आयो मेलिना राईको आवाजमा खुसेन्द्र राईको ‘आधा’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, May 20, 2019

आयो मेलिना राईको आवाजमा खुसेन्द्र राईको ‘आधा’

गफसफ.com, कालेबुङ, 20 मई।  
आधा बन्द, आधा खुलेजस्तो/जिन्दगीको ढोका हुरीमा झुलेजस्तो - गजलगो खुसेन्द्र राईको आउन लागेको गजल एल्बम आधा’-बाट प्रतिनिधि गजल आधा’-को भिजुअल रिलिज भएको छ । कुटुमा कुटुगीतबाट प्रसिद्धि कमाइसकेकी मेलिना राईको सुमधुर आवाजमा रेकर्ड गरिएको आधानेपालको लोकप्रिय युट्युब च्यानल ओएसआर डिजिटल’-ले फिचर गरेको छ । काठमान्डुमा रेकर्डिङ गरिएको उक्त गजलको भिजुअल पारुल प्रोडक्सन, सिक्किम-ले लञ्च गरेको हो ।

अति व्यस्तता, एकलासता, स्वार्थकेन्द्रिक समाजको मनोलगजस्तै देखिने आधाको कम्पोजिसनले समाजको स्थापित रूढ़देखि बाहिरको फ्रेमलाई एड्रेस गरेको पाइन्छ । समाज जति सतह सतहमा रम्न खोजिरहेको भ्रममा छ, उति उति भित्र एक्लो भइरहेको मानिसको मूल सत्ता-अस्तित्वलाई टेक्स्टमार्फत् यथार्थवादी चित्र दिन खोजेका छन् सर्जकले । अनुहारहरूको भीड़माझ हराइरहेको आफ्नै मौलिक अनुहारको खोजी हो आधा । आफ्नो अस्तित्वको दाबी गर्दै आजको सङ्घर्षरत मानिस आधा खुल्ला, आधा बन्द दैलोबाट पसुँ कि निस्कुँको दोधारको गीत दरिएको आधालाई दार्जीलिङका उम्दा निर्देशक-सिनेम्याटोग्राफर पल्लविब राईले भिजुअलमा उतार्न खोज्दा अलि एब्स्ट्र्याक्ट पनि भइदिएको छ भिजुअल । 
एउटा अन्तिम गजल सङ्ग्रह र गजलको एल्बम निकाल्ने मेरो रहरको कुरा थियो । एल्बम आधा’-को कुरा हुँदै गर्दा एल्बमबाटै एउटा गजलको भिजुअल बनाउने कुराको मेसो चल्यो । निर्देशकको रूपमा हाम्रै भेकका उज्यालो प्रतिभा पल्लविब राई जुरे । उता पपुलर मेलिना राईको गजल रेकर्ड गर्न काठमान्डु जान पर्ने भयो । यता कवि राजा पुनियानीले अभिनय गरिदिने भए । पल्लविबको प्रतिबद्ध टिमले लगभग आठ महिनाको मिहिनेत लगानी गरेको छ भिजुअल तयार गर्न । एल्बम तयार हुन २ साल लागेको हो । अनुभव यही रह्यो रहर मात्र काफी नहुँदो रहेछ जिन्दगीमा । असल मित्र र नि:स्वार्थ मार्गनिर्देशक पनि चाहिँदो रहेछभिजुअल रिलिज भइरहेको अवसरमा सर्जक खुसेन्द्र राईले मन्तव्य गरेका छन् ।
पल्लविबले सिनेम्याटोग्राफी गरेका विश्वप्रसिद्ध वादक रिकी केजको भिजुअलले ग्रामीण पुरस्कारसम्म जितेको हो । मुम्बईमा केही साल स्किल उध्याएर आफ्नै ठाँउको मायामा फर्किएका पल्लविबले राजा पुनियानीको कवितासँग सिनेम्याटोग्राफीको चुनौतिपूर्ण फ्युजन गराए । भ्रमपाहाड़इन्काउन्टरजस्ता मल्टिमिडिया पोएट्री ल्याएर कवितामा नयाँ ट्रेन्ड ल्याउने हठै देखाएका हुन् । 
राजा पुनियानीको साइकल’, सुदर्शन तामाङको मौनता’, पुष्कर पराजुलीको डम्पिङ ग्राउण्ड’, प्रकाश सुन्दासको खुल्ला आकाश’, द ट्र्याभलर्सको साँचो माया’ –बाट ख्याति आर्जन गरिरहेका पल्लविबले नयाँ भिजुअल निस्कँदै गर्दा आफ्नो उद्गार राखे, “पहिले बाबाको टेपमा उनले सुनिरहेका गजलहरू कानमा पर्दा  शब्दहरूको मात लाग्थ्यो । यसैले गजलमाथि नक्साहरू बुनेर भिजुअल बनाउनु पर्ने हुँदा शब्दलाई नै मुटु सोच्नु ठीक लाग्यो । आधा रात मेसेन्जरमै राजा पुनियानी र मैले कन्सेप्ट बुन्यौँ । खुसेन्द्र राईले लेख्नु भएको आधा भित्र-बाहिर, शुरूमै हुरीमा झुलिरहेको ढोका छ । न बन्द, न खुल्ला । त्यो ढोका एउटा अवधि र मनोस्तिथिको प्रतिबिम्ब हो । स्क्रिनमा ती शब्दहरू र सङ्गीतमाथि बग्ने नक्साहरू र कथालाई पनि त्यसरी नै झुलाइराख्ने कोशिश गरेको छु।” 
भिजुअलको रचनागर्भ खोल्दै पल्लविब थप्छन्, “युग बितोस् तर पात्रको एउटा समयभित्रको रहर र कल्पनालाई त्यहीँ अड़ाइराखु पर्ला भनी सोचेँ । जुन खाले पात्रलाई संसारको रियल  रङ्गगमञ्चमा हामी सन्किएको भनेर सम्बोधन गरेका हुन्छौँ,  शायद ।  तर कल्पना गर्नु र त्यसलाई नक्सामा उतार्नुमा खतरा भिन्नता हुन्छ । भनेजस्तै, सोचेजस्तै बनिएको छ जस्तो चाहिँ लागेको छैन । तर, त्यही गजल सुन्ने बाबाले भन्थे - मान्छे एक्कैचोटि रोनाल्डो भएर जन्मिँदैन, अभ्यासले बनाउँछ रोनाल्डो । गजल भिडियो बनाउने चस्का लागेको छ । आधा पस्केका छौँ ।  मन परे-नपरे पनि एक लाइक चाहिँ अवश्य ठोकिदिनु होला ।”
राजा पुनियानी र पूजा कँड़ेलको अभिनय रहेको भिजुअल गजल आधा’-मा दार्जीलिङका चर्चित सङ्गीतकार दिवस गुरूङको धुन र जीवन प्रकाश प्रधानको एरेञ्जमेन्ट रहेको छ । साङ्ग्रिला इन्डियाबाट प्रकाशित ताजा कथा सङ्ग्रह खुर्मी’-बाट बजारमा कथाकारको रूपमा समेत चर्चा बटुलिरहेका जूम, सिक्किम निवासी खुसेन्द्र राईको गजल एल्बम आधा’-ले पनि श्रोताको स्नेह पाउने छाँट छ । खुसेन्द्र अहिले घड़ी गजल किताबको प्रकाशनको तयारी र नयाँ उपन्यास लेखनमा व्यस्त रहेका छन् ।

No comments:

Post a Comment

Post Bottom Ad