भाषिक चर्चा _____________________________सञ्जय विष्ट
भूमिका : “जुनसुकै भाषा पनि नियमित हुन्छ, त्यो
आफ्नै नियमले चल्छ, परिवर्तित हुन्छ र त्यस नियमिततालाई कसैले आफुखुसी चाहेर
खल्बल्याउन सक्तैन,” भन्ने आधुनिक भाषाविज्ञानका जन्मदाता सस्युरको भनाइ निर्विवाद
हुँदाहुँदै पनि परिवर्तनको पक्ष र
विपक्षमा भाषा साहित्यसित सम्बन्धितहरू आफ्ना आफ्नै ज्ञान र तर्कअनुसार क्रियाशील
रहन्छन्।
नेपाली भाषा लेखनमा रूप रचनागत, शब्द रचनागत, वाक्य रचनागत अनि अर्थगत
सन्दर्भमा पनि मानकीकरणको आवश्यकता रहेको देखिन्छ। यसो हुँदाहुँदै पनि मानक लेखनका
सन्दर्भमा कुरा गर्नेहरूमध्ये अधिकतर भाषा लेखनमा मानकीकरण भन्ने बित्तिकै अधिकतर
वर्ण विन्यासगत मानकीकरण नै बुझ्दछन्। उनीहरू वर्ण विन्यासगत मानकीरणभन्दा अघि
बढ्दैनन्। यस बुझाइ अनुसार नेपाली भाषा लेखनमा देखा परेका समस्याहरू छन् – ह्रस्व-दीर्घको प्रयोग, ञ, ण अनि दुईवटा न-को
प्रयोग, श, ष, स-को
प्रयोग, संयुक्त अक्षररचना अनि पदयोग
र पदवियोग। तत्समइतर
शब्दहरूमा पनि ‘न’ साथै ‘ञ’ र ‘ण’-को पनि प्रयोग गर्ने र ‘न’-कै मात्र प्रयोग गर्ने, यस्ता शब्दहरूमा ‘श’, ‘ष’, ‘स’ चलाउने र ‘स’ मात्रै चलाउने,
आधा बनाउन नसकिने अक्षरहरूलाई लम्बीय ढाँचामा तल झुन्ड्याउने र खुट्टो काटी लेख्ने
चलनलाई सरल रैखिक ढाँचा प्रदान गर्ने साथै पदयोग र पदवियोगका सन्दर्भमा
परम्परावादी व्याकरणका नियमलाई पालन गर्ने र स्वतन्त्र शब्दहरूलाई पदवियोग गरी
लेख्ने जस्ता सन्दर्भमा यता मात्रै होइन, नेपालमै पनि समर्थन र विरोधको स्वर
व्यक्तिदेखि उठेर संस्थाका तहसम्म पुगेको छ।
बनाइएका माथि उल्लिखित समस्याहरूलगायत
बनाइएकै थप अर्को समस्या छ भारतीय नेपाली भाषा लेखनमा – तलथोप्ली ‘ड’ (ड़), ‘ढ’ (ढ़)-को प्रयोग र बहीष्करण। सन्दर्भित संवर्ण अर्थात् कतिले मानेका वर्णलाई भारतबाटै
लेखिएका कतिवटा निदेशात्मक नेपाली व्याकरणले व्यञ्जन वर्ण सामम्नायदेखि बाहिर राखी
चर्चासम्म गरेको, कतिवटाले चर्चै पनि नगरेको र वर्ण सामम्नायमा राख्ने कतिवटाले
वर्णानुक्रमको टुङ्गो लगाउन नसकेको स्थिति
छ यो। अहिले भारतीय नेपाली भाषा लेखनमा ‘ड़’, ‘ढ़’-लाई ‘ड’, ‘ढ’-कै संवर्ण
मानी ‘ड़’, ‘ढ़’ नचलाउनेहरूको सङ्ख्या दिन प्रतिदिन
बढिरहेछ। यसो हुँदा बहीष्करणवादीहरूको विरोधको स्वर पनि उसरी नै बढिरहेछ र यो
विरोधको स्वर पनि अब व्यक्तिदेखि संस्थागत स्तरसम्म पुगेको छ।
तलथोप्ली
‘ड़’, ‘ढ़’-का प्रयोगवादीहरू सन्दर्भित
संवर्णका
बहीष्करणवादीहरूको विरोधमा ऋक् प्रातिशाख्यको वर्ण सामम्नायमै सन्दर्भित
ध्वनिका निम्ति स्वतन्त्र तलथोप्ली ‘ड़’, ‘ढ़’ वर्ण भएको मत अघि
सार्दछन् र नेपाली भाषा लेखनमा तलथोप्ली ‘ड़’, ‘ढ़’-को प्रयोग अनिवार्य
रूपमा गरिनु पर्दछ भन्छन्। उनीहरू आफ्नो भनाइलाई पुष्टि गर्न ऋक् प्रातिशाख्यले
बताएको भनी एउटा सूत्रात्मक नियमलाई अघि
राख्छन्। उनीहरूले बताएको सूत्रात्मक नियम यस्तो छ – द्योश्चास्य स्वरयो
मध्यमेत्य संपद्यते स ड कारो – ड़ कार। ढ़कारतामेति स एव चास्य ढकारः सन्नूष्मणा
संप्रयुक्त। आफ्नो मतलाई पुष्टि गर्नाका निम्ति उनीहरूद्वारा “ड र ढ अनि ड़ र
ढ़ को रड़ाको झिक्नेहरूले संस्कृत व्याकरणको पनि केही अध्ययन गर्नुपर्ने देखिन्छ,” भन्ने आलोच्य मतसमेत अघि सारिएको देखिँदा संस्कृत व्याकरणहरूले आफ्नो वर्ण
सामम्नायमा सन्दर्भित ध्वनिका निम्ति स्वतन्त्र तलथोप्ली ‘ड़’, ‘ढ़’ वर्ण लेख्ने निर्देश गरेको छ छैन, ऋक् प्रातिशाख्यको भनिएको माथि
उल्लिखित सूत्रात्मक नियम सही छ छैन, सूत्रलाई चर्चा गर्ने नेपाली व्याकरणहरू र
व्याकरणसम्बन्धी लेखहरूले सूत्रको सही व्याख्या गरेको छ छैन भन्ने कुराको छलफल गरी ऋक् प्रातिशाख्यको
वर्ण सामम्नायको सामान्य परिचय
र त्यसैको सापेक्षमा तलथोप्ली ‘ड़’,
‘ढ़’-बारे चर्चा गर्नु यस लेखको उद्देश्य हो।
प्रातिशाख्य
- अर्थ र महत्त्व : नेपाली कोशहरूले ‘प्रातिशाख्य’ अनि ‘शाख्य’ दुवैलाई
प्रविष्टि दिएको पाइँदैन। नेपाली
बृहत् शब्दकोशले संस्कृतको ‘प्रति’ शब्दलाई नामयोगीका रूपमा वर्गीकरण गरी बारे, विषयमा,
सम्बन्धमा जस्ता अर्थ दिएको पाइन्छ।[1] प्रातिशाख्यको अर्थ वेदको शाखाविशेषसित सम्बन्धित भन्ने हो।
प्रातिशाख्य नाउँको सन्दर्भमा भनिएको छ – “शाखायां शाखायां प्रति प्रतिशाखं
प्रतिशाखं भवमिति प्रतिशाख्यम्।”[2] अर्थात् वेदको कुनै शाखासित
सम्बन्धित भएकाले नै यसलाई ‘प्रातिशाख्य’ भनिएको हो।
वास्तवमा प्रातिशाख्यहरू शिक्षा वेदाङ्गकै एउटा
एउटा रूप भए तापनि यी शिक्षाजस्तो
सम्पूर्ण वेदका निम्ति नभएर आफ्ना आफ्ना शाखाका निम्ति रचिएका हुन्।
“अन्य देशका प्राचीन मानिसहरूमा झैँ यस देशका प्राचीन
मानिसहरूमा पनि धार्मिक भावनाको प्राधान्य थियो। त्यही धार्मिक भावनाले नै भाषा
अध्ययनलाई पहिलो प्रोत्साहन प्राप्त भयो, जसको फल प्रातिशाख्यका रूपमा हामीलाई
प्राप्त छ।”[3]
