उभिएर बोलेपछि - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, November 24, 2018

उभिएर बोलेपछि

विचार______________________________________दिपक भारती।
मानव सभ्यताको बिकाशक्रमसंगसंगै उत्पादन कार्यमा जाँगर नभएका, अर्काको पसिनाको कमाइ लुटेर ऐश आरामको जीवन जीउने ठग पाखण्डीहरूको क्रियाकलाप पनि शुरू भयो। जातीय सुरक्षाको प्रश्नमा हालसम्म सक्रियरूपमा तन, मन, धन दिएर औ ठूलो कष्ट खपेर जनताले बिभिन्न कार्यक्रमहरूमा भाग लिएता पनि निराशाजनक परिणाम मात्र हात लागेको छ। 
हालसम्म जनताले भोगीरहेको रनभुल्ल स्थितिको कारण र त्यसको निवारण खोज्नलाई ठगहरूको इतिहास पस्कन जरूरी सम्झेको छु। ठगहरूलाई त यस्तो लेख अरूचीकर लाग्छ नै। चोरको चोरी कार्यको खुलासा गर्दा र चोरलाई चोर भन्दा चोर त रिसाउँछ तर जुन मान्छे जन्मिएकोमा पश्चाताप गर्नुपर्छ उसैलाई हेप्पी बर्थ डे भन्नपर्ने दयनीय स्थितिमा हामी आइपुगेकाले ठगहरूको इतिहासको उल्लेख गर्नु अनिवार्य भयो।  
मानिसले उपभोग्य वस्तुको उत्पादन गर्न शुरू गरेको समयदेखिनै ठगहरूको प्रादुर्भाव भएको हो। सोमालिया, जाभा सुमात्रा बोर्नियो न्यूजिल्याण्ड र भारतमा ठगहरूको क्रियाकलापको विशद लेखाजोखा भने बृटिश शासनकालमा राखियो। ज्याँ द थेभनट,  जोहन फ्रायर, किम ए वागनर, डा.शेरवूड, क्याप्टन स्लीम्यान, जेम्स फोर्व्स, मेगेन गार्बर, थर्नटन र अन्य इतिहासकारहरूले भारतमा भएका प्रकट र अप्रकटरूपमा सक्रिय ठगहरूको उल्लेख गरेका छन्।
१८२९ मा विलियम बेन्टिंड्कको पालामा ठगहरूको उत्पात बढेको कारण तिनीहरूलाई दमन गर्न भारतभरीका कम्पनी अधिनस्थ जिल्लापालहरू र बिभिन्न प्रशासनिक अधिकारीहरूलाई सतर्क गराइयो, ठगीको प्रत्येक घटना र ठगहरूको क्रियाकलापको रिपोर्ट पेश गर्नुका साथै त्यसबारे आफ्नो मन्तव्य केन्द्र सरकारलाई बुझाउनपर्ने बिशेष निर्देश दिइयो। १८३० मा बेन्टिड्कले ठग दमन अभियानको दायित्व क्याप्टन स्लीम्यानलाई दिए।
हुन त १७९९ मा अङ्ग्रेजहरूले श्रीरड्गपत्तम हात पारेपछि ठगहरूको भारतब्यापी संगठन रहेको पत्तो लागिसकेको थियो।  क्याप्टन स्लीम्यानले ठग दमनको दायित्व पाउन अघिदेखिनै ठगहरूको बारेमा ब्यक्तिगत रूपमा अन्वेषण गर्दैथिए।  तिनले अर्का अङ्ग्रेज अधिकारी थर्नटनको खोजी-अनुभवको पनि सहायता लिए।  आफूले संकलन गरेका बिभिन्न सूचना र आफ्नै खोजीबाट स्लीम्यानले ठगहरूको सांगठनिक संरचनालाई राम्ररी बुझे।  बिभिन्न ओहोदाधारीहरूद्वारा ठगहरूको संगठन सञ्चालन हुन्थ्यो। पुस्तैनी चोर, डोरीको पासो फ्याँकेर मान्छे मार्नु उस्ताद, स्थानीय सरकारी अधिकारीहरूसित साठगाँठ राख्नसक्ने, तिनीहरूको आँखा छल्नसक्ने अथवा तिनीहरूलाई घूस दिएर आफ्नो बशमा राख्नसक्ने ठग-अपराधीले संगठनमा जमादारको पद पाउँथे। धेरै अनुभवी अपराधीलाई सुबेदार बनाइन्थ्यो।
