मङ्गल सिंह राजपुत र तेलेङ्गनाले तताएको गोर्खाल्याण्ड आन्दोलन - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, August 2, 2018

मङ्गल सिंह राजपुत र तेलेङ्गनाले तताएको गोर्खाल्याण्ड आन्दोलन

राजनीति ____________________________________________ डी.के. वाइबा
गोर्खाहरूलाई गोर्खाल्याण्डको आन्दोलन चर्काउन बस एउटा बहना चाहिन्छ। अथवा भनौँ एउटा साइत जुर्नु पर्छ। अझ भनौँ संयोग मिल्नुपर्छ। अझ भन्नु हो भने कसैले सिर्कुना लगाएर  गिदी हल्लाइदिनुपर्छ। हो त्यहीँ बहना अथवा साइत अथवा संयोग जुर्‍यो तेलेंगना राज्य गठनको प्रक्रियाले सन् 2013 मा।



आजभन्दा ठिक 5 वर्ष अघि केन्द्र सरकारले तेलेङ्गना राज्य गठन गर्ने अन्तिम निर्णय लिँदै थिए। पहाडमा गोर्खाल्याण्ड मागको आन्दोलन चर्काउने शुभ साइत जुर्दै थियो। त्यसपछि आइपुग्यो 27 जुलाई अर्थात् शहीद दिवस।
गोर्खाल्याण्डकै मुद्दा बोकेर पहाडको सत्तामा आसिन बनेका विमल गुरुङले 27 जुलाई 2013 का दिन कालेबुङको सहिद वेदीबाट शहीदहरूकै कसम खाँदै भने अब गोर्खाल्याण्डको निर्णायक आन्दोलन हुनेछ। शहीदलाई श्रद्धाञ्जली दिन आएकाहरूलाई गुरुङले जोस भरिदिए। क्षणभरमै गुञ्जियो गोर्खाल्याण्ड जिन्दाबाद’-को नारा।
तेलेङ्गना गठन हुने निश्चित बनेपछि यता गोर्खाल्याण्डको आन्दोलन निक्कै जोडले तात्तियो। क्षणभरमा तात्तिएर क्षणभरमै सेलाउने गोर्खाहरू एकपल्ट पुन: तात्तिए। गोर्खाल्याण्डको निर्माणको आन्दोलन हुने नै भयो। सम्पूर्ण पहाड गोर्खाल्याण्डका निम्ति एकबद्ध हुन थाल्यो। त्यसपछि 27 जुलाईका दिन निर्णायक आन्दोलन हुनेछ भनि विमल गुरुङले घोषणा गरेको ठिक तीन पछि अर्थात् 30 जुलाई 2013 का दिन कालेबुङको डम्बर चौकमा मङ्गल सिंह राजपुतले आत्मदाह’-को प्रयास गरे।
शरीरभरि आगोका लप्का बोकेर मङ्गल सिंह राजपुत डम्बर चौकमा गोर्खाल्याण्ड जिन्दाबाद-भन्दै दगुरेपछि सडकमा ओर्लिएका मानिसहरू एका-एक चिच्चाए। क्षणभरमै वातावरण तनावपूर्ण बन्यो। अनि गुञ्जन थाल्यो गोर्खाल्याण्ड जिन्दाबाद’-को नारा।
डम्बरचौकमा मान्छे जल्यो... झट्ट पुलिस पठाउँनुहोस... खाकी बर्दीमा सजिएका पुलिसकर्मीहरूले आफ्नो मोबाइल फोनबाट कालेबुङ थानामा सूचित गरिरहेका थिए। छुट्टै राज्य गोर्खाल्याण्डको मागमा दैनिक धर्ना प्रदर्शनमा निस्केका मानिसहरू कुदी रहेका थिए।
