'कथा कतिपय' - मा विचार कतिपय - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, July 20, 2019

'कथा कतिपय' - मा विचार कतिपय

     साहित्य / आलोचना _______________________________ निमा ‘निची’ सेर्पा      
ईसाई साहित्य नेपाली साहित्यकै एक अङ्ग भए तापनि धार्मिक अवधारणा, विश्वास र सिद्धान्तका आधारमा कता कता छुट्याउन खोजिएको पनि देखिन्छ। बाइबललाई आधार गरेर ईसाई विश्वास र मतलाई प्रतिरक्षात्मक रूपले लेखिने साहित्य हुनाले कोहीबेला अन्य साहित्यबाट पृथक गर्ने प्रयास गरिन्छ तर कुनै धर्मपुस्तक र धर्मलाई आधार गरेर लेख्नु बेग्ले साहित्य नहुनुपर्ने हो
                                         - हनोक थापा : कथा कतिपय (भूमिका)
साहित्यमा कुनै विचारधारा, सैद्धान्तिक मूल्य-मान्यता, राजनीतिक पक्षधरता तथा धार्मिक आस्था वा विश्वासप्रतिको प्रतिबद्धता वर्जित विषय होइन। ती थोकहरूदेखि अलग्गै एक्लो र टापू साहित्यको कल्पना पनि गर्न सकिँदैन। वास्तवमा विचारतत्त्व नभई साहित्य बन्दैन। तर विचारतत्त्वले मात्र साहित्य बन्दैन। साहित्यमा विचारधारा होस्/नहोस्, विचार हुनुपर्‍यो। विचार प्रसिद्ध होस् कि उत्पाद्य, स्पष्ट चाहिँ हुनु पर्‍यो। त्यो स्पष्ट विचारलाई बिम्ब, प्रतीक आदि सादृश्य तत्त्वहरूले नाटकीयकरण गर्नुपर्‍यो। वास्तवमाम सारवस्तु वा विचारलाई जतिसक्दो नायकीयकरण गर्न सकिन्छ, त्यति नै साहित्य वा कथाको कलात्मकता हो।
पूर्वीय होस् कि पाश्चात्य, सबै आचार्यहरूले कथावस्तुको दुईवटा स्रोत मानेका छन् – प्रसिद्ध र उत्पाद्य। प्रसिद्ध बहुधा धर्मकै थाक्रोमा अडेसिएका हुन्छन्। कुनै विशेष धर्म, धार्मिक आस्था र विश्वास, सद्विचार, जीवनशैली तथा सेस्कार र संस्कृतिको प्रचार-प्रसार तिनको मुख्य उद्धेश्य हुन्छ। वास्तवमा प्रख्यात् स्रोतका साहित्यको सारवस्तु धार्मिक प्रचारकै केन्द्रमा उनिएको हुन्छ। यति भएर पनि तिनमा साहित्यिक मूल्यको सचेतन निर्वाह गरिएको छ भने तिनलाई साहित्यको श्रेणीमा दराउन आनाकानी गरिरहनुपर्ने कुनै कारण हुँदैन। कुरा विट मार्दै यति भनौला – विश्वका उच्चतम् साहित्य धार्मिक सञ्चेतनाले सिक्त छन्।    
    कथा कतिपय का विचार तत्त्व स्पष्ट छ। कथाविचार सबैको भलो होस् को प्रतिनिबोधक छन्। तिनमा येशू शिक्षा, संस्कार, संस्कृति र जीवनशैलीको सकरात्मक प्रभाव छ। नीति कथा र धार्मिक प्रचार-प्रसारको श्रेणीकोठादेखि माथि छन्। वास्तवमा सन्ध्या आचार्यका कथाहरू मानवीय मूल्य तथा अस्तित्वका कुनै न कुनै पक्षलाई कलात्मक ढङ्गमा प्रस्तुत गर्नुसित सम्बद्ध छ।