लुटेको धनबाट संगठनका सबै सदस्यहरूले अंश पाएता पनि हत्यारा, नाइके र स्थानीय शासकहरूले बिशेष अंश पाउँथे। ठगहरू कालीका भक्त थिए। लुटेको धनबाट कालीको पूजा र उनको नाममा समारोहको आयोजना गरिन्थ्यो।  पूजाद्वारा सन्तुष्ट पार्दा  कालीद्वारा भक्तलाई आशीर्वाद प्राप्त हुन्छ अनि ठगीको प्रत्येक नियमको पालना गर्दा ठग अभियानमा सफल होइन्छ भनेर ठगहरूले बिश्वास गर्थे। ठगहरूको यस्तै बिश्वासको कारण सातौं शताब्दीमा ह्यूयेनसाड गंगा किनारमा झण्डै देवीको बलि चडे, भाग्यले तिनी उम्के। तिनले पाएको सूत्र अनुसार १२९० मा दिल्लीका सुल्तान जलालुद्दीन खिल्जीले १००० ठगहरूलाई देशनिकाला गरेकाथिए। १३००सालतिरनै पुस्तैनी ठगसमुह  र तिनीहरूको खानदानी पेशा विद्यमान थियो।
तत्कालीन भारतभरीका यातायातका बिभिन्न मार्गहरू भएर मानिसहरु ब्यापारिक, तीर्थाटन र भ्रमणको उद्देश्य लिएर आउजाउ गर्थे, ती मार्गहरूमानै ठग समुहहरू सक्रिय हुन्थे। हेरोडोटसले ग्रीसमा लूटपाट मच्चाउने ठगहरूले प्रयोग गर्ने बिभिन्न यातायातका मार्गहरूबारे आफ्नो पुस्तक 'पोलीम्निया'मा जसरी बर्णन गरेका छन् उसरीनै डा.शेरवूडले दिल्ली, आग्रा, जबलपुर, जोधपुर र लुधियानालाई जोडने मार्गहरूलगायत कर्नाटक, अवध, ग्वालियर र उडिसा राज्यका बिभिन्न मार्गहरूलाई ठगहरूले आफ्नो क्रियाकलापको केन्द्र बनाएता पनि  दिल्ली र आग्रातर्फ जाने बाटाहरूमा  संसारको सबैभन्दा धूर्त ठगहरू सक्रिय थिए भनेर आफ्नो पुस्तक 'ट्र्याभेल' (Travel) मा लेखेका छन्। आराकानका डाकूहरू पनि वास्तवमा ठगहरूनै थिए।
ठगहरू आफै ब्यापारी, दीनदु:खी, जन्ती, यायावर, साधु-सन्यासी,  सर्कस कम्पनीका मान्छेहरूको छद्मभेषमा हिँड्थे। यात्रीहरूको बिश्वास जितेर तिनीहरूकै भीड्मा मिसिन्थे। यात्रीहरूलाई धेरैदिनसम्म पछ्याउन परे पनि पछ्याउँथे। चरणस्थलदेखि उम्केका पशु र शत्रुलाई वशमा पार्न डोरीको पासो फ्याँक्ने म्याक्सिकन 'काउबोय'हरूको चलन त हामीले चलचित्र हेरेर  बुझेका छौं। त्यस्तैगरी भारतका ठगहरूले पनि डोरीको पासो फ्याँकेरै  वा  डोरीले बाँधिएका असहाय यात्रीहरूको घाँटी डोरी अथवा पहेंलो रूमालले कसेर हत्या गर्थे। हत्याको निम्ति नृशंस तरीका अप्नाइन्थ्यो। अपराध गर्नलाई ठगहरूले बाक्लो बन जंगल माझको मट्याइलो ठाउँ रोज्थे। त्यस्तो ठाउँमा हत्या गरिएका धेरै मृतदेहहरू दफनाउन सहज हुन्थ्यो औ कसैलाई त्यसको जानकारी हुँदैनथ्यो। १८३० मा स्लीम्यान जबलपुरमा रहेको बेला कन्डेली गाउँको सरकारी बासगृहदेखि ४००गजको दूरीमा ठगहरको अड्डा रहेको र त्यहीं नजिकैको मन्देसरको जंगलमा ठगहरूले मान्छेको हत्या गर्ने भारतभरीमा सबैभन्दा ठूलो स्थल रहेको धेरै पछि मात्र चाल पाए। त्यहाँ २७४ वटा दफनस्थल पनि थिए। स्लीम्यानलाई यस्ता तथ्यहरू एकजना ठग सरदार सैयद अमीर अली(जसलाई मानिसहरू 'फिरिंगिया' भन्थे) लगायत पक्रा परेका अन्य ठगहरू, हातमा परेका ठगीकार्यमा प्रयुक्त मानचित्र  र ठगहरूसित लिइएका अन्तर्वार्ताहरूबाट प्राप्त भएको हो।
स्लीम्यानले आफ्नो पुस्तक 'रामसियाना'मा ठगहरूले प्रयोग गर्ने भाषा, ठगीकार्यमा प्रयोग गरिने सांकेतिक भाषा र दलका सदस्यहरूलाई शिकारबारे दिइने गरेको संकेत चिन्हहरूको बर्णन गरेका छन्। संकेतचिन्हलाई 'झिरनी' औ सांकेतिक भाषालाई 'रामासी' भनिन्थयो। ठगहरूलाई घोर अन्धबिश्वासमा जाकिएको समाजमा अलौकिक क्षमताका धनी मानिन्थ्यो। तिनीहरूले जे गर्छन् देवी माताको आदेश अनुसार गर्छन् भनेर मानिसहरूले बिश्वास गर्थे। पशुधनको हानी, हैजा, महामारीहरूलाई मानिसहरूले देवीमाता रूष्ट भएको संकेतको रूपमा हेर्थे। देवी मातालाई खुशी पार्न पूजाआजा र बली आवश्यक हुन्थ्यो। 'भूमका'  कहलाईने ठगहरूले बाघलाई टुनामुना गरेर लट्ट्याउनसक्ने, 'गर्पुगुरी' थरीका ठगले अन्नवालीको खेतबाट आँधी तर्काउनुसक्ने औ कुनै एकथरीका ठगले आफ्नो गैंतीलाई हतियारको रूपमा प्रयोग गर्न अह्राइखटाइ गर्नुसक्ने बिश्वास मानिसहरूको मनमा थियो। ठगहरूसित मानिसहरू डराउँथे। ब्वाँसो, सर्पजस्ता प्राणी मार्नाले आपदबिपद आइलाग्ने बिश्वास गरेजस्तै ठगहरूलाई दण्ड दिँदा देवीमाता रिसाउँछिन भन्ने बिश्वास गरिन्थ्यो। रोगब्याधी देवीकै इच्छानुसार लाग्ने गरेको ठानिएपछि बिरामीलाई औषधि दिनु देवीको बिरोध ठहरिन्थ्यो । स्त्रीहरूको हत्या बिरलै हुन्थ्यो औ त्यस्तो हत्याले बिनाश निम्त्याउँछ भन्ने बिश्वास गरिन्थ्यो।
अर्का थरीका ठगहरूले आफ्नो स्वार्थ पूरा गर्नलाई बनस्पतिहरूबाट बिषहरू तयार गरेर त्यसबाट आफ्नो स्वार्थ पूरा गर्न मानिस र पशुहरूको हत्या गर्थे।  'रयाम्बल्स् एण्ड रिकलेकशन्स् अफ एन इण्डियन अफिशियल' मा छालाको कारबार गर्ने एक थरीका ठगहरूले छाला प्राप्त गर्न गोठ र चरनहरूमा भएका पशुहरूलाई बिष खुवाइ मारेको, सुकाएकै ठाउँको कम्बल हात पार्न अथवा बिक्रीका निम्ति अर्काको छोराछोरी प्राप्त गर्न उनीहरूका आमाबाबुलाई बिष खुवाई मारेको घटनाहरू स्लीम्यानले उदाहरणसहित प्रस्तुत गरेका छन्। १८३१ देखि १८३७भित्र पक्रा परेका ३२६६ ठगहरूमध्ये ४१२लाई फाँसी दिइएको, ४८३ लाई सरकारी गवाही बनाइएको उल्लेख 'मिडोज टेलर'ले लेखेकोपुस्तक 'कनफेसन्स अफ ए ठग'मा  गरिएको छ। यो पुस्तकलेनै १८३५ मा पक्राउ परेका ' फिरिड्गिया' नामले कुख्यात  आमीर नामका ठग सरदारलाई  सरकारी गवाही बनाइएपछि ठगहरूबारे धेरै सूचना हात लाग्यो औ ठगदमन कार्य अघि बडाउन सजिलो भयो।  विरलै पक्राउ गरिएता पनि पुलिसद्वारा पक्रा परेका ठगहरूको बिरूद्धमा गवाही दिन कोही पनि तयार हुँदैनथिए, बरू मानिसहरूले त्यस्ता कैदीलाई कैदमुक्त गर्न जोर दिन्थे।
बेन्टिंड्कको शासनकालमानै ठगहरूको नृशंसतापूर्ण उत्पात यति साह्रो बढ्यो कि ब्यापारीहरूको त के कुरा सरकारी अभियानमा खटाइएका सिंगै डफ्फा सिपाहीहरू पनि बाटोमै हराउनथाले। १८००सालको आसपासदेखिनै  बहराम नाम गरेका सरदार र उनका मातहतका प्रायः २०० जना ठगहरूले यस्तो कार्य गर्थ्यो। १८४० मा बहराम पक्रा पर्यो। सरकारी हिसाब अनुसार बहरामले ९३१ जना निरपराधहरूको हत्या गरेको थियो। बेन्टिड्कबाट कठोर निर्देश पाए पनि ठग दमनकार्यमा लामो समयसम्म उल्लेखयोग्य सफलता हात लागेन। दमन र अन्वेषण कार्यमा लागेका अधिकारीहरूका रिपोर्टबाट थाहा लाग्यो कि स्थानीय जमिन्दार र सरकारी अधिकारीहरूका सह पाएका अपराधीहरूलाई चिन्हित गर्नु कठीन थियो। स्थानीय सरकारी अधिकारीहरूकै मिलीमतोमा ठगहरूले हत्या र लूटपाट गर्थे भन्ने कुरा बुन्देलखण्डबाट पाइएको रिपोर्ट अनुसार थाहा लाग्यो।
ग्वालियर राज्यलाई ठगी कार्यबाट प्राप्त रकमको हिस्सा दिइने गरेको तथ्य  पक्रा परेका एकजना ठग सुराकीले बतायो। अर्को कुरा, सम्मानजनक सरकारी ओहदा र पेशामा रहेका अधिकारीहरूनै ठुल्ठूला लूटपाट,  हत्या र ठगीमा लिप्त रहने गरेको खुलासा अवधबाट पक्रा परेका एकजना ठगले गरेको थियो। सरकारी सेवामा खटिएका बिभिन्न अधिकारी र कर्मचारीहरू पनि हत्या र ठगीकार्यमा भाग लिन्थे। त्यस्ता ठगहरूले जनतालाई र सरकारका नियमकानूनहरूलाई ठग्थे तर ठगीको पेशालाई ठग्दैनथे। तिनीहरूले धेरै धनसम्पति हासिल हुने ठगीमा मात्र भाग लिन्थे औ केही कालका निम्ति बिसाउँथे।
सम्पन्न र शक्तिशाली ठगहरूको नजर धनीब्यापारी, सेठ साहूकार र सरकारी खजानागारको हिरामोती, सुनचाँदी र रूपियाँ पैसामाथि रहन्थ्यो। कुनै ठाउँका सरकारी कर्मचारीहरूलाई तलब तनखा दिने र कहींबाट केही किन्न परे अथवा कसैको ऋण तिर्न परे बिभिन्न माध्यमहरूबाट ठूलो परिमाणमा धनको ओसारपसार गरिन्थ्यो। यस्ता धनहरूनै तत्कलीन ठगहरूले लुट्थे। यस्ता सम्पन्न जीवन बिताउने ठगहरूले सामाजिक रीतिथिति कठोरतासित पालन गर्थे, सामाजिक समारोह र चाडपर्व, पूजाआजामाबढीचढी भग लिन्थे औ दानपुण्यको काम गरेर समाजमा प्रभावशाली स्थान ओगट्थे।
हामी अनुकूलन शब्दसित परिचित छौं। पशुप्राणीहरू आफू बस्ने वातावरणमा बाँच्दा आफ्नो सुरक्षार्थ अनुकूलनकै सहारा लिन्छन्। यो पशुप्राणीहरूको प्रकृतिप्रदत्त गुण हो। रूखपात र फलफूलको भोजन गर्ने प्राणीहरूले तीनै रूखपातकै रंग लिएर आफूलाई शिकार गर्ने प्राणीदेखि बाँच्दछन्, शत्रुको आँखा छलेर शिकार पनि गर्दछन्, तिनीहरूको उपस्थिति थाहा लाग्दैन।
