नेपाली वर्णमालामा नभएका श र ष - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, September 8, 2019

नेपाली वर्णमालामा नभएका श र ष

      भाषिक चर्चा ___________________________सञ्जय विष्ट       
(नेपाली भाषिक एकरूपताको चर्चा समय-समयमा उठ्र्दै आइरहेको छ। कहिले ‘श’, ष, र ‘स’ –को चर्चा उठ्छ त कहिले थोप्ला भएको ‘ड़’, ‘ढ़’- को चर्चा उठ्छ। यसैक्रममा केहिदिनदेखि सामाजिक सञ्जालमा यस्तै चर्चा चलिरहेको छ। यसकारण कालेबुङ महाविद्यालयका प्राध्यपक सञ्जय विष्टद्वारा निक्कै अघिनै ‘श’, ष, र ‘स’ सम्बन्धमा लिखित यस लेखलाई यहाँ प्रस्तुत गरिएको छ – सम्पादक)

कालेबुङ महाविद्यालयले आयोजना गरेको सिर्जनात्मक लेखनविषयक कार्यशालामा विषय-विशेषज्ञका रूपमा निमन्त्रित भाषाविद् माधवप्रसाद पोखरेललाई स्थानीय पत्रकारहरूले नेपाली व्याकरणसम्बन्धी सोधेका प्रश्नका  उत्तरहरूको प्रतिक्रियामा केही दिनअघि हिमालय दर्पण’-मा शिवराज शर्माको एउटा अधुरो (?) लेख छापियो। तीनवटा ’-को सन्दर्भमा प्रा. पोखरेलद्वारा प्रकट गरिएको मतलाई खण्डन गर्न खोजिएको जस्तो सो लेख शिवराज शर्माको नेपाली वर्णमालाका वर्णहरू र मेरा अन्य लेख’-का पृष्ठ 25, 26 र 27 मा अलिकति थपघट हो। 
वास्तवमा शिवराज सरले तीनवटा ’-बारे भन्नुपर्ने आफ्नो कुरा लेखमा पुरै भन्नुभएकै हुनाले कालो, मोटो अक्षरमा क्रमशःलेखेर टुङ्गाइएको उक्त लेखको शेष भाग आउँदैन भन्ने कुरोमा म विश्वस्त थिएँ। पुस्तकमा भएको सन्दर्भित कुरो लेखमा पुरै उतारिएको छ। क्रमशः गर्नु हो भने श, , स-पछि ह-को कुरो आउँछ। ह-को चर्चा अप्रासङ्‌गिक भइहाल्छ लेखमा। त्यो क्रमशः  त शेष भागको पर्खाइमा जाँगर मरोस् र प्रतिक्रिया नलेखियोस्-को उद्देश्य लिएर, आत्मरक्षाको नीतिजस्तो भएर मात्रै रहेको छ भन्ने मेरो बुझाइले यत्तिका दिन बितिसक्दा पनि मलाई धोका दिएन।
नेपाली साहित्य लेखनबारे बोल्न आमन्त्रित गरिएको थियो, तर बोल्नुभयो- तीन अलग-अलग श, ष र स-को काम छैन, नेपाली भाषामा एउटै स-ले काम गर्छ।शिवराज सरले स्थानीय समाचारपत्रबाट (?) प्रा. पोखरेलको भनाइलाई उद्धृत गर्नुभएको छ। उक्त तीनदिने कार्यशाला आयोजन समितिको एकजना सदस्य भएकाले सुरुमै एउटा कुरो स्पष्ट गरूँ   विषय-विशेषज्ञका रूपमा निमन्त्रित प्रा. पोखरेलले कार्यशालामा व्याकरणसम्बन्धी आफ्ना मत प्रकट गरेका होइनन्। भाषाविद्का रूपमा मानिएका प्रा. पोखरेललाई कार्यशालादेखि बाहिर स्थानीय पत्रकारहरूले सोधेका प्रश्नका उत्तरमा र 16 अक्टुबरका दिन नेपाली साहित्य अध्ययन समिति, कालेबुङले आयोजना गरेको भेटघाट एवं अन्तरक्रियात्मक कार्यक्रम’-मा तीनवटा ’-बारे पनि आफ्नो मत प्रकट गरेका हुन् उनले।