आधुनिक कथाकारहरू सारवस्तुको प्रस्तुतीका लागि सादृश्य अवयवमा बढी जोड दिन्छन्। सन्ध्या आचार्यका कथाहरूमा पनि त्यही टेक्निकको भरमग्दुर प्रयोग छ। पन्ध अगस्त कथाको शीर्षक नै प्रतीकात्मक छ। स्वतन्त्र-परतन्त्र, सदाचार-आडम्बर तथा सिद्धान्त-व्यवहार जस्ता द्वन्द्वात्मक पक्षहरूको मानवीय आलोकबाट गरिएका सामान्य प्रक्षेपण वा चिन्तनलाई ब्यूताउने भरपर्दो उद्दीपक छ पन्ध्र अगस्त। बालश्रममुक्त नभएसम्म देशको तथाकथित स्वतन्त्रताको कुनै मूल्य छैन कथाविचारको प्रमुखता छ यस कथामा। तिनलाई प्रतीक, बिम्ब तथा म पात्रको मानसिक द्वन्द्व मार्फत कलात्मक रूप दिइएको छ। क्याक्टस अनि मान्छेहरू मा चाहिँ क्याक्टसको सादृश्यतामार्फत् मानवीय मूल्य तथा अस्तित्वका तगारो पक्षहरू रेखाङ्कन गरिएको छ। मूल्य कथामा गोर्खाल्यान्ड आन्दोलनमा सहीद भएका पात्रको सहादतको मूल्य पैसा-रुँपियामा आँक्ने नेतृत्वको असम्वेदनशील मानसिकताको व्यङ्ग्यचित्र छ। वास्तवमा कथा कतिपय का कथाहरू विचार थोपर्ने वा आग्रहीकरणका प्रयत्न नभएर कलात्मक प्रस्तुतीकरणसित सम्बद्ध छ।
कथा कतिपय का कतिपय कथाहरूका कतिपय गल्ली र गल्छेँडाहरू अस्पष्ट र विरोधाभासी पनि छन्। पाठकले तिनमा असहमति जताउने अवसरहरू प्रशस्त भेट्नेछन् तथा वाद-विवादहरू गर्नेछन् निश्चय। यथा:
 मलाई थाहा छ, आइरहन्छ मकहाँ पनि तर उसलाई पठाउनुहुने परमेश्वरले अनुमति नदिएसम्म लानु त के उसले मलाई छुनसम्म सक्दैन।(मृत्यु)
 म घाम तापिराखेको छु। सोचिराखेको पनि छु – विवाहको बन्धन यति सजिलो भए त। मन लागे जोडने, नलागे तोडने। ईश्वरलाई बुनियाद बनाइएको सम्बन्ध बलियो हुन्छ। पवित्र मण्डली र परमेश्वरको अघि प्रतिज्ञासहित सुरू गरिएको सम्बन्ध अटूट हुन्छ। प्रतिज्ञा र समर्पणले विवाहलाई मजबूत बनाउँछ भन्ने कुराहरू कोर्ट-कचहरी, कागज र कलमलाई साक्षी राखेर विवाह गर्नेलाई के थाहा? विवाह टिकाउ हुनलाई कागज, कलम र कानून होइन, प्रेम, विश्वास र समर्पण चाहिन्छ भन्ने कुरा यदि उनीहरूलाई थाहा भइदिएको भए निश्चय पनि आज यस्तो हुने थिएन।(विवाह)
म किन यति धेरै माया गर्छु रनबहादुरलाई? म सोच्छु – म एक जवान युवक। यति धेरै माया त एउटी स्त्रीसँग पो गर्नुपर्ने हो त तर आजसम्म् मेरो प्यारो येशुबाहेक कुनै स्त्रीसँग प्रेम गरेको छुइनँ। यस्तो कुराहरू मेरो मनमा खेलिरहन्छ।(समानता)
सन्ध्या आचार्यका कथाहरू द्रुतगतिका छन्। तीव्र-तिक्खर। फुत्त सुरू हुन्छ उनको कथा। सुत्त सिद्धि पनि हाल्छ। अनौपचारिक किसिमका। आदिदेखि अन्त्यसम्म एकै वेगमा कुद्छन्। मानौँ पचास वा सयमिटरको दौड हो। स्यास्या र फ्याफ्या हुँदै कथकको काम सिद्धिहाल्छ तर पाठकको मनोमस्तिष्कमा चाहिँ विकीर्ण तरङ्गहरू छोडिराखेर जान्छ। वास्तवमा उनका कथाहरूमा मौनता निकै मुखर छ। उपस्थितभन्दा अनुपस्थित निकै शक्तिशाली। कथ्यमूललाई पताका-प्रकरीको थाँक्रो दिने, दृष्टान्तहरू पस्कने तथा ठाउँ-ठाउँमा बिसाउँदै प्रसङ्ग, सन्दर्भ र दृश्य परिवर्तन गर्ने अवकास छैन उनका कथाहरूलाई। वास्तवमा आचार्यका कथाहरू टाइट संरचनाका छन्। प्रत्येक शब्दहरू