संस्मरण__________________सञ्जय विष्ट____________________
बालकृष्ण समलाई ६ महिनामा सम्पन्न आफ्नै अन्नप्राशनको घटना थाहा थियो अरे। मेरो आँखामा १९७४ सालको क्यालेन्डरको नक्सा हल्लिरहन्छ। सन् १९७४ अर्थात् म ६ वर्षको छँदाको कुरो। बालकृष्ण त्यसैले बालकृष्ण अनि म यसैले म।
तर मेरा बाबु देवकोटा भन्दा धेर रोमान्टिक। त्यति बेलाको सन्त अल्फनसस् पढेका। पछि घरमै बसी बसी आई. ए., बी. ए. र नेपाली विषयमा अनर्स पनि गरेका। देवकोटा आफ्ना निबन्धहरूमा गोसाइथान र झिल्टुङ पुगे पनि व्यावहारिकतामा फर्केर बाघ बजार नै आए।
‘छ मखमली घाँस बडो मुलायम
म लेट्छु जस्माथि सकी परिश्रम
पङ्खा छ मेरो वटवृक्ष सुन्दर
समीर हम्कीकन चल्छ सर्सर’।।
***
‘विमान खासा मनको लिईकन
म चन्द्र तारा पृथ्वी घुमीकन
विहारको मोज लुटी लुटीकन
फर्कन्छु फेरी उहि रम्य आँगन॥’ - भनी अन्त्यानुप्रास मिलाएर कविता लेख्ने देवकोटाले सशरीर परिश्रम गरेका, घाँसमाथि सुतेका, निदाएका, मनको विमान चढी पृथ्वी मात्रै कहाँ र चन्द्रमा अनि तारासम्म घुमी विहारको मोज लुटी घर फर्केका, रुखका पातहरू हल्लिँदा आएको प्राकृतिक हावाको शितलता ग्रहण गरेका प्रमाण दस वर्ष लगाई देवकोटामाथि अनुसन्धान गर्दा झन्डै झन्डै देवकोटाझैँ सनकी हुने डा. कुमारबहादुर जोशीसित पनिछैन।
देशको राजधानीको दरबाद हाई स्कुल पढ्ने, उच्च शिक्षा लाभका निम्ति पटना पुग्ने, जनता पढे हक खोज्छन् भनी शैक्षिक केन्द्र स्थापनका विरोधी चन्द्र समशेरलाई त्रिचन्द्र क्याम्पसका आधारशीला राख्न बाध्य बनाई त्यहाँ अध्यापन कार्य गर्ने र के. आई. सिंहको मन्त्री मण्डलमा देशका शिक्षा मन्त्रीसम्म बन्ने देवकोटाले कतिपल्ट विदेश भ्रमण गरे होलान्, त्यसैले कतिपल्ट हवाई यात्रा गरे पनि गरे होलान्। देवकोटाले जतिपल्ट हवाई यात्रा गरे होलान्, मेरा बाबु-बाजेले आकाशतिर मुन्टो फर्काए होलान् र क्रमशः सानु बन्दै दृष्टिबाट नहराइन्जेल हावाजहाज हेरे होलान्।
देवकोटा लेखनमा खाँटी रोमान्टिक। मेरा बाबु-बाजे व्यवहारमा। दिनभरि प्रकृतिसित रमाए तापनि साँझ परेपछि देवकोटा फर्केर सहरको घरै आए। यसको ठिक विपरीत मेरा बाबु-बाजे दुईवटा दुई तले पक्का घरसित सुनदह रेल्वे स्टेसनको भित्ता ४८ सालमा १६०० रुपियाँमा कुन कैँयालाई बेचेर ब्रिटिसले सिन्कोना रोपेर अनि रवीन्द्रनाथले चारपल्ट आइदिएर ख्याति कमाएको मङ्पूको टुप्पो लाब्दा खासमहल आए।
मैले २२ अगस्ट १९६८ मा त्यहाँ जन्मनुपरेको कारण त्यही हो।
मलाई एउटा कुरोमा साह्रै अचम्म लाग्छ। पेसाले गुरुबाबू मेरा बाबुले मलाई आजसम्ममा कहिले राम्ररी पढ् त के पढ् मात्रै पनि भनेनन्। पढाउने त कुरै छैन। मैले छ्यासी सालमा माध्यमिक उतीर्ण गरेँ। चौतीसजना थियौँ हामी त्यस वर्ष परीक्षा बस्नेहरू हाम्रो स्कुलबाट। सधैँ पहिलो हुने इलाले पहिलो दर्जामा परीक्षा उतीर्ण गरी। इलाभन्दा केही अङ्क थोर ल्याएर दोस्रो दर्जामा मैले माध्यमिक उतीर्ण गरेँ। मपछि थिए अरू बत्तीसजना पास फेलहरू।