प्रातिशाख्यको महत्त्व बुझाउँदै भाषाविद् भोलानाथ तिवारी भन्छन्। उनी अझ भन्छन्
– “बिस्तारै बिस्तारै जनभाषा वैदिक
भाषादेखि टाढिँदै गयो, वैदिक भाषासित मानिसहरू अपरिचित बन्दै गए। तर वेदको पाठ भने
नियमअनुसार आवश्यक थियो। सो पाठ साधारण नभएर प्राचीन स्वराघातमा आधारित हुनु
पर्थ्यो, जसलाई मूल रूपमै गाएर पढ्नु पर्थ्यो। अन्यथा भए दोषको भागी भइन्थ्यो। यही
स्थितिमा मानिसहरूलाई अशुद्ध वेदपाठबाट बचाउनका निम्ति ध्वनिका दृष्टिमा वेदहरूको
विशिष्ट अध्ययन आवश्यक बन्यो। यही कारण धार्मिक प्रेरणाले प्रातिशाख्यहरूका रूपमा
विश्वको प्राचीनतम वैज्ञानिक ध्वनि अध्ययन भारतवर्षमा सम्पन्न भयो।”[4]
ऋक्, साम, यजु र अथर्व चारै वेदलाई अक्षुण्ण बनाएर राख्नलाई
प्रातिशाख्य ग्रन्थहरूको रचना भएको मानिन्छ। कात्यायनले आफ्नो प्रातिशाख्यमा वर्ण
दोषको विवेचनाका निम्ति प्रातिशाख्य ग्रन्थहरूको अध्ययन गर्नै पर्ने बताएका छन्।
उनको भनाइको अर्थ के हो भने, जबसम्म हामीलाई कुनै पनि पदको साधु रूप के हो अनि
त्यसको उच्चारण कसरी गरिन्छ भन्ने कुरा थाहा हुँदैन तबसम्म त्यस पदको शुद्धताको
ज्ञान हुन सक्दैन। अशुद्ध वेदपाठले दोषको भागी बन्नु पर्ने कुराको चर्चा माथि
गरियो। कात्यायनको प्रातिशाख्यअनुसार प्रातिशाख्यहरूद्वारा वैदिक पदहरूको शुद्ध
रूप तथा उच्चारणको ज्ञान हुँदछ। पदहरूको शुद्ध रूप तथा उच्चारणको ज्ञान हुने हुँदा
वेदाध्ययनमा
आइपर्ने दोषहरूबाट जोगिन सकिन्छ। यसैले पनि वैदिक पदहरूको स्वरूप एवम् ती पदहरूमा
प्रयुक्त वर्णहरूको शुद्ध उच्चारण रक्षाका निम्ति प्रातिशाख्यहरूको अध्ययन आवश्यक
मानिन्छ।
शताब्दिऔँसम्म ऋक्,
साम, यजु र अथर्व गरी चारै वेद वा संहिताहरूको अध्ययन मौखिक परम्परामा चलिरह्यो। लिपिको
परम्परा उसताक छाइसकेको थिएन। मन्त्रहरू लिपिमा उतार्दा पाप लाग्छ भन्ने मान्यता
पनि हराएको थिएन। मौखिक परम्पराको लामो यात्रामा विशेष ब्राह्मण कालमा मूल संहिताहरूका मन्त्रहरूको उच्चारणमा
ध्वनिसम्बन्धी अन्तर देखिन थाले। यस आधारमा मूल सहिंताहरूका अनेक पाठ भेद भए, पछिबाट तिनै विभिन्न पाठ भेद र तिनका
उपभेदलाई ‘शाखा’ भनियो।
प्रातिशाख्यमा सामान्य तथा आफ्ना शाखासम्बन्धी पद, स्वर,
सन्धि अनि ध्वनि आदिका व्यवस्थाहरूको विस्तृत विवरण प्रस्तुत गरिएको छ। वर्णहरूको
स्वरूप, उच्चारणका प्रकार, शब्दोत्त्पत्तिका मुख्य कारण एवं त्यसको प्रक्रिया
बताउनु प्रातिशाख्यहरूको ध्येय हो। यसो भन्न सकिन्छ, प्रातिशाख्यहरूको मूल
उद्देश्य नै वेद रक्षा हो। वेदाध्ययन परिपाटीमा प्रातिशाख्यहरूको विशिष्ट महत्त्व
देखिन्छ।
प्रातिशाख्यका प्रकार : “शाखायां शाखायां प्रति प्रतिशाखं
प्रतिशाखं भवमिति प्रतिशाख्यम्।” अर्थात् वेदको कुनै एक शाखासित सम्बन्धित भएकाले
नै यसलाई ‘प्रातिशाख्य’ भनिएको हो भन्ने भनाइलाई आधार गरी कति मनीषीहरूले वेदका
जति शाखा छन्, प्रातिशाख्य पनि उति नै हुनु पर्ने बताएका छन्। पतञ्जलिले वेदका एक हजार एक
सय एकतिस शाखा
बताएका छन्। तब प्रातिशाख्य पनि यति नै हुनु पर्ने हो। तर वेदका शाखाअनुरूप प्रातिशाख्य
उपलब्ध छैनन्।
युधिष्ठिर मीमांसकले वाष्कल
प्रातिशाख्य अनि शाङ्खायन
प्रातिशाख्य पनि भएको सम्भावना गरेका छन्। शौनककृत ऋक्
प्रातिशाख्य, कात्यायनकृत वाजसनेय
(शुक्लयजुः) प्रातिशाख्य, तैत्तिरीय (कृष्णयजुः) प्रातिशाख्य, मैत्रायणीय
(कृष्णयजुर्वेदीय) प्रातिशाख्य, अथर्व प्रातिशाख्य, वररुचिकृत साम
(पुष्पसूत्र वा फुल्लसूत्र) प्रातिशाख्यहरूको चर्चालगायत अप्राप्य भनिएको आश्वलायन
प्रातिशाख्य र चारायण प्रातिशाख्यका नामोल्लेख उनको संस्कृत व्याकरणशास्त्र
का इतिहासमा पाइन्छ। एम एम रामनाथ दीक्षितले सामतन्त्रको भूमिकामा “सति
सामवेरे चत्वारि प्रातिशाख्यानि – ऋक्तन्त्रं, सामतन्त्रं, अक्षरतन्त्रं,
पुष्यसूत्र चेति” भनेर ऋक्तन्त्रसितै सामतन्त्र, अक्षरतन्त्र र पुष्य सूत्रलाई
पनि प्रातिशाख्य मानेका छन्। तर अधिकांश विद्वान्हरू निम्न छलाई उपलब्ध प्रातिशाख्य
बताउँछन् –
१. ऋक् प्रातिशाख्य
२. तैत्तिरीय प्रातिशाख्य
३. वाजसनेयि प्रातिशाख्य
४. ऋक्तन्त्र
५. शौनकीया चतुरध्याययिका
६. अथर्व प्रातिशाख्य
ऋक् प्रातिशाख्य : ऋग्वेदसित सम्बन्धित भएकोले यसलाई ऋक्
प्रातिशाख्य भनिएको हो। प्रातिशाख्यहरूमध्ये पहिलो यही हो। यसका लेखक यास्कको
उत्तरवर्ती अनि पाणिनिका पूर्ववर्ती आचार्य शौनक हुन्। ऋक् प्रातिशाख्यको
सम्बन्ध ऋग्वेदका शाकल अनि वाष्कल संहिताहरूसित छ भनिएको पाइन्छ। यसको अर्थ
विशुद्ध वेद पाठका निम्ति ध्वनिगत नियम निर्धारण गर्दा उदाहरणहरू चाहिँ ऋग्वेदका
शाकल अनि वाष्कल संहिताहरूबाट लिइएका छन् भन्ने हो।
ऋक् प्रातिशाख्य मोठ तीन अध्यायमा लेखिएको छ। प्रत्येक अध्याय छ पटलमा
विभाजित छ। वर्ण विचार, पद विचार, सन्धि विचार, स्वर विचार, छन्दो विचार, क्रमपाठ
विचार अनि वेदाध्ययन विचार यसका प्रतिपाद्य विषय हुन्। वर्ण विचारमा वर्णको उच्चारण
