भाजपा प्रार्थी राजु विष्टले एनआरसीलाई बताए राम्रो; भने –‘एनआरसी लागु भए गोर्खाहरूलाई फाइदा हुनेछ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, April 2, 2019

भाजपा प्रार्थी राजु विष्टले एनआरसीलाई बताए राम्रो; भने –‘एनआरसी लागु भए गोर्खाहरूलाई फाइदा हुनेछ’

गफसफ.com, दार्जीलिङ, 2 अप्रेल।
भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले बङ्गालमा नेशनल रेजिस्टर अफ् सिटिजन्स (एनआरसी) लागु गर्ने घोषणा गरेपछि दार्जीलिङ लोकसभा आसनमा अहिले विवाद छेँडिएको छ। गोजमुमो पार्टी अनि तृणमूल कङ्ग्रेसले एनआरसी लागु गरेर गोर्खाहरूलाई विस्थापिअ बनाउने षडयन्त्र गरिरहेको आरोप लगाएका छन् भने भाजपाले भने एनआरसी सही हो भन्दै आइरहेको छ। यस्तो अवस्थामा दार्जीलिङ लोकसभा आसनका भाजपा प्रार्थी राजु विष्टले पनि एनआरसी लागु भए पहाडवासीलाई फाइदा हुने दाबी गरेका छन्।
भाजपा प्रार्थी राजु विष्टले दार्जीलिङ हेप्पी भिल्लामा चुनाव प्रचार गर्ने क्रममा यसले गोर्खा जातिलाई फाइदा पुग्ने दाबी गरेका हुन्। गोजमुमो विमल गुट अनि गोरामुमो पार्टीको समर्थनमा दार्जीलिङ लोकसभा आसन भएका भाजा प्रार्थी विष्टले भने –‘विपक्षी पार्टीले एनआरसीको विरोधमा गलत प्रचार गरिरहेको छ। यसैले आगामी 18 मार्चको दिन दार्जीलिङ पहाडका जनताले एनआरसीको पक्षमा मतदान गर्नुपर्छ। यदि बङ्गालमा एनआरसी लागू भए भारतीय गोर्खा अझै बेसी सुरक्षित हुनेछ।’
‘वर्तमान समयसम्म तार काटेर आएका बङ्गलादेशीहरूलाई सरकारले प्रोत्साहन प्रदान गरिरहेको छ। यसैले उनीहरूलाई सरकारले आफ्नो भोट व्याङ्क बढाउन, आफ्नो कुर्सी बचाउनको लागि राशिन कार्ड, भोटर कार्ड साथै अन्य सबै सहुलियतहरू प्रदान गरिरहेको छ। ताकि उसको मतदाता बढ्न सकोस्, यसले गर्दा राज्यमा गोर्खा जाति अल्पसंख्यक बन्दै गइरहेको छ। यसैले विपक्षी पार्टीहरूले चुनाउमा फाइदा लिनको लागि एनआरसीको विरोधमा प्रचार गरिरहेको छ’ राजु विष्टले एनआरसीको वकालती गर्दै भने।
यसैबीच, अलग राज्य गोर्खाल्यान्डको सन्दर्भमा प्रश्‍न गर्दा उनले उनले भने –‘4 दिनअघि मात्रै भाजपाका राष्ट्रिय अध्यक्ष अमित शाहले आफू चट्टान जस्तै बनेर गोर्खाको साथमा रहेको घोषणा गरिसकेका छन्। यसप्रकारको कुरा भाजपाको चुनावी घोषणा पत्रमा पनि देख्न सकिनेछ वा उल्लेख हुनेछ। भारतीय गोर्खाको परिचयको मुद्दाको लागि स्थायी राजनैतिक समाधानको लागि संसदमा पनि कुरा उठाउनेछु अनि यसबारे पार्टीका शीर्ष नेतृत्ववर्गसित पनि कुराकानी गर्नेछु। भाजपा वर्षौंदेखि गोर्खाको साथमा छ र गोर्खा देशभक्त हो भन्ने कुरा पनि भाजपालाई राम्ररी थाह छ’।
यसरी नै उनले चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन लागू गर्नुपर्ने, पर्जा-पट्टाको अधिकार दिनुपर्नेबारे पनि कुरा गरेका छन्। उनले चिया श्रमिकहरूलाई उनीहरूको न्यूनतम रोजी दिलाउन संसद भित्र अनि बाहिर आवाज उठाउने दाबी गर्दै भाजपालाई साथ दिनुपर्ने अपिल गरेका हुन्। 
‘वर्तमान समयसम्म दार्जीलिङ पहाड, तराई इलाकाका चियाश्रमिकहरूको दैनिक रोजी 150 देखि 170 रूपियाँ मात्रै छ। दैनिक रोजी साह्रै कम्ति भएको कारण नै चियाश्रमिकहरू चियाबगानमा काम गर्न छोडेर अन्य काम गर्न उत्साहित बनिरहेका छन्। यति कम्ति रोजमा कसले काम गर्छ? यसैले यसबारे चुनाउपछि केन्द्र सरकारबाट जे गराउनुपर्छ, त्यसको लागि काम गर्नेछु अनि चियाबगान मालिकवर्ग, राज्य सरकार आदिसित पनि भेट गर्नेछु’ राजु विष्टले भने।

No comments:

Post a Comment

Post Bottom Ad