जङ्गलबाट निस्किए भनिदिनु मैले सरापेको थिएँ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, January 3, 2019

जङ्गलबाट निस्किए भनिदिनु मैले सरापेको थिएँ

विचार/राजनीति __________________________ सचिन चामलिङ
अविभाजित आन्ध्र प्रदेशमा "एक भोट दो राज्य" नारा गुञ्जाएर अन्तत तेलेङ्गानालाई विश्वासघात गर्ने भाजपाको नियतलाई विमल गुरुङ र गुरुङ समूहका बुद्धिजीवीहरूले ठिम्याउनै सकेनन् रैछ। विदेशमा लुकाइएको कालो धन ल्याएर हरेक भारतीय नागरिकको ब्याङ्क खातामा पन्द्र लाख राशि दिनेछु भन्ने नेता प्रधानमन्त्री बनेपछि त्यसै दलको राष्ट्रिय अध्यक्षले त्यस वक्तव्यलाई चुनावी जुम्ला भनेर लाज पचाएको दल हो भाजपा। अब भाजपासित राजनैतिक प्रतिबद्धता खोजीबस्नु पर्छ त!

आञ्चलिक अपेक्षाको आधारमा निमुखा जनसाधारणलाई खरानीको महल खड़ा गरिदिने मोदीले आफ्नै अन्तर्वार्ता लिने ती तीन पत्रकारहरू जीवित नै छन् भनेर बिर्सेको होला वा सिलगढ़ीको ऱ्यालीमा "गोर्खाओं के सपने मेरे सपने" भनेको आफ्नै वाक्य भुल्यो होला। हुनसक्छ यति विशाल देशका प्रधानमन्त्रीले भुले कि! भुलेको हुनैसक्छ।
तर जसरी देशले प्रत्येक वर्ष 2 करोड़ रोजगारको आश्वासन भुलेको छैन त्यसरी भारतीय गोर्खाले आफ्नो सपना भुलेको छैन। जसरी हरेक नागरिकले पन्ध्र लाख ब्याङ्क खातामा खोज्छ त्यसरी भारतीय गोर्खाले पीआईबी नोटिफिकेसनमा आञ्चलिक अपेक्षाको "मार मार के घाव नही बनाने वाले" औषधी खोज्छ।

104 दिनव्यापी पहाड़ बन्दको ठिक केही दिनअघि मध्य प्रदेशमा पुलिसको गोलीले पाँचजना कृषकहरू मारिएका थिए। मध्य प्रदेशको भाजपा सरकारमाथि राष्ट्रिय मिडियाले यति साह्रो घेरे कि गोदी मिडियालाई जल्दोबल्दो इस्यु चाहियो। तब नै त साउन्ड पलुसन नामले चर्चित न्यूज आवर चलाउने पत्रकारले पहाड़को आन्दोलनलाई हनुमानले पर्वत उठाएको जस्तै उचाल्यो। सञ्जीवनी न त हनुमानले चिन्थ्यो न त साउन्ड पलुसन जन्माउने पत्रकारले।
यता हाम्रो दाजु भाइहरू मरेका मरेकै थिए उता मध्य प्रदेश शान्त बनिसकेको थियो। तब त छि न्युज र ध्वनि प्रदूषणहरू फर्किए आ-आफ्नो ठिकापट्टा सकेर। त्यसपछि कसैले फर्केर हेरेका छन् त? यिनीहरूसित न त नैतिकता छ न छ उत्तरदायित्व।
एलके आडवाणी, मुरली मनोहर जोशी, जसवंत सिंह, उमा भारती, सत्रुघ्न सिंहा जस्ता आफ्नै दलका नेतालाई पैतालामुनि कुल्चेर उँभो अक्कासिने नेताहरूले घटक दलहरूलाई पत्तो देला? कश्मीरमा पीडीपीका मेहबुबा मुफ्ती घरको न घाटको भइन्। मुम्बईमा अन्धोभक्त राज ठाकरे (स्वराज श्रीकान्त ठाकरे) मोदीकै विरोधमा उत्रन विवश छन्। एसडीएफ र गोजमुमो जस्ता दलहरूलाई त गन्तीमै राखिएको देखिन्न। अहङ्कार खतरनाक हुन्छ भनेर मन्तव्य गरेपछि अहङ्कारी प्रवक्ता संबित पात्रालाई पो पदबाट हटाइयो। देशले देखेको अहङ्कार घटेको छैन।
पुलिसको गोलीले पाँचजना कृषक मारिएका मध्यप्रदेशमा कङ्ग्रेसले सत्ता हत्याएपछि मुख्यमन्त्रीले पहिलो दिन नै कृषक ॠण माफ घोषणा गरे। अहिले भाजपा शासित राज्यमा पनि कृषक ॠण माफ गरिने रे। तर कर्पोरेटरहरूलाई दिइएको लाखौ करोड़को ॠण माफ, चोकसी-नीरव मोदी-ललित मोदी- विजय माल्याले लुटेका धन र एनपीए, राफेल सौदा, आरबीआइ गवर्नर उर्जित पटेलको राजीनामा, सीबीआइमा अलोक र राकेश अस्थानाको विवाद देशले भुलिने छैन। ढिलो छिटो देशको जनमानसले यिनीहरूलाई यथास्थान देखाइदिनेछ।
अमित शाहको पुत्र जय शाहले तेलमा पकौड़ा भाजेर त्यति छिट्टो र त्यस्तो भयङ्कर आर्थिक समृद्धि कमाएर रोजगारको उदाहरण दिएको भए पनि त भइहाल्थ्यो नि।
स्थिति बनेर जङ्गलबाट निस्किएछौ भने दाजै भनिदिनु- "मैले सरापेको थिएँ।" सरापे पनि नसरापे पनि यिनीहरूलाई सराप त पक्कै लाग्छ।

No comments:

Post a Comment

Post Bottom Ad