कलाको मूल्य कहिल्यै तोक्न सकिँदैन – दयाहाङ राई - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Tuesday, August 7, 2018

कलाको मूल्य कहिल्यै तोक्न सकिँदैन – दयाहाङ राई

_____________________________अन्तर्वाता_________________________________




(भारतको कालेबुङ जिल्लाबाट पहिलोचोटी ठूलो पर्दाको चलचित्र आप्पा’ निर्माण भइरहेको छ। जसको सुटिङ कार्य समापन भइसकेर अहिले पोस्ट प्रोडक्सनका कार्य चलिरहेको छ। नेपाली फिल्म जगतमा ख्याती आर्जन गरेका दयाहाङ राई’ लाई मुख्य भूमिकामा राखेर युवा निर्देशक अन्मोल गुरुङ- ले आप्पा चलचित्र निर्माण गरिरहेका छन्। उनै चर्चित कलाकार एवम् आप्पा फिल्मका आप्पा अर्थात् नायक दयाहाङ राई’-सँग पत्रकार डी.के वाइबा-ले लिएको अन्तरवार्ता यहाँ प्रस्तुत गरिएको छ)
____________________________________________________________________

प्रश्न.  दया जी तपाईँ त काठमाण्डौँबाट पहिलोचोटी फिल्मको सिलसिलामा भारत देशको सानो कालेबुङ जिल्लामा आइपुग्नु भएको हो। यतिखेर कस्तो लागिरहेको छ?
        हजुर कालेबुङको यात्रा पहिलोचोटी हो। यहाँ आएर एकचोटी काठमाडौँ गए अनि काम सकेर फेरि आइपुगेको छु। यता पनि काम कुरा चलिरहेको छ। केही ठाउँहरू घुम्दै छौँ। एकदमै आनन्द लागिरहेको छ।
डी.के वाइबा (देब्रे) अनि दयाहाङ राई (नायक) 
प्रश्न.   तपाईँ त भोजपुरबाट विदेश हिँड्नका निम्ति काठमाडौँ पुग्नुभयो अनि काठमाण्डौमा पुगेर कलाकार बनिनु भयो। कस्तो अनुभव छ यसबारे?
        हजुर म त्यस बेला विदेश जान्छु भनेर नै काठमाडौँ गएको थिएँ। तर, मैले त्यस बेला घरमा विदेश जान्छु भनेर ढाँटेको हुँ। किन कि त्यसबेलाको परिस्थिति अर्कै थियो। मलाई काठमाण्डौँमा गएर साहित्य कलामा काम गर्छु भन्दा सायद त्यस बेला जान दिने थिएनन् होला भन्ने लाग्छ। किन कि कुनै पनि साहित्य कलामा काम गर्नुलाई वास्तवमा काम भनिँदैनन्। पढ्न जान्छु भन्न सक्दिन थिए। पढ्न मलाई त्यस बेला खासै रुचि थिएन। विदेश जान्छु भन्न सजिलो थियो अनि त्यसै भनेर हिँडेको हुँ।
प्रश्न.  काठमाडौँ पुगेर के गर्नुभयो ?
        काठमाडौँ पुगेर मैले पासपोर्ट नै बनाइन। पासपोर्ट बनाएको भए विदेश जान पर्ने थियो यसकारण पनि नबनाएको हो। त्यसपछि अहिले म जे काम गरिरहेको छु त्यसैको खोजी नै गरिरहे।
प्रश्न.  फिल्ममा आउन अघि तपाईँले त नाटकमा काम गर्नु भयो। नाटक र फिल्ममा काम गर्दाको फरक अनुभव कै छ कि?
        सुरुआतमा मेरो चाहना भनेको नाटक नै हो। नाटक नै पड्छु, नाटक नै सिक्छु भन्ने थियो। तर, कहाँ, कसरी भन्ने मेसो पक्रिन सकेको थिइन। एकदुईवटा कोर्सको किताबमा नाटकहरू पढेको थिएँ। हेर्ने पनि पाइएको थिएन तर नाटक लेख्छु भन्ने चाहिँ लागिरहन्थ्यो। फेरि लेख्नका निम्ति त मैले भोगेको हुनपर्छ। कल्पना सहरको छ, बस स्टपको कथा छ जुन चाहिँ मैले भोगेको नै छैन। तब नभोगी कसरी नाटक लेख्नु भन्ने लागेपछि मैले सहर ताकेको हुँ।
आप्पा चलचित्र सुटिङको क्रममा 