स्थान र वर्ण दोषहरूको चर्चा पाइन्छ। यसका श्लोकहरूलाई अर्थानुसार सूत्रबद्ध
गरिएको छ। यसमा जम्मा ६२ वटा सूत्रहरू छन्।
प्रातिशाख्यहरूमा पहिलो ऋक् प्रातिशाख्यमा यास्कचार्यको
मत प्रस्तुत गरिएको हुँदा प्रातिशाख्यहरूको रचना काल यास्कपछि (यास्कको समय इ पू
७००) र पाणिनिअघि (पाणिनिको समय इ पू ५००) ७०० इ पू देखि ५०० इ पू मानिएको छ। तर
यस सन्दर्भमा विद्वान्हरू एक मत छैनन्। पाणिनीय शिक्षा की भूमिकामा मनमोहन
घोष प्रातिशाख्यहरूको लेखन काल ६०० देखि २०० इ पू मान्छन् भने सिद्धेश्वर वर्मा
प्रातिशाख्य रचना काल ५०० देखि १५० इ पू मान्दछन्।[5]
यीमध्ये अथर्व प्रातिशाख्य चाहिँ पाणिनि
व्याकरणद्वारा प्रभावितजस्तो देखिँदा धेरै विद्वान्हरू यसको रचना भने पाणिनिपछि हुन सक्छ भन्ने बताउँछन्।
संस्कृत व्याकरणको द्विःस्पृष्ट
(दुःस्पृष्ट) सूत्र : संस्कृत व्याकरणले आभ्यन्तर
प्रयत्नका आधारमा स्पर्शलाई स्पृष्ट, अन्तस्थलाई
ईषत्स्पृष्ट अनि सबै स्वर, ऊष्म र अनुस्वारलाई अस्पृष्ट वर्ण मानेको छ। यसका साथै संस्कृत
व्याकरणसम्बन्धी पुस्तकहरूमा दुःस्पृष्ट वा द्विःस्पृष्ट वर्णको चर्चा पाइन्छ।
पुराना संस्कृत व्याकरण र व्याकरणसम्बन्धी कति ग्रन्थहरूले ळ-लाई र कतिले ळ अनि ळ्ह-लाई यस्ता वर्ण बताएका छन्। यी वर्णहरूको
उच्चारणमा जिब्रो र तालुको कठोरतापूर्वक सङ्घर्ष हुने हुनाले नै यी वर्णहरूलाई
दुःस्पृष्ट वा द्विःस्पृष्ट भनिएको मानिन्छ। ‘दुःस्पृष्ट’-मा गाँसिएको पूर्वसर्गले
खराब, निन्दित आदि अर्थ बुझाउने हुँदा (दुःसाहस, दुःस्वप्न आदि) यी वर्णहरू
द्विःस्पृष्ट (जिब्रो र तालुमा सङ्घर्ष भई
उच्चरित हुने दुई वर्ण) नै हुन् भन्ने
विचार पनि पाइन्छ। यी वर्णहरूको सन्दर्भमा ऋक् प्रातिशाख्यमा
भनिएको पाइन्छ – जिह्वामूलं तालु चाचर्य आह, स्थानं हुकारस्य तु वेदमित्रः,
द्वयोश्चास्य स्वरयोर्मध्यमेत्य सम्पद्यते स डकारो ळकारः। ळ्हकारतामेति स एव चास्य ढकारः
सन्नूष्मणा सम्प्रयुक्तः। इळा साळ्हा चात्र निदर्शनानि, वीड्वङ्ग इत्येतदवग्रहेण।[6]
अर्थात् वेदमित्र आचार्यको मतअनुसार जब ‘ड’ दुई स्वरको बिचमा आउँदछ, तब त्यसको रूप
ळ हुन्छ, जस्तै इळा। यही ळ जब सोष्म बन्छ, तब यसको रूप ळ्ह हुँदछ, जस्तै सळ्हा। ऐतरेय ब्राह्मण र ऐतरेय
आरण्यमा पुरोडाश=पुरोळाश,
षोडशी=षोळशी, इडा=इळा अनि व्यूढ=व्यूह्ळ; लेढि=रेह्ळि अनि
लीढः=रीह्ळ प्रयोग गरिएको थाहा लाग्दछ। अन्तिम तिन उदाहरणमा
ह्ळ-को स्थानमा ळ्ह हुनु पर्ने लाग्दछ। यसलाई डा. रामदेव त्रिपाठीले मुद्रणालयको
प्रमाद भनेका छन्।
सन्दर्भित
सूत्र आचार्य शौनकको नभएर वेदमित्र
आचार्यको हो कि भन्ने प्रतीत हुन्छ, जसको चर्चा ऋक् प्रातिशाख्यमा पाइन्छ। यो शौनककृत ऋक्
प्रातिशाख्यकै द्विःस्पृष्ट सूत्र नहुनै सक्छ किनभने ऋक्
प्रातिशाख्यमा त वर्णसम्बन्धी अलग
वर्णन उपलब्धै छैन। ‘अष्टौ समानाक्षरराण्यादितः’ र ‘ततश्चचत्वारि सन्ध्यक्षराण्युत्तराणि’-लगायत ऋक् प्रातिशाख्यको
आदि दस श्लोकका आधारमा परवर्ती विद्वान्हरूले यसले सङ्केत गरेको वर्ण-व्यवस्था
बताएका छन्। कुरो बुझाइलाई अलिक सजिलो पार्न यहाँ ऋक्
प्रातिशाख्यले सङ्केत गरेको वर्ण सामम्नाय चिनाउनुभन्दा पहिले वैदिक ध्वनि
समूह र संस्कृत ध्वनि समूह चिनाउनु युक्तिसङ्गत हुँदछ।
वैदिक ध्वनि समूह : सन्दर्भित द्विःस्पृष्ट सूत्र र ऋक्
प्रातिशाख्यले सङ्केत गरेको वर्ण सामम्नायबारे जान्नुअघि हामीलाई वैदिक ध्वनि
समूह के कस्तो छ जान्नु पनि अनिवार्य छ। किनभने भारतीय नेपाली भाषा लेखनले अनुमानित ७०० देखि ५०० इ पू को ऋक् प्रातिशाख्यले
नै निर्देश गरेको भनी, वेदमित्रको
द्विःस्पृष्ट सूत्रलाई आधार गरी आधुनिक हिन्दीले चलाएको जुन दुई उत्क्षिप्त वर्ण
चलाउँदैछ, त्यसको जरो भेट्नलाई हामीले वैदिक ध्वनि समूहसम्म पुग्नै पर्छ।
वैदिक ध्वनि समूहले स्वरलाई मूल स्वर अनि संयुक्त स्वर गरी
दुई भागमा वर्गीकरण गरेको छ। वर्गीकरण यस्तो छ –
वैदिक मूल स्वर – अ, आ, इ, ई,
उ, ऊ, ऋ, ॠ, लृ, ए, ओ = ११
संयुक्त
स्वर – ऐ
(अ+इ) औ (अ+उ) = २
वैदिक ध्वनि समूहले व्यञ्जनलाई चाहिँ स्पर्श, अन्तःस्थ,
अघोषी सङ्घर्षी, घोष ऊष्म, अघोष ऊष्म अनि शुद्ध अनुनासिक गरी सात वर्गमा वर्गीकरण
गरेको छ। वर्गीकरण यस्तो छ –
स्पर्श व्यञ्जन – क्, ख्, ग्, घ्, ङ् (कण्ठ्य)
च्, छ्, ज्, झ्, ञ् (तालव्य)
ट्, ठ्, ड्, ढ्, ण्, ळ, ळ्ह (मूर्धन्य)
त्, थ्, द्, ध्, न् (दन्त्य)
प्, फ्, ब्, भ्, म् (ओष्ठ्य) = २७
अन्तःस्थ व्यञ्जन – य्,
र्, ल्, व् = ४
अघोषी सङ्घर्षी – श्, ष्, स् = ३
घोष ऊष्म – ह् = १
अघोष ऊष्म – अः (विसर्जनीय), ऱ्क (जिह्वामूलीय), ऱ्प (उपध्मानीय) = ३
शुद्ध अनुनासिक अनुस्वार = १
मोठ ११ + २
+ २७ + ४ + ३ +
१ + ३ + १ = ५२
संस्कृत ध्वनि समूह : संस्कृत ध्वनि समूहको
वार्णिक वितरण वैदिक ध्वनि समूहसमान देखिए तापनि वैदिक ध्वनि समूहमा पाइने चारवटा ध्वनि संस्कृत ध्वनि समूहमा
