भारतका राष्ट्रपति रामनाथ कोविन्दको ७० औं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा राष्ट्रको नाम सन्देश - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Friday, January 25, 2019

भारतका राष्ट्रपति रामनाथ कोविन्दको ७० औं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा राष्ट्रको नाम सन्देश

मेरा प्यारा देशवासी,
७० औं गणतन्त्र दिवसको पूर्व सन्ध्यामा तपाईंहरू सबैलाई मेरो हार्दिक शुभकामना!
यो दिवस, लोकतन्त्रमा आधारित हाम्रो गणराज्यको उच्च आदर्शलाई स्मरण गर्ने अवसर हो। यो दिवस, देशका सबै नागरिकका लागि स्वतन्त्रता, समानता, अनि सौहार्दताको आदर्शप्रति आफ्नो आस्था दोहोर्‍याउने अवसर हो। तथा यी सबैभन्दा माथि, हाम्रो गणतन्त्र दिवस, हामी सबै भारतीय हुनुको गौरव महसुस गर्ने अवसर पनि हो। 

 हाम्रो गणतन्त्रको निम्ति यो वर्ष विशेष रूपले महत्त्वपूर्ण छ। यसै वर्ष २ अक्टोबरको दिन हामी राष्ट्रपिता महात्मा गान्धीको १५० औं जयन्ती मनाउन गइरहेका छौं। गान्धीजीले हामी सबैलाई एउटा नयाँ दिशा देखाए। उनले भारतलाई मात्र नभएर एशिया, अफ्रिका तथा विश्‍वका कैयौं अन्य देशमा साम्राज्यवाद समाप्त गर्नका लागि मानिसहरूमा आत्मविश्‍वास तथा प्रेरणा सञ्चारित गर्दै स्वतन्त्रताको बाटो देखाए। बापू, आज पनि हाम्रो गणतन्त्रको निम्ति नैतिकताका प्रकाशपुञ्ज हुन्‌। आज पनि उनको जीवन अनि उनको शिक्षा हाम्रो नीति तथा क्रियाकलापका कसी रहेका छन्‌। महात्मा गान्धीको १५० औं जयन्ती, भारतमा मात्र नभएर सम्पूर्ण विश्‍वको निम्ति, उनको आदर्शको गहिराई बुझ्ने, अप्नाउने र व्यवहारमा उतार्ने अवसर हो।
 गान्धी जयन्तीको समयपछि, २६ नोभेम्बरको दिन हामी सबै आफ्नो संविधान दिवसको ७० औं वर्षगॉंठ पालन गर्नेछौं। २६ नोभेम्बर, १९४९ को ऐतिहासिक दिन, संविधानसभाको माध्यमद्वारा हामीले भारतका जनसमुदायको निम्ति आफ्नो संविधान अप्नाउँदै स्वयंलाई समर्पित गरेका थियौं। त्यसको ठीक दुई महिनापछि २६ जनवरी, १९५० को दिन हामीले आफ्नो संविधान लागू गरेका थियौं र भारत एउटा गणराज्यको रूपमा स्थापित भएको थियो। हाम्रो संविधान, हाम्रो गणराज्यको आधारशिला हो। यो एउटा दूरदर्शी साथै जीवन्त दस्तावेज हो। उच्च आदर्श अनि देशप्रेमले ओतप्रोत, संविधानसभाका विद्वान् सदस्यहरूले यसको रचना गरेका थिए। गणतन्त्र दिवसको अवसरमा संविधान रचनाका प्रमुख शिल्पी बाबासाहब डा. भीमराव अम्बेडकरको योगदान विशेष रूपमा स्मरणीय छ। हाम्रो संविधानका साथै उनको सम्मानमा राष्ट्रले संविधान दिवस उपयुक्त हिसाबले पालन गर्नेछ।
