पैह्रोको कारण सिक्किम, कालेबुङको सिलगडीसँग सम्बन्ध विच्छिन्न; अहिलेसम्म सूचारू भएको छैन यात्रा - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Saturday, September 15, 2018

पैह्रोको कारण सिक्किम, कालेबुङको सिलगडीसँग सम्बन्ध विच्छिन्न; अहिलेसम्म सूचारू भएको छैन यात्रा

गफसफ.com, कालेबुङ 16 सितम्बर।
राष्ट्रिय राजमार्ग 10 अनि 31 को विभिन्न ठाउँमा गएको पैह्रोले सिक्किम, कालेबुङको सम्बन्ध सिलगडीसँग विच्छिन्न भएको छ। हालमा सेभोक नजिक गएको पैह्रोलाई पूर्णरूपले सफाई गर्न नसकेको कारण यातायात सूचारू बन्न सकेको छैन। जसको कारण यात्रीहरूले सिलगडी जानै परेको अवस्थामा अथवा सिलगडीबाट कालेबुङ वा सिक्किम जान परेको अवस्थामा वैकल्पिक बाटो भएर यात्रा गर्नुपर्ने भएको छ।

विभागीय पक्षबाट पैह्रो सोह्रेर यातायात सूचारू गर्ने कार्य गरिरहे पनि अत्याधिक ढुङ्गा माटो थुप्रिएको कारण सफाई कार्यमा कठिन परेको हो। शनिबार बिहानै देखि सफाई कार्य गर्दा पनि यातायात सूचारू बन्न सकेन भने राती समयमा कार्य गरेर पनि यातायात सूचारू बन्न सकेको छैन। कतिपय मानिसहरू बन्द बाटो खोलिने आश साँचेर उक्त बाटो भएर यात्रा गरिरहे पनि उनीहरू बाटोमा जाममा फसिरहेका छन्।
अधिक वर्षाको कारण राजमार्गको एकाधिक ठाउँहरूमा पैह्रो जाँदा आज दिनभरी नै यातायात पूर्णरूपले ठप्प बनेको हो। 29 माइलमा गएको दुईवटा पैह्रोको कारण रम्बी, मङ्पू, सिटोङ आदि क्षेत्रहरूबाट कालेबुङ अनि सिक्किम वाहनहरूको चलाचल ठप्प बनेको थियो। यता सेतीझोडा, भसुवा, अँधेरी झोडा, सेभोक कालिमन्दिर नजिक गएको पैह्रोले कालेबुङ अनि सिक्किमबाट सिलगडी जाने अथवा आउने वाहनहरूको चलाचल ठप्प बनेको हो। यसैक्रममा बाघपुल नजिक मङ्पङ क्षेत्रमा तलबाट पैह्रो झरेर सडक भासिएपछि डुवर्सगामी वाहनहरूको चलाचल पनि ठप्प बनेको हो।
ठाउँ-ठाउँमा गएको ठूला-ठूला पैह्रोको कारण समाचार लेखुञ्जेलसम्म यातायात सुचारू बन्न सकेको थिएन भने यात्रीहरू जोखिम उठाएर नै पैदल यात्रा गरिरहेका छन्। पैह्रोको कारण विशेष गरेर सिक्किम लगायत कालेबुङ घुमेर फर्केका पर्याटकहरू फसेका छन्। उनीहरूको ट्रेन तथा हवाई यात्राको टिकट भएपनि पैह्रोले बाटोमा नै फसेपछि समस्यामा परेका छन्।
अविरल वर्षाले व्यापक मात्रमा पैह्रो गएर राजमार्ग पूर्णरूपले बन्द भएपछि बन्द खोल्नका निम्ति पैह्रो सोहर्नका निम्ति पीडब्ल्यु हाइवे डिभिजनले जेसीबी लगाएको थियो। पैह्रोको कारण हिलो माटो र ढुङ्गाको मात्रा सडकमा धेरै थुप्रिएको कारण उनीहरूले कठोर परिश्रम गर्दा पनि याता यात सुचारू गर्न सकेनन्। जसको कारण अहिले पनि उनीहरूले उक्त पैह्रो सोहर्ने कार्य जारी राखेका छन्।
पैह्रोले यातायात ठप्प बनेपछि 29 माइल क्षेत्रको दुईवटा पैह्रो विभागले सोहर्ने कार्य गरेको थियो। लामो समय लगाएर जेसीबीले उक्त ठाउँको पैह्रो सोहर्ने कार्य गरिरहेका थिए भने वाहनहरूको लामेताँत जामले राजमार्गमा ट्राफिकको समस्या सिर्जना गरेको छ। धेरै लामो समय पछि उक्त ठाउँमा यातायात सूचारू बनेपनि सेभोक अनि कालिमन्दिर नजिक झरेको पैह्रोको कारण समाचार लेखुञ्जेलसम्म यातायात सूचारू बन्न नसकेको जानकारी विभागीय पक्षबाट प्राप्त भएको छ।
पैह्रोको कारण सिक्किम घुमेर कोलकोता फर्किरहेका गुजरात निवासी सञ्जय पटेलले धेरै समस्या भएको भन्दै आफुहरूको ट्रेन छुट्ने समस्या रहेको बताएका छन्। ‘सिक्किम घुमेर फर्कने क्रममा पैह्रोको चपेटमा परेका छौँ। हामी साथीहरूसँग सिक्किम घुम्न आएका थियौँ। विभिन्न ठाउँहरू घुमेर आज कोलकोता जान थियो तर यसरी पैह्रोको कार्ण आघा बाटोमा फसेका छौँ’ गुजरात निवासी सञ्जय पटेलले भने। यसक्रममा उनले राती  8 बजेको ट्रेन रहेको भन्दै उक्त ट्रेन छुट्ने समस्या भएको जानकारी गराए।
यसरी नै हैदरावाद निवासी रवी शर्माले पनि सिक्किम घुमेर फर्कने क्रममा पैह्रोको चपेटमा परेको भन्दै आफ्नो पनि ट्रेन छुट्ने समस्या रहेको बताएका छन्। ‘हामी पारिवारसँग सिक्किम घुम्न आएका थियौँ। सिक्किम घुमेर फर्कने क्रममा यसरी आधा बाटोमा आइपुगेर पैह्रोमा फसेका छौँ। अब कतिबेला यो बाटो खुल्ने हो भन्ने पनि हामीलाई कुनै जानकारी छैन’ रवी शर्माले भने।

No comments:

Post a Comment

Post Bottom Ad