जाप प्रार्थी अमर लामाले 26 अप्रेल नामङ्कन दर्ता गर्ने; भने – ‘विधानसभामा पुग्न सके सरकारको भरौटे भएर काम गर्नेछुइन' - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Wednesday, April 24, 2019

जाप प्रार्थी अमर लामाले 26 अप्रेल नामङ्कन दर्ता गर्ने; भने – ‘विधानसभामा पुग्न सके सरकारको भरौटे भएर काम गर्नेछुइन'

गफसफ.com, दार्जीलिङ, 24 अप्रेल।
‘मैले विधानसभामा पाइला टेक्न सके चियाकमानका मानिसहरूको निम्ति जमिनको अधिकार दिलाउन काम गर्नेछु। यसको अर्थ त्यहाँ ममता ब्यानर्जीको साडीको फेरो पक्रिनुपर्छ भनेको होइन अनि यो काम गर्न उनीसँग पाखुरा सुर्काउनुपर्छ भन्ने पनि होइन। यहाँ एकातिर ममता ब्यानर्जीको भक्त छन् अनि अर्कोतर्फ सासुको रीसले पोईको काखमा आच्ची गर्ने भनेजस्तै रीस फेर्न रातारात बीजेपीको झण्डा पहराउँछन्। म यी दुवैमा विश्वास गर्दिन। म जनताको निम्ति मध्यममार्गी भएर काम गर्नेछु। राज्य सरकारको भरौटे पनि हुनेछुइन अनि राज्यसँग पाखुरा सुर्काएर झगडा पनि गर्नेछुइन। तर, जनताको अधिकार कानुनीरूपले ल्याउन तर्कसँगक कुरा अघि सारेर काम गर्नेछु’- उक्त कुरा अमर लामाले गफसफ.com-सँगको विशेष कुराकानीमा भनेका हुन्।
Amar Lama  - File Photo
आगामी 19 मईएका दिन सम्पन्न हुने दार्जीलिङ विधानसभा क्षेत्रको उप-चुनावमा जन आन्दोलन पार्टीले अमर लामालाई प्रार्थी बनाएको घोषणा गरेको छ। उनले आफ्नो उम्मेद्वारिताको आगामी 26 अप्रेलका दिन आफ्नो नामङ्कन पत्र दर्ता गर्ने जानकारी दिएका छन्। यसभन्दा अघि लोकसभा चुनावको क्रममा पहाडबाट साझा उम्मेद्वारको पक्षमा आम सहमति नबनिएपछि मौन बसेका लामाले दलकै अध्यक्ष डा. हर्कबहादुर छेत्रीको पक्षमा समेत चुनाव प्रचार गरेनन्। यद्यपी उनलाई पार्टीले दार्जीलिङ विधानसभा उपचुनावको निम्ति प्रार्थीको नाउँ घोषणा गरेपछि लामाले आफ्नो नामङ्कन पत्र दर्ता गर्ने स्वीकृती जनाएका छन् भने 26 अप्रेलका दिन नामङ्कन पत्र दर्ता गर्ने पनि स्पष्ट पारेका हुन्।
गफसफ.com-सँगको विशेष कुराकानीको क्रममा जन आन्दोलन पार्टीका केन्द्रिय ब्यूरो सदस्य अमर लामाले बिधानसभा चुनाव र लोकसभा चुनाव फरक रहेको बताउँदै जनताले मुद्दा र प्रार्थीलाई हेरेर चयन गर्नुपर्ने बताएका छन्। ‘लोकसभा चुनावामा साथीहरूले जातिय एकताको कुरा गरेर भोट लडे। यता ममता ब्यानर्जी आफैले पनि गोर्खाहरूको परिचयको संकटलाई समाधान गर्ने घोषणा गर्दै भोट मागिन्। अब यो विधानसभामा चाहीँ फेरि जातिय एकताकै कुरा गर्ने हुन् कि व्यवहारिक राजनीति गरेर भोट लड्ने हुन् त्यो थाह छैन। तर, म चाहीँ विधानसभा पुगेको खण्डमा चिया कमानमा खटीखाने हाम्रा मानिसहरूलाई पर्जा-पट्टा दिलाउने पक्षमा काम गर्नेछु। चिया श्रमिकहरूलाई आफ्नो अधिकार दिलाउनका निम्ति म कानूनी रूपले तर्क गरेर पनि न्याय दिलाउन सक्नेछु। अब जनताले सही उम्मेद्वारको चयन गरेर विधानसभामा पठाउनुपर्नेछ’ अमर लामाले भने।