मङ्गले जल्यो ! मङ्गले जल्यो !! चारै तिर हल्ला मच्चिरहेको थियो। यस्तो कोलाहलमय क्षणमा मङ्गलसिह राजपूत उर्फ मङ्गले भने डम्बरचौकमा आफ्नो शरीरभरि आगोका लप्काहरूसंगै कुदी रहेका थिए। गोर्खाल्याण्डको मागमा सहरमा जुलुस गर्न निस्केका मानिसहरूले त्यसपछि उनको शरीरको आगोलाई निभाउने कार्य गर्यो। झटपट आगो निभ्यो। त्यसपछि गोर्खाल्याण्डै नाराबाजीसँग उनलाई कालेबुङ अस्पतालमा पुर्‍याइयो ।
केन्द्रमा सत्तासीन रहेको कङ्ग्रेस पार्टीको सीडब्ल्युसी-ले 30 जुलाई 2013 का दिन नै तेलेङ्गना राज्य गठनको प्रस्ताव पारित गर्यो। यता डम्बर चौकमा मङ्गल सिंह राजपुत जले। उता दार्जीलिङमा विमल गुरुङले जीटीए प्रमुखको पदबाट राजीनामा दिए। त्यसपछि निरर्णायक आन्दोलनमा होमिएका जनतासँगै विमल गुरुङ पनि आन्दोलनमा होमिए।
उनको राजीनामाले झनै आन्दोलनकारीलाई ऊर्जा मिल्यो। सम्पूर्ण मानिसहरू एक हुन थाले। त्यसपछि आजकै दिन अर्थात् 3 अगस्त 2013 का दिन आत्मदाह’-को प्रयास गर्ने मङ्गल सिंह राजपुत सधैँका निम्ति सबैलाई छोडेर गए। त्यसपछि उनी आत्मदाह गरेर शहीद बन्ने पहिलो गोर्खाल्याण्डका सिपाही बने।
आन्दोलन अझ चर्कियो। सम्पूर्ण पहाडवासी तातिए। राष्ट्रिय राजमार्गमा त्यसपछि जल्न थाल्यो वाहनहरू। बाल, वृद्ध बनिता एक भए। राजनैतिक पार्टीका नेताहरू एक भए अनि आन्दोलनलाई निष्कर्षमा पुरयाउन जन्मियो गोर्ख्याल्याण्ड टास्क फोर्स।
झन्डाहरूमा विभाजन भएका पहाडका नेताहरू झन्डाका रङ्गहरू भुलेर गोर्खाल्याण्ड मुद्दाका निम्ति एक बने। सम्पूर्ण जनताले चाहेकै जस्तो एकता बन्यो। सरकारलाई दबाऊ सिर्जना गर्न सामुहिक आन्दोलनको खाका तयारी भयो। आपस्तका राजनैतिक, सैद्धान्तिक भेदभाव भुलेर नेताहरू एक भएपछि अझ आन्दोलन शक्तिशाली बनियो।
तेलेंगना गठनको मुद्दाले तातिएको गोर्खाल्याण्ड आन्दोलनमा बिस्तारै फुट आउन थाल्यो। एक बनेका नेताहरूको कार्यक्रममा एकरूपमा देख्न छोड्यो। गोर्खाल्याण्ड टास्क फोर्स-ले घोषणा गरेका कार्यक्रममा विमल गुरुङ देखिन छोडे। उनले बनिएको साझा मञ्च अर्थात् गोर्खाल्याण्ड टास्क्क फोर्स-लाई नाघेर आफै कार्यक्रमको घोषणा गर्न थाले। त्यसपछि एकैमञ्चमा आएका नेताहरूमा पुन: दुरत्व बढ्न थाल्यो। अनि बिस्तारै विमल गुरुङ 30 जुलाई 2013 का दिन त्यागेरको जीटीए प्रमुखको पदमा आसिन बन्नलाई पुन: अग्रसर बन्न थाले।
हजारौँ जनतालाई गोर्खाल्याण्डै निम्ति आह्वान गरेर सडकमा आन्दोलित बनाउने विमल गुरुङ त्यसपछि 26 दिसम्बर 2013 का दिन कोलकोताको राजभवनमा पुगेर शपथ ग्रहण गर्न पछि परेनन्। गोर्खाल्याण्डकै निम्ति एकवद्ध हुने सम्पूर्ण राजनैतिक दलका नेताहरू हिस्रिक्कै भए। जनता चुपचाप बस्न थाले।
