गोर्खाल्याण्ड आन्दोलन र सिब्सुमा सहिद बनेको दिन... - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, February 7, 2019

गोर्खाल्याण्ड आन्दोलन र सिब्सुमा सहिद बनेको दिन...

 विचार/राजनीति_________________________________  डी.के वाइबा 
एकदिन ड्याङ...ड्याङ.. गरेर पुलिसको गोलि चल्यो अनि यता बिमला राई, बिक्की लामा र निता खवास ढले। अर्थात् उनीहरूलाई गोलि लाग्यो। सिब्सुको जङ्गलमा तीरङ्गा झण्डा बोकेर गोर्खाल्याण्डको नाराबाजी गर्दै डुवर्स पसेकाहरू छरपष्ट भएर भाग्न पर्‍यो। गोर्खाल्याण्डका योद्धाहरूलाई तत्कालिन ब्रामफ्रन्ट सरकारको प्रशासनले सिब्सुको जङ्गलमा आतङ्ककारीहरूलाई झैँ निधारमा गोलि ठोकेर मार्‍यो।
FILE PHOTO
गोर्खाल्याण्ड आन्दोलनको इतिहासको पन्नामा त्यो 8 फरवरी 2011 को कालो दिन थियो। त्यसबेला जीटीए व्यवस्था बनिएकै थिएन। तर जीटीए व्यवस्थाको भने गर्भधान निश्चय हुँदै थियो। गोर्खाल्याण्ड नाउँको आन्दोलनलाई अभूतपूर्व जनताको साथ र सहयोग पाएर अघि बडाईरहेका तत्कालिन गोजमुमोका अध्यक्ष एवम् वर्तमान भूमिगत नेता विमल गुरुङले जीटीए जस्तो पङ्गु व्यवस्थाको गर्भधान भने निश्चय गराउँदै थिए। किन भने त्यसबेला ‘प्राधिकरण’ नाउँ चर्चामा थियो।
क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) अध्यक्ष आर.बी राईले छुट्टै राज्य गोर्खाल्याण्डको नाउँमा विमल गुरुङले ‘प्राधिकरण’-नाउँको असंवैधानिक व्यवस्था स्वीकार गर्न आन्दोलनको नाटक गरिरहेको आरोप लगाइरहेका थिए। त्यहीँ समय पश्चिम बङ्गालमा विधानसभा चुनावको चुनावी वातावरण पनि तातिन्दै थियो। अनि विमल गुरुङले डुवर्स पैदल यात्राको घोषणा गरेर पहिलो चरणमा कुमानीसम्म पुगेका थिए।
उसै त त्यसबेला विमल गुरुङलाई डुवर्स पैदल यात्रा गर्नै पर्ने कुनै आवश्यक्ता थिएन। यता प्रशासनलाई पनि विमल गुरुङको पैदल यात्रा रोक्न पर्ने महत्वै थिएन। तर जब राजनीतिमा प्रेस्टिजको ईश्यु हुन्छ तब सबै आफ्नो हटबाट पछि हट्न चाहँदैनन्। ठिक त्यस्तै भयो त्यसबेला पनि।
विमल गुरुङ डुवर्स हिँडेरै पुग्ने जिद्दीमा थिए अनि यता प्रशासन विमल गुरुङलाई जानै नदिने अडानमा बसे। त्यहीँ प्रशासन र नेता बिचको जिद्दीपनको परिणामस्वरूप तीनजना जीएलपीका जवानहरू सहिद बने। बिमला राई, बिक्की लामा र निता खवास सधैँका निम्ति आफ्नो सर्वोच्च बलिदान दिएर सिब्सुको भूमिमा सहिद बने।