पाइँदैनन्।
संस्कृत ध्वनि समूह निम्न प्रकार छ –
ह्रस्व मूल स्वर – अ, आ, इ, ई, उ, ऊ, ऋ, ॠ, लृ, ए, ओ = ११
संयुक्त स्वर – अइ (ऐ), अउ (औ) = २
व्यञ्जन – क्, ख्, ग्, घ्, ङ् (कण्ठ्य)
च्, छ्, ज्, झ्, ञ् (तालव्य)
ट्, ठ्, ड्, ढ्, ण् (मूर्धन्य)
त्, थ्, द्, ध्, न् (दन्त्य)
प्, फ्, ब्, भ्, म् (ओष्ठ्य) = २५
अन्तःस्थ व्यञ्जन – य्,
र्, ल्, व् = ४
अघोष सङ्घर्षी – श्, ष्, स् = ३
घोष ऊष्म – ह् = १
अघोष ऊष्म – अः (विसर्जनीय) = १
शुद्ध अनुनासिक अनुस्वार = १
मोठ ११ + २
+ २५ + ४ + ३ +
१ + १ + १ = ४८
संस्कृत
ध्वनि समूहमा नपाइने वैदिक ध्वनि समूहका
चार ध्वनि हुन् – मूर्धन्य
दुई ळ्, ळ्ह; जिह्वामूलीय ऱ्क र उपध्मानीय ऱ्प।
ऋक् प्रातिशाख्यको वर्ण सामम्नाय : ऋक् प्रातिशाख्यमा वर्णको अलग वर्णन
पाइँदैन। यसमा पाइने अष्टौ समानाक्षराण्यादितः र ततश्चत्वारि
संध्यक्षराण्युत्तराणि सूत्रका आधारमा ऋक् प्रातिशाख्यले सङ्केत गरेको स्वर वर्ण
भने निम्नानुसार वैदिक अनि संस्कृत ध्वनि समूहको स्वर वर्णभन्दा अलिक भिन्न छ –
अष्टौ समानाक्षराण्यादितः
अर्थात् वर्णमालाको आदिदेखि लिएर (आदितः), आठ अक्षर (अष्टौ), समानाक्षर हुन् (समानाक्षराणि) = अ, आ, ऋ, ॠ, इ, ई, उ, ऊ = ८
ततश्चत्वारि संध्यक्षराण्युत्तराणि अर्थात्
त्यस वा समानाक्षरहरू (ततः), पछि आउने (उत्तराणि), चारवटा (चत्वारि), सन्ध्यक्षर हुन् (संध्यक्षराणि) = ए,
ओ, ऐ, औ = ४
यसपछि
ऋक् प्रातिशाख्यले एते स्वराः भनेर माथि उल्लिखित बाह्रलाई मात्रै स्वर मानेको
देखिन्छ।
समानाक्षरपछिका
चार भनेर ए, ओ, ऐ, औ-लाई सङ्केत गरेकोले लृ अनि लृ-को दीर्घ रूप ॡ-लाई सूत्रले स्वरका रूपमा गणना नगरेको बुझिन्छ। ऋक् प्रातिशाख्यले लृ र यसको दीर्घ रूप ॡ-लाई पदमध्यमा स्वर माने पनि पदादि र पदान्तमा स्वर मानेको
छैन। इपरो दीर्घवत्प्लुतः भनेर प्लुतको चर्चा गरेको छ तर अनुस्वारो
व्यञ्जनं वा स्वरो वा भनेर अनुस्वारलाई स्वर र व्यञ्जन दुवै मानेको छ।
यसैका
आधारमा डा. वीरेन्द्रकुमार वर्माको शौनककृत ऋग्वेद-प्रातिशाख्यम्ले चिनाएको स्वर सङ्ख्या र
क्रम यस्तो पनि छ –
अ,
आ, ऋ, ॠ, इ, ई, उ, ऊ, ए, ओ, ऐ, औ, लृ (ॡ), ई३
यसपछि ऋक् प्रातिशाख्यले सर्वः शेषो
व्यञ्जनान्येव भनेको छ र व्यञ्जनको वर्गीकरण देखाएको छ। यस क्रममा ऋक्
प्रातिशाख्यका चारवटा सूत्र महत्त्वपूर्ण देखिन्छन् –
१. तेषामाद्या स्पर्शाः अर्थात् यिनमा (व्यञ्जनहरूमा) सुरुका (वर्ण) स्पर्श हुन्।
२. पञ्च ते पञ्चवर्गाः अर्थात् (ती स्पर्शहरूमा) पाँच-पाँचवटा (वर्णहरू)-का पाँचवटा
वर्ग हुन्छन्।
३. चतस्रोऽन्तस्थास्ततः अर्थात् त्यसपछिका (ती स्पर्श
वर्णहरूपछिका) चारवटा (वर्ण) अन्तःस्थ हुन्।
४. उत्तरेऽष्टा
ऊष्माणः अर्थात् (अन्तःस्थ) पछि आउने आठवटा (वर्ण)-लाई ऊष्मन् भनिन्छ।
यिनै सूत्रका आधारमा ऋक् प्रातिशाख्यले बताएको व्यञ्जन वर्णमाला यस्तो
हुन्छ –
क, ख, ग, घ, ङ – प्रथम पञ्चमवर्ग = ५
च, छ, ज, झ, ञ – द्वितीय पञ्चमवर्ग = ५
ट, ठ, ड, ढ, ण – तृतीय पञ्चमवर्ग = ५
त, थ, द, ध, न – चतुर्थ पञ्चमवर्ग = ५
प, फ, ब, भ, म – पञ्चम पञ्चमवर्ग = ५
य, र, ल, व – अन्तःस्थ = ४
श, ष, स, ह अनि अः, ऱ्क, ऱ्प, अं – ऊष्म = ८
शौनककृत ऋग्वेद-प्रातिशाख्यम्मा डा वीरेन्द्रकुमार
वर्माले बताएका
पन्ध्रवटा
स्वरलाई मान्दा ऋक् प्रातिशाख्यले सङ्केत गरेको वर्ण सामम्नायमा मोठ वर्णसङ्ख्या ५२ हुन्छ। तर ऋक् प्रातिशाख्यकै अष्टौ
समानाक्षराण्यादितः, ततश्चत्वारि संध्यक्षराण्युत्तराणि र
एते स्वराः सूत्रलाई मान्नु हो भने त्यो सङ्ख्या ४९ मात्र हुँदछ।
उत्क्षिप्त व्यञ्जन : उत्क्षिप्त ती ध्वनिहरूलाई भनिन्छ – जसको
उच्चारणमा जिब्राको टुप्पाले झट्ट वर्त्स अथवा कठोर तालुलाई एकपल्ट छुन्छ र
घाँटीमास्तिरको कुनै भागमा कम्पन उत्पन्न गर्दछ। ‘उत्क्षिप्त’-को अर्थ माथि उफारिएको, जिब्रालाई माथि उफारेर पछारिन छोडिदिइएको, त्यस
उपक्रममा उच्चरित हुने ध्वनि हो। जिब्राको टुप्पाले तालुलाई पिट्दा उच्चरित हुने ध्वनि भन्ने
बताएको छ यसलाई नेपाली बृहत् शब्दकोशले। यसको चर्चा विशेषतः हिन्दी व्याकरणहरूमा ड़, ढ़ का
रूपमा पाइन्छ। हिन्दीमा यसको विकास ‘ड’, ‘ढ’
स्पर्श ध्वनिहरूबाटै भएको हो। अधिकांश हिन्दी व्याकरणहरूले भनेको
छ – “उत्क्षिप्त ती ध्वनिहरूलाई भनिन्छ, जसको
उच्चारणमा जिब्रोले तालुको कुनै भागमा झट्का लगाएर हट्दछ; जस्तै – ड़, ढ.।”[7] हिन्दीले ड़-लाई
घोष, अल्पप्राण, मूर्धन्य, उत्क्षिप्त र ढ़-लाई घोष, महाप्राण, मूर्धन्य,
उत्क्षिप्त व्यञ्जन मानेको छ। हिन्दीले उत्क्षिप्त व्यञ्जन मानेका यी दुईलाई ‘तल विन्दुवाले वर्ण’
पनि भनिएको पनि पाइन्छ। वचनदेव कुमारले व्याकरण भास्करमा लेखेका
छन्, “ड़, ड़ हिन्दीका आफ्ना व्यञ्जन हुन्।
संस्कृतमा यिनको प्रयोग हुँदैन।”[8] उनले उत्क्षिप्त
व्यञ्जनलाई तल विन्दुवाले वर्ण भनेर हिन्दी भाषाले लेखनमा यी दुईवटा अतिरिक्त अ,