 भारतको स्वतन्त्रताका साथै हाम्रो गणराज्यलाई दिशा प्रदान गर्ने मूल्य अद्यापि अविराम जारी छ - जुन मूल्य हाम्रो लोकतन्त्र अनि संविधानमा अन्तरनिहित छ, त्यस जनप्रभुतालाई पनि अक्षुण्ण राखेको छ। यस वर्ष भारतका जनसमुदायमाथि, हामी प्रत्येकमाथि ठूलो अभिभारा आउनेछ, जुन १७ औं लोकसभाको निम्ति आम चुनाउमा मतदानको अभिभारा हो। हाम्रो लोकतन्त्रको आदर्श अनि दिग्दर्शन प्रभावी देखिनेछ। एकपटक फेरि, प्रत्येक पाँच वर्षमा दोहोरिने प्रक्रियाअनुरूप मतदाताहरूले आफ्नो भविष्य निर्धारण गर्न मताधिकार प्रयोग गर्नेछन्‌। एकाइसौं शताब्दीमा जन्म लिनेहरूले प्रथमपटक नयाँ लोकसभा चुनाउ गर्न आफ्नो योगदान दिनेछन्‌।
 चुनाउ राजनीतिक अभ्यास मात्रै होइन। चुनाउ एउटा सामूहिक विवेकका साथै सामूहिक पहलको आह्वान पनि हो। यसले साझा अनि समानतावादी समाजको आशा र आकाङ्‌क्षाप्रतिको प्रतिबद्धता नविकरण गर्ने प्रतिबद्धता पनि प्रदर्शित गर्दछ। यसले विविधतापूर्ण गणतन्त्र भारतका जनसमुदायको एकबद्ध अपील पनि प्रतिनिधित्त्व गर्दछ। यसैले मतदान कार्यलाई अति पवित्र तुल्याउँदछ। कृपया यो कार्य अवश्यै गर्नुहोला। मतदाताले कसलाई चुन्नेछन्, त्यो उनको विवेकको कुरा हो, तर म केवल योग्य मतदातालाई गएर मतदान गर्न अनुरोध गर्न चाहन्छु। हाम्रो देश एउटा महत्त्वपूर्ण विन्दुमा पुगेको छ। केही हदसम्म यो  सन् १९४० वा १९५० तिर जस्तै महत्त्वपूर्ण साथै रचनात्मक घडीमा छ। आजको निर्णय अनि कार्यले २१ औं शताब्दीको भारतको स्वरूप निर्धारण गर्नेछ। यस अर्थमा यो केवल एक पिँढीको कुरा नभएर एक युगान्तकारी क्षण पनि हो।
 विकसित भारत निर्माण गर्दै हाम्रो जनआकाङ्‌क्षा र आशा पूरा गर्ने दिशामा यो निर्णायक पल रहने कुरा हामी सबैले याद राख्नुपर्नेछ। इतिहासमा प्रथमपटक चरम गरीबी निर्मूल गर्ने सँघारमा भारत पुगेको छ। सर्वव्यापी साथै समान स्वास्थ्य स्याहारको कार्यक्रम शुभारम्भ गरिएको छ। सुपथ मूल्यमा औषधिका साथमा चिकित्सा उपकरण देशका धेरै जनताको निम्ति यथार्थमा परिणत भएको छ। पहिलेको तुलनामा आज धेरै सङ्‌ख्यामा आज भारतीय जनसमुदायले समुचित आवासका साथमा स्वच्छता अनि विद्युतको सुविधा उपभोग गर्न पाइरहेका छन्‌।
 बन्दरगाहका साथमा आन्तरिक जलमार्ग, उन्नत रेलवे तथा नयाँ मेट्रो रेल सेवा, राष्ट्रिय राजमार्ग अनि ग्रामीण सडक, भारतभित्र विभिन्न इलाकामा सुपथ अनि सस्तो हवाई सेवाका साथमा बढ्‌दो सङ्‌ख्यामा मोबाइल फोन अनि डाटाको उपयोग अनि उपभोगको रूपमा सम्पर्क सुविधाले असाधारण रूपमा हामीलाई नजिक ल्याइरहेको छ। यस प्रकारले भारत आज एकसूत्रमा बॉंधिन पुगेको छ।
