बसिबियाँलोको वार्षिकोत्सव सम्पन्न : नेपालीभाषीहरूले नियमित भेटघाट गर्ने यो वौचारिक चौतारी हो – ध्रुव प्रधान - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, April 22, 2019

बसिबियाँलोको वार्षिकोत्सव सम्पन्न : नेपालीभाषीहरूले नियमित भेटघाट गर्ने यो वौचारिक चौतारी हो – ध्रुव प्रधान

गफसफ.com,मुम्बई 21 अप्रेल। 

मुम्बईको दादरस्थित दामोदर भवनको मेहता इमारतमा मासिक वैचारिक भेटघाटको कार्यक्रम बसिबियाँलो-को बाह्रौँ प्रकरण सम्पन्न हुनाका साथै गत वर्षदेखि सुरू भएको यो लोकप्रिय सामाजिक गोष्ठीले आफ्नो पहिलो वर्षगाँठ पुरा गऱ्यो। बसिबियाँलो-का महिला सहयात्रीहरू श्रीमती शकुनसिँह राई अनि स्वस्तिका छेत्रीको विशेष घरपटीत्वमा सम्पन्न यस कार्यक्रममा मुम्बईका विभिन्न इलाकाबाट नेपालीभाषीहरूका साथै हिन्दीभाषी मानिसहरूको उपस्थिति रहेको थियो। 

कार्यक्रमको सुरूमा घरपटीको पक्षबाट स्वागत वक्तव्य राख्दै सामाजिक कार्यकर्ता तथा कलाकार शकुन सिँह राईले आचार संहिता पाठ गरिन्। उनले बसिबियाँलो एउटा खुल्ला मञ्च रहेको अनि यसमा व्यक्तिलाई भन्दा धेर महत्त्व विचारलाई दिइने जानकारी दिँदै आफु धेरैवटा संस्थाहरूसित जड़ित रहेर आए तापनि बसिबियाँलो-जस्तो वैचारिक मञ्चसित सम्बन्धित भएर सामाजिक कार्य निष्पादन गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताइन्। यस गोष्ठीका नाइके हीरा छेत्रीले बसिबियाँलो-को परिचय अनि यसका सामाजिक दायित्वबारे प्रकाश पार्दै मुम्बईजस्तो व्यस्ततम महानगरीमा गत वर्ष पहिलो प्रकरण सुरू गर्दा यो कार्यक्रमले यति सुचारु रुपमा लोकप्रियता प्राप्त गर्ने विषयमा आफुभित्र विश्वास नरहेको बताउँदै सम्पूर्ण सहयात्रीहरूलाई एक वर्ष पुरा गरेको उपलक्ष्यमा बधाई दिए। 