क, ख, ज, फ-जस्ता अन्य व्यञ्जनहरूमा पनि तलथोप्लीको प्रयोग गर्ने बताएका छन्।
उदाहरण दिएका छन् – सड़क, पढ़ता, क़वायत, ग़रीब, बाज़ार, फ़ारसी, ग़ैर, फ़ास्ट
आदि। उर्दू, फारसी, अरबी, अङ्ग्रेजी, जर्मन आदि भाषाका
शब्दहरूकै निम्ति मात्र हिन्दीमा यी ध्वनिको आविर्भाव भएको भए तापनि तलथोप्ली ड,
ढ-लगायत क़, ग़, ज़., फ़-हरूको स्वतन्त्र स्वनिमक सत्ता नभएको डा. कपिलदेव
द्विवेदी आचार्यले पनि बताएका छन्।[9]
‘ड़’, ‘ढ़’ दुई ध्वनि त मध्यकालीन हिन्दीमै पनि थिएनन्। वर्तमान
हिन्दीले ‘ळ’-को समतामा ‘ड़’ र ‘ळ्ह’-को समतामा ‘ढ़’-का रूपमा गर्दै आएको वर्ण (सर्वत्र ध्वनि भनिएको छ) प्रयोगबारे हिन्दी
विद्वान्हरूमै पनि मतभेद छ। कैलाशचन्द्र भाटियाले आफ्नो लेख हिंदी के
ध्वनिग्राममा ‘ड़; अनि ‘ढ़’-लाई ‘ड’ अनि ‘ड’-कै संस्वन सदस्यका
रूपमा स्विकारेका छन् भने भोलानाथ तिवारी पनि आफ्नो पुस्तक हिंदी ध्वनियाँ और
उसका उच्चारणमा ‘ड’ ‘ड़’, ‘ढ’
‘ढ़’ ध्वनियुग्मलाई एउटै स्वनिमका
संस्वन मान्ने पक्षमा छन्। बेग्लै स्वनिमको साटो ‘ड़’, ‘ढ़’-लाई ‘ड’, ‘ढ’-कै संस्वन मान्ने विद्वान्हरूमा डा कपिलदेव द्विवेदी आचार्य र मसुद
हुसैन खान पनि हुन्। अर्को कुरो, यी दुईवटा ध्वनिका निम्ति अलग लिपिचिह्न तयार
गर्ने हिन्दीले पनि उत्क्षिप्त व्यञ्जनको प्रयोग तत्समेतर शब्दमा मात्रै गर्नु[10] भन्ने सुझाउ दिएको छ। यिनीहरू
क्रीडा, षड्यन्त्र, खड्ग, गरुड, षडानन, पीडा-जस्ता तत्सम शब्दको वर्ण-विन्यासमा
उत्क्षिप्त व्यञ्जनको प्रयोग गर्ने पक्षमा छैनन्। यसले पनि यी दुई ध्वनि संस्कृतमा
थिएनन् भन्ने कुरालाई पुष्टि गर्दछ। हिन्दी
भाषाले कुनै काल विशेषमा विशेष परिस्थितिहरूअन्तर्गत भएका ध्वनि परिवर्तनलाई हेरेर
अथवा ध्वनि नियमलाई हेरेर यसो गरेको हुन सक्छ।
आधुनिक हिन्दीमा प्रयोगमा देखिएका यी दुई ध्वनिचिह्नलाई
उत्क्षिप्त मूर्धन्य वर्णका रूपमा सन् १९६२ मा मात्रै भारत सरकारले वर्णमालामा
‘ट’-वर्गमा राख्ने अनुशंसा गरेको हो। यसको आधार वैदिक ध्वनि समूहमा ‘ळ’, ‘ळ्ह’-को वर्णानुक्रम हुन सक्छ। स्पर्श पाँच पाँचका
पाँचवटा वर्ग हुन्छन् भन्ने नियमलाई नमानेर कति हिन्दी व्याकरणले उत्क्षिप्त
व्यञ्जनलाई ‘ट’-वर्गमा राखे पनि कति हिन्दी व्याकरणमा यसको वर्णानुक्रम संयुक्त
अक्षर क्ष-अघि र कतिमा द्विगुण व्यञ्जन मानेर संयुक्त अक्षरपछि पाइन्छ। आज पनि
भारतीय नेपाली व्याकरण त भइहाले हिन्दी व्याकरणहरूमै पनि यी वर्णहरूको वर्णानुक्रम
निश्चित देखिँदैन। यहाँ हिन्दी भाषा का इतिहास नामक पुस्तकमा ळ, ळ्ह-लाई
अन्तस्थ बताउने डा धीरेन्द्र वर्माको आलोचनामा “वस्तुतः ळ
अनि ळ्ह-लाई स्पर्श मान्न सकिन्थ्यो; किनभने यिनै दुईका
वर्तमान विकसित रूप हुन् ड़ तथा ढ़,”[11] भन्ने डा.
रामदेव त्रिपाठीको मत सान्दर्भिक देखिन्छ। यी दुईलाई स्वनिम मान्ने कुनै पनि
भारतीय नेपाली व्याकरणहरूले यिनका वार्णिक वितरणबारे आजपर्यन्त नलिएको चिन्ता पनि
चिन्तनीय देखिन्छ।
नेपाली व्याकरणमा उत्क्षिप्त व्यञ्जन
: नेपाली व्याकरणमा उत्क्षिप्त व्यञ्जनका सन्दर्भमा यहाँ अलग काल र विशेष
महत्त्वका तीनवटा नेपाली व्याकरणलाई आधार स्वरूप लिनु उपयुक्त हुँदछ – पहिलो चन्द्रिका
गोरखाभाषा व्याकरण, दोस्रो बृहत् नेपाली व्याकरण, तेस्रो प्रज्ञा
नेपाली सन्दर्भ व्याकरण।
यी तिनको वर्णतालिका यस्तो छ –
व्याकरण
|
स्वर
|
व्यञ्जन
|
चन्द्रिका गोरखाभाषा व्याकरण
|
अ२, आ, इ, ई, उ, ऊ, ऋ,
ॠ, लृ, ॡ, ए, ऐ, ओ, औ, अं, अः
|
क्, ख्, ग्, घ्, ङ्, च्, छ्, ज्,
झ्, ञ्, ट्, ठ्, ड्, ढ्, ण्, त्, थ्, द्, ध्, न्, प्, फ्, ब्, भ्, म्, य्, र्,
ल्, व्, श्, ष्, स्, ह्, ळ२
|
बृहत् नेपाली व्याकरण
|
अ, आ, इ, ई, उ, ऊ, ऋ, ॠ, लृ, ए, ऐ,
ओ, औ
|
क्, ख्, ग्, घ्, ङ्, च्, छ्, ज्,
झ्, ञ्, ट्, ठ्, ड्, ढ्, ण्, त्, थ्, द्, ध्, न्, प्, फ्, व्, भ्, म्, य्, र्,
ल्, व़्, श्, ष्, स्, ह्
|
प्रज्ञा नेपाली सन्दर्भ व्याकरण
|
अ, आ, इ, उ, ए, ओ
|
क्, ख्, ग्, घ्, ङ्, च्, छ्, ज्,
झ्, ट्, ठ्, ड्, ढ्, त्, थ्, द्, ध्, न्, प्, फ्, ब्, भ्, म्, य्, र्, ल्, व्,
स्, ह्
|
तिनैवटा व्याकरणले हिन्दीको उत्क्षिप्त व्यञ्जनलाई नेपाली
वर्णका रूपमा चिनाएको छैन।
सन् १९१२ को गुरुराज हेमराज पण्डितज्यूको चन्द्रिका
गोरखाभाषा व्याकरण नेपालबाट लेखिएको पहिलो नेपाली व्याकरण हो। यसले भनेको छ – “हाम्रो भाषामा ‘पाळो,
चळेको, बळेको, घळा’ इत्यादि शब्दमा ‘ळ’ को उच्चारण हुने हुनाले ळ अक्षर पनी मान्नु आवश्यक छ. अथवा हिन्दीमा झैँ
ड ढ का मनिबाट विन्दु दिए पनि हुन्छ.”[12] वैदिक ध्वनि
समूहले निर्देश गरेका दुई ‘ट’-वर्गीय
मूर्धन्य ध्वनि ‘ळ’ अनि ‘ळ्ह’-का निम्ति आधुनिक हिन्दीले क्रमशः ‘ड़’, ‘ढ़’ को प्रयोग गरे तापनि चन्द्रिकाले ‘ळ’-कै निम्ति तलथोप्ली
‘ड’, ‘ढ’-को प्रयोग गर्न सकिने बताएको छ। ळ२ लाई गुरु हेमराजले ह-को