अर्थवान र विशिष्ट छन्। प्रत्येक अवयवहरूको चाहिँदो प्रयोग छ। फाउ-फुर्मास छैन। उदाहरण–दृष्टान्त प्रलोभन छैन। परिष्कार-परिमार्जन, व्याख्या-विश्लेषणको लहड, सुन्दरलाई अझ सुन्दर तुल्याउने वा खिप्ती आसक्ति उनका कथाहरूलाई छैन। यति भएर पनि कथाविचार स्पष्ट हुनु, तिनमा कलात्मक उच्च्ता पाइनु तथा सरल सम्प्रेषणीय हुनु आचार्यका कथा विशेषता मान्नुपर्छ। किनभने छोटा आयाम र संरचनाका कथामा यस्ता विशेषताहरू देखाउन सक्नु कम लरतरो कुरा होइन। सरल भाषामा भन्नु हो भने छोटा-छरिता आयामको कथाको सीमालाई शक्तिमा रूपान्तरण गर्ने कलाले आचार्यका कथाहरू धनी छन्।
सन्ध्या आचार्यका कथाकारिताको एउटा महत्त्वपूर्ण पक्ष मान्नुपर्छ – स्वाभाविक र जीवन्त भाषा। सहभागीहरूको बौद्धिक क्षमताअनुरूपको सम्वाद, गाउँ-ठाउँअनुसारको बोली र भाकाकोजस्ताको तस्तै प्रयोग, मनोचित्रणमा पनि उही चल्ती र जीवन्त भाषाको सन्धान कथा कतिपयको एक सशक्त पक्ष हो। आवश्यकताअनुरूप ठाउँ-ठाउँमा अनुकरणात्मक शब्दहरूको प्रयोगले कथाको भाषिक मिठासमा थप आकर्षण थपेको छ। छोटा-छरिता वाक्य विन्यास, कथ्य भाषाको प्रधानता, व्यङ्ग्यात्मक-वक्रोक्तिमय भाषाको सन्तुलित प्रयोग आदि उनका कथाहरूको अन्य भाषिक विशेषता हुन्।
अनुकरणात्मक भाषा निकै जटिल हुन्छ। अनुकरणात्मक भाषा भनेको   कथाका सहभागीहरूको एकालाप, अन्तर्सम्वाद तथा सम्वादबाट व्यक्त हुने भाषा हो। जसलाई कथाकारले उद्धरणको रूपमा जस्ताको तस्तै टिप्ने प्रयास गरेको हुँदा यो प्रदर्शनात्मक वा अनुकरणात्मक हुन्छ। यस्ता भाषाको सफल प्रयोगबाट सहभागीहरूको स्वभाव, मनोवृत्ति, विचार, बौद्धिक क्षमता आदि पक्षहरूको जीवन्त र यथार्थिक प्रतीति सम्भव हुन्छ। यसप्रकारको भाषा विवरणात्मक भाषाको तुलनामा जटिल किन हुन्छ भने कथाकारले यसमा सहभागीहरूको भाषामा एकाकार हुनुपर्ने हुन्छ। अर्थात् कथाकारको आफ्नो व्यक्तिगत वा मौलिक भाषालाई त्यागेर सहभागीहरूको भाषामा चिन्मय बन्नुपर्ने हुन्छ। यसो गर्न सकिएन भने कथाका पात्रहरू सजीव बन्न सक्दैन न ता चरित्राङ्कन नै प्रभावी ढङ्गले गर्न सकिन्छ। कथा कतिपय का कथाहरूमा अनुकरणात्मक भाषाको सशक्त प्रयोग पाइन्छ। उनका कतिपय कथाहरूमा अनुकरणात्मक भाषाको मात्र जगजगी छ। याद राख्नुपर्ने कुरा के छ भने अनुकरणात्मक भाषा नाट्य विधाको मूलभाषा हो। आख्यान वा कथामा चाहिँ अनुकरणात्मक र विवरणात्मक दुवै रूपको लगभग समानुपातिक अस्तित्व र महत्त्व हुन्छ।   
 समग्रमा भन्नपर्दा कथा कतिपय समकालीन भारतेली कथा साहित्यको महत्त्वपूर्ण उपलब्धि हो। कलकलाउँदो उमेरको पहिलो प्रयासमा नै यति स्तरीय कथाहरू पस्कने सन्ध्या आचार्यले आफ्नो कथाकौशललाई खिप्दै लगेमा उनीबाट भविष्यमा अझ स्तरीय कथासङग्रहको निर्धक्क अपेक्षा पाल्न सकिन्छ।

No comments:

Post a Comment

Post Bottom Ad