उनले कुराकानीकै क्रममा आफुले चिया कामनका मानिसहरूको निम्ति जमीनको मालिकाना हक दिलाउनका निम्ति धेरै कार्यहरू गर्दै आइरहेको बताउँदै उक्त आन्दोलनलाई पहाडका नेताहरूले नै बारम्बार दबाउने कार्य गरेको पनि आरोप लगाए। उनले विगतका दिनहरूला चिया श्रमिकहरूको अधिकारको निम्ति लड्दा दार्जीलिङका राजनैतिक नेताहरूले उक्त आन्दोलनलाई विफल पारेको उदाहरण प्रस्तुत गर्दै यदि यसपल्ट साँच्चै दार्जीलिङ पहाडका जनताले आफुलाई चुनेर विधानसभा पठाए जनताको हितमा इमान्दार बनेर कार्य गर्ने पनि दाबी गरे।
‘पर्जा-पट्टाको निम्ति हामीले काम गरिरहेका छौँ। यदि आज पनि व्यवहारिक बनेर स्पष्ट भन्नु हो भने विधानसभामा यहीँ माथि धेरै काम गर्न सक्छौँ। अस्ती साथीहरूले लोकसभाको चुनावामा पर्जा-पट्टा भन्दै थिए। वास्तवमा त्यो मुद्दा लोकसभा चुनावको मुद्दा नै होइन। यसैकारण हामी विधानसमा पर्जा-पट्टाको निम्ति काम गर्नेपक्षमा छौँ’ अमर लामाले अझ भने –‘साथीहरूले जातिय एकता पनि भन्छन्। सायद यो विधानसभा पनि त्यस्तै जातिय एकताको कुरा गर्लान् अनि भविष्यमा जीटीए चुनाव, पञ्चायत र नगरपालिका चुनावमा पनि जातिय एकताकै कुरा गरेर भोट लड्लान्। हामी त्यस्तो कुरा नगरेर व्यवहारिक कुरा गर्छौँ। जुन ठाउँमा जे हुनसक्छ त्यहीँ कुरा गर्छौँ। पर्जा-पट्टा नै पहिलो हाम्रो मुद्दा हुनेछ।’
यसैक्रममा उनले वितेको लोकसभा चुनावमा जातिय एकताको कुरा गर्नेहरूले वास्तविक जातिय एकताकै निम्ति साझा प्रार्थीको सहमतिमा काम गर्नुपर्छ भनेर पहल गर्दा जातिय एकता बनिन नसकेको तितो अनुभव पनि साझा गरे। यसक्रममा उनले जातिय एकताकै निम्ति साझा प्रार्थीको कुरा गर्नेहरूले बिचमा के कसो गरे भन्ने सबैलाई थाह पाएको पनि बताएका छन्।
‘म बिधानसभाभित्र खुट्टा टेक्न पायो भने पर्जा-पट्टा र निम्नतम रोजगारको मुद्दालाई माथि पुर्‍याएर फत्ते पार्न सक्नेछु’ लामाले भने।
स्मरण रहोस्, अमर लामा यसभन्दा अघि सन् 2006 मा पीपल्स डोमोक्रेटिक फ्रन्ट (पीडीएफ) को समर्थनमा निर्दलीय प्रार्थीका रूपमा दार्जीलिङ विधानसभा क्षेत्रबाट चुनाव लडेका थिए। त्यस समय उनको कडा प्रतिस्पर्धा गोरामुमो पार्टीका प्रार्थी प्रणय राईसँग भएको थियो। गोरामुमोका प्रार्थी प्रणय राईले त्यसबेला 58,646 भोट पाएर बिजयी बनेका थिए भने अमर लामाले 36,636 भोट पाएका थिए। उनी गोरामुमो प्रार्थी प्रणय राईसँग 22,010 भोटको अन्तरले पराजित बनेका थिए भने त्यसबेला सीपीआई(एम) प्रार्थी केबी वातरले 12,755 भोट पाएका थिए अनि अल इण्डिया तृणमूल कङ्ग्रेस पार्टीका प्रार्थी गोपालसिंह छेत्रीले 2673 भोट पाएका थिए।

No comments:

Post a Comment

Post Bottom Ad