पछिल्तिर व्यञ्जनान्तमा राखेर व्यञ्जनसङ्ख्या ३४ त बताएका छन् तर मूर्धन्य ‘ळ’ अनि दुवै उत्क्षिप्त व्यञ्जनको प्रयोग
चन्द्रिकामै पाइँदैन। अर्को कुरो, माथि उल्लिखित उद्धरणका आधारमा चन्द्रिका
व्याकरणले नै स्पष्ट गरेको छ – सन्दर्भित दुई उत्क्षिप्त वर्ण हिन्दी भाषाकै हुन्।
बृहत् नेपाली व्याकरणले स्पर्श पवर्गीय तृतीय वर्ण ‘ब’-का निम्ति ‘व’ र अन्तःस्थ ‘व’-का निम्ति ‘व़’ चलाएको छ।
यसले नेपाली भाषाको वर्णमाला पनि प्रयोगअनुरूप देखाएको छ। ‘व’-का निम्ति तलथोप्ली ‘व़’
चलाउने बृहत् नेपाली व्याकरणले कुन कुन परिवेशमा ‘ड’, ‘ढ’ का उच्चारण ‘ड़’, ‘ढ़’ हुन्छन् र ‘ड’, ‘ढ’ ‘ड’, ‘ढ’
नै रहन्छन् भन्ने विषयमा चार नियम बताएको छ –
१. एकै पदका दुईवटा स्वरका बिचमा रहेका ‘ड’ ‘ढ’ को उच्चारण गर्दा जिब्रो मूर्धाभन्दा अलिक मुनि रगडिई ‘ड़’ ‘ढ़’ यस्तो उच्चारण हुन्छ।
जस्तै – जड़ (ज्+ अ+ड्+अ;
अ र अ दुई स्वरको बिचमा हुँदा उच्चारण ड़) , पाड़ो प्+आ+ड्+ओ; आ र ओ दुई स्वरको बिचमा हुँदा उच्चारण ड़ )
२. य अर्धस्वर ड, ढ-सित जोडिएमा।
जस्तै – गड़्याङ गुड़ुङ वा गड्याङ गुडुङ, गँड़्यौला वा गँड्यौला, बढ़्यो वा
बढ्यो।
३. चन्द्रविन्दुयुक्त दीर्घ स्वरदेखि परतिर रहेको ड, ढ को
विकल्पले ड़, ढ़ हुन्छ।
जस्तै – जाँड़ (ज्+आँ+ड), चाँड़ो (च्+आँ+ड्+ओ), कलचौँड़ो (क्+अ+ल्+अ+च्+औँ+ड्+ओ) आदि।
४. दुई स्वरभित्र नपरेका ड, ढ को ड, ढ नै उच्चारण हुन्छ।
जस्तै – डमरु, डालो, डोको, ढिकी (ढ्+इ+क्+ई) आदि।
५. दुई स्वरभित्र परे तापनि एकै पदभित्रका छैनन् भने ड़, ढ़
हुँदैन।
जस्तै – निडर (नि+डर),
विडम्वना (वि+डम्वना), विदूर (वि+दूर)
आदि।[13]
वैदिक
ध्वनि समूहमा पनि नभएको, संस्कृत ध्वनि समूहमा पनि नपाइने, आधुनिक हिन्दीमै पनि विवादास्पद
हिन्दीका दुई उत्क्षिप्त व्यञ्जनका सन्दर्भमा ७०० देखि ५०० इ पू मा रचिएको भनिएको ऋक् प्रातिशाख्यको
“द्वयोश्चास्य
स्वरयोर्मध्यमेत्य सम्पद्यते स डकारो ळकारः। ळ्हकारतामेति स एव चास्य ढकारः
सन्नूष्मणा सम्प्रयुक्तः।” लाई
वि. सं. २०३१ को बृहत् नेपाली व्याकरणले
“द्वयोश्चास्य स्व़रयोर्मध्यमेत्य संपद्यते स
डकारो ड़कारः ढ़कारतामेति सएव चास्य ढकारः सन्नूष्मणा संप्रयुक्तः (ऋक्प्रातिशाख्य)।” का रूपमा प्रस्तुत गर्नु ‘ड़’ र ‘ढ़’-का रूपमा ‘ळ’ अनि ‘ळ्ह’-को परिवर्तन हुन सक्तछ। यसले ‘ड’ र ‘ड़’-को दोहोरो प्रयोगलाई अशुद्ध नमाने तापनि विशेष परिस्थितिमा ‘ड’, ‘ढ’-को
उच्चारण ‘ड़’, ‘ढ़’ हुन्छ, स्पष्टै भनेको छ। ‘उच्चारण
हुन्छ’ को तात्पर्य नै लेखिरहनु पर्दैन हो। लेखिरहनु पर्ने भएदेखि ‘उच्चारण हुन्छ’ को आवश्यकतै पर्ने थिएन। व्याकरणले
उच्चारणका निम्ति लेख्नै पर्छ भनेको भएदेखि त्यहीँ अर्थात् बृहत् नेपाली
व्याकरणमै प्रयोगमा हुनु पर्ने हो। छैन। नेपालीमा यस किसिमका वर्णको उच्चारणमा परिवेशअनुसारी भेद
खालि ड ढ का सन्दर्भमा मात्र होइन, अरू वर्णका सन्दर्भमा पनि रहेकै छन्, जस्तै – ख
-पाखा – खापा, म – मन-मह, फ – फुपू-आफू आदि। तर यसबारे कुनै तर्क वितर्क भएको
देखिँदैन।
मोहनराज
शर्माको २०७१ को प्रज्ञा
नेपाली सन्दर्भ व्याकरणमा चन्द्रिकाको ३४ र नेपाली बृहत् व्याकरणको
३३ व्यञ्जनसङ्ख्या घटेर २९ भएको छ। यो, नेपाली भाषाको वैज्ञानिक अध्ययनका आधारमा
लेखिएकोले यसो भएको हो। पहिलो र दोस्रोमा पाइने उत्क्षिप्त व्यञ्जनको चर्चा
नेपालबाट लेखिएका आधुनिक नेपाली व्याकरणहरूमा झैँ यसमा पनि पाइँदैन।
भारतीय नेपाली व्याकरणमा उत्क्षिप्त व्यञ्जन
: भारतबाट पहिलो नेपाली व्याकरण लेख्ने नेपाली
वैयाकरणको श्रेय पारसमणि प्रधानलाई जान्छ। यी दुई
उत्क्षिप्त व्यञ्जनको सन्दर्भमा भाषा-प्रवेश नेपाली व्याकरणमा लेखिएको छ –
“ड ढ का मन्तिर डिको दिए ड़ ढ़ संयुक्त वर्ण बन्दछन्। यी दुवै वर्ण
उच्चारण गर्दा जिब्रोको टुप्पालाई पल्टाएर मुर्द्धातिर फेंक्नुपर्छ।
‘उत्क्षिप्त’-को अर्थ हो फेंक्नु, यसर्थ ड़, ढ़ लाई उत्क्षिप्त ध्वनि
भन्दछन्।” उद्धृतांशको ‘डिको’ नुक्ता हुनु पर्छ। उनले यी दुईलाई ‘ड’, ‘ढ’-का संवर्ण वा संस्वन भनेका छैनन्, संयुक्त वर्ण
(उत्क्षिप्त ध्वनि) भनेका छन् र उच्चारण स्थानका आधारमा बनाइएको तालिकाभित्र पनि राखेका छैनन्।
१९६९ मा पहिलो संस्करण छापिएको एल
पी शर्मा, के पी शर्मा, एस आर शर्मा र जे के छेत्रीको माध्यमिक नेपाली व्याकरण र रचनाको अघिल्ला
संस्करणहरूमा पाइने व्यञ्जन वर्णमालामा उत्क्षिप्त व्यञ्जन छैन। तर व्याकरणले
टिप्पणीमा[14]
“ ‘क्ष, ज्ञ’ यी वर्ण ‘क्+ष’ मिली ‘क्ष’ र ‘ज्+ञ’ मिली ‘ज्ञ’ हुने हुनाले संयुक्त वर्ण हुन्, बेग्लै वर्ण
होइनन्। फेरि ‘ड’ र ‘ढ’ को मन्तिर विन्दु दिएर लेख्ता ‘ड़, ढ़’ हुन्छन्। जस्तै – बढ़, घोड़ा इत्यादि” लेखेको छ। व्याकरणमा उत्क्षिप्त व्यञ्जनको प्रयोग पनि पाइन्छ। यस व्याकरणका एकमात्र लेखक,
शिवराज शर्मा व्याकरणाचार्य भनिएको यसैको सैँतिसौँ संस्करणमा उत्क्षिप्त