 प्रविधिको अग्रगमनसँगै हाम्रा कृषक अनि सेना सशक्त बन्दै गएका छन्‌। प्रविधिले आम नागरिकहरूलाई समर्थ बनाउनका साथै हाम्रा भावी पिँढीलाई शिक्षित पनि तुल्याइरहेको छ। यसले उद्यमशीलता जोश उत्प्रेरित गर्दै युवा पिँढीमा स्टार्टअप् गतिविधि प्रोत्साहित गरी विश्‍वको ध्यान आकर्षित गरिरहेको छ।
प्यारा देशवासी,
 देशको विभिन्न भागमा दौडाहा गर्दा समाजका हरेक वर्गका मानिससँग भेटघाट गर्ने क्रममा उनीहरूमा कठिन परिश्रम र इमान्दारीद्वारा हासिल उपलब्धिप्रति सराहनाको भावना व्याप्त पाउँदछु। अभावका स्थिति सामना गरिसकेका ती वरिष्ठ नागरिकहरूमा यो सराहनाको भाव अझ स्पष्ट झल्किएको पाउँदछु। हामीले हरेक क्षेत्रमा, हरेक वस्तुमा अभावलाई पर्याप्ततामा परिणत गरेका छौं। चाहे त्यो खाद्यान्न होस् वा एलपीजी सिलिण्डर, टेलिफोन वा राहदानी प्राप्त गर्ने प्रक्रिया, परिवर्तन स्पष्ट अनि दृश्यमान छ। धेरै सन्दर्भमा, प्रविधिले उल्लेखनीय भूमिका निर्वाह गरिरहेको छ भने सबै मामिलामा समावेशन नैतिक गुणक बनेको छ।
 समावेशन, सुलभता अनि सबैको निम्ति अवसरबिना भारतको विकास अधुरो नै रहनजानेछ, यसैले हामीले आफ्नो सम्झिने सबैलाई अङ्कमाल गर्न आवश्यक छ। यो देश हामी सबैको हो, प्रत्येक समुदाय अनि वर्ग, प्रत्येक क्षेत्र अनि अस्तित्त्वको हो। यो प्रत्येक नागरिक अनि व्यक्तिको हो। भारतको विविधता नै यसको शक्ति हो र विश्‍वमा सर्वश्रेष्ठ उदाहरण पनि। भारतको आदर्श विविधता, लोकतन्त्र र विकासको त्रिपाइमा खडा छ। हामीले कुनै एकलाई रोज्न वा त्याग्न सक्दैनौं कारण यी तीन गुण एकअर्काका पूरक हुन्‌।
 भारतको उल्लेखनीय सामाजिक परिवर्तनको उल्लेखनीय सूचकमा लैङ्गिक  समानतासँगै समान अवसरलगायत सबै बालिका अनि महिलाप्रति सबै परिस्थितिमा समानतातर्फको रूपान्तरण रहिआएको छ। मेरो अनुभवमा, अवसर प्रदान गरिए, छोरीहरूले छोराभन्दा उल्लेखनीय उपलब्धि हासिल गर्नसक्दछन्‌। देशका तरुण महिलाहरूले प्रत्येक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरिरहेका छन्, चाहे त्यो शिक्षामा होस् वा रचनात्मक कला वा खेलकूद अथवा सशस्त्र बलमै किन नहोस्‌। यो प्रक्रिया अविरल अविकल रहिआएको छ। यो नै भारतको भविष्यको मार्ग पनि हो।
मेरा प्यारा देशवासी,
