बाग्राकोटको भानु मैदानमा भानुभक्तको सालिग अनावरण - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, July 28, 2019

बाग्राकोटको भानु मैदानमा भानुभक्तको सालिग अनावरण

गफसफ.com, डुवर्स,28 जुलाई
बाग्राकोटको भानु मैदानमा आज भव्य समारोहबीच भानुभक्तको पूर्णाङ्ग सालिग अनावरण गरिएको छ। सालिगको अनावरण मूर्धन्य साहित्यकार नरबहादुर दाहालले गरे। बाग्राकोटकै चर्चित मूर्तिकार अमिर सुन्दासले बनाएको उक्त सालिग अनावरण कार्यक्रममा विभिन्न तप्काका मानिसहरू उपस्थित बनेका थिए। यस अवसरमा भानुको उक्त सालिग अनावरण गरेपछि साहित्यकार नरबहादुर दाहालले ‘अमीर सुन्दासले भानुको सालिगमा नेपालीपन  झल्काएका छन्’ भने।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नरबहादुर दाहालले अझ भने ‘हाम्रो भानु जहाँ जहाँ स्थापित छन् त्यहाँ-त्यहाँ अलग अलग अनुहारमा स्थापित छन्। तर अमीरले भानुको अनुहारमा एकरुपता ल्याएका छन्’।
स्थानीय शिक्षक दिनेश महन्तको आर्थिक सहयोगमा भानुको सालिग अनावरण गर्न आज बाग्राकोटको साहित्य परिक्रमा परिवारले विशेष कार्यक्रम आयोजना गरेको थियो। यस अवसरमा साहित्यकार तथा कविहरू ज्ञानेन्द्र खतिवड़ा भविलाल लामिछाने, विष्णु शर्मा अधिकारी, इन्द्रबहादुर गुरुङ, कालुसिंह रनपहेंली, गोपालसिंह विश्व, अशोक रोका, शङ्कर प्रधान, मदन खड़्का, अबीर खालिङ आदि अतिथिका रुपमा उपस्थित रहेका थिए।
कार्यक्रममा डुवर्स, सिलगढ़ी, लाटपञ्चर आदि इलाकाका विभिन्न साहित्यिक समाजिक संस्थाका प्रतिनिधिहरू उपस्थित थिए। अनावरण स्थलमा मूर्तिकार अमीर सुन्दासलाई साहित्यकार दाहालको बाहुलीबाट सम्मान जनाइयो।
दोस्रो चरणमा भानु मैदान परिसरमा अवस्थित सामुदायिक भवनमा २०५औं भानु स्मृति दिवस पालन भयो। भानु सालिग निर्माण समितिका संरक्षक सुखमन मोक्तानको अध्यक्षता एवं मूर्धन्य साहित्यकार नरबहादुर दाहालको प्रमुख आतिथ्य र वरिष्ठ कवि ज्ञानेन्द्र खतिवड़ा विशिष्ट आतिथ्य रहेको उक्त कार्यक्रमलाई समालोचक रूपेश शर्माले सञ्चालन गरेका थिए। यस अवसरमा सालिग निर्माण समिति सचिव गङ्गादेवी शर्माले प्रतिवेदन प्रस्तुत गरिन् भने लाली गुराँस समूहले स्वागत गीत प्रस्तुत गरेको थियो।
कार्यक्रममा मनिषा छेत्रीले भानुभक्तमाथि वार्ता प्रस्तुत गरेकी थिइन् भने मूर्तिकार अमीर सुन्दास भविलाल लामिछाने, कालूसिंह रनपेहेली, ज्ञानेन्द्र खतिवड़ा डुवर्स नेपाली साहित्य विकास समितिका मूलसचिव रबिन खवासले सम्बोधन गरेका थिए। यस अवसरमा अबीर खालिङ, छेवाङ योञ्जन, मुस्कान राई, नन्दलाल उप्रेती ,खड्गराज गिरी, प्रकाशचन्द्र शर्मा, दीपक बुढ़ाथोकी आदि कविहरूले कविता वाचन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा साहित्यकार नरबहादुर दाहालले दार्जीलिङमा विश्वकै पहिलो भानुको सालिग सन् १९४९ को १७ जूनको दिन अनावरण भएको बताउँदै अमीर सुन्दासको कलाकारिताले भानुको सालिगमा नेपालीपन झल्काएको बताए। उनले भानुभक्त आचार्यले रामायणको अनुवाद गरी समाजलाई मर्यादाको पाठ सिकाएको पनि बताए। यसक्रममा सुखमन मोक्तानले अध्यक्षीय सम्बोधन अवधि बाग्राकोटमा पारसमणि प्रधान र अगमसिंह गिरीजस्ता महारथीका सालिग स्थापना गर्ने लक्ष्य आफुहरूले राखेको बताए।

No comments:

Post a Comment

Post Bottom Ad