वर्णको चर्चा र प्रयोग दुवै छैन। माथि उल्लिखित टिप्पणीको “‘क्ष, ज्ञ’ यी वर्ण ‘क्+ष’ मिली ‘क्ष’ र ‘ज्+ञ’ मिली ‘ज्ञ’ हुने हुनाले संयुक्त वर्ण हुन्, बेग्लै वर्ण
होइनन्।” लाई यथावत् राखेर यस
संस्करणले “‘ड’ र ‘ढ’ को मन्तिर विन्दु दिएर
लेख्ता ‘ड़, ढ़’ हुन्छन्। जस्तै – बढ़,
घोड़ा इत्यादि” भन्ने अंश चाहिँ हटाइएको छ। उनकै पूर्वोत्तर
नेपाली व्याकरण र रचनाले विशेष
परिस्थितिमा ‘ड’, ‘ढ’-को ‘ड़’, ‘ढ़’ उच्चारण हुने नियमलाई बृहत् नेपाली व्याकरणले बनाएको नियम भनेको छ। उदाहरणहरू पनि बृहत् नेपाली व्याकरणअनुरूपकै
छन्। तर पुस्तकमा, प्रयोगमा उत्क्षिप्त व्यञ्जन पाइँदैन। लेखेको छ, “नेपाली भाषामा ड़, ढ़ लेख्ने प्रचलन आजभोलि
हराएर गएको छ, अशुद्ध नमानिने हुँदा पनि हराएर गएकै ठीकै छ।”[15] ऋक्
प्रातिशाख्यको वेदमित्र द्विःस्पृष्ट सूत्रको चर्चा उनको नेपाली वर्णमालाका
वर्णहरू र मेरा अन्य लेखमा पनि पाइन्छ। तर बृहत् नेपाली व्याकरणमा
झैँ यसमा पनि ळकारःको स्थानमा ड़कारः र ळ्हकारतामेतिको
स्थानमा ढकारतामेति लेखिएकोले सूत्र मूलअनुरूप छैन। उत्क्षिप्त
व्यञ्जनको प्रयोग यस पुस्तकमा पनि पाइँदैन। छोटोमा भन्नु हो भने व्याकरणाचार्य
शिवराज शर्मा नेपाली भाषा लेखनमा उत्क्षिप्त व्यञ्जनको प्रयोग गर्ने पक्षमा छैनन्।
घनश्याम नेपाल र कविता लामाको २००६ को उच्च माध्यमिक
नेपाली व्याकरण र रचना नेपाली भाषा विज्ञानलाई आधार गरी भारतबाट लेखिएको पहिलो
व्याकरण हो। यसले नेपाली भाषाको व्यञ्जन सङ्ख्या २९ बताएको छ। उत्क्षिप्त
व्यञ्जनलाई व्यञ्जन वर्ण सामम्नाय, प्रयोग र चर्चादेखि नै बाहिर राख्ने यताको
पहिलो आँटी व्याकरण यही हो।
निष्कर्ष : राष्ट्रिय भाषा हिन्दीले आफ्नो ध्वनि
नियमअन्तर्गत विशेष ध्वनिका निम्ति तलथोप्ली ड, ढ चलायो भनेर बेग्लै विशेषताको
नेपाली भाषाले त्यसको सिको गर्नु वैज्ञानिक ठहर्दैन, किनभने ध्वनि नियमको सम्बन्ध
विशेष भाषासितै मात्र हुन्छ। प्रत्येक
भाषाको आफ्नो ध्वनिगत प्रकृति र प्रक्रिया हुन्छ। ध्वनि तहदेखि वाक्य तहसम्मका
यस्तै आआफ्ना प्रकृतिगत विशिष्टताले भाषाको आफ्नो बेग्लोपन चिनिने हुन्छ। यस्ता
मौलिकतातर्फको असचेतताले गर्दा भाषा बिटुलिने भय रहन्छ।
राष्ट्रिय भाषाको प्रभावमा भारतीय नेपालीभाषीहरूले भाषा लेखनमा चलाएका दुईवटा
उत्क्षिप्त व्यञ्जन संस्कृत ध्वनि समूह, वैदिक ध्वनि समूह र प्रातिशाख्यमा पनि पाइँदैनन्। वैदिक ध्वनि समूहले
मूर्धन्य ध्वनि मानेको ऋक् प्रातिशाख्यको
(वेदमित्रको?) द्विःस्पृष्ट
सूत्रका ‘ळ’ अनि ‘ळ्ह’ ऋक् प्रातिशाख्यको
वर्ण सामम्नायमा छँदै छैन। ऋक्
प्रातिशाख्यले यी दुईलाई वर्ण नमानेर ध्वनि मानेको छ। यसैले सन्दर्भित
द्विःस्पृष्ट सूत्रको स डकारो ळकारः अनि
ळ्हकारतामेति स एव चास्य ढकारः-लाई स डकारो ड़कार अनि ढकारतामेति स एव चास्य ढ़कारः
बनाउनु कुनै दृष्टिबाट पनि युक्तिसङ्गत हुँदैन। तलथोप्ली
‘ड’, ‘ढ’
मात्रै होइन, वैदिक ध्वनि समूहका ‘ळ’ र ‘ळ्ह’ पनि संस्कृत ध्वनि समूह र ऋक् प्रातिशाख्यमा
पाइँदैन र विशेष परिस्थितिमा ऋक् प्रातिशाख्यले तलथोप्ली ‘ड’, ‘ढ’ (ड़, ढ़) लेख्नु सिकाएको छ भन्नु भ्रामक कुरो हो।
पारसमणि
प्रधानले यी दुईवटालाई संयुक्त वर्ण भनेकै आधारमा यताका कतिपय नेपाली
व्याकरणले तलथोप्ली ‘ड’, ‘ढ’-लाई संयुक्त व्यञ्जन ‘क्ष’-को अघिल्तिर राखेको हुन सक्छ। तर यो
वर्णानुक्रमले पारसमणिको मतलाई समर्थन गर्दै यी
वर्णलाई स्वतन्त्र व्यञ्जनको साटो
संयुक्त व्यञ्जन बनाउँछ। फेरि वैदिक ध्वनि समूहले जस्तो ‘ट’-वर्गीय व्यञ्जनको
अन्त्यमा राख्दा स्पर्श व्यञ्जन सत्ताइस हुनाका साथै संस्कृत व्याकरणको पञ्चम
वर्णको र ऋक् प्रातिशाख्यकै पनि पञ्च ते पञ्चवर्गाः अनि अनुनासिकोऽन्त्यः
(प्रत्येक वर्गका अन्तिम वर्ण अनुनासिक हुन्) भन्ने अवधारणासमेत गडबडिन्छ। यसैले
तलथोप्ली ‘ड’, ‘ढ’-को पक्षमा वकालती
गर्नेहरूले पहिले यस्ता साधारण समस्याहरूको पनि समाधान खोजी निकाल्नु पर्छ।
भाषाविद्हरूअनुसार मध्यकालीन हिन्दी भाषामा पनि ‘ड’ र ‘ढ’ वर्णले दुई दुईवटा ध्वनिलाई सूचित गर्दथे। भारत
छाडी अन्यत्रका नेपालीभाषीका निम्ति आज पनि निर्विवाद यी दुईले अलग चार ध्वनिको
प्रतिनिधित्व गरिरहेकै छ। नेपालीभाषी ‘गुरु’-को साटो हिन्दीभाषी ‘मास्टर’-ले
वर्णमाला चिनाएकाले नै भारतीय नेपालीभाषी कतिजनामा यी वर्णसम्बन्धी समस्या छ भन्ने
भान हुनु र यति साधारण वैज्ञानिक तर्क पनि नबुझ्नु कि ता मन्द बुद्धि हुनाको लक्षण
हो वा एक प्रकार नाटक नै हो। फेरि पनि तलथोप्ली ‘ड’, ‘ढ’ नचलाऊ कसैले भनेका छैनन्। विज्ञानलाई भन्दा रूढिलाई महान् ठानी चलाउनेहरूले हिन्दी भाषाको अनुकरणमा संवर्ण
वा संस्वनलाई वर्ण वा स्वनिम मानेर चलाउँदा हुन्छ। तलथोप्ली
‘ड’, ‘ढ’-को
बहीष्करणलाई भाषिक मानकीकरणमा बाधक ठान्नेहरूले त विपक्षी मतकाहरूलाई पनि बोलाएरै
चर्चा गर्नु पर्ने हो। उनीहरूको पनि मत सुन्नु पर्ने हो र आफ्नो मतका आधारहरू पनि
