिला माथिको हेपाहा व्यवहारमाथि वज्रपात गर्न सकिन्छ। नत्र भने सामाजिक सञ्जालमा जत्ति आवाज उठाए पनि पुरुषप्रधान सोच लिएका जड़ अनि अज्जिर समाज र तिनका प्रतिनिधिहरूले पीना सुकाउँदै जानेछ।
अतिनै विशिस्ट लेखन। यस्को निरंतरता रहोस्
ReplyDeleteनिकै गहन र सशक्त लेख नारीमुद्दाहरुमाथि। निरन्तरता रहोस् लेखनमा।
ReplyDelete