उठेर सोध्न सकेनन् त्यतिखेर- एउटै ’-ले मात्र काम चलाउन सकिने थियो नेपाली भाषामा भने दार्जीलिङका शिवराज शर्माले नेपाली वर्णमालाका वर्णहरूनामक आफ्नो पुस्तकमा देखाएको तीनवटा श, ष र स-को भिन्नता स्वीकार्नु कि नस्वीकार्नु? स्वीकार्नु हो भने कसरी वा केको बुजो लगाउनु उनका मुखमा?...” प्रा. पोखरेलले तीनवटा स-बारे आफ्नो विचार प्रकट गर्दा उपस्थित रहने हामीलाई सोध्नुभएको  छ सरले। अन्तरक्रियात्मक कार्यक्रमको तयारी गर्दा साथीभाइहरूले अहिले वर्णविन्यासको सन्दर्भमा चलिरहेको बेमेल मतका अनुयायीहरूलाई मञ्चमै राखेर चर्चा गरौँ भन्ने इच्छा प्रकट गरेका थिए। एउटा मतका अनुयायीहरूबाट त प्रतिनिधिस्वरूप कसैलाई पनि मञ्चमा राख्न मिल्ला तर अर्का मतधारीहरूबाट चाहिँ कसलाई राख्ने मञ्चमा? भन्दा शिवराज सरकै नाम लिएका थिए साथीभाइहरूले। व्याकरणाचार्य शिवराज शर्माको व्याकरणिक सिद्धान्तसित हाम्रो बुझाइ बेमेल छँदैछैन, वास्तवमा हाम्रो बुझाइको आधार शिवराज सरको व्याकरणिक सिद्धान्त पनि हो,” मैले नै भनेँ। सरको लेख दर्पणमा छापिएपछि साथीभाइहरूले कस्तो लाग्यो त?” भनेर सोधे व्यङ्ग्यात्मक शैलीमा मलाई। सरको लेख र साथीभाइहरूको व्यङ्ग्यले मलाई व्याकरणाचार्य शिवराज शर्माको व्याकरणिक धारणा बुझ्न कहाँ गल्ती गरेछु भन्ने लागिरह्यो।  यो लेख शिवराज सरको सो लेखको प्रतिक्रिया, मुखमा बुजो केही नभएर उहाँकै व्याकरणसम्बन्धी पुस्तकहरूको आधारमा सरलाई बुझ्न म कहाँ चुकेछु-को उत्तर खोजाइ मात्र हो।
व्याकरणाचार्य शिवराज शर्माको व्याकरणिक सिद्धान्तसित व्याकरणविद् एवं भाषाविद् माधवप्रसाद पोखरेलको व्याकरणिक सिद्धान्त र हाम्रो बुझाइ पट्क्कै बाझ्दैन। तीनवटा ’-बारे त बाझ्दैबाझ्दैन। हाम्रो बुझाइको आधार त शिवराज सरकै व्याकरणसम्बन्धी पुस्तकहरू पनि हुन् भन्ने कुरो पनि यहाँ सविनय स्वीकारौँ।
शिवराज सरले नेपाली वर्णमालाका वर्णहरूनामक पुस्तकमा, ‘असंयुक्त र संयुक्त व्यञ्जनवर्णहरूशीर्षकमा अन्तःस्थ वर्णका समाप्तिपछि ऊष्मवर्णउपशीर्षकमा, पुस्तकको पृष्ठ 25, 26 र 27 मा निम्नानुसार श, ष र स-का परिचय प्रस्तुत गर्नुभएको छ।
41. श (असंयुक्त व्यञ्जनवर्ण श्+अ=श, संस्कृत नाम तालव्य शकार, नेपाली नाउँ मोटो श) – …
संस्कृत व्याकरण वा कौमुदीले – ‘इचुयशानां तालुभनी तालुस्थानी वा तालव्यवर्ण मानेको र यसैलाई नेपाली व्याकरणले स्वीकारेको; नेपालीका मौलिक वर्णहरूमा नपरे तापनि स्तरीय नेपाली (संस्कृत तत्सम शब्दसमेत) उच्चारण अनुसार तालु-दन्तमूलीय, अघोष, अल्पप्राण ध्वनि।
नामकरण नेपालीका मौलिक वर्णहरूमा पाइने दन्त्य ’-लाई पातलो सभनी छुट्याएर राख्न ’-लाई पनि नेपालीको मौलिक वर्ण जस्तै मानी नाउँ राखिएको मोटो श

42. ष (असंयुक्त व्यञ्जनवर्ण ष् +अ =ष, संस्कृत नाम मूर्धन्य षकार, नेपाली नाउँ पेटफाऱ्यो ष, पेटकाट्यो ष) - संस्कृत व्याकरणले – ‘ऋटुरषाणां मूर्धाभनी मूर्धास्थानी वा मूर्धन्यवर्ण मानेको र नेपाली व्याकरणले पनि यसैलाई पछ्याएको; अघोष, अल्पप्राण ध्वनि।
नामकरण नेपालीका मौलिक वर्णहरूमा नपरे पनि संस्कृत तत्सम शब्द र त्यसबाट बनेका विशुद्ध नेपाली (जस्तो दुष्ट-दुष्ट्याइँ, दोष-दोष्याउनु आदि) का निम्ति नभई नहुने हुँदा नेपालीको मौलिक वर्ण सरह ठानी नाउँ राखिएको हो – ‘पकारको पेटकाट्यो वा फाऱ्यो ष।