 सबैलाई साथ लिएर अघि बढ्‌ने समावेशी भावना, भारतको विकासको मूलमन्त्र रहेको छ। यस विकासको परिधिमा हामी सबै देशवासी सामेल छौं। जनसुविधा सबैको पहुँचसम्म होस् तथा विकासका अवसर सबैले समान रूपमा पाओस्, यस सोचका साथ हामी अघि बढिरहेका छौं। देशको संसाधनमा हामी सबैको बराबरको हक छ, चाहे हामी कुनै समूहमा किन नपरौं, कुनै पनि समुगायको होस् वा क्षेत्रको। भारतको बहुलता हाम्रो सबैभन्दा ठूलो ताकत हो। हाम्रो विविधता सम्पूर्ण विश्‍वको निम्ति एउटा उदाहरण बनेको छ।
 गान्धीजीले आफ्नो पुस्तक मेरो सपनाको भारतमा लेखेका छन्, म यस्तो भारतको निर्माणका लागि कोशिश गर्नेछु, जसमा गरीबभन्दा गरीबले पनि यो देश उसको हो भन्ने महसुस गर्नेछन्, यसको निर्माणमा उनको आवाजको महत्त्व हुनेछ, जहॉं उँच-नीचको भेद हुनेछैन तथा स्त्रीहरूले पनि त्यही अधिकार पाउनेछन्, जुन पुरुषले प्राप्त गर्नेछन्‌। यस सन्दर्भमा, यसै महिना, संविधान संशोधनद्वारा गरीब परिवारका प्रतिभाशाली सन्ततिलाई शिक्षा अनि रोजगारको निम्ति विशेष अवसर उपलब्ध गराइएको छ। सामाजिक न्याय अनि आर्थिक  नैतिकताको मापदण्डमा जोड दिँदै समावेशी विकासको कार्यलाई अरू व्यापक आधार प्रदान गरिएको छ। प्रविधि अनि नयाँ सोचको बलमा समाजको हरेक वर्गका व्यक्ति विकासको यात्रामा सामेल भइरहेका छन्‌।
प्यारा देशवासी,
 हाम्रो महान् गणतन्त्रले एउटा लामो यात्रा तय गरेको छ। तर हामीले अझ धेरै अघि बढ्‌न आवश्यक छ। विशेष गरी, हाम्रा जुन भाइ-बहिनी विकासको दौडमा पछि पर्न गएका छन्, उनीहरू सबैलाई साथमा लिएर हामीले अघि बढ्‌नुपर्नेछ। २१ औं शताब्दीका लागि, हामीले आफ्नो लक्ष्य अनि उपलब्धिको नयाँ मापदण्ड निर्धारित गर्नुपर्नेछ। अब हामीले गुणस्तरमाथि अरू बढी ध्यान दिनुपर्नेछ। सबै वर्ग अनि सबै समुदालाई समुचित स्थान दिने राष्ट्रको रूपमा अघि बढ्‌दै हामीले एउटा यस्तो समा निर्माण गर्नुपर्नेछ, जसमा हरेक सन्ततिको विशेषता, क्षमता अनि प्रतिभाको कदर होस् अनि उसको विकासका लागि हरेक प्रकारका सुविधा र प्रोत्साहन उपलब्ध होस्‌।
 पारस्परिक सहयोग अनि साझेदारीको आधारमा समाजको निर्माण हुँदछ। चाहे परिवारको खुशी होस्, व्यवसायमा प्रगति होस्, समाज अनि राष्ट्रको निर्माण होस् अथवा एउटा उन्नत विश्‍वव्यवस्थाको स्थापना होस्, यी सबै उद्देश्य प्रत्येक व्यक्ति, समाज, सरकार अनि राष्ट्रको आपसी सहयोगबाट प्राप्त गर्नसकिन्छ। सहयोग अनि साझेदारीको यो भावना नै सम्पूर्ण विश्‍वलाई एक परिवार मान्ने वसुधैव कुटुम्बकम्को आदर्शको पनि आधार हो।