गोर्खल्याण्ड टास्क फोर्स भत्कियो। मोर्चा जीटीएकै चौकीमा पुग्यो। जनता अलमल्ल बनिए। राज्य सरकारले सीआरपी भित्राएर आन्दोलनकारीहरूलाई जेल पठाए। त्यसपछि 18 फरवरी 2014 का दिन तेलेङ्गनाको बिल लोकसभाले पारित गर्‍यो अनि दुई दिनपछि 20 फरवरीका दिन राज्यसभाले पारित गर्दा निर्णायक आन्दोलनको घोषणा गर्ने र आन्दोलनमा होमिनेहरू सबै ट्वाल्ल पर्न बाहेक अरू विकल्प नै रहेन।
त्यसपछि पुन: जनता झन्डाहरूमा वितरण हुन थाले। विकासको मुद्दा गोर्खाल्याण्डको मुद्दामा भारी बन्यो। अनि सुरु भएको थियो दार्जीलिङ पहाडमा तृणमूल कङ्ग्रेसको सङ्गठन बिस्तारको राजनैतिक कसरत।
आज मङ्गलसिह राजपूत आफ्नै शरीरमा आगो झोसेर आत्मादाहको प्रयास गरी गोर्खाल्याण्ड राज्यको निम्ति सहिद बनेको पाँच वर्ष पुरा भयो। तर उनले देखेको सपना पुरा हुन भने सकेन।
गोर्खाल्याण्डको नाउँमा गोरामुमो सुवास घिसिङको समय देखि ठगिएर चानचुने व्यवस्थामा सम्झौता गर्न पर्ने जनता आज पनि उस्तै हालतमा छन्। छैनन् त गोर्खाल्याण्डको नाउँमा दागोपाप भित्राउने सुवास घिसिङ अनि गोर्खाल्याण्डकै नाउँमा जीटीए भित्राउने विमल गुरुङ। फरक त्यति छन् सुवास घिसिङ बितेर गए, विमल गुरुङ भागेर कतै लुकेर बसी गोर्खाल्याण्डकै नारा फलाक्दै छन्।
मङ्गल सिंह राजपुतले आत्मदाह गरेको आज पाँच वर्ष पछि गोर्खाल्याण्डको नाउँमा जीटीएको सत्तामा पुग्ने विमल गुरुङ पहाडमा छैनन्। उनले भित्राएको जीटीएमा अहिले विनय तामाङ आसिन छन्। गुरुङसँगै 2007 देखि आन्दोलनमा खट्ने तामाङ अहिले विकासको नारा फुकिरहेका छन्। उनले फुकेको विकासको नाराले जनता कतिसम्म सन्तोक गर्ने हुन् त्यो हेर्न बाँकी नै छ। अहिले देखाउनका निम्ति ठाउँ-ठाउँमा विकासका कार्य पनि भइरहेका छन्। तर विकासले जनताको दीर्घकालीन आकाङ्क्षा विनय तामाङहरूले पुरा गर्न सक्लान् त? एउटा प्रश्न भने जटिल छ।
को हुन् त मङ्गल सिंह राजपूत
गोर्खाल्याण्ड राज्य भनेपछि हुरुक्कै हुने राजपुतले कालेबुङको माटोमा सन 1976 मा टेकेका थिए। राजपुत कहिले अनि कुन ठाउँमा जन्मे कसैलाई थाह छैन अनि तिनका माता पिता को हुन भन्ने जानकारी समेत कसैलाई छैन। यद्यपि तिनी गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति आत्मदाह गर्ने भने पक्कै पहिलो व्यक्ति हुन।