नयाँ अनि पुराना सहयात्रीहरूको उपस्थिति रहेको यस दिनको कार्यक्रमलाई सम्बोधन गर्दै यहाँको पुरानो सामाजिक संस्था भारतीय गोर्खा एकता समाजका संस्थापक अध्यक्ष ध्रुव प्रधानले मुम्बईजस्तो व्यस्ततम ठाउँमा सबै नेपालीभाषीहरू आआफ्ना दैनिक कामकाजमा अल्झिएर जाति, समाज, संस्कृति, भाषाजस्ता आवश्यक तत्त्वहरू बिर्सिने सँघारमा पुगेको बेला बसिबियाँलो-जस्तो अवधारणाको बिजारोपण हुनु समाजको लागि खुबै ठुलो उपलब्धि रहेको दाबी गरे। एक वर्षदेखि लगातार हरेक महिना यसरी विचारहरूको आदान-प्रदान गर्दै विभिन्न सांस्कृतिक, भाषिक कार्यक्रमहरू आयोजना गरेर ल्याउन सक्षम बनेका यस अभियानका सबै सहयात्रीहरूलाई हार्दिक बधाई प्रकट गर्दै उनले ईसाईहरू भेला हुने गिर्जा, सिखहरूले मनको कुरा साटासाट गर्ने  गुरूद्वारा, इस्लामहरू एक ठाउँ हुने मस्जिद भए तापनि नेपालीभाषीहरू एकत्र भएर एकअर्काका दुक्खसुख विनिमय गर्ने स्थान नभएको बेला बसिबियाँलो-ले सो कमी पूर्ण गरिदिए मुम्बईको नेपाली-गोर्खा समाजमा एउटा क्रान्तिकारी पाइला चालेको उनले घोषणा गरे। डुअर्सको हेमिल्टनगन्जमा जन्मेर कालेबुङमा शिक्षार्जन गरी आजभन्दा तीस वर्षअघि मुम्बई आएर बेपारको क्षेत्रमा कार्य गरेर आज सफलतम उद्योगीको सूचीमा आउने प्रधानले आफु पेशागत व्यस्तताका कारण नियमित रुपमा बसिबियाँलो-मा हाजिर हुन सक्षम नभए तापनि यस मासिक वैचारिक गोष्ठीका हरेक प्रकरणबारे सुसूचित रहेको जानकारी दिँदै निकट भविष्यमा यससँग सदैव संलग्न रहने आफ्नो प्रतिश्रुति दिए। आफ्नो संस्था भागोएस-को तत्त्वावधानमा कतिपय सामाजिक कार्यहरू गत केही सालदेखि नै सञ्चालन गरेर आइरहेको जानकारी दिँदै उनले आर्थिक रुपले कमजोर रोगीहरूका लागि उक्त सङ्गठनले बस्ने ठाउँहरू उपलब्ध गराइदिने गरेको पनि बताए।

यसरी नै मूल प्रवाह अखिल भारतीय नेपाली एकता समाजका संरक्षक तथा व्यवसायी सी. पी. सुवेदीले पहिलोपल्ट बसिबियाँलो-को मञ्चमा उपस्थित हुन पाउँदा हर्षानुभव भएको बताउँदै ठेट नेपाली भाषाहरूको प्रयोग गरेर सम्पन्न हुने यस मासिक वैचारिक मञ्चले भाषाको आधारमा नेपालीहरूलाई एकसूत्रमा गाँस्ने कार्य गरिरहेकोमा प्रशंसा व्यक्त गर्दै आफ्ना अनुभवहरूसहित स्वरचित गीतहरू सुनाएर सबैलाई मन्त्रमुग्ध पारे। 

कार्यक्रममा उपस्थित सबैले आआफ्नो परिचय प्रदान गरे भने नौसेना अधिकारीद्वय दिनेश पौड्याल अनि टिकाराम शिवाकोटीले गीत अनि बाँसुरीवादन प्रस्तुत गरे। यसरी नै कलाकार मुस्कान शर्माले नेपाली अनि हिन्दी संवादमा अभिनय प्रस्तुत गरिन् भने दिपसाना राई चामलिङले नेपाली अनि लक्ष्मी थापाले हिन्दी नाच प्रस्तुत गरे। यसरी नै स्वस्तिका छेत्री, शकुन सिँह राई अनि मनु जोशीले आफ्ना कविताहरू सुनाएका थिए।

यस दिनको कार्यक्रममा भाइन्दर, बोरिवली, नेभी नगर, कोलाबा, अन्धेरी, एन्टप हिल, माहिम, साकिनाका, मलाढ, गोरेगाउँ, चेम्बुर अनि वर्लीबाट बिनिता चौलागाईँ, विक्रम कण्डेल, विजय राई, सागर शर्मा, नेहा मुखिया, चयराम मुखिया, विकास दूतराज, रामसिहँ तिरुवा, नमन छेत्री, साहिल थापा, मुन्ना राई, लक्ष्मी राठौड़, गीता थापा, शोभा सिँह, सुजाता राई, याचना छेत्री, भरत बी सिँह, महेन्द्र डी. सिँह अनि कमल सिँह आदिको उपस्थिति रहेको थियो। आगामी तेह्रौँ बसिबियाँलो-को घरपटीको अभिभारा ग्रहण गर्दै लक्ष्मी थापाले सबैलाई हार्दिक निमन्त्रणा गरेपछि कार्यक्रम समापन भएको थियो।

No comments:

Post a Comment

Post Bottom Ad