ममता ब्यानर्जीलाई ‘भानु-स्मृति सम्मान’ विवादको घेरोमा परेपछि आयोजक समितिले मागे माफी - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Sunday, August 12, 2018

ममता ब्यानर्जीलाई ‘भानु-स्मृति सम्मान’ विवादको घेरोमा परेपछि आयोजक समितिले मागे माफी

गफसफ.com, कालेबुङ 12 अगस्त।
‘26 औँ नेपाली भाषा मान्यता दिवस समारोह तथा 204 औँ भानु स्मरण एवं शिवकुमार राई जन्म शवार्षिकी’ – कार्यक्रम सम्पन्न हुन अघि नै विवादको घेरोमा परेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीलाई त्यसै कार्यक्रममा भानु स्मृति सम्मान दिने घोषणाले कार्यक्रम सम्पन्न हुन अगावै विवादको घेरोमा परेको हो।


26 औँ नेपाली भाषा मान्यता दिवस आयोजक समिति, कालचिनी, डुवर्सको आयोजनामा आगमी 19 अनि 20 अगस्तको दिन कालचिनी डुवर्समा भाषा मान्यता दिवस कार्यक्रम हुने तय भइसकेको छ। जसको निमन्त्रणा पत्र सार्वजनिक भएपछि कार्यक्रम विवादको घेरोमा परेको हो। कार्यक्रमको दोस्रो दिन अर्थात् 20 अगस्तको दिन पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई ‘भानु-स्मृति सम्मान’ सिक्किमका पूर्व सांसद दिलकुमारी भण्डारीको बाहुलीबाट कार्यक्रम सूचीमा उल्लेख रहेको छ। जसको कारण नै मुख्यरूपले कार्यक्रम सम्पन्न हुन अघि नै विवादित बनेको छ।
कार्यक्रमलाई लिएर विवाद सिर्जना भएपछि मुख्य अतिथिका रूपमा आमन्त्रित पूर्व सांसद दिलकुमारी भण्डारीले कार्यक्रममा नजाने घोषणा गरेकी छन्। उनले मुख्यमन्त्री ममता ब्यानर्जीलाई ‘भानु स्मृति सम्मान’ आफ्नै हातबाट दिइने ‘खबर म्यागजिन’-ले समाचार सम्प्रेषण गरेपछि थाह पाएको भन्दै सामाजिक सञ्जाल फेसबुक मार्फत् कार्यक्रममा नजाने आफ्नो बयान सार्वजनिक गरेकी छन्।
दिलकुमारी भण्डारी
कार्यक्रमबारे विवाद सिर्जना भएपछि पूर्व सांसद दिलकुमारी भण्डारीले आफ्नो फेसबुक पोस्टमा यसरी लेखेकी छन् (अनुवाद) - “धोका पाएको अनि हतप्रभ बनेको अवस्थामा मैले यो कुरो लेख्नु परिरहेको छ। मलाई पश्चिम बङ्गालको कालचिनीबाट २६ औँ भाषा दिवसको कार्यक्रममा मुख्य अतिथिका रूपमा बोलाइएको थियो। तपाईँहरूले निमन्त्रणा पत्र र आयोजकहरूसित गरिएको बातचित हेर्न सक्नुहुनेछ। मेरो हातबाट बङ्गालकी मुख्यमन्त्री सुश्री मम्ता ब्यानर्जीलाई भानु स्मृति सम्मान दिइने कुरो कालेबुङका मनोज बोगटीले खबरम्यागेजिन नामक पत्रिकामा सानो खबरका रूपमा लेखेका छन् भन्ने  आज थाहा पाएँ। मलाई  यो कुरो स्वीकार छैन। मलाई यस्तो कुरो बताइएको पनि थिएन। यस कार्यक्रमबाट जोडतोडको विरोधसहित आफ्नो सहभागिता फिर्ता लिँदछु अनि आयोजकहरूले मलाई अध्यारोमा राखेकोमा म घोर निन्दा गर्दछु।” (उनको पोस्ट जस्ताको त्यस्तै हेर्न यहाँ थिच्नुहोस्)
यता कार्यक्रम हुन अगावै विवादित बनेपछि आज कार्यक्रम आयोजक समितिका सचिव अबिर खालिङलाई गफसफ.com - ले सम्पर्क गरेर यसबारे स्पष्टिकरण मागेको हो। खालिङले कार्यक्रमलाई लिएर विवाद सिर्जना भएपछि आफु लज्जित हुन परेको भन्दै माफी नै मागेका छन्।
‘हामीले भाषा दिवस अनि भानु स्मरण एवं शिवकुमार राई जन्म शवार्षिक पालन गर्ने तय गरेका हौँ। कालचिनी नागरिक समाजको आयोजनामा यो कार्यक्रम तय भएको हो। कार्यक्रमको पहिलो दिन दिलकुमारी भण्डारीलाई मुख्य अतिथि बनाएर त्यसैको बेलुकी कवि गोष्टि हुने तय गरेका थियौँ अनि दोस्रो दिनको कार्यक्रममा भाषा सङ्ग्रामीहरूलाई अभ्यर्थना गर्ने निर्णय गरेका थियौँ। त्यसैको अनुसार हामीले उनलाई निमन्त्रणा पत्र पनि पठाएका हौँ’ अबिर खालिङले विस्तृतमा जानकारी दिँदै भने।
उनले कालचिनीमा ‘बिर्सा- रवीन्द्र-भानु’ – को नाउँमा एउटा भवन निर्माण हुँदै गरेको अनि त्यसैको कारण आदिवासी अनि बङ्गाली समुदायले मुख्यमन्त्री ममता ब्यानर्जीलाई छुट्टा-छुट्टै कार्यक्रममा अभ्यर्थना गरिसकेको जानकारी गराउँदै यता त्यहाँ वसोवास गर्ने गोर्खाहरूको पक्षबाट पनि मुख्यमन्त्रीलाई सोही कार्यक्रममा अभ्यर्थना जनाउनु उचित होला भन्ने ठानेर आयोजक समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले एउटा सभामा ‘भानु स्मृति सम्मान’ दिउँ भनेर प्रस्ताव राखेको पनि बताएका छन्। आयोजक समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङको प्रस्तावलाई सबैले स्वीकार गरेर उक्त सम्मान मुख्यमन्त्री समक्ष एकजना व्यक्तिमाफत् पठाउने तय गरेको पनि उनले जानकारी गराएका छन्।