बुझाउनु पर्ने हो। उनीहरूको मत सुनी आफ्नो मत अघि राखी छलफल गरेर निर्णय निकाल्नु
पर्ने हो। यसो गर्दा सायद सहमतिको साझा बाटो निस्कन सक्थ्यो। तर उनीहरूको कुरा सुन्नै नचाही गोष्ठी नै तयार गरेर सूत्रको अपव्याख्या गरी प्रचार गर्नु
कुनै दृष्टिबाट पनि उचित होइन। अर्को कुरो, कुनै पनि सभा-सङ्गोष्ठीका प्रपत्र प्रस्तोता,
लेखक, समालोचक भनेको सन्दर्भित विषयका
विशेषज्ञ र अधिकारी पनि हुन् भन्ने भ्रम
सधैँ र सबै श्रोता र पाठकहरूमा रहने हुँदा सुनेको कुरो सुन्ने एकले दसलाई सुनाउँछ। दसले सयलाई।
यसो हुँदा कुनै उद्देश्यले प्रेरित भई गरिएको अपव्याख्याले समाजमा गलत सन्देश
फैलिने भय रहन्छ। यस्तो कृत्यलाई एक प्रकारको सामाजिक बौद्धिक अपराधै मान्न
सकिन्छ।
त्यसैले
तलथोप्ली ‘ड’, ‘ढ’ (ड़, ढ़)- का बहीष्करणवादीहरूको आलोचनामा
प्रचारित माथि उल्लिखित “ड
र ढ अनि ड़ र ढ़ को रडाको झिक्नेहरूले संस्कृत व्याकरणको पनि केही अध्ययन गर्नु
पर्ने देखिन्छ,” भन्ने विचारलाई पुरा पुरा समर्थन गर्दै म यो
लेख टुङ्ग्याउँछु – ड र
ढ अनि ड़ र ढ़ को रडाको झिक्नेहरूले संस्कृत व्याकरणको पनि केही अध्ययन गर्नु
पर्ने देखिन्छ।
सन्दर्भ
ग्रन्थ सूची :
१. कुमार, प्रो विजय के (प्रमुख सम्पादक), २०१०, देवनागरी
लिपि तथा हिंदी वर्तनी का मानकीकरण, केंद्रीय हिंदी निदेशालय, भारत सरकार
२. कुमार, वचनदेव, १९९३, व्याकरण भास्कर, भारती भवन,
पटना
३. तिवारी, डा भोलानाथ, १९५१, भाषा-विज्ञान, किताब महल,
इलाहाबाद
४.त्रिपाठी, डा रामदेव, १९७७, भाषाविज्ञान की भारतीय
परम्परा और पाणिनि, बिहार राष्ट्रभाषा परिषद्, पटना
५. द्विवेदी, डा कपिलदेव, २०१०, भाषाविज्ञान एवं भाषाशास्त्र,
विश्वविद्यालय प्रकाशन, वाराणसी
६. पण्डितज्यू, श्री गुरुराज हेमराज, दो सं २०११, चन्द्रिका
गोरखा भाषा व्याकरण, साझा प्रकाशन, ललितपुर
७. भट्टराई, रोहिनीप्रसाद,
वि सं २०३१, बृहत् नेपाली व्याकरण, नेपाल राजकीय प्रज्ञा
प्रतिष्ठान
८. भाटिया, कैलाशचन्द्र, रचना, २०१०, हिन्दी की मानक वर्तनी,
प्रभात प्रकाशन, दिल्ली
९. भारद्वाज, आचार्य धर्मेश, २००७, पाणिनिमुनिप्रणीतः
अष्टाध्यायीसूत्रपाठः श्री परमहंस स्वामी शिवानन्द सरस्वती, महाराष्ट्र
१०.युगलकिशोर व्यास (सम्पादक एव
टिप्पणीकर्ता), १८९४, महर्षिशौनकप्रणीतम्
ऋक्प्रातिशाख्यम्, ब्रज बी दास एन्ड कम्पनी, बनारस
११. वर्मा,
डा वीरेन्द्रकुमार (अनुवादक एवं परिष्कर्त्ता), १९७०, ऋग्वेद-प्रातिशाख्यम्,
चौखम्बा संस्कृत प्रतिष्ठान, दिल्ली
१२. शर्मा,
देवेन्द्र, दीप्ति, १९६६, भाषाविज्ञान की भूमिका, राधाकृष्ण प्रकाशन प्रा
लि, जगतपुरी, दिल्ली
१३. शिक्षा
प्राधिकारीहरूद्वारा, १९८२, माध्यमिक नेपाली व्याकरण र रचना,
श्रीराज प्रकाशन, दार्जिलिङ
१४.शर्मा,
शिवराज, २००८, पूर्वोत्तर नेपाली व्याकरण, जनपक्ष प्रकाशन, गान्तोक
१५. शर्मा,
डा शशि बाला, १९९४, भट्टिकाव्य एवं पाणिनीय व्याकरण का तुलनात्मक अध्ययन,
विद्यानिधि प्रकाशन, दिल्ली
[1] नेपाली बृहत् शब्दकोश, सम्पादक कृष्णप्रसाद पराजुली, नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौँ, नवौँ संस्करण २०७२, पृ. ८१६
[2] शौनककविविरचितं
ऋग्वेद-प्रातिशाख्यम्, डा वीरेन्द्रकुमार वर्मा (अनुवादक एव परिष्कर्त्ता), चौखम्बा संस्कृत प्रतिष्ठान, दिल्ली, १९७०, पृ भूमिका
[3] भाषा विज्ञान, भोलानाथ तिवारी, किताब महल, इलाहाबाद, १९५१, पृ. २९३-२९४
[4] पूर्ववत्, पृ २९५
[5] भाषाविज्ञान की भारतीय परम्परा
और पाणिनि, डा रामदेव त्रिपाठी, बिहार राष्ट्रभाषा परिषद्, पटना, सन् १९७७, पृ ६१
[6] शौनकविरचितं
ऋग्वेद-प्रातिशाख्यम्, डा वीरेन्द्रकुमार वर्मा (अनुवादक एव परिष्कर्त्ता), चौखम्बा संस्कृत प्रतिष्ठान, दिल्ली, १९७०, पृ ७६
[7] भाषाविज्ञान की भूमिका, देवेन्द्रनाथ शर्मा, दीप्ति शर्मा, राधाकृष्ण प्रकाशन प्रा लि, जगतपुरी, दिल्ली, प्रथम सं. १९६६, पृ २०१
[8] व्याकरण भास्कर, वचनदेव कुमार, भारती भवन, पटना, १९९३, पृ ४
[9] डा कपिलदेव द्विवेदी आचार्य, भाषाविज्ञान एवं भाषाशास्त्र, विश्वविद्यालय प्रकाशन, वाराणसी, २०१०, द्वादश संस्करण, पृ २४१
[10] हिन्दी की मानक वर्तनी, कैलाशचन्द्र भाटिया, रचना भाटिया, प्रभात प्रकाशन, दिल्ली, २०१०, पृ ५०
[11] डा रामदेव त्रिपाठी, भाषाविज्ञान की भारतीय परम्परा और पाणिनि, बिहार राष्ट्रभाषा परिषद्, पटना, १९७७, पृ ३१८
[12] चन्द्रिका गोरखाभाषा व्याकरण, श्री गुरुराज हेमराज पण्डितज्यू, साझा प्रकाशन, दो सं २०५१, पृ ३
[13] बृहत् नेपाली व्याकरण, रोहिनीप्रसाद भट्टराई, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, वि सं २०३१, पृ २०-२१
[14] माध्यमिक नेपाली व्याकरण र रचना, शिक्षा प्राधिकारीहरूद्वारा, श्रीराज प्रकाशन, १९८२, पृ १३
[15] पूर्वोत्तर नेपाली व्याकरण र
रचना, शिवराज
शर्मा, जनपक्ष
प्रकाशन, गान्तोक, प्र सं २००८, पृ ४५
No comments:
Post a Comment