त्यति बेला एघार स्कुलमा थिएन। दस सकेपछि कलेजियन भइन्थ्यो। त्यहाँ जा, त्यहाँ नजा, सेन्ट जोसेफ्स् कलेज जा, सेन्ट जोसेफ्स् नजा, गवर्न्मेन्ट कलेज जा, नजा-हरू कसैले भनेनन्। रिजल्ट बोकेर म लुरुलुरु दार्जिलिङ सरकारी महाविद्यालय गएँ। ‘जोग्राफी सारो हुन्छ,’ भने मभन्दा एक वर्षअघि कलेज पुग्ने गाउँले साथीले। फारममा मैले हिस्ट्री लेखेँ। उच्च माध्यमिकको परीक्षाफल हात पर्दा त मनिक्कै बाठो भइसकेको थिएँ। साह्रो इकोनोमिक्स् र इङ्लिसलाई पन्साइदिएँ। हिस्ट्री र पोलिटिकल साइन्ससित नेपाली अनर्स लिएँ। अनर्सको सन्दर्भमा यति चाहिँ म घमन्डसित भन्न सक्छु – म जुनै विषयमा पनि अनर्स लिन सक्थेँ तर नेपालीमै अनर्स लिने सोख ममा एघार-बाह्रतिर पढ्दै जन्मेर हुर्किसकेको थियो।
हाम्रो समयमा उत्तर बङ्ग विश्वविद्यालयको परीक्षाफल निकाल्ने ढङ्ग खुट्टा भाँचिएको कछुवाको जस्तो थियो – परीक्षा सिद्धाएर दस महिना पर्खिनुपर्ने। त्यस दस महिनाको सदुपयोग मैले काठमाडौँको एउटा स्कुलमा सर भएर गरेँ। दस महिनापछि स्नातकको परीक्षाफल आएको खबर आयो काठमाडौँमा। आएर परीक्षाफल निकालेँ र फेरि नेपाल गएँ। ‘न्याय हराए गोर्खा जानू, विद्या हराए काशी जानू’भन्ने सुनेथेँ। नेपालदेखि भैरहवा, सुनौली, गाजीपुर र गोरखपुर हुँदै म पृथ्वीदेखि बाहिर शिवजीको जटामा बसेको काशी पुगेँ अनि स्नातकोत्तर तहमा भर्ना लिएँ।
माथि नै लेखिहालेँ, मेरा बाबु देवकोटाको ‘बाबु रोमान्टिक’ थिए। यी भर्नाहरूमा तिनी मेरा अभिभावक थिएनन्।
मेरा बाबुको चरित्रको खुलासा नगरी उनी कसरी देवकोटाका ‘बाबु रोमान्टिक’ थिएभन्ने कुरा अब लेख्छु म।-
म कहिलेदेखि स्कुल गएँ, मलाई थाहा छैन। प्राथमिक पाठशालामा पढ्दा म ज्ञानी थिएँ कि लद्दु – त्यो पनि मलाई थाहा छैन। बाबु नै स्कुलका हेड सर थिए। मैले फेल हुनुपरेन। बाबु हेड सर हुनाको विशेष दुईवटा फाइदा थियो मलाई – पहिलो, म जहिले पनि बुलगर पकाउने समूहको एकजना सदस्य हुन्थेँ अनि दोस्रो, कुनै सर स्कुलन आएका दिन भुइँ क्लासलाई ए, बी, सी, डी; क, ख, ग, घ अनि ०, १, २, ३, ४ पढाउन जान्थेँ। सायद दोस्रोदेखि चौथो कक्षासम्मको विद्यार्थी रहँदा त्यस्ता बेला मौकामा भुइँ क्लासलाई पढाउने गरेँ किभन्ने लाग्छ मलाई अहिले मस्तिष्कलाई जोड दिएर सम्झँदा। तर मेरा बाबु न तम्याकफार्लेन थिए, न त म गङ्गाप्रसाद। चारपछि त्यो क्रम टुट्यो।
के थिएन र गाउँमा? चप्लेटी ढुङ्गा थियो, त्यही ढुङ्गा चढेर खोला पुग्थ्यौँ। पोखरी थियो, फुकालेर जम्मै लुगा ढुङ्गामाथि राखी पौडी खेल्थ्यौँ। नेभारा थियो, गरेन्डल थियो, आरुचा र नास्पातीहरू थिए। धुर्पिसका रुख थिए। कता कताबाट चराहरू उडेर आउँथे। घिच्रोमा क्याटिस हुन्थ्यो। पाइपको गाडी कुदाउन छाताका करङ र बाँसका खपेटाहरू थिए। लाल पत्थर, सुन्तला मिठाई, अत्तर मिठाई अनि अन्डा मिठाईहरू थिए।
दसैँ अघि बाबु पशुपति जान्थे। दुवै छोरालाई एउटै रङको चिप्लिने लुगा ल्याइदिन्थे। लुगा मात्रै होइन, दसैँको जुत्तासम्म सिरानीकै छेउ राखेर सुत्थ्यौँ। मैला नलागोस् भनेर ओछ्यानमाथि नै चढेर जुत्ता लगाएर हिँड्थ्यौँ र हेर्थ्यौँ। घरमाल्याइएका ‘इन्डिया टुडे’, ‘मनोहर कहानियाँ’ र ‘सत्य कथा’-का पाना पल्टाएर त्यसभित्रका नक्साहरूलाई औँलाहरूले मात्रै होइन, हत्केलाले नै छोएर पहिले ‘यो मेरो’ भन्न पाएको मै ‘पाएको’ आनन्द हुन्थ्यो। के थिएन र गाउँमा? गाउँमा जे जति उपलब्ध थिए –संसारमा हुने भनेकै त्यति नै हुन् भन्ने लाग्थ्यो। आवश्यकता जति थिए त्यसको परिपूर्ति गाउँमै थियो। अभावको सीमितताले कतै गइरहने आवश्यकतै थिएन।
तर एक दिन मलाई बाबुले गाडीमा चढाएर सहर लगे। मैले पहिलोचोटि देखेँ बाटाछेउका धुप्पीका रुखहरू विपरीत दिशामा कुदेका। लगेर मलाई बाबुले रिट्रिटमा छाडिदिए। अर्को दिन श्याम दाइले निर्जन प्रायः सानो, प्रेमी-प्रेमिकाहरू धेर हिँड्ने, अहिलेको गाडी कुद्ने गान्धी रोड हिँडाएर लगी टर्नबुलको सानो मैदानमा छाडिदिए। मैदानमा मजस्ता असङ्ख्य केटाहरू थिए। तिनीहरू सबैका हातमा एक दुई कागज थिए तर मेरा दुवै हात खाली।
दुई-अढाई बजेको थियो होला। बिस्तारै मैदानमा पङ्क्तिबद्ध भई उभिएका मजस्तै, म जत्रै केटाहरूको जमात पात्लिँदै गयो। जमात जति पात्लिँदै जान्थ्यो त्यो सानो मैदान मलाई अझ ठुलो अझ ठुलो लाग्दै जान्थ्यो। केही समयपछि मैले मैदानको वरिपरि दृष्टि घुमाएँ, बिहानको सानो मैदान कुनि कसरी ठुलो, एकदम ठुलो भएको थियो। मैदानमा न केटाहरूको हातका कागज हेर्दै कता पठाउने तीन चार सरहरू थिए नकेटाहरू। मैले दाहिने हेरेँ, देब्रे हेरेँ। अघिपछि हेरेँ। वरिपरि हेरेँ। मैदानमा कोही थिएनन्। किन छु – सम्म भुलेको म थिएँ, बस् म एकलो थिएँ।
त्यस क्षण मलाई भुइँमा थचक्क बसेर रोऊँ रोऊ जस्तो लागेको थियो। बरु आउँदै नआएको भए हुने थिएछ, गइहालूँ, फर्किहालूँ गावैँ भन्ने विचारसित बिस्तारै सिँढी ओर्लेँ म। स्कुल अघिको सानो मैदानमा बेन्चीमा सरहरू फरवरीको न्यानो घाम तापेर बसेका थिए। घाम तापेर बस्नेहरूमा एकजना सरलाई मैले एकचोटि देखेको थिएँ। मलाई तिनको नाम पनि थाहा थियो र तिनी मेरा बाबुसित परिचित छन् भन्ने कुरा म जान्दथेँ।
म सरहरू अघि गएर उभिएँ अनि फलानाको छोरो हुँ भन्ने बताए।
मसिना कोठा कोठा भएको लुगाको कोट लगाउने सरले मलाई चस्मा भित्रका आँखाले शिरदेखि पैतालासम्म हेरे।
‘भर्ती हुनु आएको,’ भनेँ।
‘कुन क्लासमा?’ सरलेसोधे।
भनेँ, ‘फाइभमा।’
‘फोरको रिजल्ट ल्याइस्?’ सोधे सरले।
म त खाली हात थिएँ, ‘ल्याइनँ सर,’ मैले भनेँ।
‘फोर पढिस्?’ सोधेफेरि।
मैले ‘पढेँसर,’ भनेँ।
सरले फेरि मलाई अद्भूत जन्तुलाई हेरे जस्तो शिरदेखि पाउसम्म हेरे अनि बेन्चीबाट उठे।
त्यस दिन मलाई सरले चारचोटि ‘आइज’ भने।
पहिलोचोटि बसेको बेन्चीबाट उठेर। म लुरुलुरु सरको पछि लागेँ। उनको पछि पछि काठको साँघुरो, अप्ठ्यारो सिँढी उक्लिएर म एउटा सानो कोठामा पुगेँ। त्यहाँ एउटा ठुलो टेबल थियो। टेबलको अघि टेबलतिर फर्किएको चौकीमा बसे सर। टेबल उत्तापट्टिको चौकीमा सरपट्टि फर्किएर बसेका कुनि कसलाई सरले कुनि के के भने। सरको कुरा सुनेर चौकीमा बस्ने कुनि कसले एउटा खाताजस्तो तानेर मलाई मेरो नाम सोधे अनि ख्यास ख्यास के के लेखे र सरलाई दिए। बसेको चौकीबाट उठे सर अनि त्यो कागज मलाई दिँदै भने, ‘भोलि यो पैसा लिएर आउनू।’ मैले आज्ञाकारी भएर हवस्-मा शिर हल्लाएँ।
‘आइज,’ भने सरले दोस्रोचोटि मलाई। चढ्दा झैँ म लुरुलुरु सरको पछि पछि सिँडी झरेँ। सिँडी झरेर हामी आँगनको घाममा आइपुगेका थियौँ तर अघि बसेको बेन्चीमा गएर बसेनन् सर। गेटतिर गए उनी। पहिले सिँडी चढ्दा, त्यसपछि झर्दा दोहोऱ्याएको शब्द सरले फलामको गेट पुग्दा पछिल्तिर फर्केर तेहऱ्याए, ‘आइज।’
गेट बाहिरिएर, अलिकति ओह्रालो सडक हिँडेर, एउटा दोकानको दैलोमा उभिएर मतिर फर्केर चौथोपल्ट सरले भने, ‘आइज।’
दोकान भित्र लामा लामा दुईवटा टेबल र चौकीहरू थिए। एउटा चौकीको एक छेउमा बसे सर अनि त्यही चौकीको अर्को छेउमा बस्न लगाए मलाई। लामो डेक्स जस्तो टेबलमा एक गिलास चिया, एउटा बन र अन्डा ल्याएर राखि दिएपछि दोकानेले, मलाई हेरेर सरले भने, ‘खा।’
‘हातलाई के भन्छ अङ्ग्रेजीमा?’ सोधे सरले। मलाई लाग्यो अब मेरो प्रवेश परीक्षा सुरु भयो।
मुखको बन निलेर मैले भनेँ, ‘हेन्ड।’
सुनेर सरले मुन्टो तल-माथि, तल-माथि हल्लाए।
‘टाउकोलाई के भन्छ? ’दोस्रो प्रश्न थियो। उत्तर थियो मसँग। भनेँ, ‘हेड।’
‘खुट्टालाई?’
बताइदिएँ, ‘लेग।’
‘भुँडीलाई के भन्छ?’
चौथो प्रश्नले मेरा गाला रन्किए। भुँडीलाई के भन्छ मलाई थाहा थिएन। तर चुपचाप बस्नु, निरुत्तर भएर बसिरहनु पनि मलाई ठिक लागेन। जेहोला होला ठानेर मैले भनेँ, ‘पेट।’
जवाब सुनेर सरले माया गरेर थोरै दुख्ने गरी मेरो भुँडी चिमोटे।
बेलुकी घर आएर मैले मुमालाई त्यो कागज दिए। अर्को दिन बिहान मुमाले मलाई उन्चालीस रुपियाँ दिनुभयो। मैले त्यो रकम लगेर अफिसमा बुझाएँ।
उहिले दार्जिलिङका नेपालीहरू पढेका थिएनन् रे, तिनीहरू गोरुजस्ता थिए रे, त्यसैले ‘एगोरुहरू एता फर्की, पढ्नपट्टि लाग्,’ भनेर टर्नबुल स्कुल खोलेका रे भन्थे साथीहरू। त्यही टर्नबुलमा निर्मलचन्द्र खालिङ सरले मलाई पाँच कक्षामा उधारो भर्ती गराइ दिएपछि मैले पाँच र छ गरी दुई वर्ष त्यहाँ पढेँ। कुन कारणले हो म आज पनि जान्दिनँ। सातौँ कक्षा पढ्न म फेरि गाउँ लगिएँ। निर्मलचन्द्र खालिङदेखि छुटाएर मलाई सरस्वती उच्च विद्यालयमा पुऱ्याइयो। तर संयोग कस्तो भने त्यहाँ निर्मलचन्द्र खालिङ सरका दाजु दिनेशकुमार खालिङ प्रधानाध्यापक भई आइपुगेका थिए।
सात कक्षामा भर्ती हुँदा धन्य मलाई खालिङ सरका दाजु खालिङसरले भुँडीलाई के भन्छ भनी सोधेनन्। मलाई त्यतिन्जेल पनि भुँडीलाई के भन्छ थाहा थिएन।
No comments:
Post a Comment