हरियो सुन्तलामा हरियो औ रंग चडेको सुन्तलामा रंगीन पँधेरालाई चिन्न हम्मे पर्छ। रूखको काण्डमा काण्डकै रंगको किरालाई चिन्न नसकिएजस्तै पशुहरू पनि आफ्नै शारीरिक रंगको प्रकृतिक बासमा चिनिन्दैनन्। 'छेपारे रंग' वा अनुकुलनसित हमी परिचित छौं। एवंरीतले आज गद्दार, षढयन्त्रकारी, दलाल, बिरोधी, विश्वासघाती धुपौरे धुपौरी, रखौटा रखौटीहरूलाई चिन्न नसकेर हामी अलमल्ल परेका छौं। वास्तवमा ती सबै ठगहरूनै हुन्। तिनीहरूले पनि आफ्नो बिभिन्न भोकहरू मेट्न अनुकूलनकै सहारा लिएका छन् र नै हामी तिनीहरूलाई चिन्नसकेका छैनौं। हाम्रा बिभिन्न समूहहरूमा तिनीहरू अनुकूलनकै सहायताद्वारा  आआफ्नो स्वार्थ सिद्ध गर्दै बाँचिरहेका छन्। सोझो आँखाले हेरिएर तिनीहरू सम्मानका पात्र औ संवर्द्धनायोग्य देखिन्छन् तर विवेकको सहारामा जाँच्यौं भने तिनीहरूनै जाति, राष्ट्र र मानवसभ्यताकै शत्रुहरू हुन् भनेर हामी थाहा पाउनसक्छौं। त्यस्तालाई  सम्मानित बनाएर राख्नको साटो समाजबाट बहिस्कृत गर्नुनै उचित ठहरिनेछ।
पचास-साठको दशकमा 'एटलस श्रग्ड' र फाउन्टेन हेड' जस्ता बेस्टसेलर उपन्यासहरूका लेखिका आयन र्यान्ड(Rand) ले निष्पक्षतावाद(उद्देश्यवाद पनि)को प्रचार गरीन्।  सबै मानिसहरूको क्रियाकलाप र सक्रियताको उद्देश्य सुख प्राप्त गर्नु हो भन्ने कुरा बताउनुनै उनले ती उपन्यासहरू लेखीन्।  र्यान्डका उपन्यासहरूलाई  हामी गोर्खाहरूकै प्रसंग लिएर मात्र पढ्नु हो भने पनि पढेर एउटा ठूलो प्रश्नको सम्मुखीन हुनपर्दछ। आजको प्रसंगमा र्यान्डले भनेकै कुरा मान्नु हो भने उनले भन्नु खोजेको सुख पशुले कि मान्छेले खोजेको हो?
शारीरीक भोक मेटेर पशुलाई सुख प्राप्त हुन्छ, भोक मेटेपछि त्यो शान्त हुन्छ, त्यसले थकाइ मार्छ-नाच्छ, खेल्छ। भोको पशु नाच्दैन तर शारीरीक भोक मेटिनसाथ त्यो नाच्छ, तृप्तिमा कराउँछ, उफ्रीपाफ्री गर्छ, सबै पशुपक्षीको जीउने समानाधिकारसित त्यसले सरोकार राख्दैन, आफू तृप्त भए त्यसलाई पुग्यो। मांसभोजी निर्दयी पशुले जब कुनै पशुलाई शिकार बनाएर च्यात्न र चिथोर्न शुरू गर्छ तब त्यो देखेपछि अर्को मांसभोजी पशुले मुखबाट तरर राल चुहाउँछ तर त्यो असहाय शिकार पशुको चित्कार र रोदन क्रन्दन सुनेर बरर आँशु झार्दैन।
शिकार खोस्न नसक्नेहरू अशान्त हुन्छन्, रालसरी भएर घरि यता र घरि उता दगुरी दगुराई गरीरहन्छन्।  सबै मानिसको शारीरिक बिकाश त भयो तर मानसिक बिकाशमा भने समानता छैन। मानसिक बिकाश नभएकाहरू पशुप्रवृत्ति वा इन्द्रियले अह्राएअनुसार चल्छन् औ मानसिक विकाश भएकाहरू विवेकले अह्राएअनुसार।
क्रमश:

No comments:

Post a Comment

Post Bottom Ad