डा. ईन्द्रबहादुर राई, कवि अगमसिँह गिरी लगायत अन्य विभुतिहरूको नाउँमा युनिभर्सिटीको प्रशासनिक भवनहरूको स्थापना गर्नेछौँ – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, September 10, 2018

डा. ईन्द्रबहादुर राई, कवि अगमसिँह गिरी लगायत अन्य विभुतिहरूको नाउँमा युनिभर्सिटीको प्रशासनिक भवनहरूको स्थापना गर्नेछौँ – विनय तामाङ

गफसफ.com, मङ्पू 11 सितम्बर।
‘पहाडमा निर्माण हुने युनिभर्सिटीको नाउँ डा. ईन्द्रबहादुर राई अथवा कवि अगमसिंह गिरीको नाउँमा राख्दा कसो होला भनेर मुख्यमन्त्री ममता ब्यानर्जीले मलाई भन्नुभएकै हो। पछि उनले तेञ्जिङ सेर्पाको नाउँ पनि सुझाव दिएकी हुन्। यस सम्बन्धमा मैले हाम्रा महान् विभुतिहरूलाई अवहेलना गर्न चाहेको होइन तर, कुनै विशेष व्यक्तिको नाउँमा युनिभर्सिटीको नाउँ राख्दा कुनै विशेष समुदायलाई मात्र काखी चेपेको जस्तो हुन्छ भन्ने सम्झेर यो युनिभर्सिटीको नाउँमा ‘दार्जीलिङ’ जोडिनुपर्छ भनेपछि ‘दार्जीलिङ हिल युनिभर्सिटी’-को नामकरण भएको हो’ उक्त कुरा जीटीए बोर्ड अध्यक्ष विनय तामाङले मङ्पूमा आयोजित कृतज्ञता कार्यक्रमलाई सम्बोधन गर्दै भनेका हुन्।
Binay Tamang, Chairman GTA, Board
मङ्पूमा ‘दार्जीलिङ हिल युनिभर्सिटी’-को निर्माण हुने निश्चित भएपछि मङ्पूवासीले उनलाई कृतज्ञता प्रकट गर्न एक कार्यक्रमको आयोजना गरेको थियो। सोहि कार्यक्रम मार्फत् सम्पूर्ण मङ्पूवासीले युनिभर्सिटी निर्माणको निम्ति जीटीए बोर्ड अध्यक्ष विनय तामाङ, उपाध्यक्ष अनित थापालाई कृतज्ञता प्रकट गरेका थिए भने मुख्यमन्त्री ममता ब्यानर्जी प्रति पनि आभार प्रकट गरिएको थियो। यस अवसरमा कार्यक्रममा मङ्पूका विभिन्न स्थानहरूमा कार्यरत वैज्ञानिक, प्राध्यपक, शिक्षक, साहित्यकारसँगै मङ्पू वरिपरिका विद्यालयका शिक्षकवर्ग लगायत समाजका वरिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।  
‘मैले हाम्रा महान् विभुतीहरू डा. ईन्द्रबहादुर राई, कवि अगमसिंह गिरी, तेञ्जिङ सेर्पा सबैलाई उत्तिकै सम्मानको दृष्टिले हेरेको छु। यसकारण युनिभर्सिटिभित्र निर्माण हुने विभिन्न खण्ड अथवा प्रशासनिक भवनहरूको नाउँकरण भने यी हाम्रा महान् बिभुतीहरूको नाउँमा राख्ने निर्णय गरेका छौँ’ विनय तामाङले कार्यक्रमलाई सम्बोधन गर्दै युनिभर्सिटीको नाउँकरण सम्बन्धि विभिन्न मानिसहरूले राखेको सुझावहरूलाई अघि सार्दै भने।
उनले सर्वप्रथम ‘ग्रिन फिल्ड युनिभर्सिटी’-को नाउँमा बिल पारित भएपछि धेरै मानिसहरूले उक्त नाउँ ठिक भएन भनेर सुझाव दिएको भन्दै पहिला युनिभर्सिटीको बिल पास भएपछि त्यहाँ नाउँ परिवर्तन गर्नसक्ने नियम अनुसार आफुहरूले दोस्रो चरणमा नाउँ परिवर्तनको पहल गरेको पनि स्पष्ट पारे।
‘हेर्नुहोस्, मुख्यमन्त्रीले पहाडलाई युनिभर्सिटी दिँदै गरेको समयमा यो नाउँ मनपरेन भन्दा उनले त्यसो भने अहिले दिनेछैनौँ भनेको भए हामीले पाउने थिएनौँ। यसकारण पहिला हामीले त्यहीँ नाउँमा स्वीकार गरेका हौँ। अब त्यो बील पारित भएपछि हामीले नियम अनुसार नाउँ परिवर्तनको सुझाव राखेका हौँ अनि त्यहीँ सुझाव अनुरूप अहिले नाउँ परिवर्तन भएको उनले अझ बताए।