43. स (असंयुक्त व्यञ्जनवर्ण स्+अ=स, संस्कृत नाम दन्त्य स, नेपाली नाउँ दन्ते स वा पातलो स)उच्चरित नेपाली व्यञ्जनवर्णहरूमा पर्ने  वा नेपालीको मौलिक वर्ण।
माथि नेपालीका मौलिक वर्णहरूमा नपरे पनि-लाई दोहोऱ्याएर नेपाली वर्णमालाका व्यञ्जन होइनन् भन्ने कुरो  स्पष्ट गरिएको छ र ’-को नामकरणको आधार बताउँदा यस  उपवाक्यसित संस्कृत तत्सम शब्द र त्यसबाट बनेका विशुद्ध नेपाली (जस्तो दुष्ट-दुष्ट्याइँ, दोष-दोष्याउनु आदि) का निम्ति नभई नहुने हुँदा नेपालीको मौलिक वर्ण सरह ठानी नाउँ राखिएको हो – ‘पकारको पेटकाट्यो वा फाऱ्यो ष।’-लाई जोडिएको छ।
सरहभनेको समानहो। झैँजस्तैजस्तो पनि बुझिने। नैचाहिँ होइन। माथि मौलिक वर्ण सरह ठानी पनि भनिएकोले श नेपालीको मौलिक वर्ण नै चाहिँ होइन, जस्तो मात्रै हो, ठानिएको छ। नठान्दा पनि हुने, जस्तो ठानिएको।
माथि उल्लिखित उद्धरणहरूले श र ष-लाई नेपाली व्यञ्जन वर्ण मानेकै छैन। स-लाई चाहिँ उच्चरित नेपाली व्यञ्जन वर्णहरूमा पर्ने वा नेपालीको मौलिक वर्णभनेको छ स्पष्टसित। त्यसो हुँदा नेपाली वर्णमालामा एउटै मात्र छ भन्ने कुरोमा शिवराज सर र माधव सर एकमत  हुनुहुन्छ भनेर बुझ्नमा कहीँ अप्ठ्यारो छ?
पत्रकारहरूको प्रश्नको उत्तरमा प्रा. पोखरेलले नेपाली भाषामा तीनवटा श, ष र श-को काम छैन भने कि नेपालीमा तीनवटा स-को काम छैन भने म जान्दिनँ। नेपाली भाषामै भने तापनि त्यस भनाइलाई नेपाली भाषाका तत्समइतर शब्दहरूमा भनेर बुझ्नुपर्ने हो जो कोहीले पनि किनभने श र ष-को प्रयोग तत्सम शब्दमा मात्रै हुन्छ भन्ने प्रा. पोखरेलको भनाइलाई हामीले रेकर्ड गरेर राखेकै छौँ। उनले तत्सम शब्दको वर्णविन्यासलाई नियमअनुसार तत्समअनुरूप नै प्रयोग गरिरहेका पर्याप्त उदाहरण हामी अघि सार्न सक्छौँ। तत्सम शब्दहरूको वर्णविन्यासमा श-को आवश्यकता पर्ने कुरोमा विवादै छैन आजसम्म। तत्सम शब्दमा तत्समइतर प्रत्यय लागेपछि शब्द तद्‌भव बन्दछ। दुष्टदोषतत्सम शब्द हुन्, संस्कृतका शब्द हुन्। शब्दपनि। यी संस्कृत शब्दहरूका वर्णविन्यासलाई संस्कृतको वर्णमालामा भएका ष र श लेख्नै पऱ्यो। तर संस्कृत आदि भाषाबाट नेपाली भाषामा आएका तद्‌भव शब्दमा त शकारका ठाउँमा, नेपाली भाषाका नियमानुसार दन्त्य स लेखिन्छ र त्यही उच्चारण गरिन्छ,” – शिवराज सरले नै सन्दर्भित लेख र पुस्तकमा पनि लेखिदिनुभएको छ। सरले आकाश (सं) > अकास (ने.), श्मशान (सं) > मसान (ने.), शाल (सं) > साल (ने.) -लाई उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ। यति नियम बताइदिएपछि याइँयाउनुनेपाली प्रत्यय लागेर बनेका विशुद्ध नेपाली (सरकै शब्दमा) शब्दको वर्णविन्यासमा चाहिँ नेपाली वर्णमालामै नभएको श र स-लाई संस्कृत वर्णमालाबाटै तानेर ल्याइरहँदा वर्णविन्यास वैज्ञानिक बन्ला?  दुष्टयाइँ, पुष्ट्याइँ, दोष्याउनु-हरूको वर्णविन्यासलाई बर्से, बर्सै र बर्सेनिहरूजस्तै दुस्ट्याइँ, पुस्ट्याइँ, स्पस्ट्याउनु नपार्दा सिद्धान्त एकातिर व्यवहार अर्को तिर हुँदैन?