‘अध्यक्षको प्रस्तावलाई सबैले स्वीकार गरेर अभ्यर्थना जनाउने तय भएको थियो। कार्यक्रममा दिलकुमारी भण्डारी मुख्य अतिथिका रूपमा आउने भएको कारण उनकै बाहुलीबाट मुख्यमन्त्रीलाई सम्मान दिने निर्णय पछिबाट अध्यक्षको प्रस्ताव अनुसार भएको थियो। जसबारे हामीले विवाद होला भन्ने सोँचेका पनि थिएनौँ’ अबिर खालिङले अझ भने – ‘जुन निर्णय हुनभन्दा अघि नै दिलकुमारी भण्डारीलाई हामीले निमन्त्रणा पत्र पठाइसकेका थियौँ। जसबारे अघि यसबारे केहि चर्चा नभएको कारण पत्रमा पनि उल्लेख गरेका छैनौँ। तर आज उनलाई यसबारे अँध्यारोमा राखिएको जस्तो भएको छ। अघिबाटै यो तय नभएको कारण पनि उनलाई पठाएको पत्रमा यसबारे केही उल्लेख नगरिएको हो। अहिले आएर उनलाई अन्योलमा राखेको जस्तो भएको कारण म आयोजक समितिको सचिवको हैसियमा क्षमाप्रार्थी छु अनि आफैमा लज्जित पनि छु।’
उनले वास्तवमा मुख्यमन्त्री ममता ब्यानर्जीलाई सम्मान जनाउँने कार्यक्रम नभएर भाषा सङ्ग्रामीहरूलाई सम्मान गरेर कवि गोष्ठि आयोजना गर्ने तय गरेको अनि त्यसै कार्यक्रमको आंशिक अङ्ग मुख्यमन्त्रीलाई सम्मान दिने रहेको बताउँदै यसबारे मुख्यमन्त्री ममता ब्यानर्जी समेतलाई आयोजक समितिले कुनै सम्पर्क गरेर सूचित नगरेको स्पष्टिकरण दिएका छन्। ‘मुख्यमन्त्रीलाई जुन सम्मान दिने कुरा छ त्यो उनकै उपस्थितिमा दिने तय गरेका छैनौँ। हामीले उनलाई सम्पर्क समेत गरेका छैनौँ। उनका निकटका व्यक्तिलाई कार्यक्रममा उनको सम्मान हस्तान्तरण गरेर पठाउने हामीले सोंचेका थियौँ’ खालिङले अझ भने ‘त्यहीँ कारण नै कार्यक्रम आज विवादको घेरोमा परेको हो। जसको कारण हामी नै अहिले भिलेन जस्तै बनेका छौँ।’
‘आयोजक समितिका अध्यक्ष इन्द्रबहादुर गुरुङले एउटा सभामा अचाक दिएको प्रस्तावलाई सबैले स्वीकार गरेको कुराले आज कार्यक्रम विवादित बनेकोप छ। जसबारे अध्यक्ष गुरुङले यो मेरै प्रस्तावको कारण यसरी विवाद भएको भन्ने स्वीकार पनि गरेका छन्’ आयोजक समितिका सचिव अबिर खालिङले भने। उनले कार्यक्रमलाई लिएर विवाद सिर्जना भएपछि अहिलेघरी धेरैजना निमन्त्रणा पठाइएका साहित्यकारहरू नआउने निर्णय गरिसकेको भन्दै यसको निम्ति आयोजक समितिको पक्षबाट उनले पुन: माफी मागेका छन्। यसक्रममा उनले कार्यक्रममा मुख्यमन्त्रीलाई सम्मान गर्नपर्छ भनेर आफुहरूलाई कसैले थोप्ने कार्य पनि नगरेको भन्दै उक्त निर्णय नितान्त आयोजक समितिको रहेको अनि यसबारे अहिलेसम्म मुख्यमन्त्री समक्ष सूचित समेत नगरिएको बताएका छन्। यद्यपी समाचारमा यसबारे प्रकाशित भएपछि मुख्यमन्त्रीले निश्चय नै यसबारे थाह पाए आफुहरू अझ लज्जित हुनपर्ने स्थिति हुने पनि उनले बताएका छन्।
हालमा कार्यक्रमलाई लिएर तयारी युद्ध स्तरमा चलिरहेको बताउँदै अहिले आएर विवादकै कारण कार्यक्रम स्थगित गर्न झनै असुविधा हुने रहेको बताउँदै उक्त कार्यक्रम सामान्य रूपले पालन गरिने पनि जानकारी दिएका छन्।
स्मरण रहोस्, गतवर्ष पश्चिम बङ्गाल राज्यमा तेस्रो भाषाका रूपमा बङ्गला भाषा अनिवार्य रूपले पड्नुपर्ने राज्य सरकारले घोषणा गरेपछि नेपाली भाषीहरू सरकारप्रति रूष्ट बनेका थिए। जुन विवाद पछि बडेर छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन अनि  105 दिने बन्दमा पुगेर टुङ्गिएको थियो। त्यहीँ विवाद चर्केको ठिक वर्ष दिनपछि मुख्यमन्त्री ममता ब्यानर्जीलाई ‘भाषा मान्यता दिवस’-कै अवसरमा ‘भानु स्मृति सम्मा’ दिने कालचिनी नागरिक समाजले घोषणा गरेपछि यसको चौतर्फी विरोध भएको हो। जुन विरोधको कारण कार्यक्रम सूचीमा मुख्य अतिथिका रूपमा नाम अङ्कित भइसकेको पूर्व सांसद दिलकुमारी भण्डारीले आफ्नो नाउँ फिर्ता लिइसकेकी छन् भने कार्यक्रम सूचीमा समावेश बनिसकेको अन्य साहित्यकारहरूले पनि कार्यक्रममा भाग नलिने निर्णय गरेका छन्।

