जीटीए प्रशासनको पक्षबाट स्वयंमसेवी शिक्षकवर्गलाई नियुक्ति दिने कार्य आरम्भ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, June 26, 2019

जीटीए प्रशासनको पक्षबाट स्वयंमसेवी शिक्षकवर्गलाई नियुक्ति दिने कार्य आरम्भ

गफसफ.com, दार्जीलिङ, 26 जून।
जीटीएद्वारा दार्जीलिङ पहाड़का विभिन्न विद्यालयहरूका स्वयंसेवी शिक्षक-शिक्षिकाहरूलाई नियुक्ति पत्र प्रदान गर्न शुरू गरेको छ। आज जीटीएको सचिवालय लालकोठीमा जीटीए अध्यक्ष अनित थापा, उत्तर बगं उन्नयन पर्षद्का अध्यक्ष एवं जीटीए मुख्य सल्लाहकार अमरसिहँ राई,  डीआई प्राण गोविन्द सरकार अनि जीटीए शिक्षा विभागका कार्यकारी निर्देशकले पहिलो चरणमा जीटीए क्षेत्रका कूल 12 वटा अप्पर प्राइमेरी न्यू सेटअप स्कूलका कूल 59 जना स्वयंसेवी शिक्षक-शिक्षिकाहरूलाई नियुक्ति पत्र प्रदान गरेका छन्।

यसबाहेक उच्च एवं उच्चत्तर माध्यमिक विद्यालयका 313 भेरिफाइड स्वयंसेवी शिक्षक/शिक्षिकाहरूको पनि आजदेखि नियुक्ति प्रक्रिया शुरू गरिएको छ। नियुक्ति प्रक्रियाको आज पहिलो चरणमा 10 जना वरिष्ठ (सिनियर) स्वयंसेवी शिक्षक/शिक्षिकाहरूलाई नियुक्ति प्रदान गरियो। अब सिनियरिटीको आधारमा नै अन्य शिक्षकहरूको पनि पालै-पालो नियुक्ति प्रदान गरिनेछ भने जीटीएको तर्फबाट नियुक्ति प्रक्रियासितै 313 को भोलेन्टियर लिस्टमा रिभ्यू पनि गरिने भएको छ।

उल्लेख्य, गत लोकसभा चुनाउ अघि नै  विभिन्न उच्च एवं उच्चत्तर माध्यमिक विद्यालयका कूल 313 भेरिफाइड भोलेन्टियर टिचर्स, 12 न्यू सेटअप अप्पर प्राइमेरी स्कूलका 59 भोलेन्टियर टिचर्स, 14 वटा गैरमान्यता प्राप्त (Unrecognised) निम्नोच्च विद्यालयलाई सरकारी मान्यता प्रदान गर्ने , 4 जना  नियुक्ति रद्द भएका शिक्षकहरूलाई पुन नियुक्ति प्रदान गरिने विषयमा पश्चिम बंगाल सरकारले अध्यादेश जारी गरेको थियो। तथापि त्यसको लगत्तैपछि चुनाउ आचार संहिता लागु भएको कारणले गर्दा उक्त अध्यादेशमुताविक नियुक्ति प्रक्रिया शुरू गर्न सकिएको थिएन। सोही अध्यादेशको आधारमा आजदेखि नियुक्ति प्रक्रिया शुरू गरिएको हो। नियुक्ति प्रक्रिया संगसंगै 14 वटा गैरमान्यता प्राप्त विद्यालयहरूलाई पनि सरकारी मान्यता प्रदान गरिने भएको छ।

यसक्रममा आज नियुक्ति पत्र प्राप्त गर्ने सम्पूर्ण स्वयंसेवी शिक्षक/शिक्षिकाहरू जीटीए बोर्ड अध्यक्ष अनित थापाले बधाई अनि शुभकामना दिएका छन्। यसका साथै उनले सम्पूर्ण शिक्षक-शिक्षिकाहरूले दत्तचित्त एवं लगनशील भएर विद्यार्थी नानीहरूलाई निस्वार्थ एवं गुणस्तरीय शिक्षा प्रदान गर्ने आह्वान समेत गरेका छन्। ‘दार्जीलिङ पहाड़को शैक्षिक व्यवस्थालाई उकासेर पुरानो गरिमा फर्काइ ल्याउन हो भने प्रत्येक शिक्षक-शिक्षिकाहरूले आफ्नो जिम्मेवारी अनि दायित्व बुझेर गुणस्तरीय शिक्षा विद्यार्थीहरूलाई प्रदान गर्नु आवश्यक रहेको छ। यो जिम्मेवारी प्रत्येक शिक्षक/शिक्षिकाहरूले इमान्दारितापूर्वक वहन गर्नेछ भन्ने कुरामा म पूर्ण विश्वस्त पनि छु’ अनित थापाले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad