विधानसभामा पस्न सके पहिलोपल्ट नै गोर्खाल्याण्डको आवाज उठाउनेछु – स्वाराज थापा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, May 17, 2019

विधानसभामा पस्न सके पहिलोपल्ट नै गोर्खाल्याण्डको आवाज उठाउनेछु – स्वाराज थापा

गफसफ.com, दार्जीलिङ, 17 मई।
‘जनताको माया र आशिर्वाद पाएर विधानसभामा पुग्न सके पहिलोपल्ट म छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई नै उठाउनेछु। त्यसपछि मात्रै अन्य मुद्दाहरूलाई उठाएर जनहितमा कार्य गर्नेछु’-उक्त कुरा निर्दलीय प्रार्थी स्वाराज थापाले भनेका हुन्। दार्जीलिङ विधानसभा उपचुनावमा क्रामाकपा अनि कङ्ग्रेस पार्टीद्वारा समर्थित स्वाराज थापाले विभिन्न ठाउँहरूमा चुनाव प्रचार सकेपछि विशेष कुराकानी गर्दै जनताले तेस्रो विकल्पको रूपमा आफुलाई चयन गर्ने अपेक्षा रहेको बताएका छन्।

‘एकातिर दमनकारी राज्य सरकारको पक्षधर विनय तामाङ चुनावमा छन् भने अर्कोतर्फ व्यक्तिगत स्वार्थपूर्तीका निम्ति रातारात पार्टी फेरेर भाजपा बनिने निरज जिम्बा छन्। दुवैले जनताको आकाङ्क्षा पुरा गर्न सक्दैनन्। वास्तवामा दुवै बाध्यमा परेका प्रार्थीहरू हुन्। यस्ता बाध्यमा परेका प्रार्थीहरूबाट जनताले आफ्नो आकाङ्क्षा पुरा हुनेछ भन्ने अपेक्षा राख्नु हुँदैन। यस्तो अवस्थामा जनतालाई तेस्रो विकल्पको रूपमा हामी चुनावी मैदानमा छौँ अनि जनताले निश्चय नै साथ दिनेछ भन्ने हाम्रो विश्वास हो’ स्वाराज थापाले भने।
उनले आफु गोर्खा जनमुक्ति मोर्चामा हुँदा वर्तमान अवस्थामा भूमिगत रहेका नेता विमल गुरुङसँगको पैदल यात्रा गरेको अनि पछिबाट एस.एस आहलुवालिया र अमर राईको चुनाव प्रचार गर्दा विभिन्न ठाउँहरूमा पुगेको कारण जनताले आफुलाई चिनेकोले यसपल्ट आफुलाई चुन्ने विश्वास व्यक्त गरेका छन्।
कुराकानीको क्रममा उनले विनय तामाङसँग व्यक्तिगत आफ्नो कुनै दुश्मनी नरहेको बताउँदै राजनैतिक रूपले आफुहरू प्रतिद्वन्द्वी रहेको बताएका छन्। यसैक्रममा उनले भूमिगत नेता विमल गुरुङको पनि थुप्रै भूलहरू रहेको बताउँदै वास्तवमा विनय तामाङ र विमल गुरुङ राजनैतिक वाध्यमा चेप्टिएकाहरू हुन् समेत भनेका छन्। ‘वितेको गोर्खाल्याण्ड आन्दोलनलाई बिथोलेर विनय तामङहरूले धोका दिएकै छन्। बङ्गाल सरकारको जालमा फँसेर उनीहरूले जनतालाई ठूलो धोका दिएका छन्। यस्तो अवस्थामा जनताले उनीहरूलाई यसपल्ट भोट दिनेछैनन्’ स्वाराज थापाले अझ भने –‘यता विमल गुरुङहरूले पनि थुप्रै गल्ति गरेका छन्। ती गल्तीहरूकै कारण विमल गुरुङले आफ्नो प्रार्थी समेत दिन सकेनन्। न त उनले लोकसभामा आफ्नो प्रार्थी दिन सके न त विधानसभा उप-चुनावमा नै आफ्नो प्रार्थी दिन सके। उनले बिजेपीले थोपेको प्रार्थी ल्याएका हुन्। यस्तो थोपेको प्रार्थीको जनताको काम गर्नेछैन। यसैकारण क्रामाकपा अनि कङ्ग्रेसको समर्थनमा हामी विकल्पका रूपमा मैदानमा छौँ।’
उनले वितेको लोकसभा चुनावमा विमल गुरुङ अथवा विनय तामाङहरूले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दा उठाउन समेत नसकेको भन्दै उनीहरूले विधानसभा चुनावमा समेत छुट्टै राज्यको मुद्दा उठाउन नसकेको दाबी गरेका छन्। विमल गुरुङ र विनय तामाङहरू अर्काले थोपेको राजनैतिक बाध्यतामा परेको कारण उनीहरूले भविष्यमा काम गर्न नसक्ने पनि बताएका छन्।
‘एकातिर बङ्गालको शोषण र दमननीति अप्नाएर राजनैतिक रोटि सेक्नेहरू छन् अनि अर्कोतर्फ रातारात टिकटको निम्ति झण्डा फेरेर राजनैतिक स्वार्थ पुर्ती गर्ने प्रार्थी छन्। यी दुईवटा दलहरूको विकल्पमा हामी तेस्रो विकल्पमा छौँ। जनताले यी दुवै दललाई त्यागेर हामीलाई तेस्रो विकल्पको रूपला चुन्नेछन्’ स्वारज थापाले भने।

No comments:

Post a Comment

Post Bottom Ad