 विचारको सहज आदान-प्रदान, व्यापक संवादन अनि गहन संवेदनशीलताको माध्यमद्वारा साझेदारी शक्तिसाली बन्दछ। संवादन अनि संवेदनशीलताको उपयोगिता जुन प्रकारले परिवारको स्तरमा सहयोगको निम्ति प्रभावी सिद्ध हुँदछ, त्यसै गरी यो समाजको वञ्चित वर्गको सहभागिताको निम्ति पनि प्रासङ्गिक छ। हामीले यी वर्गको समस्या सुनेर-बुझेर  त्यसको समाधानको प्रक्रियालाई निरन्तर जारी राख्नुपर्नेछ।
 हाम्रो संस्कृति, परम्परा अनि जीवन आदर्शमा लोक सेवाले धेरै महत्त्व राख्दछ। हामी सबैको हृदयमा, ती व्यक्ति अनि संस्थाहरूप्रति सधै सम्मानभाव रहने गरेको छ, जो सामान्य कर्तव्यको सीमादेखि माथि उठेर लोकसेवाको निम्ति समर्पित रहने गर्दछ। राम्रो नियमका साथ गरिएको योगदानले मान्यता र सराहना पाउनुपर्दछ, चाहे त्यो योगदान कुनै व्यक्तिको होस्, समूहको वा निजी अथवा सार्वजनिक संस्था वा सरकारकै किन नहोस्‌।
मेरा प्यारा देशवासी,
 देश होस् वा विदेश, हरेक ठाउँ, जीवनको यही आदर्शले हाम्रो मार्गदर्शन गर्दछ। हाम्रो यही सोच, संयुक्त राष्ट्रको शान्ति मिशनमा, जलवायु परिवर्तनको मामिलामा, मानवीय सहयोग प्रदान गर्न वा फेरि प्राकृतिक आपदाको समय राहत पुर्‍याउने प्रसङ्गमा पनि देखिने गर्दछ। परिणामस्वरूप आज विश्‍व पटलमा भारतको योगदानको सराहना हुन थालेको छ र सम्पूर्ण विश्‍वमा हाम्रो मुलुकलाई विशेष सम्मानको दृष्टिले हेर्न थालिएको छ।
 यिनै आदर्शको आधारमा हाम्रो गणराज्य निर्माण भएको कुरा म यहॉं विशेष रूपमा उल्लेख गर्न चाहन्छु। लोकतान्त्रिक लक्ष्यलाई लोकतान्त्रिक माध्यमद्वारा, समावेशी लक्ष्यलाई समावेशी साधनद्वारा, करुणा अनि संवेदनासित जोडिएका लक्ष्यलाई करुणा अनि संवेदनाद्वारा तथा संवैधानिक लक्ष्यलाई संविधानसम्मत् साधनद्वारा प्राप्त गर्नु नै हाम्रो गणतन्त्रको मूल आस्था रहिआएको छ।
 हामी सबैले आफ्नो संविधानको माध्यमद्वारा, हामी भारतवासीले सबै देशवासीलाई सामाजिक, आर्थिक तथा राजनीतिक न्याय दिलाउने सामूहिक सङ्कल्प लिएका छौं। सबै भारतवासीलाई प्रतिष्ठा र अवसरको समानता उपलब्ध गराउनेछौं। हरेक व्यक्तिको गरिमा सुनिश्‍चित गर्नेछौं र भाइचाराको भावना सुदृढ बनाउनेछौं। यसै सङ्कल्पका साथ हामी सबै आफ्नो गणतन्त्रको यात्रामा तेजीका साथ अघि बढिरहेका छौं। मलाई विश्‍वास छ, संवैधानिक आदर्शको वाहकका रूपमा अघि बढ्‌दै, हामी भारतवासी, आफ्नो गणतन्त्रको लक्ष्य प्राप्त गर्न निश्‍चित रूपमा सफल हुनेछौं।
म एकपटक फेरि, देश अनि विदेशमा रहेका सबै भारतवासीलाई गणतन्त्र दिवसको हार्दिक बधाई दिन चाहन्छु र सबैमा सुखद भविष्यको मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु।
जय हिन्द!

No comments:

Post a Comment

Post Bottom Ad