          सहर आएपछि मैले खोजी गरे तर कसैको सङ्गत थिएन। दुईवर्ष मैले नाटक नै हेरेर बिताएँ अनि बाँकी रहेको समयमा फोटोग्राफी, किताब विमोचन, चित्र प्रदर्शन जस्ता कार्यक्रमहरूमा दर्शकका रूपमा टाढा बसेर कलाकारहरू हेर्ने गर्थे। पछिबाट एउटा नाटकको निम्ति वर्कसफ भएको थियो अनि त्यसैको माध्यमबाट काम गर्न सुरु गरेको हुँ।
        सिनेमाको सन्दर्भमा चाहिँ मेरा नाटक खेल्ने साथीहरूले एउटा टेलिफिल्मका काम गरिरहेका थिए। एक दिन नाटक सकेपछि साथीसँग भेटघाट गर्न आऊ भनेर बोलाउनुभयो। त्यसपछि त्यहाँ भेटघाट गर्न गए अनि अडिसन समेत दिन लगाए। अडिसन दिएपछि पास भए अनि पहिलोचोटी फिल्ममा काम गर्ने मौका पाएँ। यसरी अघि बढ्यो नाटक र सिनेमासँगको यात्रा।
प्रश्न.  किराँत समुदायमा पापा भनिने चलन छ। तपाईँ त आप्पा बनिनका निम्ति काठमाडौँबाट कालेबुङ आइपुग्नु भयो नि ! यसको विशेष अनुभव छ कि?
        अँ... आप्पा अथवा पापा अथवा छोरा र बाबाको सम्बन्ध अनौठो हुने गर्छ। जुन चाहिँ हामी एकार्कमा बाँड्न सक्दैनौँ होला। दुवैले कुनै पनि कुरा एकार्कलाई सहजै भन्न गाह्रो बनिरहेको हुन्छ। यहाँ आएर फिल्ममा काम गरेपछि मैले पनि आफ्नो पापासँगको सम्बन्धलाई सम्झिए, मेरो छोरासँगको सम्बन्धलाई सम्झिए। त्यो सम्बन्धहरूलाई सम्झिए पछि मलाई लाग्यो बाबा छोराको सम्बन्ध साँच्चै रमाइलो हुन्छ।
आप्पा चलचित्र सुटिङको क्रममा निर्देशक अनमोल गुरुङ, दयाहाङ राई, तुलसी घिमिरे अनि अरुणा कार्की 
प्रश्न. आप्पाचलचित्रको निम्ति कसरी आकर्षित बन्नु भयो त?
       निर्देशक अन्मोल-ले मलाई एउटा कथा पठाएका थिए। कथा सुनेपछि आकर्षित भएको हुँ।
प्रश्न.  भारतबाट नेपाली भाषामा आप्पा प्रथम पल्ट निर्माण हुँदै गरेको ठूलो पर्दाको फिल्म हो। यसबारे के सोंच्नु भएको छ?
        यसको निम्ति मैले आफैलाई भाग्यमानी ठानेको छु। यसभन्दा धेरैवर्ष अघि नै यहाँबाट आमा, सत्य हरिषचन्द्र जस्ता चलचित्र बनिएको इतिहास छ। त्यसपछि धेरै लामो खाडल देखा पर्योध अनि अहिले नयाँ पुस्ताले नयाँ तरिकाले काम गरिरहेको अवस्थामा आफू एउटा फिल्मको हिस्सा बन्न पाउँदा साह्रै भाग्यशाली ठानेको छु।
प्रश्न.  नयाँ कलाकारहरूसँग आप्पा चलचित्रमा काम गर्दाको अनुभव कस्तो छ? उनीहरूको सम्भावना कस्तो देख्नुहुन्छ?
        साहित्य, कला र सङ्गीतको क्षेत्रमा कालेबुङ आफैमा एउटा उर्वर ठाउँ हो। यहाँका कलाकारहरूको क्यामेरा अथवा स्टेजमा अनुभव कम्ति होलान् तर उनीहरू काम गर्ने उत्सुक थिए। उनीहरूमा जोस छन्, ऊर्जा छन् अनि नयाँ सोचहरू छन्। नयाँ सोच भएका कलाकारहरूसँग काम गर्नु झनै मज्जा लाग्यो। उनीहरूको काम गर्ने ऊर्जा देखेर उनीहरूको सम्भावना पनि भविष्यमा राम्रै देखेको छु।
