संसदमा एनआरसीले आसमका गोर्खाहरू समस्यामा परेको स्वीकारेपछि सांसद राजु विष्टले आफ्नो झूटको पोल आफै खोलेका छन् – विनय तामङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, November 29, 2019

संसदमा एनआरसीले आसमका गोर्खाहरू समस्यामा परेको स्वीकारेपछि सांसद राजु विष्टले आफ्नो झूटको पोल आफै खोलेका छन् – विनय तामङ

गफसफ.com, दार्जीलिङ, 28 नोभेम्बर ।
‘एनआरसीले गोर्खाहरूलाई छुँदैन भनेर धाक पिट्ने सासंद राजु विष्टले आज सदनको शुन्यकालमा एनआरसी पीड़ित आसामका गोर्खाहरूको सन्दर्भमा एनआरसीको मुद्दा उठान गरेर एनआरसीलाई लिएर उनले पहाड़वासीसितै समग्र गोर्खाहरूसित झूटो आश्वासन दिएको आफैले प्रमाणित गरेका छन्। एनआरसीलाई लिएर सासंदले एउटा गोर्खे सन्तान भएर होइन तर भाजपाको एजेन्टको रूपमा झूटो आश्वासन दिएको कुरा उनी आफैले आज सदनमा प्रमाणित गरिदिएका छन्’ उक्त कुरा गोजमुमो अध्यक्ष विनय तामङले भनेका हुन्।
सांसद राजु विष्टले आज संसदको शुन्यकालमा एनआरसीको कारण गोर्खाहरू असम राज्यमा समस्यामा परेको भनेपछि गोजमुमो अध्यक्ष विनय तामङले सांसदले उनकै पुरानो बयानको समेत स्मरण दिएला छन्। ‘आसामका गोर्खाहरूलाई एनआरसीले जुन प्रकारले उठीबास लगाउने स्थिति उत्पन्न गरेको छ यसको विरूद्ध हामीले ग्राउण्ड जीरोमै गएर बुझ्ने कार्य गरेका हौं र बारम्बार एनआरसीविरूद्ध आवाज उठाउँदै पनि आइरहेका छौं’ विनय तामङले भनेका छन्।
यसक्रममा उनले आसाममा एनआरसी लागु गरेर भाजपाले त्यहाँका रैथाने गोर्खाहरूलाई जसरी शरणार्थी बन्ने स्थितिमा पुराएका छन् बङ्गालमा पनि एनआरसी लागु गरिएको खण्डमा गोर्खाहरूको त्यही हालत हुनेछ भन्दै सोहिकारण आफुहरूले एनआरसीको विरोध गरिरहेको स्पष्ट पारेका छन्।
‘लोकसभा चुनाउको समयमा पनि हामीले एनआरसीको विरूद्ध यही कुरा भनेका थियौं। तर त्यतिबेला राजु विष्टहरूले एनआरसीले गोर्खाहरूलाई छुँदैन भनेर भनेका थिए। एनआरसीले गोर्खाहरूलाई समस्यामा पार्छ, गोर्खाहरूलाई शरणार्थी बनाउँछ भन्ने हाम्रो साँचो तर्कहरूलाई उनीहरूले तोड़ेर बटारेर जनताको आँखामा धूलो हाल्ने काम गरेका थिए।‘ विनय तामङले भनेका छन्।

चुनाउको समय भाजपा सांसद राजु विष्टले एनआरसीले कुनै गोर्खाहरूलाई पनि नछुने दावी गरेका थिए भन्दै भाजपाका विधायक निरज जिम्बाले त गोर्खाहरू त परै जाओस् गोर्खाहरूको बारीमा फलेको इस्कुसलाई समेत एनआरसीले नछुने दावी गर्दै आसामका एकैजना खाट्टी गोर्खालाई पनि एनआरसी लागु भएको खण्डमा आफूले राजनीतिबाट सन्यास लिने समेत घोषणा गरेका थिए भनि तामङले भनेका छन्।
‘आज सासंद राजु विष्टले आसामका गोर्खाहरूलाई एनआरसीले मर्का पारेको स्वीकार गर्दै यसको विरोधमा सदनको शुन्यकालमा कुरा राखेर एनआरसीले गोर्खाहरूलाई आफ्नो भूमिबाट खेदुवा लगाउने कुरा साँचो रहेको स्पष्ट प्रमाणित गरेका छन्। आफ्नै सासंदले उक्त कुरा स्वीकार गरेपछि अब भाजपाका विधायक निरज जिम्बाले पनि जनतासामु आफ्नो वचन पूरा गर्दै राजनीतिबाट सन्यास लिनुपर्छ’ तामङले भनेका छन।
‘भाजपाले बङ्गालमा एनआरसी लागु गरेको खण्डमा दार्जीलिङ पहाड़का कोही गोर्खाहरू पनि सुरक्षित छैनन् भन्ने कुरा आसामका गोर्खाहरूले हालमा झेलिरहेको मर्काले नै स्पष्ट भइसकेको छ। पर्जापट्टाबिहीव 80 प्रतिशतभन्दा अधिक पहाड़का गोर्खाहरूलाई एनआरसीले शरणार्थी बनाउने जान्दा-जान्दै पनि निरज जिम्बा अनि राजु विष्टहरूले राजनैतिक रोटी सेक्न झूटो आश्वासन दिएको कुरा अब आएऱ उनीहरूले नै एनआरसीको विरूद्ध सदनमा बोलेर प्रमाणित गरिदिएका छन्’ विनय तामङले भनेका छन्। 
यसैकारण उनले पहाड़वासी अब सचेत भएर एनआरसीको विरूद्ध एक हुन आवश्यक रहेको पनि बताएका छन्। ‘एनआरसीको कानून अनि प्रावधानभन्दा ठूलो निरज जिम्बा अनि राजु विष्टहरू होइनन्। भोलि एनआरसी लागु भएको खण्डमा पहाड़का गोर्खाहरूले राजु विष्ट वा निरज जिम्बालाई देखाएर एनआरसीबाट छूट पाउने होइनन्। भाजपा विधायक निरज जिम्बा स्वयँ पनि एनआरसीको कानूनदेखि पन्सिनु पाउने छैनन् र आवश्यक दस्तावेज नबुझाएको खण्डमा उनी आफै पनि शरणार्थी बन्नुपर्ने स्थिति आउनेछ। यसर्थ कुनै पनि नेतृत्व वा राजनैतिक नेतृत्वहरूले पनि एनआरसीलाई लिएर गोर्खाहरूलाई झूटो आश्वासन नदिने पनि म अपील गर्दछु’ विनय तामङले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad