६ अगस्त विमल गुरुङले गोर्खाल्याण्ड आन्दोलनलाई छोडेर भागेको दिनको हो– सतीश पोख्रेल - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Monday, August 6, 2018

६ अगस्त विमल गुरुङले गोर्खाल्याण्ड आन्दोलनलाई छोडेर भागेको दिनको हो– सतीश पोख्रेल

गफसफ.com, दार्जीलिङ ६ अगस्त।
गतवर्ष चलेको छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई आधाबाटोमा छाडेर विमल गुरूङले आजकै दिन भागेको गोजमुमो उपाध्यक्ष सतीश पोख्रेलले आरोप लगाएका छन्। उनले एक प्रेस वयान जारी गरेर गतवर्ष ६ अगस्त २०१७ का दिन विमल गुरूङ गोर्खाल्याण्ड आन्दोलनमा निस्केका हजारौँ जनतालाई उत्साह दिन सडकमा ओर्लनुको साटो पुलिसको डरले पातलेबासबाटै भागेको आरोप लगाउँदै आजको दिन दुर्भाग्यपूर्ण रहेको पनि बताएका छन्।
Bimal Gurung (left) Satish Pokhrel (Right) - File Photo

‘६ अगस्त गोर्खाल्याण्डको मुद्दाको हार भएको दुर्भाग्यपूर्ण दिन हो। किनभने २०१७ मा ठीक यही दिन गोर्खाहरूको आँटी अनि इमान्दार मानिएको नेता विमल गुरूङले पातलेबासमा पुलिसले छापामारी गर्दा आफ्नो ज्यान बचाउन गोर्खाल्याण्ड आन्दोलनलाई समेत अधकल्चोमा छोड़ेर सुइँकुच्चा ठोकी भागेका थिए’ – गोजमुमो उपाध्यक्ष सतीश पोखरेल एक प्रेस विज्ञप्तिमा भनेका छन्।
उनले गतवर्ष जुलाईको अन्तमा गोर्खाल्याण्डप्रेमी जनता हजारौं संख्यामा आफ्नो ज्यानको पर्वाह नगरी सड़कमा निस्किरहेको अवस्थामा पुलिस प्रशासन समेत हजारौँ जनता सडकमा ओर्लिएको कारण ब्याकफुटमा गएको भन्दै आँटी अनि इमान्दार नेता भनिने विमल गुरुङ भने जनतालाई अलमल्ल पारेर भागेको आरोप लगाएका छन्। हजारौं समर्थकहरूको घेराबन्दी रहँदा-रहँदै पनि विमल गुरूङ कहिल्यै आन्दोलनकारीहरूको मनोबल बड़ाउन मैदानमा नआएको पनि पोख्रेलले आरोप लगाएका छन्।
‘आन्दोलनकारीहरूको मनोबल बड़ाउन बजारका क्षेत्रीय नेता अनि क्रामाकपाका केही नेताहरूमात्रै भाषणहरू दिने गरेतापनि आन्दोलनको 105 दिन नै विमल गुरूङ आफ्नो ज्यान बचाउन लुकेर बसे। शहीदलाई श्रद्धाञ्जलि चड़ाउनसमेत उनलाई मैदानमा आउने आँट भएन। इमान्दार अनि आँटी मानिएको नेता विमल गुरूङलाई गोर्खाल्याण्ड अनि शहीदको वलिदानको भन्दा धेर मूल्य आफ्नो प्राणको रह्यो’ सतीश पोख्रेलले भनेका छन्।
उनले जारी प्रेस बिज्ञप्तिमा विकट स्थितिमा पनि भाषण दिने क्षेत्रीय नेतृत्त्व अनि क्रामाकपाका नेतृत्त्वहरू विमल गुरूङभन्दा इमान्दार अनि साहसी देखिएको पनि बताएका छन्। यसका साथै त्यसबेला जनतासँगै सडकमा निस्कने गोरामुमो अध्यक्ष अनि आफु पक्रा पर्ने डर पन्साएर संवेदनशील परिस्थितिमा अनशनकारी भेट्न जाने विनय तामाङ विमल गुरुङभन्दा कैयौँ गुणा साहसी रहेको पनि दाबी पनि गरेका छन्।
‘कानून व्यवस्था ठीक नभएको तथा आफ्नो ज्यानको खतरा रहेको कायरपूर्ण बयान दिँदै विमल गुरूङ आन्दोलनकालभरि भागिरहे’ सतीश पोख्रेलले अझ भनेका छन् –‘यहाँसम्म कि 13 जूनमा जीमखानामा आयोजित अल पार्टी मीटिङमा सहभागी बन्न पुलिसले अनुमति दिँदा पनि पुलिस प्रशासनको विश्वास नरहेको उल्लेख गर्दै पक्रा पर्ने डरले उनी उक्त मीटिङमा पनि सामेल भएनन्।’