आप्पा चलचित्र सुटिङको क्रममा 
प्रश्न.  फिल्ममा अनुभवी कलाकार एवम् निर्देशक-निर्माता तुलसी घिमिरेसँग पनि काम गर्नु भयो। यसको विशेष अनुभव पनि त होला नि !
        उहाँहरूले नै नेपाली फिल्मका घडेरी तयार पारेका हुन्। आज उहाँहरू नभएका भए नेपाली फिल्मबारे हामीले यसरी गर्वको साथमा कुराकानी पनि गर्न पाउनेथिएनौँ होला। बाँकी रह्यो अब उहाँहरूले डोहोर्याफएर ल्याएको बाटोलाई नयाँ पुस्ताले अघि बडाएर लैजाने जिम्मेवारी।
        उहाँहरूको अनुभव र उहाँहरूको सङ्गत पाउनु हाम्रा निम्ति अत्यन्तै सौभाग्य हो जुन सौभाग्यले मैले प्राप्त गर्न सकेँ।
प्रश्न.  नेपाली फिल्ममा तपाईँहरूको आगमनपछि परिवर्तनको हुरी नै चल्यो। यसबारे के लाग्छ तपाईँलाई ?
        हाम्रो उपस्थितिमा नेपाली सिनेमा एउटा समयमा पुगेको थियो। त्यस बेला मलाई, तपाईँलाई अथवा नेपाली सिनेमा हेर्नेहरूलाई खासै सिनेमा भइरहेको छैन भन्ने लागेको थियो। मलाई पनि त्यसैको हुट-हुटी चलिबस्थ्यो। म एक्टर बन्न भन्दा पहिला डाइरेक्टर बन्छु भन्ने लागिबस्थ्यो। मानिसहरूमा पनि त्यस बेला कोहीपनि त्यति भयङ्कर आयामिक क्यारेक्टरहरू छैनन् भन्ने चेतना पसिसकेका थियो। कलाकारहरू पनि हामीजस्तै सामान्य मान्छेहरू हुन् भन्ने सोच पलाइसकेको थियो। त्यो सँग-सँगैको यात्रा सुरु भएको मेरो। त्यसैकारण मानिसहरूले हाम्रो सिनेमा हेर्दा आफ्नै भोगाइहरू पाए त्यसैकारण यस्तो भएको होला।
        पछिबाट दर्शकले मनपराए पछि कतिपय सिनेमाहरू हामीबाट पनि चुक्यो होला तरै पनि हामीले सक्दो कोसिस गरिरहेका छौँ। हामीबाट सिनेमामा देखाउन नसकेका कुराहरूले अर्को पुस्ताले अघि बढाएर लैजानेछन्।
प्रश्न.  नेपाली सिनेमा क्षेत्रमा अझै चुनौतिहरू छन् त?
        निश्चय नै चुनौतिहरू धेरै छन्। जस्तै म व्यक्तिगत रूपले एक जना कलाकारका रूपमा सफल भए होला तर, मैले नेपाली सिनेमालाई माथि उठाउन के के गरे भन्ने प्रश्न पनि त उठ्छन् नि ... त्यस बेला लेखा जोखा त हुन्छ नै।
प्रश्न.  दयाहाङ राई त नेपालमा एक नम्बरको कलाकार भन्ने सुन्छौँ। त्यसैले पारिश्रमिक पनि एक नम्बर कै लिनुहुन्छ रे नि !
        हेर्नुहोस्, वास्तवमा पारिश्रमिक नै ठूलो कुरा चाहिँ होइन। किनभने कलाको मूल्य कहिल्यै पनि तोक्न सकिँदैन, त्यसैकारण म पनि कला नै गर्छु। अब पारिश्रमिक चाहिँ के हो भने बिकाऊ चिजको निम्ति काम गरिरहेको छु भने म त्यसको पारिश्रमिक त्यसरी नै लिन्छु तर कसैले कथा भन्नलाई काम गर्दै छन् भने त्यसमा मेरो पनि योगदान हुनपर्छ भन्ने लाग्छ।
