भाजपाले आगमी 2019 लाई हेरेर चुनावी कसरत गर्दैछ – विनय तामाङ - गफसफ.com

Breaking

Home top Ad

Post Top Ad

Thursday, August 30, 2018

भाजपाले आगमी 2019 लाई हेरेर चुनावी कसरत गर्दैछ – विनय तामाङ

गफसफ.com, कालेबुङ 30 अगस्त। 
भारतीय जनता पार्टीले छुट्टै राज्य गोर्खाल्याण्ड बाहेक 11 जात गोष्टिलाई जनजातिको मान्यता नदिएको कार्यले उनीहरूको चरित्र उदाङ्गो भएको जीटीए बोर्ड अध्यक्ष विनय तामाङले बताएका छन्। उनले केहिदिन अघि राजीव प्रताप रूढीले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति सबैको सहमती हुनपर्ने अनि राज्य सरकारले पारित गरे केन्द्र सरकारले पारित गर्ने भनि दिएको बयानको पनि प्रतिक्रिया दिएका छन्। यसक्रममा उनले छुट्टै राज्य गोर्खाल्याण्ड अनि 11 जात गोष्टिलाई जनजाति बनाउने मुद्दाबारे केहिदिनभित्र भइरहेको बयानबाजी भाजपाको आगमी 2019 को लोकसभा चुनावी कसरत मात्र रहेको उनले दाबी गरेका छन्।
Binay Tamang, Chairman, GTA Board
एक कार्यक्रममा सहभागी बन्न कालेबुङ आइपुगेका तामाङले गतवर्ष चलेको छुट्टै राज्यको आन्दोलनको क्रममा राज्यसरकारसँग नवन्नामा बसेको सर्वदलीय वैठकमा आफुले गोर्खाल्याण्डको आवाज उठाएको दाबी गर्दै त्यसैबेला मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाल्याण्ड राज्यको विषय नरहेर केन्द्रको विषय रहेको भनि स्पष्ट पारेको पनि उनले बताएका छन्। यस्तो अवस्थामा अहिले भाजपा केन्द्रिय नेता राजीव प्रताप रूढीले गोर्खाल्याण्डको निम्ति आम सहमति हुनपर्ने भन्दै राज्यले पारित गरे केन्द्रले पारित गर्नेछ भन्नु आगमी लोकसभा चुनावलाई लिएर गरेको राजनैतिक कसरत हो भनि तामाङले बताएका छन्।
‘गत वर्ष कोलकोतामा 29 अगस्त 2017 का दिन सम्पन्न भएको सर्वदलिय वैठकमा मैले छुट्टै राज्य गोर्खाल्याण्डबारे आवाज उठाएको थिएँ। त्यसबेला राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाल्याण्ड केन्द्रको विषय भनिसकेका छन्। आज आएर भाजपा नेता राजीव प्रताप रूढीले राज्यको सहमति चाहिन्छ भन्नु चुनावी चालखेल मात्र हो’ विनय तामाङले भने। उनले गतवर्ष मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खाल्याण्ड केन्द्रको विषय भनेपछि सबैले यसलाई क्यापिटलाइज गर्नुपर्ने थियो भन्दै उल्टै आफुहरूको विरोध गर्ने कार्य भएको पनि बताए।
अर्कोतर्फ आगमी लोकसभा चुनावलाई लिएर तृणमूल कङ्ग्रेसले डा. पी.डी भोटियालाई दार्जीलिङ लोकसभा समष्टिका उम्मेद्वारा बनाउने अनि उनको उम्मेद्वारितालाई जीटीए बोर्ड अध्यक्ष विनय तामाङले पार्टी नेताहरूसँग परामर्श गरेर स्वीकृत गरेको एक अङ्ग्रेजी दैनिकमा प्रकाशित समाचारबारे पनि आफ्नो प्रतिक्रिया दिएका छन्।
‘यो खबर एउटा अङ्ग्रेजी दैनिक समाचारमा प्रकाशित भएको छ। यो समाचार कुनै आधिकारिक होइन। आगमी लोकसभा चुनावलाई लिएर धेरै मानिसहरू चुनावमा उठ्नका निम्ति इच्छुक छन्। विभिन्न क्षेत्रका मानिसहरू चुनावमा उठ्नका निम्ति इच्छुक भए पनि अहिलेसम्म यस विषयमा तृणमूल कङ्ग्रेसले कुनै आधिकारिक निर्णय लिएका छैनन् अनि हामीले पहाडको एउटा सर्ववृतहत राजनैतिक दलको हैसियतमा पनि निर्णय लिएका छैनौँ’ विनय तामाङले समाचारबारे आफ्नो स्पष्टिकरण दिँदै भने। उनले उक्त प्रकाशित समाचारको स्रोत के हो भन्ने आफुलाई थाह नभएको स्पष्टिकरण दिँदै अन्य केहि भन्न नरहेको पनि जानकारी गराए।
अर्कोतर्फ तामाङले डीआई फण्ड क्षेत्रको समस्या अनि बनबस्तीका मानिसहरूको समस्यालाई समाधान गर्नका निम्ति आफुहरू कार्यरत रहेको जानकारी दिएका छन्। ‘डीआई फण्ड क्षेत्रका बासिन्दा अनि बनबासीका मानिसहरूले आफ्नो अधिकार पाउनुपर्छ। उनीहरूलाई आफ्नो अधिकार प्रदान गर्नका निम्ति हामीले धेरै कार्य गरिरहेका छौँ। हामीले गरेको कार्यलाई सबैले राजनैतिक दृष्टिले हेर्नु हुँदैन भन्ने सबैलाई अपिल पनि गर्दछु’ तामाङले भने। उनले समस्या समाधानका निम्ति सबैले सहयोग गरे अझ छिटो समस्या समाधान भएर मानिसहरूले आफ्नो अधिकार पाउने पनि बताएका छन्।

No comments:

Post a Comment

Post Bottom Ad