‘दार्जीलिङ नाउँ आफैमा एउटा ब्राण्ड हो। यो ब्राण्ड विश्वभरी चर्चित छ। यसैकारण पहाडमा निर्माण हुने युनिभर्सिटीको नाउँमा पनि दार्जीलिङ जोडिएको हुनपर्छ भन्ने प्रस्ताव राखेपछि यस युनिभर्सिटीको नाउँ ‘दार्जीलिङ हिल युनिभर्सिटी’ राखिएको हो। यो नाउँले हाम्रो ठाउँलाई पनि प्रतिनिधित्व गर्छ’ विनय तामाङले भने।
उनले आफ्नो सम्बोधनको क्रममा छुट्टै राज्य सम्पूर्ण पहाडवासीका निम्ति पहिलो चाहना हो भने दोस्रो चाहना युनिभर्सिटी रहेको पनि बताएका छन्। ‘छुट्टै राज्य सबैका निम्ति पहिलो चाहना हो भने युनिभर्सिटी दोस्रो चाहना हो। अहिले हामीले दोस्रो चाहना पाएका छौँ, यो पहाडवासीका निम्ति सानो उपलब्धि होइन’ विनय तामाङले भने। यसक्रममा उनले अब पहाडवासीले आफ्नो सम्पतिलाई संरक्षण गरेर यसलाई विश्वस्तरमा परिचित गराउन सक्ने एउटा ‘संस्थान’ बनाउने कार्य गर्नुपर्ने पनि आह्वान गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले उक्त युनिभर्सिटी निर्माण हुने ठाउँमा पुग्नका निम्ति लोहापुलबाट लगभग 8 किलोमिटरको दुरी रहेको भन्दै लोहापुलबाट पनि एउटा बाटो निर्माण हुने घोषणा गरेका छन्। जसको कार्यभार पीडब्ल्यु विभागलाई सुम्पिएको पनि उनले बताएका छन्। ‘युनिभर्सिटी सानो संस्थान होइन, यसकारण यहाँ हरेक प्रकारको सुविधामा हामीले ध्यान दिएका छौँ’ तामाङले भने।
अर्कोतर्फ उनले राष्ट्रिय राजमार्ग 10 अन्तर्गत दैनिक विभिन्न प्रकारका दुर्घट्नाहरू हुने गरेको भन्दै राजमार्गमा आपतकालिन सेवाको अभाव रहेको कारण रम्बी प्राथमिक स्वास्थ्य केन्द्रमा ‘ट्रमा सेन्टर’को निर्माण गर्ने पनि घोषणा गरेका छन्। जसको निरिक्षण कार्य समेत जीटीए मुख्य सचिवले गरेको उनले बताएका छन्। यसैक्रममा उनले मङ्पूमा एउटा अग्निसमन केन्द्रको स्थापना हुनपर्ने माग भए पनि उक्त अग्निसमन केन्द्र पनि रम्बीमा निर्मान गर्ने घोषणा गरेका छन्। ‘रम्बीबाट मङ्पू टाडो होइन। यता हाईवेमा पनि दुर्घट्ना भए त्यसले झट्ट काम गर्न सक्नेछ। यसैकारण एउटा अग्निसमन केन्द्र रम्बीमा स्थापित हुनेछ’ तामाङले भने।
मङ्पू जनमैदानमा आयोजित कृतज्ञता कार्यक्रमलाई सिन्कोना निर्देशक डा. शामुएर राईले अध्यक्षता गरेका थिए। यस अवसरमा कालेबुङ महाविद्यालयका प्राध्यपक सञ्जय विष्टले मङ्पूको शैक्षिक विकास माथि आफ्नो वक्तव्य राखेका थिए। ‘दार्जीलिङ हिल युनिभर्सिटी केवल मङ्पूको मात्र सम्पति होइन् सम्पूर्ण पहाडवासीको सम्पति हो। यसकारण सम्पूर्ण पहाडवासीले यसलाई उत्कृष्ट शैक्षिक संस्थानका रूपमा विकसित गर्ने कार्य गर्नुपर्छ’ प्रा. सञ्जय विष्टले भने। यसक्रममा उनले युनिभर्सिटीको निर्माणले क्षेत्रको सर्वाङ्गिन विकास हुने कुरामा विश्वस्त रहेको पनि बताएका छन्।
‘युनिभर्सिटीको निर्माणपछि यहाँको भौतिक संसाधनको पनि विकास निश्चय हुनेछ। तपाईँको एउटा कटेरोको मूल्य पनि निश्चय बड्नेछ। कटेरोको मूल्य बढ्यो भन्दैमा आत्तिएर कार्य गर्नुहुँदैन। आफ्नो ठाउँको सुरक्षा, आफ्नो सम्पत्तिको सुरक्षा गर्ने जिम्मेवारी आफ्नो हो। यसकारण सचेत बनेर कार्य गर्नु पनि उत्तिक्कै आवश्यक छ’ प्रा. सञ्जय विष्टले स्थानीयहरूलाई आह्वान गर्दै भने।
कार्यक्रममा दार्जीलिङका विधायक अमर सिंह राई, खर्साङका विधायक डा. रोहित शर्मा, डा. शामुएल राई,  ज्ञानचन्द्र गुरुङ आदिले पनि सम्बोधन गरेका थिए।

No comments:

Post a Comment

Post Bottom Ad