प्रश्न.  त्यसो हो भने फिल्म निर्माणको पछाडि के छ भन्ने कुरा पनि हेर्नुहुन्छ?
        हो निश्चय नै हेर्नेछु। यदि नाफा कमाउनकै निम्ति फिल्म बनाउँदै छन् भने मैले पनि नाफा त लिनै पर्छ।
प्रश्न.  भारतबाट बनिएको ठूलो पर्दाको पहिलो नेपाली चलचित्रमा काम गर्नका निम्ति चाहिँ कतिसम्म पारिश्रमिक लिनु भयो त?
          ह… हा.. हा. यसबारे कै नभनौँ होला...
प्रश्न.  आप्पा फिल्म निर्माण पछि भारत नेपाल माझमा नेपाली फिल्मको सम्बन्धलाई कुन उँचाईसम्म पुर्या उन सक्ला भन्ने लागेको छ?
        नेपाली भाषीहरू जहाँसम्म बसेका छन् त्यहाँसम्म पनि हामीले नपाली फिल्मलाई पुर्या्उन सकेका छैनौँ। तपाईँहरूकै यहाँ दार्जीलिङ, कालेबुङ आदि ठाउँहरूमा पनि केवल युट्युबमा आएपछि मात्रै नेपाली फिल्म हेर्न परिरहेको सुन्न पाएँ। हाम्रो कोसिस नेपाली भाषी मानिसहरू जहाँ जहाँ छन् त्यहाँ सिनेमा हलमा नै गएर फिल्म हेर्न पाओस् भन्ने छ।
        अब हाम्रो सम्बन्ध बडीसकेको छ। यो आप्पा फिल्मदेखि भारतमा नेपाली भाषीहरू जहाँ छन् त्यहाँ सिनेमा हलमा नै फिल्म लाग्नेछन् भन्ने मलाई विश्वास छ।
प्रश्न.  आप्पा फिल्म सुटिङ अवधिको स्मरणीय घटना कै छ कि?
        अँ, स्मरणीय घटना चाहिँ सन्दकपुको यात्रा नै हो। तत्कालका निम्ति त्यो क्षण तितो थियो तर अहिले त्यहीँ नै मिठो बनेको छ। प्रत्येक घुम्तीहरूमा गाडी पछि गरेर घुमाउँदा चिप्लने गर्थ्यो। अनेकौँ कल्पना हरू गर्यौँर। दिउँसै ऐठन समेत परियो। सबैभन्दा स्मरणीय घटना चाहिँ तीन दिने सन्दकपुको यात्रा नै हो।
प्रश्न.  आप्पा फिल्ममा बोलिने संवादहरूमा तपाईँको लय चाहिँ दार्जीलिङे छ कि काठमाडौँ तीरको?
        पहिले पहिले दार्जीलिङको लय अथवा पश्चिमतिरको लयहरूलाई लिएर नेपाली सिनेमामा एकदमै उडाएर अथवा कमेडी गरेर उडाउनकै निम्ति प्रयोग भयो। यो फिल्ममा मैले इमान्दार सँग यतैको (दार्जीलिङकै) लयमा संवाद बोल्ने कोसिस गरेको छु। तर, मलाई कसैले मिमिक्री पो गरेको भन्छन् कि भन्ने डर भनि लागेको छ। हुन त मैले फिल्ममा सक्दो स्थानीय लयलाई समातेर कथाले भन्न खोजेका कुरालाई नै इमान्दार्सँग निभाएको छु भन्ने लागेको छ।
प्रश्न.  अन्तमा, दयाहाङ जी तपाईँको फिल्म क्षेत्रको आगामी यात्रा सुखमय रहोस् भन्ने शुभकामना व्यक्त गर्दछु।
        हवस्, तपाईँले पनि अन्तरवार्ता लिएर मलाई गुण लगाउनुभयो यसका निम्ति तपाईँका सम्पूर्ण टोलीलाई आभार प्रकट गर्दछु।

भिडियो हेर्न चाहनुहुन्छ भने यहाँ थिच्नुहोस्

No comments:

Post a Comment

Post Bottom Ad