कलकत्ताको ब्रिगेड र आञ्चलिक मुद्दा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, January 24, 2019

कलकत्ताको ब्रिगेड र आञ्चलिक मुद्दा

विचार / राजनीति_____________________ सचिन चामलिङ राई
भारतभरि हेऱ्यौँ भने अनगन्ती आञ्चलिक पार्टीहरू छन्। तर राष्ट्रिय राजनीतिलाई नै प्रभावित तुल्याउन सक्ने भने केही आञ्चलिक राजनैतिक दलहरू मात्र छन्। ती नै प्रभावी आञ्चलिक दलहरूको समावेश थियो कलकत्ताको ब्रिगेड। मञ्चमा उठ्न पाउँदैमा गोजमुमो जस्तो दलले न त नाक घोक्राउन मिल्छ, न मिल्छ राजनैतिक व्यापारको समीकरण उकेर्न। यद्यपि राजनैतिक परिपक्वता देखाएर यसै राजनैतिक उथलपुथलमा आफ्नै मार्ग सिर्जना गर्ने अवसर भने पक्कै छ। प्रतिबद्धता र इमान्दारी भने हुनुपर्छ।

देशमा आपातकाल लागु हुँदा यसरी नै समग्र क्षेत्रीय दलहरू एकजुट बनेका थिए। तर अहिले देशमा आपातकाल लागु गरिएको छैन, न त राष्ट्रव्यापी संवैधानिक अड़चन नै छ। तब किन जुट्नपर्ने स्थिति जन्म्यो आञ्चलिक राजनैतिक दलहरूलाई? यसै प्रश्नले खोल्छ थर्ड फ्रण्ट कन्सेप्टको ताला।
तृणमूल कङ्ग्रेसको आयोजनमा डाकिएको ब्रिगेडमा नेशनल कन्फरेन्सका फारूख अब्दुल्ला, टीडीपीका चन्द्रबाबु नाइडु, जनता दलका देवे गौडा, आपका अरविन्द केजरीवाल, सपाका अखिलेश यादव, आरजेडी तेजस्वी यादव लगायत अन्य धेरै क्षेत्रीय राजनैतिक दलहरूको समावेश थियो। यी सबै क्षेत्रीय दलहरूमाथि राष्ट्रिय दलको भय मड़ारिरहेकै थियो, र छ पनि। नेशनल कन्फरेन्स, सपा र आरजेडीलाई लागिसकेको राजनैतिक धक्का अरू दलहरूले हेरिरहेकै थिए। त्यसैले एकजुटताको ब्रम्हास्त्र प्रयोग गरेर भारतीय राजनीतिमा आञ्चलिक दलहरूको अस्तित्वलाई प्रभावकारी बनाउन महागठबन्धन गरिएको हो। यसमा संशय छैन।
आञ्चलिक दलहरूले आफ्नै परिपाटीको मुद्दा उठान गरिरहेका हुन्छन्। आफ्नै क्षेत्रको समस्या समाधान गर्ने ध्येयमा लागिपरेका हुन्छन्। भारतीय राजनीतिमा हेर्नु हो भने यसरी लागिपरेका क्षेत्रीय दलहरूले राष्ट्रिय दलहरूलाई सोझै चुनौती दिएको राज्य पहिलो तमिलनाडु हो भने दोस्रो पश्चिम बङ्गाल नै हो। जयललिता अनि करुणानिधिको देहान्तपछि भाजपाको प्रायोजित खेलले डीएमके र एआइडीएमके शिथिल छन्। यद्यपि तमिलियनहरू सजग छन् र नै सुब्रमण्यम स्वामी तमिलनाडुमा झ्वाम्मै पस्न चाहँदैनन्। तमिलनाडु वा पश्चिम बङ्गालबाट यो लड़ाइ आरम्भ हुने निश्चित थियो, पश्चिम बङ्गालबाट भयो। इतिहासलाई हेरेर आउँदा आश्चर्य मान्नुपर्ने कारण छैन।
लालु यादवका पुत्र तेजस्वी यादवले राजनीतिमा पाइला राखेको धेरै भएको छैन। राजनीतिमा कलिलो मानिएको तेजस्वीले कलकत्ताको ब्रिगेडबाट दिएका वक्तव्यले सबैभन्दा धेर तान्यो।
भारतीय धरतीमा अनेक संस्कृति, अनेक भाषा, अनेक रङ्गबारे वक्तव्य दिएका छन् तिनले। पश्चिम बङ्गालमा शिक्षार्जन, नोकरी अनि व्यवसाय गर्न धेरै सङ्ख्यामा बिहारबाट आएका बिहारी नागरिकहरू बसोवासो गर्छन्। यस तथ्यबारे तेजस्वी राम्ररी अवगत रहेछन्। विगतमा आसाममा बिहारी सम्प्रदायमाथि ज्यादती हुँदा लाठी बोकेर आउनु नपरोस् भनेर वक्तव्य दिने लालु यादवका छोरो तेजस्वीको आकलन, सम्बोधन सही अर्थमा नै ठिक थियो। तेजस्वीले आफ्नो सम्बोधनमा बङ्गालमा बसेको बिहारी सम्प्रदायलाई जे जति भने त्यसमा उनको सम्प्रदायप्रति जिम्मेवारी अनि लगाउ दुवै झल्क्यो। र त्यसै अर्थले पनि आरजेडी आञ्चलिक दल।
हाम्रा नेताहरू कलकत्ताबाटै थर्ड फ्रण्ट प्रार्थीलाई सघाउने भन्दैछन्, यता प्रवक्ता खनाल साहेबहरू अहिले दलको निर्णय निर्क्यौलमा पुगेको छैन पनि भन्दैछन्। सबैलाई अवगत भएकै कुरा हो तपाईहरू कसलाई सघाउनुहुन्छ। आञ्चलिक दलहरूको थर्ड फ्रण्ट कन्सेप्टमा आफ्नै आञ्चलिकताको मुद्दा माटामुनि गाड़ेर अर्काको मुद्दा बोक्ने कि???
आफ्ना मानिसहरूको अपेक्षा बोकेर र आफ्नै दलको खेस्रा उठाएर आञ्चलिक दलहरूको थर्ड फ्रण्ट कन्सेप्टमा छिर्नु ठूलो अवसर हुन्छ। नलजाई, नडराई वकालत गर्नुपर्छ। दही पनि खाने ठेकी फनि लुकाउने काम चै गर्नु भएन।

No comments:

Post a Comment

Post Bottom Ad