विमल भर्सेस विनय; 11 जातगोष्टिलाई जनजातिको दर्जा दिनुपर्ने मुद्दामा छेँडियो वाकयुद्ध, विमल गुरुङले भने – ‘केन्द्रले पारित गर्नै लाग्यो’, विनय तामाङले भने –‘भाजपा र विमल गुरुङको झुट प्रमाणित’ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, September 27, 2018

विमल भर्सेस विनय; 11 जातगोष्टिलाई जनजातिको दर्जा दिनुपर्ने मुद्दामा छेँडियो वाकयुद्ध, विमल गुरुङले भने – ‘केन्द्रले पारित गर्नै लाग्यो’, विनय तामाङले भने –‘भाजपा र विमल गुरुङको झुट प्रमाणित’

'विमल गुरुङ र भाजपाको दाबी आरटीआईले गर्‍यो झूटो प्रमाणित' – विनय तामाङ
गफसफ.com, दार्जीलिङ २७ सितम्बर।
भूमिगत नेता विमल गुरुङले गोर्खा समुदायका 11 जात गोष्टिलाई केन्द्र सरकारले जनजातिको मान्यता दिनै लागेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको केही क्षणमा नै उनको दाबी झूटो प्रमाणित भएको जीटीए वोर्ड अध्यक्ष विनय तामाङले अर्को प्रेस विज्ञप्ति जारी गरेर दाबी गरेका छन्। विमल गुरुङको दाबीलाई झूटो प्रमाणित गर्नका निम्ति उनले आरटीआईको जवाब पनि सार्वजनिक गरेका छन्।