संस्कृत आदि भाषाबाट नेपाली भाषामा आएका तद्‌भव शब्दमा त शकारका ठाउँमा, नेपाली भाषाका नियमानुसार दन्त्य स लेखिन्छ र त्यही उच्चारण गरिन्छ,”यसमा कुनै शङ्कै छैन तर बुझ्नुपर्ने कुरोचाहिँ के छ भने संस्कृत भाषाबाट जस्ताको तस्तै आएका अथवा तत्सम शब्दहरूमा श र ष-को श र ष नै लेखिए तापनि उच्चारण भने त्यहाँ पनि स-कै मात्र हुन्छ। नेपाली भाषामा असङ्ख्य तत्सम शब्दहरू छन्। ती शब्दहरूले नेपाली भाषामा भित्रिनासाथै संस्कृतको उच्चारण प्रकृति त्यागेर नेपाली भाषाको प्रकृति ग्रहण गर्दछ। संसारको जुनै पनि भाषामा यही नियम पाइन्छ। यसो नभई भाषिक विकास हुने कुरै आउँदैन। स्रोत भाषाबाट स्वभाषामा शब्द भित्रिँदा स्वभाषीको उच्चारण प्रकृतिमा अनुकूलित भएरै मात्र भित्रिन्छ। अन्य भाषाबाट आएका तर नेपाली भाषामा अनुकूलित भई नेपाली भइसकेका यस्ता शब्दहरूलाई अनुकूलनअनुरूप लेख्नु चाहिँ तर्कसङ्गत देखिन्छ। त्यसैले संस्कृतबाट विकसित (छोरी होइन) भन्दैमा नेपाली भाषामा जतासुकै संस्कृतका वैयाकरणहरूले संस्कृत भाषाको प्रकृतिको आधारमा संस्कृत भाषालाई अनुशासित तुल्याउनका निम्ति लेखेका व्याकरणहरूलाई आधार बनाई लेखिएका आदेशात्मक व्याकरणका नियमहरूलाई प्रयोग गर्नु त अवैज्ञानिक हुन्छ नै, तत्सम शब्दहरू जो अनुकूलन प्रक्रियाबाट नेपाली भाषामा भित्रिएका छन् को लेखनमा हामीले अप्नाएका तत्सम नियमहरू पनि कति वैज्ञानिक छन् भन्ने कुरो पनि विचारणीय छ। वि. सं. 2035 को ह्रस्वलेखन अभियानका बालमुकुन्ददेव पाण्डे र जोसबहादुरमा जस्तो अतिवाद हामीसित अहिलेसम्म चाहिँ छैन यद्यपि हामीलाई लागेको त्यो अतिवादका आधारहरू खोज्ने नेपाली वैयाकरणहरू पनि आउलान् कुनै दिन। जे होस्, तत्सम अनि तद्‌भव रूपमा संस्कृतलगायत अरू विदेशी भाषा साथै किराती, मगराती, नेवारी, तामाङी विभिन्न प्रान्तीय भाषाहरूबाट पनि शब्द ग्रहण गरी आफ्नै प्रकृतिसित विकसित नेपाली भाषा तत्सम नियमले मात्रै अनुशासित हुँदैन।
’-को  उच्चारण ’-कै रूपमा हुन्छ भनेर जतासुकै लेख्नुहुँदैन। पुस्तकमा लेखिएकै मान्य मत लेखमा पनि छ। ’-को  उच्चारण ’-कै रूपमा हुन्छ-को अर्थ हाम्रो जिब्रोमा तीनवटा स (श, ष र स)-को अलग-अलग उच्चारण छैन नै हो। पहिला सरले बुझ्नुभएर, लेख्नुभएर यो कुरो  सिकाउनुभएपछि हामी पनि हो-हो, छैन,” नै भन्दैछौँ। दुइटा श र ष-को उच्चारण जिब्रोमा छैन भनेर जतासुकै स लेख्नुहुँदैन भन्ने सरहरूको मतलाई पनि हामी पुरापुरी पालन गर्दै नै छौँ। उदाहरणका रूपमा यही लेखलाई हेर्दा भइहाल्छ। अझ प्रा. माधवप्रसाद पोखरेल त नेपाल प्रज्ञा प्रतिष्ठानले वि. सं. 