मङगलसिह राजपुत उर्फ मङगले कालेबुङ आउँदा चार पाँचवर्षका वर्षका थिए। सन 1976 को कुरा हो कालेबुङका स्व छिरिङ छोडेन भुटिया भोटाङको फुन्छोलिङमा काम गर्थे। त्यसै समय मङगलसिंह राजपुतलाई तिनका आमा बाबाले भुटियाको घरमा ल्याएर राखिदिएको स्व छिरिङ छोडेन भुटियाको भाइ निमा वाङदी भुटिया बताउँछन्। भोटाङमा सरकारी जागिर खाने स्व छिरिङ छोडेन भुटिया त्यही वर्ष नानी हुने अवस्थामा बितिन। तिनी बितेको समाचार कालेबुङमा आफन्तहरूले पाएर जाँदा मङगसिह राजपुत सोही घरमा चार पाँच वर्षका थिए।
तिनको आमा बाबाको पत्तो थिएन। जसको कारण स्व छिरिङ छोडेन भुटियाको शव सँगै राजपुतलाई पनि कालेबुङमा ल्याएर आए निमावाङदी भुटियाले। त्यसपछि सुरु भयो मङगलसिह राजपुतको कालेबुङमा बाल्यकाल।
कालेबुङको माटोसँग तिनी परिचित बन्दै हुर्किए तयपछि अस्सिको दशकमा सुवास घिसिङले चलाएको माटोको आन्दोलनले मङगलसिह राजपुतलाई पनि माटो प्रेम जगाइदियो। तिनी अस्सिको दशकमा खाँटी गोरामुमो पार्टीका कार्यकर्ता भएर आन्दोलनमा होमिए। सोही समय तिनलाई कालेबुङ सहरको छ नम्बर वार्डको गोरामुमो पार्टीको संयोजक समेत बनाइदिएको तिनलाई हुर्काउने निमा वाङदी भुटिया बताउँछन्।
यसरी माटो प्रेमले मातिएको मङगलसिह राजपुत आन्दोलनमा होमिए पछि सीआरपीको डरले निमा वङदी भुटियाको घरबाट दिन दिनै टाडा हुँदै गए। समय समयमा तिनको आऊ जाऊ हुन थाल्यो। त्यसपछि तिनी जवान भए अनि वैवाहिक जीवनतिर नब्बेको दशकमा लागे।
नब्बेको दशकमा तिनले डा ग्रहमा होम्स ब्लक डी निवासी मञ्जु राजपुतलाई विवाह गरे अनि तिनलाई हुर्काउने निमा वाङ्दी भुटियाले नै विवाह समेत गरिदिए। अनि सुरु भयो उनीहरूको दाम्पत्य जीवन। त्यसपछि राजपुत होम्समा नै बस्न थाले।
तिनका हाल ठूलो छोरा 27 वर्षीय अर्पण राजपुत अनि सानो छोरा 25 वर्षीय अमन राजपुत छन्। समयको आरोह र अवरोहमा माटो प्रेमले मात्तिएको मङगलसिह राजपुत पहाडमा गोजमुमो पार्टीको गठन सँगै गोर्खाल्याण्डको आन्दोलनमा सक्रिय बने। मोर्चाले सुरु गरेको सुन कोश यात्रामा पैदल हिँडेर पुगे। मोर्चाको तिरंगा झन्डा आँगनमा ल्याएर गाडे। तर छैनन् झन्डा ल्याएर गाड्ने मङगलसिह राजपुत। छन् त केवल मङ्गलसिह राजपूतका सम्झनाहरू।
राजपुतको सपना कहिले पुरा हुने?
मङ्गल सिंह राजपुतलाई आज जीटीएको सत्तामा बसेका विनय तामाङहरूले श्रद्धाञ्जली दिएका छन्। उनको श्रद्धाञ्जली त उनले देखेको सपनाले नै पुरा गर्नेछ तर त्यस सपनालाई पुरा गर्न विनय तामाङहरू खरो उत्रन सक्लान्? सक्छन् भनि कसरी बनिन्दैछ रणनीति? सक्दैनन् भने जनतालाई सम्बोधन गरेर सक्दिनभन्न सक्छन् त? प्रश्न धेरै छन् तर जनता उत्तर चाहन्छन्। नेता ज्यु उत्तर दिन तयार हुनुहुन्छ कि?

No comments:

Post a Comment

Post Bottom Ad