11 जातगोष्ठीलाई जनजातिको मान्यता दिनुपर्ने दीर्घकालीन मागलाई लिएर पहाड़का कतिपय भगौड़े नेता अनि भाजपाले झूट बोलिरहेको प्रमाणित भएको छ। महेन्द्र थामी नामक दार्जीलिङको एकजना वासिन्दाको दुईवटा आरटीआईको जवाबमा केन्द्रिय जनजाति मन्त्रालयबाट रेजिस्टर जेनरल अफ इण्डिया (आरजीआई)-ले गोर्खा जातिको 11 वटा जातगोष्ठीलाई केन्द्रिय जनजातिको मान्यता प्रदान गरिनुपर्ने मागलाई खारेज गरिसकेको कुरा स्पष्ट गरिसकेका छन्’ विनय तामाङले अझ भनेका छन् -‘आरजीआईद्वारा पहिलोपल्ट खारेज गर्दा पनि राज्य सरकारको तर्फबाट अनुमोदन गरेर केन्द्र सरकारसमक्ष पठाएको थियो भने दोस्रोपल्ट फेरि आरजीआईले उक्त अनुमोदन खारेज गरेको उक्त आरटीआईमा केन्द्रिय जनजाति मन्त्रालयले जनाएको छ।’ 
RTI Report 
गोर्खा समुदायका 11 जात गोष्ठिलाई जनजातिको मान्यता प्रदान गर्ने केन्द्र सरकारको कार्यबारे महेन्द्र थामीले मागेको आरटीआईको जवाबले भाजपा गोर्खाहरू प्रति इमान्दार नरहेको प्रमाणित भएको पनि तामाङले बताएका छन्। ‘भाजपा गोर्खाहरूलाई भावनात्मकरूपमा ब्ल्याकमेल गरेर लोकसभा चुनाउ जित्ने ताकमामात्रै रहेको तथा गोर्खाहरूलाई उनीहरूले दिएको वचन चुनावी स्टन्टमात्रै रहेको पनि प्रमाणित गर्दछ’ विनय तामाङले भनेका छन्।
15.06.1999 को दिन जारी गरिएको गभर्मेन्ट अफ इण्डिया, अण्डर सेक्रेटेरी अगसर अलीद्वारा हस्ताक्षरित पत्र संख्या ((F.No: 17011/30/2017-C & LM) dated 17-September 2018) अनि पछि फेरि 25.06.2002 मा संशोधन गरिएको उक्त पत्रले नै जनजातिको मुद्दालाई तल झार्ने काम गरेको पनि विनय तामाङले दाबी गरेका छन्।
जनजाति मन्त्रालयको आधारमा सम्बन्धित राज्य सरकारको परामर्श अनि अनुमोदन अनि आरजीआईको, नेशनल कमिशन फर सेड्युल ट्राइब्सको अनुमोदनमा मात्रै जनजातिको दर्जा प्रदान गर्न सकिने प्रावधान रहेको पनि उनले बताएका छन्। यसक्रममा 17 सेप्टेम्बर 2018 का दिन जारी गरिएको आरटीआईको जवाबमा पनि उक्त कुरा उल्लेख गरेको छ।
‘प्रावधान मुताविक सम्बन्धित राज्य सरकारबाट आरजीआईमा प्रतिक्रियाको निम्ति प्रस्ताव आएको हुनुपर्छ। तर आरजीआईले दुईपल्ट नै उक्त प्रस्तावलाई अस्वीकार गरिदिएको छ’ विनय तामाङले आरटीआई मार्फत् प्राप्त जवाबमा लेखिएको विषयमा भने। यसक्रममा उनले उक्त जवाबमा उल्लेख गरिएको दुईपल्ट प्रस्ताव भन्नुको तात्पर्य नै राज्य सरकारले जनजातिको विषयमा दुईपल्ट प्रस्ताव आरजीआईलाई पठाइसकेको स्पष्ट गरेको पनि बताएका छन्। ‘राज्य सरकारले पठाइसकेको अनुमोदनलाई केन्द्र सरकारले गोर्खाहरूसित इमान्दार रहेको भए सकरात्मक विचार गर्नुपर्ने थियो। तर दुई-दुई पल्ट राज्य सरकारद्वारा पठाइएको प्रस्तावलाई पनि गम्भीरतासाथ पदक्षेप नलिएर भाजपाले गोर्खाहरूको निम्ति कुनै सहानुभूति नरहेको प्रमाण  दिइसकेको छ’ विनय तामाङले भनेका छन्।
‘गोर्खा जातिका 11 वटा जातगोष्ठीलाई फेरि झूटो आश्वासनमै भुलाएर भाजपाले फेरि कतिपय भगौड़े नेताहरूको काँधमा बन्दूक राखेर आगामी लोकसभा चुनाउमा आफ्नो राजनैतिक रोटी सेक्ने षड़यन्त्र बुन्न शुरू गरिरहेका छन्’ विनय तामाङले भूमिगत नेता विमल गुरुङहरू प्रति सङ्केत गर्दै अझ भनेका छन् –‘तर, महेन्द्र थामीद्वारा प्रेषित गरिएको आरटीआईको जवाबमा केन्द्रिय जनजाति मन्त्रालयले जुन जवाब दिएका छन् त्यसको आधारमा हेर्ने हो भने भाजपाले जनजातिको निम्ति कुनै कार्य नगरेको प्रमाणित भइसकेको छ भने भगौड़े नेताहरूले जनजातिको मुद्दामा जनतालाई ढाँट्ने काममात्रै गरिरहेका छन्।’
यसक्रममा उनले जनजातिको मुद्दालाई लिएर गोर्खा जनमुक्ति मोर्चा त्यसै बस्ने छैन भन्दै अब भाजपाको फोस्रो आश्वासनमा होइन तर 11 जातगोष्ठीलाई जनजातिको मान्यता प्रदान गर्ने दिशामा हामी प्रतिवद्ध छौं भनेका छन्। ‘जबसम्म केन्द्र सरकार अनि निरीक्षण कमिटीले यस विषय़मा सकरात्मक निर्णय लिनेछैन हामी आफ्नो तर्फबाट निरन्तर संघर्ष जारी राख्नेछौं’ तामाङले स्पष्ट भनेका छन्।
‘भाजपाको झूटो आश्वासन र भगौड़े नेताहरूको भ्रामक वयानहरूसित अब पहाड़वासीले पटक्कै विश्वास गर्नेछैन। यदि यसपल्ट पनि भाजपाले झूटो आश्वासनमात्रै दिएर पहाड़ अनि तराई-डुवर्सवासीलाई लण्ड्याउन खोजे पहाड़, तराई डुवर्सक्षेत्रमा कुनै पनि राजनैतिक अस्थिरता उत्पन्न भए भाजपा सरकार स्वयँले नै जिम्मेवारी पनि लिनुपर्नेछ’ विनय तामाङले अझ भनेका छन् –‘किनभने यही मुद्दालाई अघि राखेर गोर्खाहरूको भोट दुईवटा लोकसभा चुनाउमा भाजपाले आफ्नो पक्षमा पारेको हो। यसर्थ पहाड़, तराई-डुवर्समा राजनैतिक अस्थिरता उत्पन्न हुन अघि नै भाजपाले आफ्नो वचन पूरा गरी हाम्रो मागलाई पूरा गर्नुपर्छ भन्ने हाम्रो माग रहेको छ।’
तामाङले जारी विज्ञप्तिमा जनजातिको मुद्दालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि पत्रचार गर्ने बताएका छन्। ‘जनजातिको मुद्दालाई यथाशीघ्र पूरा गरिनुपर्ने माग लिएर म चाड़ै प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई पनि पत्राचार गर्नेछु। यसबाहेक 11 जातगोष्ठीसित सम्बन्धित संघ-संस्था एवं भारतभरिका सम्पूर्ण गोर्खाहरूलाई पनि यस मुद्दालाई शीघ्र पूरा गर्न केन्द्र सरकारलाई जोड़तोड़ले चाप सृष्टि गर्ने पनि म अपील गर्दछु’ तामाङले भनेका छन्।
‘गोर्खा जनमुक्ति मोर्चाले पनि देशका हरेक गोर्खाबहुल प्रान्तहरूबाट यस मुद्दालाई चरमरूपले अघि बड़ाउनेछ भने यस मुद्दालाई उठान गर्न हरेक तहबाट अनि हरेक प्रान्तका गोर्खाहरूलाई हरेक प्रकारको सहयोग पनि गोर्खा जनमुक्ति मोर्चाले प्रदान गर्नेछ’ उनले थप भनेका छन्।

यो पनि पढ्नुहोस्: गोर्खा समुदायका 11 जात गोष्टिलाई केन्द्रले जनजातिको मान्यता दिनै आँटेको छ – विमल गुरुङ

No comments:

Post a Comment

Post Bottom Ad