विनय तामाङले लड्ने भए चुनाउ : गोजमुमोद्वारा विधानसभामा उप-चुनाउको निम्ति तामाङको नाउँ घोषणा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, April 23, 2019

विनय तामाङले लड्ने भए चुनाउ : गोजमुमोद्वारा विधानसभामा उप-चुनाउको निम्ति तामाङको नाउँ घोषणा

गफसफ.com, दार्जीलिङ, 23 अप्रेल।
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विनय तामाङलाई आगामी 19 मईको दिन हुने विधानसभा उपचुनाउको निम्ति उम्मेद्वार बनाइएको आधिकारिक घोषणा गरिएको छ। पार्टीको केन्द्रिय समितिको वैठकपछि आज नारी मोर्चा अध्यक्ष छिरिङ दाहालले पार्टीले अध्यक्ष विनय तामाङलाई प्रार्थी बनाएको घोषणा गरेकी हुन्।

आगामी 19 मईका दिन हुने दार्जीलिङ विधानसभा उप-चुनाउको निम्ति प्रार्थी छनौटलाई लिएर आज पार्टीको केन्द्रिय समितिको सभा दार्जीलिङमा सम्पन्न भएको थियो। प्राय: चारघण्टा लामो चलेको सभामा आखिरमा पार्टीका अध्यक्ष विनय तामाङलाई नै प्रार्थी बनाउने सर्वसहमतिले प्रस्ताव पारित गरेको छ।
विधानसभा उपचुनाउमा पार्टीले पर्जा पट्टाको मुद्दालाई पहिलो मुद्दा समेत बनाएको छ। आगामी वर्ष 2020-भित्रमा प्रत्येकको हातमा पर्जा-पट्टा थमाउने वाचा गर्दै गोजमुमोले आज आधिकारिकरूपमा पार्टी अध्यक्ष विनय तामाङलाई दार्जीलिङ विधानसभा उपचुनाउको उम्मेद्वार घोषणा गरेको हो।
‘राज्य सरकारसित राजनैतिकसँगै कुटनैतिक सम्बन्ध कायम गर्न गोजमुमो अध्यक्ष विनय तामाङ सफल बनिरहेका छन् र यो सम्बन्धलाई जारी राखेर पहाडमा विकासको खोला बगाउने सोंच राखेर नै पार्टीले तामाङलाई उम्मेद्वार बनाउने निर्णय लिएको हो’ छिरिङ दाहालले भनिन्।
यसका साथै उनले उक्त चुनाउमा जीत भएको खण्डमा हिल अफेयर्स विभाग मन्त्री बन्ने निश्चि्त रहेको भन्दै उनी हिल अफेयर्स मन्त्री बनेको खण्डमा पहाडको लागि धेरै कामहरू गर्न सकिनेछ अनि धेरैवटा विषयमा निर्णय पनि लिन सकिने बताएकी छन्। यसका साथै आगामी वर्ष 2020-भित्र दार्जीलिङ पहाड अनि तराईका भूमिहीनहरूलाई जमीनको मालिकाना अधिकार दिलाउने हाम्रो संकल्प रहेको पनि दाहालले बताइन्।  
‘दार्जीलिङ पहाडका 80 प्रतिशतभन्दा अधिक जनतासित आफू बसेको जमीनको मालिकाना अधिकार वा पर्जा-पट्टा नै छैन। यसैकारण यसलाई गोजमुमोले यस उपचुनाउमा आफ्नो मूल मुद्दा बनाउने निर्णय गरेको छ। किनभने, केन्द्रको भाजपा सरकारले बंगालमा एनआरसी लागू गर्ने प्रयास गरिरहेको छ र दार्जीलिङ पहाडका गोर्खा जातिलाई 1950-को भारत-नेपाल मैत्री सन्धिसित जोड्ने प्रयास गरिरहेको छ। यसैले यदि हामीसित हाम्रो जमीनको पर्जा-पट्टा छ भने एनआरसी लागू भए पनि हामीमाथि कुनै नकारात्मक प्रभाव पर्नेछैन’ छिरिङ दाहालले भनिन्।
यसरी नै गोजमुमोले यस उपचुनाउको लागि चियाश्रमिकहरूका लागि मिनिमम वेजेस एक्ट लागू गर्नुपर्ने, दार्जीलिङ नगरपालिकालाई महा-नगरपालिकाको दर्जा दिलाउऩे, सोनादा, सुकेपोखरी आदि क्षेत्रलाई नगरपालिका बनाउनुपर्ने, बिजनबारीलाई महकुमाको दर्जा दिनुपर्ने साथै बेरोजगार समस्यालाई पनि चुनावी मुद्दा बनाउने निर्णय लिएको छ।
यसैबीच, आगामी 26 अप्रेलको दिन गोजमुमो प्रार्थी विनय तामाङले आफ्नो नामाङ्कन पत्र दर्ता गर्ने भएका छन्। दाहालले पत्रकारहरूसित कुराकानी गर्दै अझै अघि भनिन्-वर्तमान समयमा राज्यमा तृणमूल कंग्रेसको सरकार छ अनि यो सरकारको कार्यकाल वर्ष 2021-सम्म जारी रहनेछ। यसैले यदि यस चुनाउमा विपक्षी पार्टीका उम्मेद्वारले जीत हासिल गरे, उनले राज्यबाट पहाडको लागि के ल्याउन सक्छन्? यसैले दार्जीलिङ विधानसभा आसनका जनताले विवेक लगाएर मतदान गर्नपर्छ। ताकि उनीहरूको एक-एकवटा भोटले पहाडमा विकास ल्याउऩ सकोस्।

No comments:

Post a Comment

Post Bottom Ad