अर्कोतर्फ उक्त कार्यक्रमले विवाद चुलिएपछि कार्यक्रम आयोजक असमितिका सचिव अबिर खालिङले पनि आफ्नो फेसबुक पोस्ट मार्फत् पूर्व सांसद दिलकुमारी भण्डारी प्रति सार्वजनिक माफि मागेका छन्।  जसलाई यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ। -


अबीर खालिङ

आदरणीय गुरुमा दिलकुमारी भण्डारी महोदयासँग माफीनामा

आदरणीय गुरुमा,
नमस्कार। तपाईँसँग सार्वजनिक रूपमा म माफी माँग्न चाहन्छु।तपाईंलाई कार्यक्रममा निम्तो दिँदा मुख्यमन्त्रीलाई भानुस्मृति सम्मान तपाईंको बाहुलीबाट प्रदान गर्ने कुरो सुचित गरेको थिइनँ।दुईपल्टको मेरो पत्राचारमा तपाईंलाई मात्र मुख्य अतिथि र अभ्यर्थनाको कुरो लेखेको थिएँ।तपाईंलाई अँध्यारोमा राखेँ।
लज्जित् र क्षमा प्रार्थी छु।समस्त डुवर्सको तर्फबाट क्षमादान चाहन्छु।
मैले जब तपाईंलाई पत्रचार गरेको थिएँ, मुख्यमन्त्रीलाई सम्मान दिने कुरो थिएन।पछिल्लो द आयोजक मण्डलीको सभामा अध्यक्ष इन्द्रबहादुर गुरूङले मुख्यमन्त्रीलाई भानुसम्मान दिने प्रस्ताव ल्याए औ त्यसको कारण र औचित्य उहाँले प्रेस रिलिज गर्दा गर्नुहुनेछ।उहाँले नै कार्यक्रम सुची तयार पार्दा तपाईंको बाहुलीबाट प्रदान गर्ने कुरा लेख्नुभएछ।तपाईंलाई यस विषयमा सोध्न र जानकारी गराउन अगावै यस्तो घाती काम भयो।म एकदमै लज्जित् र यो सबको दायित्व लिएर हजुरसँग क्षमा याचना चाहन्छु।
तपाईंको सुस्वास्थ्य र दीर्घायुको कामनासहित
अबीर खालिङ
कालचिनी, डुवर्स।

1 comment:

Post Bottom Ad