पहाडको समस्याको समाधान ममता सरकारलाई उखलेर फ्याँकेपछि हुनेछ – अमित शाह - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, April 11, 2019

पहाडको समस्याको समाधान ममता सरकारलाई उखलेर फ्याँकेपछि हुनेछ – अमित शाह

गफसफ.com, कालेबुङ, 11 अप्रेल।
‘यो पुरा उत्तर पूर्वीय क्षेत्र अनि बङ्गाललाई घुसपैठरूले धमिराले जस्तै खाइरहेका छन्। यसकारण घुसपैठीहरूलाई देशबाट निकाल्न पर्छ । आज उनीहरूलाई निकाल्छु भन्दा ममता दिदीलाई चिन्ता हुँदैछ अनि यहाँबाट भागेर बाँच्न पर्नेहरूको उनलाई चिन्ता छैन। हामी एनआरसी लागु गरेर घुसपैठीहरूलाई खोजी खोजी निकाल्नेछौँ’ – उक्त कुरा भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष अमित शाहले भनेका हुन्।

दार्जीलिङ लोकसभा आसनबाट चुनावी मैदानमा ओर्लिएका भाजपा प्रार्थी राजु विष्टको चुनाउ प्रचारमा आएका अमित शाहले पश्चिम बङ्गालबाट ममता ब्यानर्जीको सरकारलाई उखलेर फ्याँक्नुपर्ने आह्वान गर्दै ममता सरकारलाई हटाए मात्रै गोर्खाहरूले न्याय पाउने दाबी पनि गरे। यसक्रममा उनले आफ्नो धेर समय नै ममता ब्यानर्जीको आलोचना गर्नमा खर्च गरे।
चुनाउ प्रचारको निम्ति पहिलोपल्ट कालेबुङ आइपुगेका भाजपा अध्यक्ष अमित शाहको जनसभा अपेक्षाकृत जनताको भीड भने रहेको थिएन। यद्यपी विभिन्न ठाउँहरूमा भाजपा, गोजमुमो विमल गुट, गोरामुमो, क्रामाकपा आदि राजनैतिक दलका समर्थकहरू जनसभामा उपस्थित बनेका थिए।

एकातिर उनले बङ्गालमा एनआरसी लागु गरेर घुसपैठहरूलाई खोजी खोजि निकाल्ने दाबी गरे पनि अर्कोतर्फ हिन्दु शरणार्थीहरूलाई भने नरेन्द्र मोदीको सरकारले देशको नागरिकता दिने दाबी गरे। ‘हामी सिटिजन एमेन्डमेन्ड बील ल्याएर आउनेछौँ। यसमा गोर्खाहरू डराउनुपर्दैन। यसका साथै छिमेकी देशहरूबाट आएका हिन्दु, वौध, सिख, जैन, ईशाई शरणार्थीहरूलाई हामी देशको नागरिकता दिनेछौँ’ अमित शाहले भने।
स्व. सुवास घिसिङको नाम उच्चारण गर्दै उनलाई श्रद्दाञ्जली अर्पण गरेर आफ्नो सम्बोधन सुरु गर्ने अमित शाहले पहाडको जनजातिको समस्या समाधान गर्ने बाजा गरे। उनले केन्द्रमा नरेन्द्र मोदीको सरकार पूर्व बहुमतको साथमा बनिने दाबी गर्दै आगामी 26 मईको दिन गोर्खाहरूले आफ्नो परिणाम पाउने पनि शाहले बताएका छन्। ‘यसपल्ट दिदी जतिनै कराए पनि 26 तारिको दिन दिदी जाने तय हुनेछ।बङ्गालमा 23 सिटभन्दा धेर भाजपाले जित्नेछ। त्यसै दिन ममता दिदीको सत्ताको तुष्टिकरणको अन्त्य हुनेछ’ अमित शाहले अझ भने –‘सुवास घिसिङदेखि अहिलेसम्म तपाईँहरूले जुन संघर्ष गर्नुभएको छ, जुन बेदना उटाइरहनुभएको छ त्यसको परिणाम आगामी 26 मईका दिन हुनेछ।’ 

यसक्रममा भाजपा अध्यक्ष अमित शाहले दार्जीलिङ पहाडबाट राज्य सरकारको कारण भाग्न परेका मानिसहरूलाई पनि पुन: पहाडमा फर्काएर ल्याउने कार्य गर्ने पनि आफ्नो सम्बोधनमा बताए। ‘मैले तपाईँहरूको नेताहरूलाई दिल्लीमा बारम्बार देखेको छु। आँखामा आँसु देखेको छु। सैकडौँ झूटो मुद्दा लगाएर जेलमा हाल्ने कार्य गरेको छ। उनीहरूको साथमा भाजपा चट्टान बनेर खडा हुनेछ’ शाहले भने।
यसैक्रममा उनले भारतीय जनता पार्टीले आफ्नो चुनावी घोषणा पत्रमा गोर्खा समुदायका 11 जात गोष्ठिलाई जनजातिको मान्यता दिने कुरा उल्लेख गरेको दाबी गर्दै उक्त कुरा पुन: दोहोर्‍याएका छन्। ‘हामीले घोषणापत्रमा गोर्खा समुदायका उपजातिवर्गलाई भारतवर्षमा जनजातिको मान्यता दिने कुरा लेखेका छौँ। हाम्रो सरकारले निश्चय नै यो संकल्प पुरा गर्नेछ’ अमित शाहले भने।
यसक्रममा उनले ममता ब्यानर्जीको सरकार बङ्गालमा सबैभन्दा भ्रष्ट सरकार रहेको भन्दै तेर्मो मोर्चाको गठबन्धन सबैलाई सत्ता र भ्रष्टचार चाहिएको पनि अमित शाहले आरोप लगाए। उनले आफ्नो सम्बोधनको क्रममा चिया श्रमिकहरूलाई पनि न्याय दिने बाचा गर्दै आसममा भाजपा सरकारले धेरै कार्य गरेको उदाहरण दिँदै बङ्गालको चिया बगानमा पनि भाजपाले न्याय दिने दाबी गरेका छन्। 

शाहले भाजपा प्रार्थी राजु विष्ट एकजना सक्षम व्यक्ति रहेको बताउँदै उनी गोर्खा नै रहेको कारण पनि उनलाई जनताले साथ दिनुपर्ने शाहले अपिल गरे। उनले पश्चिम बङ्गालबाट पहाडको समस्या समाधान गर्नका निम्ति ममता सरकारलाई हटाउनु पर्ने पनि उनले बताएका छन्। ‘पहाडको समस्या समाधान ममता दिदीको सरकारलाई हटाउनु हो। गोर्खाहरूको तीन दशकको संघर्ष बिजय ममता दिदीलाई उखेलेर फ्याँक्नमा छ’ अमित शाहले भने।

No comments:

Post a Comment

Post Bottom Ad