सिन्कोना विभागले तोडेको घर विभागले नै निर्माण गर्नुपर्ने जीटीए अध्यक्ष अनित थापाको आदेश - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, June 29, 2019

सिन्कोना विभागले तोडेको घर विभागले नै निर्माण गर्नुपर्ने जीटीए अध्यक्ष अनित थापाको आदेश

गफसफ.com, मङ्पू, 29 जून।
मङ्पू सिन्कोना कमानमा सह-व्यवस्थापक वर्णाली विश्वासद्वारा भत्काइएको रूबेन छेत्रीको निर्माणाधीन प्रधान मन्त्री आवास योजनाको घर सिन्कोना कमानको व्यवस्थापनले नै निर्माण गर्नुपर्ने जीटीए बोर्ड अध्यक्ष अनित थापाले निर्देश दिएका छन्। विभागीय अधिकारीद्वारा कुनै कानुनी नोटिस बिना नै तोडिएको उक्त घरबारे चौतर्फी बिरोध भएपछि वास्तविक कुरा बुझ्न मङ्पू आइपुगेका अनित थापाले पीडित रूपेन छेत्रीलाई न्याय दिँदै सिन्कोना विभागले नै घर बनाइदिनुपर्ने आदेश दिएका हुन्।

जीटीए बोर्ड अध्यक्ष अनित थापाले यस अवधी पीडित रूपेन छेत्रीसँगै गाउँलेहरूको पक्ष सुन्ने कार्य गर्दै विभागीय अधिकारीवर्गसँग पनि वैठक गरे। यसक्रममा उनले सिन्कोना बगानमा पुर्खौदेखि पर्जा-पट्टा मानिसहरूले नपाएको कारण नै यस्तो समस्या रहेको बताउँदै पीडित पक्षको न्याय दिलाउन आफु स्थलगत भ्रमणमा आएको पनि बताए।
‘सिन्कोना विभागले आफ्नो कानूनमात्रै हैन तर यहाँका पुर्खौदेखि बसोबासो गर्दै आइरहेका मानिसहरूको परम्परालाई पनि ध्यान दिनुपर्छ। यहाँ पुर्खौदेखि सिन्कोनाको जमीनमा बसोबासो गर्दै आइरहेका मानिसहरू छन् जसको कुनै आधिकारीक कागजपत्र अथवा पर्जापट्टा छैन। यदि विभागले यस प्रकारले सिन्कोनावासीहरूमाथि कार्वाही गर्न थाल्यो भने हजारौं सिन्कोनावासीहरू बेघर  हुनेछन्। यसैले सिन्कोना विभागले आफ्नो कानून अनि पुरानो समयदेखि सिन्कोनाले आफ्नै प्रकारले चलाउँदै आइरहेको परम्परा दुवैको ध्यान राखेर कार्य गर्नु आवश्यक रहेको छ’ अनित थापाले भने।
यसक्रममा उनले उक्त कार्य विभागले कानूनी तौरमा गरेको भए पनि उक्त ठाउँमा लामो समयदेखि बसोबासो गरिरहेको रूबेन छेत्रीलाई मानवताको आधारमा अन्याय भएको पनि अनित थापाले बताए। ‘यसैले उनको घर विभागले नै बनाइदिनुपर्ने निर्देश पनि मैले विभागलाई दिएको छु’ थापाले भने। उनले उक्त मुद्दामाथि सिन्कोना विभाग अनि परिवारपक्षमाझ भूल बुझाबुझ भएको उल्लेख गर्दै यस विषयलाई लिएर कसैले पनि अशान्ति एवं मतभेद सृजना नगरिदिने पनि उनले अपील गरेका छन्।

‘सिन्कोनावासी अनि सिन्कोना प्रशासन दुवैपक्ष मिलेर नै सिन्कोना बगानको भविष्य निर्माण गर्न सकिनेछ। यसैले दुवैपक्षमाझ आपसी तालमेल अनि सद्भावना हुन अति जरूरी छ। यसैले भविष्यमा फेरि फेरि यस प्रकारको घटना नदोहोरियोस् भन्ने पनि म चाहन्छु। सिन्कोना विभागले कुनै पनि सिन्कोनावासीलाई अन्याय वा बलपूर्वक कार्वाही नगरिदिने तथा सिन्कोनावासीले पनि कुनै राजनैतिक वा सामाजिक शक्तिहरूको सहारा लिएर स्वार्थी कार्यहरू नगरिदिने म अपील गर्दछु। सिन्कोना बाँचे सिन्कोनावासीको भविष्य बाच्नेछ। भविष्यमा सिन्कोना बगानवासी अनि विभाग दुवैपक्षले उक्त कुरालाई ध्यान दिने पनि मेरो अनुरोध छ’ जीटीए बोर्ड अध्यक्ष अनित थापाले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad