दशैँ आयो तर कोइरी मजदुरहरू रमाउन पाएनन्; भने–‘आत्महत्या गर्नपर्ने स्थितिमा आइपुगेका छौँ’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, October 15, 2018

दशैँ आयो तर कोइरी मजदुरहरू रमाउन पाएनन्; भने–‘आत्महत्या गर्नपर्ने स्थितिमा आइपुगेका छौँ’

गफसफ.com कालेबुङ, 15 अक्टोबर ।
दशैँले सबैको घर आँगनमा पाइला टेकिसकेको छ। मानिसहरू दशैँ हर्सोल्लासका साथ मनाउनलाई जुटिरहेका छन्। तर यहीँ दशैँ टिस्टा नदी किनारामा काम गरेर जीवन गुजारा गर्ने कोइरी मजदुरवर्गका निम्ति भने निराशपूर्ण बनेको छ। टिस्टा नदी किनारासँगै पहाडका खोला-नदीहरूमा रहेका बन्द कोइरीहरू आजसम्म विभागीय पक्षबाट अनुमति नपाउँदा सञ्चालन हुन नसकेको हो। जसको कारण दशैँ जस्तो चाँडमा पनि कोइरी श्रमिकहरू निराश बन्न परेका छन्।
उसै त पश्चिम बङ्गाल सरकारको उद्योग, वाविज्य अनि उद्यम (खनिज) विभागद्वारा गत 28 जुन 2018 का दिन अधिसूचना जारी गरेर बन्द रहेका कोइरीहरू सञ्चालनको गर्नसक्ने निर्देश दिइएको छ। उक्त अधिसूचनामा दार्जीलिङ अनि कालेबुङ जिल्ला (जीटीए क्षेत्र) अधिनस्थ रहेका स्थानहरूमा अक्सन गरेर कोइरी सञ्चालन गर्न सकिने कुरा लेखिएको छ। जसको निम्ति ठाउँहरूको चिन्हित जिल्ला प्रशासनले जीटीएसँग मिलेर गर्नुपर्ने लेखिएको छ। पश्चिम बङ्गाल सरकारको मुख्य सचिवद्वारा हस्ताक्षरित उक्त अधिसूचना जारी भएपछि पुन: उक्त अधिसूचना लागु गर्नका निम्ति 16 जुलाई 2018 का दिन उप सचिवद्वारा मुख्य सचिव, गृह अनि हिल एफियर्स विभाग, मुख्य सचिव जीटीए, जिल्लापाल दार्जीलिङ अनि कालेबुङलाई पठाउने कार्य भएको छ। तर, यतिका दिनसम्म यता पहाडी भेगमा रहेका कुनै पनि कोइरीहरू सञ्चालनमा आउन सकेको छैन। जसको कारण कोइरीमा काम गर्ने श्रमिकहरू आर्थिक अवस्था बेहाल बनेको छ। जसको कारण दशैँ पनि उनीहरूका निम्ति फिका बन्न पुगेको हो।
विशेष गरेर कालेबुङ जिल्ला अधिनस्थ रहेका तारखोला फरेस्ट बस्ती अनि माङ्चु फरेस्ट बस्तीका मानिसहरूका निम्ति दशैँ फिका बन्न पुगिरहेको छ। गतवर्ष चलेको 105 दिनको पहाड बन्दको समस्याबाट राम्रोसँगले निकास नपाउँदै सरकारले कोइरी बन्द गरेको कारण तारखोला फरेस्ट बस्ती अनि माङ्चु फरेस्ट बस्तीका मानिसहरूका निम्ति यसपालिको दशैँ हर्षोल्लास नल्याइ आइपुगेको छ। वितेका अघिल्ला दशैँहरूमा वर्षैभरी कोइरीमा मजदुरी गरेर दशैँमा खुशीसाथ रमाउने मानिसहरू यसपालि भने कोइरी बन्द भएको कारण आर्थिक समस्याको चपेटमा दशैँ दशा नै बनेर आइपुगेको दुखेसो पोखिरहेका छन्।
खोलाको बगरमा ढुङ्गा, बालुवा अनि गिटी कुटेर दैनिक जीवन यापन गर्दै आइरहेको अवस्थामा एकाएक सम्पूर्ण कोइरीहरू नै बन्द भएपछि उक्त गाउँका मानिसहरू बिचल्निमा परेका हुन्। कोइरी बन्द भएपछि खोलाको बगरमा वाहनहरू समाग्री लिन आउन छोडेका छन् भने कोइरी मजदुरहरूको आयस्रोतको बाटो पनि पूर्णरूपले ठप्प बनेको छ। आयस्रोतको बाटो नै एकाएक बन्द भएपछि कोइरीमा नै मजदुरी गरेर जीविका उपार्जन गर्ने श्रमिकहरू अहिले पैसा कमाउन अनि परिवार पाल्न छिमेकी राज्य सिक्किमतर्फ मजदुरी गर्न जान परिरहेको बताएका छन्। यतिमात्र होइन आयस्रोतको बाटो बन्द भएपछि घरमा खान लाउनको दुख सँगै नानीहरूलाई सुकल पठाउन समेत समस्या सिर्जना भइरहेको छ।
‘माङ्चु फरेस्ट बस्तीका लगभग 90 प्रतिशत मानिसहरू कोइरीमा काम गर्नेहरू छन्। हामी यहाँ ब्रिटिसको समयदेखिनै बसोबास गर्दै आइरहेका छौँ भने बन विभागले हाम्रा बाजे बराजुलाई सिएफसी गर्न लगायो, कोइला पोल्न लगायो अनि आज नाती पनातीको समयमा आइपुगेका छौँ। हामीले सन् 1981 देखि नै यहाँ कोइरीको कार्य गर्न थालेका हौँ भने अहिले सम्पूर्ण मानिसहरूको आयस्रोत नै कोइरी बनेको छ। तर, अचानक कोइरी बन्द गरेको कारण यहाँका मानिसहरू आर्थिक समस्यमा परेका छन्’ गाउँका अमृत राईले अझ भने –‘अहिले हामीसँग पैसा रूपियाँ नै छैन। काम बन्द भएपछि कुनै आय नै छैन। जसको कारण भोलिको दिनमा गाउँका प्रत्येक घरबाट आत्माहत्या गर्नुपर्ने स्थिति सिर्जना हुँदैछ।’
उनले आयस्रोतको बाटो बन्द भएपछि गाउँका सम्पूर्ण मानिसहरू आर्थिक समस्याको चपेटमा परेको भन्दै जसले गर्दा आफ्ना नानीहरूलाई स्कुल पढाउन अनि दशैँमा समेत खुशीयाली मनाउन नसक्ने अवस्था अएको बताएका छन्। ‘दशैँमा नानीहरूलाई नयाँ लुगा किनेर दिन समेत सक्दैनौँ। वास्तवमा सरकारले कोइरी बन्द गरेर के गर्न खोजेका हुन्?’ अमृत राईले प्रश्न गर्दै भने।
यता कोइरी बन्द भएपछि पनि खोलाको बगरमा गिटी कुट्दै बसेका वृद्ध सुकमाया तामाङले पनि आफ्नो दुखेसो व्यक्त गर्दै आर्थिक समस्याको चपेटमा परेर परिवार धान्न गाह्रो परिरहेको बताइन्। आफ्नो पति अन्धो अनि छोरो पनि दिव्याङ रहेको बताउँदै उनले कोइरी बन्द भएपछि परिवारको अवस्था सोँचनीय बनेको बताइन्। ‘कोइरी बन्द भएपछि हामीले धेरै दुख पाइरहेका छौँ। गाडीहरू समान लिन आउँदैनन्। तै पनि गिटी कुट्दै बस्छु। मेरो पतिले आखाँ देख्दैन अनि छोरा पनि लाटा छन्। हामीलाई यस्तो अवस्थामा सरकारले बिचार गरिदिए राम्रो हुनेथियो’ सुकमाया तामाङले गहभरी आँसु पार्दै भनिन्।
उनले अहिले पनि खोलाको बगरमा गिटी कुट्ने गरेकी छन्। एकदिन कोइरी खोलिनेछ अनि आफुले कुटेको गिटी बिक्री हुनेछ भन्ने आशाले सुकमाया तामाङले साँचेकी छन्। यस्तो अवस्थामा कोइरी खोलिने हो होइनन् भन्ने चाहीँ केही स्पष्ट हुनै सकेको छैन।
‘वर्षदिनमा एकचोटी चाँढ आउँछ तर यो चाँढ पनि हामी खुशीसाथ मनाउँन सक्दैनौँ। किन भने हामीसँग पैसाको नाउँमा केही छैन अनि कमाउने एकमात्र कोइरी पनि बन्द छ। हामीलाई सरकारले गरीबको पेटमा लात मार्ने काम गरेको लागिरहेको छ। यसैकारण झट्टै हाम्रो निम्ति सरकारले कोइरी खोलिदिए असल हुनेथियो। हामी गरीब जनता हात जोडेर कोइरी खोलिदिने विन्ति गर्छौँ’ तारखोला फरेस्ट बस्तीका ज्ञान बहादुर तामाङले दुखेसो व्यक्त गर्दै अझ भने –‘आज हाम्रा नानीहरू भोक-भोकै बस्न परिरहेको छ। स्कुल पठाउँन पनि नसक्ने अवस्था आइसकेको छ।’
यसैक्रममा सञ्चमाया सुब्बाले पनि कोइरी बन्द भएपछि अनेकौँ समस्या झेल्न परिरहेको बताएकी छन् भने राजकुमार सुब्बाले पनि कोइरी बन्द भएपछि सिक्किम राज्यमा मजदुरी गरेर जीवन गुजार्न परिरहेको बताएका छन्। खोलाको किनारामा बसेको गाउँमा अन्न उब्जनी गर्नका निम्ति कुनै भएजस्तो भुमी नै छैन। जसको कारण उनीहरू खेतीमा पनि निर्भर रहन् सक्दैनन्। आफ्ना नानीहरूलाई धेरै पडाउन नसकेपनि आठ-दश कक्षासम्म पढाउने इच्छा हुँदा हुँदै पनि आयस्रोतको बाटो कोइरी बन्दले धेरै समस्या झेल्न परिरहेको ज्ञान बहादुर राईले बताएका छन्। यसैक्रममा कोइरीमा नै आश्रित बनेर जीवन यापन गर्नेहरूमा  सोम बहादुर सुब्बा,  राजकुमार सुब्बा, सुकमाया सुब्बा आदिले पनि कोइरी बन्द भएपछि भोग्न परेका समस्याहरू बताउँदै सम्बन्धित विभागले उक्त कोइरी खोलिदिने विन्ती गरेका छन्।  

No comments:

Post a Comment

Post Bottom Ad