उनीहरूको बलिदानकै रगत कुल्चेर पछि गोर्खाल्याण्डको आन्दोलन हाँक्ने विमल गुरुङहरूले अहिले ‘जीटीए’ जस्तो असंवैधानिक व्यवस्थामा हस्ताक्षर गरेर गोर्खाहरूको दीर्घकालिन आकाङ्क्षा पुरा गर्ने सपना देखेका हुन्। जुन सपना मोदीको सपना जस्तै बनेको छ। त्यसबेला उनीहरूले जीटीएलाई गोर्खाल्याण्ड सम्म पुग्ने ‘सिँढी’ हो समेत भनेका हुन्। जुन सिँढी बिचैमा भाँच्चिएपछि सिँढी चड्नेहरूको अवस्था अहिले सबैलाई थाहै छ।
बङ्गालमा बामफ्रण्ड सरकारको धरातलमा धमिरा लागिसकेको थियो अनि यता सिब्सुको गोलिकाण्डले गोर्खाहरूको मनमा झनै बामफ्रण्ड प्रतिको आक्रोश भरिदिएयो। यता ममता ब्यानर्जी राज्यमा सिङ्गुर र नद्नीग्रामको मुद्दा बोकेर सत्तामा पुग्ने छाँटमा देखिन्थिन्। त्यसैबेला गोर्खाल्याण्डको आन्दोलन हाँक्ने विमल गुरुङले बामफ्रण्टलाई सत्ताच्युत पार्ने कसम खाए अनि उता ममता ब्यानर्जीले आफु सत्तामा आएको एकसय दिनभित्र पहाडको समस्या समधान गर्ने घोषणा गरिन्।
संयोग ठ्याक्क मिल्यो। राज्यको सत्ताबाट बामफ्रण्ट ढल्यो। यता ममता सत्तामा आईन् अनि पहाडबाट विमल गुरुङकै आशिर्वादमा चुनाव जितेर बिधायक बनेका डा. हर्कबहादुर छेत्री, डा. रोहित शर्मा र त्रिलोक देवानहरूलाई गुरुङले सरकार पक्षमा नै समर्थन गरेर बस्न अह्राए। त्यसपछि गोर्खाल्याण्डको आन्दोलन हाँक्नेहरूले गोर्खाल्याण्ड टेरिटोरिअल एडमिनिस्ट्रेसन जस्त असंवैधानिक व्यवस्थामा सम्झौता गरेका हुन्।
ममता ब्यानर्जीले साँच्चै सत्तामा आएको सयदिन भित्रै दार्जीलिङमा चलेको आन्दोलनमा चिसो बस्तामा हालिन्। उनले जीटीए वयवस्थामा हस्ताक्षर गराएर राष्ट्रको सामु गोर्खाल्याण्ड आन्दोलनलाई सेलाएको दाबी गरिन्। यतिमात्रै होइन त्यसदिन उनीहरूले सम्झौता गरेपछी मुख्यमन्त्री ममता ब्यानर्जीकै मुखारवृन्दबाट ‘बङ्गाल विभाजन होबेना’-को पहिलो बयान सुनेर थप्पडी बजाएकै हुन् अनि गोर्खाल्याण्ड माग्नेहरू केवल शब्दमा ‘गोर्खाल्याण्ड’ जोडिएको टेरिटोरिअल एडमिनिस्ट्रेसन बोकेर पहाड छिरेर सत्ता हाँक्न तम्सेका हुन्।
यी सबै दृष्यहरूलाई आजकै दिन अर्थात 8 फरवरी 2011 मा सिब्सुमा गोलि लागेर सहिद बन्ने बिमला राई, बिक्की लामा र निता खवासहरूले देख्दो हुन् त नेताहरूलाई सम्झेर के भन्थे होलान्?
हामी पाठक त के भन्न सक्छौ र? बस सहिदहरूलाई एकमुठ्ठी श्रद्धाञ्जली !!

1 comment:

  1. Bhannu ke nai saakchu ra bus mero mann ma thulo sradha cha shahid prati.🙏

    ReplyDelete

Post Bottom Ad