2067 को संस्करणमा शहर, दशैँ, पेशा, कोशिशजस्ता आगन्तुक शब्दहरूको वर्णविन्यासमा सुधार ल्याइएको अथवा यी शब्दहरूलाई प्रविष्टिबाटै हटाएकोमा पनि असन्तोष प्रकट गर्छन्। हटाउँदा अनेपाली पाठकहरूलाई असुबिधा हुने हुनाले अवैज्ञानिक नै भए तापनि आदेशात्मक व्याकरणमा भर परी लेखिएका त्यस्ता वर्णविन्यासका ती शब्दहरूलाई कोशमा राख्नै पर्ने उनको मतलाई पनि हामीले रेकर्ड गरेका छौँ।
नेपाली भाषामा संस्कृतका असङ्ख्य शब्दहरू छन्। तत्सम शब्दहरू। लेखनमा आउने ती शब्दहरूको वर्णविन्यासलाई संस्कृत वर्णमालामा भएका तर नेपाली वर्णमालामा नभएका श र ष को पनि आवश्यकता पर्दछ। आजसम्म त परिरहेछ। आवश्यकता परेपछि सिक्नुपऱ्यो। नामले चिन्नुपऱ्यो। तालव्य श अथवा ताल्बे श अथवा मोटो श, मूर्धन्य ष अथवा मर्धे ष अथवा पेटफाऱ्यो / पेट चिरेको ष अनि दन्त्य स अथवा दन्ते स अथवा पालतो स लेखनमा प्रयुक्त वर्णहरू चिन्ने उपाय मात्रै हुन्। जिब्रोमा नभएका श र ष-लाई जिब्रोमा भएकै स-सित छुट्याउन उच्चारणस्थानको सहायता लिएर दन्त्य स अथवा दन्ते स अथवा पालतो सभन्नुपरेको। यदि यसो नहुँदो हो त श, , , ण-बाहेकका अन्य वर्णहरूको उच्चारणमा पनि उच्चारणस्थानको सहायता लिनुपर्ने हुन्थ्यो। जस्तो कि कण्ठय क, दन्त्य त, ओष्ठ्य प आदि। तर हामी यसो भन्दैनौँ जिब्रोमा भएर। ताल्बे श, मर्धे ष भन्छौँ जिब्रोमा नभएर। जिब्रोमा नभएरै नहुनुपर्ने यी वर्णहरू नभएका हुन् नेपाली वर्णमालामा। “…ज्ञान र रूपरक्षाका निमित्त पनि नेपाली वर्णमालामा स्थान पाएका ध्वनि हुन् – ‘  ” – लेख्नुभएको छ सरले। मौलिक होइनन् भनिएपछि लेखनमा आइहाल्ने यी वर्णहरूलाई नेपाली वर्णमालामा राख्दा नै वर्णविन्यासमा मतभेद देखिएको होइन? साउँ अक्षरका रूपमा चिनाउनैपर्ने यी वर्णहरूलाई नेपाली वर्णमालाबाट हटाएर साउँ अक्षरकै रूपमा चिनाउँदा यसको ज्ञान र रूपरक्षा हुँदैन र?  नराखिनै पर्ने संयुक्त व्यञ्जन क्ष (क् + ष् + अ), त्र (त् + र् + अ) र ज्ञ (ज् + ञ् + अ)-लाई सरले चार दशकभन्दा पहिले छापिएको माध्यमिक नेपाली व्याकरण र रचनाअनि 2008 को पूर्वोत्तर माध्यमिक व्याकरण र रचना’-मा व्यञ्जन वर्णभित्र राख्नुभएको छैन। नेपाली वर्णमालाका वर्णहरू’-मा पनि यी संयुक्त वर्णहरूको चर्चा अलग छ। यसरी व्यञ्जन वर्णमालामा नराखी अलग राख्दा कसैले यी वर्णहरूलाई