उनले गतवर्ष ६ अगस्तका दिन गोर्खल्याण्ड आन्दोलन चलेको 53 औँ दिनमा पातलेबासमा पुलिसले छापामारी अभियान चलाउँदा गुरुङकै निगरानीमा धारिलो हतियार बोक्ने हजार भन्दा अधिक केटाहरू पनि भागेको आरोप लगाएका छन्। पुलिसले छापामारी गर्दा ती केटाहरू अनि पुलिसमाझ हिस्रक भिड़न्त हुनसक्ने तथा दार्जीलिङ पहाड़को स्थिति भयावह भएर जाने मानिसहरूले चिन्ता व्यक्त गरिरहेको अवस्थामा यता पुलिसले छापामारी गर्दा भने गोर्खाल्याण्डको निम्ति प्राण दिन्छु भन्ने ती युवकहरू पनि आफ्नो ज्यान बचाउन चम्पट कसेको पोख्रेलले दाबी गरेका छन्।
‘यतिमात्र होइन जब पुलिस छापामारीको खबर सिङ्लामा क्याम्प लगाएर बसेको विमल गुरूङले सुने उनी अडिग भएर बस्नुको साटो आफ्नो सुरक्षाको निम्ति तत्कालै सिक्किम सीमा नाघेर चम्पट कसे’ सतीश पोख्रेलले अझ भनेका छन् –‘एकातिर गोर्खाल्याण्डको निम्ति ज्यान समेत दिएर जनताले उनलाई सहयोग गरिरहेका थिए भने विमल गुरूङ पक्रा पर्ने डरले सिक्किमतिर भागेका थिए।’
यसक्रममा उनले विमल गुरूङ भागेपछि गोर्खाल्याण्डको आन्दोलन दिशाहीन बन्ने अवस्थामा बाध्यतावश विनय तामाङ अनि अनित थापाले आन्दोलनको नेतृत्त्व सम्हालेका पनि दाबी गरेका छन्। ‘उनीहरूमाथि पनि विमल गुरूङजत्तिकै खतरा भएतापनि उनीहरूले दार्जीलिङ पहाड़ छोड़ेनन् आन्दोलनको मैदान छोड़ेर भागेनन्। परिस्थितिलाई डटेर सामना गरे। आँटी अनि इमान्दार नेतृत्त्व विमल गुरूङ हुन् कि विनय तामाङ र अनित थापा हुन् भन्ने यसैले पनि स्पष्ट पार्छ’ पोख्रेलले भनेका छन्। यसक्रममा उनले ६ अगस्तकै दिन विमल गुरूङ आन्दोलनको मैदान छोड़ेर सिक्किम भागेपछि नै आन्दोलनमा पुलिस प्रशासनको दबाउ बड़्दै गएको हो भनि किटान समेत गरेका छन्। ‘जनताले आँटी र इमान्दार भनेर विश्वास गरेको नेता विमल गुरूङ नै डरछेरूवा भएर भागेपछि पुलिसले विमल गुरूङको नाड़ी छामे’ पोख्रेलले विज्ञप्तिमा दाबी गरेका छन्।
‘विमल गुरूङले शहीदहरूको वलिदान अनि जनताको भावनालाई कदर गर्दै नभागी डटेर परिस्थितिको सामना गरेको भए के उनको सुरक्षा आन्दोलनमा खटिएका हजारौं गोर्खाहरूले गर्ने थिएन?  अथवा गोर्खाल्याण्डको निम्ति उनी पक्रा नै परेको भएतापनि जनताको मन-मस्तिष्कमा उनको प्रभाव अझ बड़ेर उनी क्रान्तिकारी कहलाइने थियो र गोर्खाल्याण्डप्रेमी जनता अझ समर्पित भएर आन्दोलनमा उत्रिने थिए र सम्भवतः गोर्खाल्याण्ड आन्दोलन निरन्तर रहिरहने थियो’ पोख्रेलले भनेका छन्। तर गुरुङ आन्दोलनको मैदान छोडेर भागेकै कारण आन्दोलनलाई दबाउने कार्य भएको बताएका छन्।
‘डेड़ करोड़ गोर्खाहरूको सपना अनि बलिदानलाई लत्याएर भागेको आजको दिन गोर्खाहरूको भाग्यमा ग्रहण लागेको दिन हो। वीर गोर्खाहरूको इतिहाँसमा आजको दिन विमल गुरूङको कायरपनाको बदनाम इतिहाँस कोरिएको छ’ गोजमुमो उपाध्यक्ष सतीश पोख्रेलले भनेका छन्।

No comments:

Post a Comment

Post Bottom Ad