गोर्खा जातिको राष्ट्रिय चिह्नारी र सुरक्षाको निम्ति ठोस कार्य गर्नेछौँ – ममता ब्यानर्जी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, April 12, 2019

गोर्खा जातिको राष्ट्रिय चिह्नारी र सुरक्षाको निम्ति ठोस कार्य गर्नेछौँ – ममता ब्यानर्जी

गफसफ.com, खर्साङ, 12 अप्रेल।
गोर्खा जनमुक्ति मोर्चा समर्थित तृणमूल कङ्ग्रेस पार्टीका प्रार्थी अमरसिंह राईको चुनाव प्रचारको क्रममा तृणमूल नेत्री ममता ब्यानर्जीले ‘जय गोर्खा’-को नारा लगाइन्। अहिलेसम्म उनलाई गोर्खा विरोधी भनिन्दै आइरहेको अवस्थामा आज खर्साङमा चुनावी जनसभा स्थलबाट मुख्यमन्त्री अवम् तृणमूल पार्टी अध्यक्ष ममता ब्यानर्जीले ‘जय गोर्खा’-को नाराबाजी लगाएर गोर्खाहरूको मन जित्ने प्रयास गरेकी छन्।
‘मेरा सम्पूर्ण पहाडवासी, आमा-बाबा, दिदी- भाइ, दाजु-बहिनीलाई मेरो नमस्कार। हाम्रो प्रार्थी अमरसिंह राईलाई भोट दिएर बिजय बनाउँनुहोस्। पहाडवासी मेरो हृदयमा बसेको छ। म सम्पूर्ण पहाडवासीको उन्नती चाहन्छु, सम्पूर्ण गोर्खाहरूको उन्नती चाहन्छु’ ममता ब्यानर्जीले नेपाली भाषामा सम्बोधन गर्दै भनिन्।
उनले प्रार्थी अमरसिंह राईको नाउँ ईभिएम मसिनको पहिलो नम्बरमा रहेको बताउँदै दुईवटा ईभिएम मसिन भएको कारण जनता अन्योलमा पर्न नहुने अपिल गर्दै अमरसिंह राईलाई बिजयी बनाउनुपर्ने उनले आह्वान गरिन्।  खरसाङको मन्टिभियट मैदानमा आयोजना भएको चुनावी जनसभामा विभिन्न स्थानहरूबाट धेरै संख्यामा मानिसहरूको भीड जमेको थियो। यसक्रममा तृणमूल कंग्रेस नेत्री ममता व्यानर्जीले तृणमूल कंग्रेसको चुनाउ चिन्ह पनि देखाइन्। यसक्रममा उनले बङ्गालमा भारतीय जनता पार्टी शुन्यमा सिमित हुने दाबी गरिन्।  

‘गत लोकसभा चुनाउमा भाजपाले बङ्गालबाट 2 वटा लोकसभा आसन जितेको थियो, तर यसपाली एउटा आसन पनि जित्ने छैन। किनभने, भाजपाले देशका जनतालाई केवल मर्का दिएको छ, बेरोजगारी दिएको छ’ ममता ब्यानर्जीले अझ भनिन्  -‘भाजपा सरकारले दार्जीलिङ पहाडलाई के दियो?
उनले आफ्नो सम्बोधनको क्रममा गोर्खा समुदायला 11 जात गोष्टिलाई जनजातिको मान्यता दिनका निम्ति बङ्गालको क्याइनेटमा उक्त प्रस्ताव पारित गरेर केन्द्रलाई पठाएको दाबी गर्दै यता भाजपा सरकारले भने उक्त प्रस्तावलाई पारित गर्ने कार्य नगरेको तृणमूल नेत्री ममता ब्यानर्जीले दाबी गरिन्। ‘बङ्गाल सरकारको क्याबिनेटमा 2014-मा 11  वटा जात-गोष्ठीलाई जनजातिको मर्यादा दिनुपर्ने प्रस्ताव पारित गरेर केन्द्र सरकारसमक्ष पठाएको हो। तर यसको लागि केन्द्र सरकारले केही गरेन’ ममता ब्यानर्जीले भनिन।
यसैक्रममा उनले केन्द्रिय विश्‍वविद्यालयको माग गरिए पनि यसमाथि केन्द्र सरकारले केहि नगरेको आरोप लगाउँदै सोहि कारण राज्य सरकारले दार्जीलिङलाई स्टेट युनिभर्सिटी दिएको स्पष्ट पारे। उनले जनसभालाई सम्बोधन गर्ने क्रममा गोर्खा जातिको राष्ट्रिय चिन्हारी र सुरक्षाको प्रश्नलाई समाधान गर्ने कुरा पनि पुन: दोहोर्‍याएकी छन्।
‘गोर्खा जातिको चिन्हारी र सुरक्षाको जुन प्रश्‍न छ, त्यसमाथि चुनाउपछि राज्यले अवश्यै ठोस पहल गर्नेछ’ ममता ब्यानर्जीले भनिन्। यसका साथै आज पनि उनले पर्जा-पट्टा वा जमीनको मालिकाना अधिकार प्रदान गर्ने, चियाश्रमिकहरूका लागि न्यूनत्तम रोजी ऐन लागू गर्नेबारे ठोस पहल गर्ने आश्‍वासनलाई पुनः दोहोर्‍याइन्। यसका साथै उनले गोजमुमो अध्यक्ष विनय तामाङ, महासचिव अनित थापा, हिल तृणमूल कंग्रेस अध्यक्ष एलबी राई, राज्यसभा सांसद शान्ता छेत्री आदिलाई पहाडको विकासको लागि एकसाथ बनेर कार्य गर्ने निर्देश दिइन्।
यस चुनावी जनसभालाई सम्बोधन गर्ने क्रममा उनले अझै अघि भनिन्-गोर्खा रेजिमेन्ट देशको गौरव हो। तर चुनाउको समय नरेन्द्र मोदीले सेनाको नाममा भोट माग्ने काम गरिरहेका छन्, म त्यस्तो कदापि गर्ने छुइनँ।

No comments:

Post a Comment

Post Bottom Ad