भुलेको छैन। ज्ञान र रूपरक्षा भएकै छ। त्यसो भए राख्नै पर्ने वैज्ञानिकता रहेको न, ञ-सितै श र ष-लाई व्यञजन वर्णमालाबाट अलग राख्दा (लेखनबाटै हटाउनु होइन) यी वर्णहरूका ज्ञान र रूपरक्षा नहुने के कारण छ? यसरी यी संयुक्त वर्णहरूसितै मौलिक होइनन् भनिएकाहरू सबैलाई व्यञ्जन वर्णमालादेखि अलग राखेर पढिए-पढाइए त्यो पठन-पाठन वर्णविन्यासलाई वैज्ञानिकता प्रदान गर्ने  एउटा उपाय हुन सक्दैन? लेखनमा एकरूपता नआउनुका कारण नेपाली व्याकरणमा वैयाकरणहरूको व्यक्तिगत धारणाको बेमेल वर्णविचार त होइन? हो भने वैयाकरणहरूले सबैभन्दा पहिले सहमतिमा आएर वर्णमालाको टुङ्गो लगाउनुपर्ला। वर्ण नै वर्णविन्यासको आधार हुँदा वर्णकै टुङ्गो नलागी वर्णविन्यासमा एकरूपताको आशा गर्नु युक्तिसङ्‌गत होला र?
हामी सबैको भाषा एउटै भएपछि एउटै भाषाको अलग-अलग विज्ञान हुँदैन। वैयाकरणअनुसारको व्याकरण हुनु हुँदैन, भाषाअनुसारको व्याकरण हुन्छ। हुनुपर्छ। त्यसैले भाषाविद् पोखरेल र व्याकरणाचार्य शिवराज शर्माको साझे नेपाली भाषाको  वैज्ञानिक व्याकरणिक सिद्धान्त नमिल्ने कुरै आउँदैन।
हामी विद्यार्थीहरूले ठुलाहरूको सबै बझाइलाई पक्षमा पारेर मज्जा मान्नु पनि उचित हुँदैन। विपक्षमा पारेर दुखी भइहाल्नु पनि ठिक छैन। अनुभवले पाकेकाहरूका कर्म र धारणाको पछिल्तिर अदृश्य उद्देश्यहरू पनि हुन्छन्। सयौँ स्रष्टाहरूलाई भेला गरेर पारित गरिएको ललितपुर घोषणापत्रको आधार त भाषाविद् बालकृष्ण पोखरेलको नेपाल प्रज्ञा प्रतिष्ठानसितको मन दुखाइ रहेछ (प्रतिष्ठानको वि. सं. 2040 को नेपाली बृहत् शब्दकोश’-पहिलो संस्करणका निर्देशक प्रा. बालकृष्ण पोखरेलको नामसम्म छैन त्यही शब्दकोशको वि. सं. 2067 को सातौँ संस्करणमा। अनि मन दुख्दैन त?)  भने एक प्रकारको व्याकरणिक सिद्धान्त बताएर नेपाली वर्णमालामा उच्चार्य 6 स्वर र उच्चार्य 29 व्यञ्जन अनि 49 साउँ अक्षर नमान्नुको पछिल्तिर शिवराज सरकै पनि कुनै अव्याकरणिक अदृश्य उद्देश्य नहोला भन्न सकिन्न।
तर तीनवटा स (श, , र स)-बारे हाम्रा दुई गुरुहरूको मत मिल्दैन भन्नलाई चाहिँ म त कुनै आधार देख्दिनँ। यस सन्दर्भमा दुवै गुरुहरूका एउटै मत भएपछि दार्जीलिङका शिवराज शर्माले नेपाली वर्णमालाका वर्णहरूनामक आफ्नो पुस्तकमा देखाएको तीनवटा श, ष र स-को भिन्नता स्वीकार्नु कि नस्वीकार्नु? भनेर हामीले प्रा. पोखरेललाई कुन आधारमा सोध्ने ?

No comments:

Post a Comment

Post Bottom Ad